June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

स्वादिष्ट मट्का चिया (भिडिओ)

Advertisement

भैरहवा– के तपाईं भैरहवा–लुम्बिनी सडक खण्डमा यात्रा गर्दै हुुनुहुन्छ ? यदि यात्रारत हुनुहुन्छ भने एकैछिन मायादेवी गाउँपालिका–७, स्थित बेथरी पुल पूर्वपट्टि रोकिएर मगमगाउने मट्का चियाको स्वाद लिन नविर्सनुस् है । यहाँ रहेको एउटा पसल चिया पारखीको गन्तव्य बनिसकेको छ ।

Advertisement

यो चिया पसलका सञ्चालक हुन् मनोज गिरी । १६ वर्षदेखि उनले रुपन्देही र बाहिरका मानिसलाई चियाको स्वाद चखाइरहेका छन् । उनको चिया पकाउने तरिका फरक छ । झन अदुवा र ल्वाङगको सुगन्ध मिसिएको चियाको स्वाद नै फरक हुन्छ । त्यही विशेष स्वादका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको योे चिया पसल धेरैको रोजाईं बनेको छ । भारतको उत्तरप्रदेशबाट आएर गिरीले १६ वर्षदेखि व्यवसाय चलाइरहेका छन् । यहीँ पसलको आम्दानीबाट उनले ५ जनाको परिवारको लालनपालन गरेका छन् । परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । गिरीका छोराछोरी बोर्डिङ स्कूलमा पढ्दै छन् ।

पढाइसँगै फुर्सदका समयमा उनीहरू बाबुलाई पसलमा सघाउने गर्छन् । माटोको भाँडामा पाइने ‘बट्टा चिया’ विशेष रूपमा चिनिन्छ । दिनमै उनले तीन सय कपसम्म चिया बेच्ने गर्छन् । लुम्बिनी, परासी, बुटवल लगायत विभिन्न स्थानबाट उनको ‘बट्टा चिया’ को स्वाद लिन आउने ग्राहकको कमी छैन । गिरीले चिया विक्री गर्ने माटोको बट्टा प्रतिगोटा पाँच रुपैयाँमा खरिद गर्छन् । भने प्रति कप चिया ३० रुपैयाँमा बिक्री गर्छन् । दैनिक ३ देखि ५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।

चिया बनाउने सीप, माटोको भाँडाको आकर्षण, र चियामा मिल्ने घरेलु स्वाद यी सबै कारणले मनोजको ‘बट्टा चिया’ स्थानीय मात्र होइन, बाहिरबाट आउने यात्रुहरूका लागि पनि लोकप्रिय स्थान बनेको छ ।