May 31, 2026, Sunday
२०८३ जेष्ठ १७ आईतवार

चितवन र सिद्धार्थ उद्योग वाणिज्य संघबीच पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न जोड

Advertisement

भैरहवा– आपसी एकता, पर्यटन, सहरीकरण, सरकारले हालै प्रस्तुत गरेको बजेट लगायतका समसामयिक विषयमा चितवन र भैरहवा क्षेत्रका उद्योगी–व्यवसायी बीच आपसमा छलफल तथा अनुभव आदनप्रदान भएको छ ।

Advertisement

चितवन उद्योग वाणिज्य संघले विभिन्न शाखा भ्रमण गर्ने क्रममा आइतबार सिद्धार्थ उद्योग वाणिज्य संघबाट सुरु गरेको भ्रमणको शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा दुवै क्षेत्रका उद्यमी व्यवसायी तथा संघका प्रतिनिधिले कृषि, पर्यटन, बजारीकरण, बजेट लगायतका विषयबस्तुमा केन्द्रित रहि छलफल गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले यो भ्रमणले दुई जिल्लाको पर्यटन बिकास, प्रवर्द्धन र संरक्षण गर्ने विश्वास व्यक्त गरे । दुई संस्थाबीच जती भेट भयो उती नै एकआपसमा धेरै चिनजान हुने र अनुभवको आदान प्रदान हुने मौका मिल्ने उनले जनाए । ‘यस्ता छलफलबाट आ–आफ्नो क्षेत्रका समस्या, अवसर र चुनौतीका बिषयमा खुलेर कुरा गर्दै समस्या र समाधानको पहिचान गर्ने अवसर मिल्ने गर्छ’, शर्माले भने, ‘पर्यटनको बिकास र प्रर्द्धनमा चितवन र रुपन्देहीबीच आपसी समन्वय र सहकार्य गरेर अगाडि बढ्न सकिने अवसर छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेठले चितवन र रुपन्देही दुबै जिल्ला कृषिको भरपुर सम्भावना बोकेको भएकाले कृषिजन्य बस्तुको उत्पादन तथा बजारीकरणमा सहकार्य गर्न सकिने बताए । ‘यदि हामीले उत्पादन गरेको माछा, धान, गहुँ लगायतका वस्तुको कारोबार गरेमा दुबै जिल्लाबीच आपसी व्यापार बृद्धि भइ सम्बन्ध पनि बिस्तार हुनेछ’, श्रेष्ठले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुमनकुमार श्रेठले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी, पोखरा र चितवनलाई त्रिकोणात्मक ढंगबाट अगाडि बढाउन खोजिएको बताए । यसबाट आन्तरिक र बाह्य पर्यटनको विकास हुने उनको भनाइ थियो । हालै सरकारले प्रस्तुत गरेको बजेटमा सकारात्मक र नकारात्मक दुवै पक्ष रहेकाले निकै गम्भीर हुन जरुरी रहेको उनले औंल्याए ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुबेदीले संघले हरेक वर्ष व्यापार मेला तथा उत्सवको आयोजना गरि हरेक उत्सबमा नयाँ बस्तुको प्रवर्द्धनलाई जोड दिएर नयाँ ग्राहकको खोजी तथा पहिचान गर्ने गरेको बताए । त्यस खालको मेला तथा उत्सवमा कहिले कृषि त कहिले पर्यटनलाई प्रवर्द्धन गर्ने गरेको भनाइ उनको थियो ।

संघका सल्लाहकार कल्याण जोशीले चितवनमा पर्यटनलाई आकर्षण दिन सफारी, देबघाट र राष्ट्रिय निकुञ्ज रहेको र रुपन्देहीमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल रहेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले चितवन र भैरहवा क्षेत्रको समबन्ध नङ र मासु जस्तै रहेको बताए । चितवन र लुम्बिनी क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि पर्यटन सूचना सेन्टर बनाएर दुवै क्षेत्रको पर्यटकीय गतिविधिलाई जोड्न सकिने बताए ।

रुपन्देहीमा पार्किङको बढ्दो समस्या भएको उल्लेख गर्दै सहभागीहरुले चितवनमा भएको पार्किङको व्यवस्थापन, बजारीकरण र आन्तरिक संरचनाको विषयमा जिज्ञासा राखेका थिए ।