May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

को ठूलो को सानो ?

तपराज जोशी

निर्वाचनको सन्दर्भमा अचेल सामाजिक सञ्जालमा जताततै ‘हाम्रालाई होइन राम्रालाई, खराबलाई होइन असललाई असफललाई होइन सफललाई’ भन्ने पास्ट पढ्न पाइन्छ । सामाजिक सञ्जालमा देखिने यस्ता बग्रेल्ती पोस्टले एकछिन को ठूलो, को सानो ? को सफल को असफल ? भन्ने विषयमा घोत्लिन मन लाग्यो ।

Advertisement

वास्तवमा को सानो ? को ठूलो ? अथवा सफल कि असफल ? भन्ने निरन्तर बहसको विषय हुन सक्छ । एउटा सामाजिक परिवेशमा स्थापित सानो र ठूलो वा सफल र असफलको परिभाषा अर्को सामाजिक परिवेशमा मेल नखान सक्छ । फरक फरक समाजिक पृष्टभूमिबाट आएका व्यक्तिहरूका यससम्बन्धी आआफ्नै तर फरक फरक धारणा पनि हुन सक्छन् । किनभने यो नितान्त सामाजिक बिषय हो ।

समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने एउटा व्यक्तिले कुनै विषयमा बनाउने धारणा ऊ हुर्केको सामाजिक परिवेश र बाह्य जगतमा निर्भर हुन्छ । कारण, उसको समग्र व्यक्तित्व निर्माणमा सम्बन्धित सामाजिक पृष्ठभूमि र बाह्य परिवेश मुख्य कारक रहेको हुन्छ । समाजले निर्माण गर्ने अवधारणा वा परिभाषा त्यही समाजमा स्थापित मूल्यमान्यताका आधारमा बनेका हुन्छन् । अर्थात् एउटा व्यक्तिको क्रियाकलाप, आचरण, विचार र व्यवहारबाट ऊ कस्तो सामाजिक पृष्ठभूमिबाट आएको वा कहाँ हुर्केको भन्ने सहजै आकलन गर्न सकिन्छ ।

हाम्रो समाजमा ठूलो र सानोको परिभाषालाई हेर्ने हो भने हाम्रा सामाजिक मूल्यहरूलाई आधार नमानी गरेको विश्लेषण सत्य नहुन सक्छ । ऐतिहासिक कालदेखि वर्तमानसम्म आइपुग्दा हाम्रो समाजले ठूलो र सानोका बारेमा बनाउने अवधारणामा समान्यमात्रै परिवर्तन भएको देख्न सकिन्छ । अझै पनि हाम्रो समाजले उच्च ओहोदामा पुगेको, त्यहाँबाट मनग्गे अर्थोपार्जन गरेको, आफूभन्दा फरक मत राख्नेलाई कहिल्यै ठाडो नहुनेगरी गिराउन सक्ने व्यक्तिलाई बहादुर, शक्तिशाली तथा ठूलो व्यक्तिका रूपमा परिभाषित गरेको पाइन्छ ।  यद्यपि, अहिले भने यो असान्दर्भिक र अस्वाभाविक देखिन्छ ।

यसै सन्दर्भमा आफैँभित्र एउटा प्रश्न उठ्छ —  देशको प्रधानमन्त्री, राष्ट्रपति तथा विभिन्न उच्च ओहोदामा आसीन व्यक्ति ठूलो कि एउटा शौचालय सरसफाइ गर्ने व्यक्ति ठूलो ? यो प्रश्न यसकारण पनि उठ्छ कि शौचालय फोहोर भएर प्रयोग गर्न अयोग्य भएका बेला सामान्य नागरिकको आवश्यकता प्रधानमन्त्री वा राष्ट्रपति नभई शौचालय सरसफाइ गर्ने व्यक्ति नै हुन्छ । त्यतिबेला शौचालय प्रगोग गर्न पाइएन भने एउटा व्यक्ति विभिन्न समस्याको सिकार बन्न सक्छ । पक्कै पनि त्यति बेला उसका लागि सबैभन्दा ठूलो मान्छे त्यही शौचालय सरसफाइ गर्ने व्यक्ति नै बन्न जान्छ । त्यसैले ठूलो र सानोको परिभाषा पनि समय र सन्दर्भ निरपेक्ष हुन सक्दैन । 

प्रधानमन्त्री पनि नागरिकका सबै आवश्यकतासँग प्रत्यक्षरूपमा जोडिएको हुँदैन । झन् हाम्रोजस्तो गरिब देशमा त जनकल्याण नै प्रधानमन्त्रीको भित्री उद्देश्य भएको बिरलैमात्र देख्न पाइन्छ । प्रधानमन्त्रीको पद प्राप्त गर्न र त्यसलाई निरन्तरता दिन नै उनीहरूलाई हम्मे हम्मे परेको देखिन्छ । त्यसैले उनीहरूको ध्यान मूलतः शक्तिको अनुचित प्रयोग र अभ्यासमार्फत सत्तामा कसरी पकड बनाइराख्ने, आफू कसरी चाँडै सम्पन्न बन्न सकिन्छ र आफ्नालाई कसरी धेरै अवसर दिलाउन सकिन्छ भन्नेतिर नै केन्द्रित भएको देखिन्छ । यिनको दीर्घकालीन लक्ष्य पनि आफना र आफ्नो परिवारका सदस्यहरुलाई सके आफूहँदै राज्यसत्तामा पुर्‍याउने नसके त्यसका लागि पृष्ठभूमि तयार पार्दै भविष्य सुरक्षित गर्न भरपूर प्रयास गर्ने नै रहेको हुन्छ । यस सन्दर्भलाई हेर्ने हो भने पुनः प्रश्न गर्न सकिन्छ ब्यक्तिगत स्वार्थपूर्तिलाई मूल लक्ष्य बनाउने प्रधानमन्त्री कसरी ठूलो ? 

त्यसैगरी को ठूलो र को सानोको सन्दर्भमा अझै धेरै किसिमले बहस गर्न सकिन्छ । डाक्टर ठूलो कि बिरामीप्रतिको उसको कर्तव्य र निष्ठा ठूलो ? न्यायाधीश ठूलो कि उसको न्याय सम्पादनप्रतिको इमाादारी ठूलो भन्ने प्रश्न पनि उठाउन सकिन्छ । तर, उत्तर भने त्यति सहज र सरल छैन । कुनै एउटा व्यक्ति उच्च पदस्थ हुँदैमा ऊ ठूलो हो भन्ने निरपेक्ष बुझाइ र सत्यता फरक हुन सक्छ । 

कुनै मूर्ख व्यक्तिले जति सजिलै उच्च पदस्थ व्यक्ति भएकै कारण उसलाई ठूलो देखिरहेको हुन्छ वास्तविकता त्यस्तो नहुन सक्छ । त्यसैले सचेत तथा शिक्षित व्यक्तिले यसको निरपेक्ष उत्तर दिदैन । हाम्रो समाजले भने यस विषयमा गहन विश्लेषण गर्दै उत्तर खोज्ने प्रयत्न नै नगरी उच्च ओहोदाका सम्पन्न एवं शक्तिशाली व्यक्तिलाई सहजै ठूलोको कोटीमा राखिदिन्छ । अर्थात्, हाम्रो समाजले अझै पनि व्यक्तिलाई आदर्श देख्छ, उसको विचार, व्यवहार र आचरणलाई गौण मान्छ । यसको परिणाम समग्र नेपाली समाज वा देशले नै भोगिरहेको छ । हामी समाजमा स्थापित यो मूल्यलाई परिवर्तन गर्न चाहदैनौँ । किनभने यसो गर्दा ठूला व्यक्तिहरूबाट प्राप्त हुने विभिन्न अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ । बरु आफ्नो आचरण, व्यवहार र विचार नै परिवर्तन गरेर ठूलो मान्छेको अनुकूल हुनेगरी आफूलाई परिवर्तित गरिरहेका हुन्छौँ । 

त्यसैगरी को सफल र को असफल भन्ने प्रश्न पनि जटिल छ । एउटा कर्तव्यनिष्ठ व्यक्ति जो जीवनभरि अनुशासित भएर काम गर्छ, समाजले आपूmलाई नराम्रो भन्ने कुनै ठाउँ नै राख्दैन जसका कारण उसको निवृत्त जीवन असुरक्षित पनि हुन्छ  त्यो सफल कि जसले पदीय जिम्मेवारी पूरा गर्दैन, प्राप्त अधिकार र शक्तिलाई दुरुपयोग गर्दैे व्यक्तिगत भविष्य सुरक्षित गर्छ त्यो सफल ? असल उद्देश्य लिएर निरन्तर समाज कल्याणका लागि समर्पित तर उच्च पदमा आसीन हुन नसकेको व्यक्ति सफल कि आफ्नो स्वार्थपूर्तिका लागि साम, दाम, दण्ड, भेदको प्रयोग गर्दै उपल्लो तहसम्म पुगेको तर देशका लागिभन्दा आफ्नै स्वार्थपूर्तिमा तल्लीन व्यक्ति सफल ? हाम्रो सामाजिक परिवेशलाई हेर्ने हो भने त्यही व्यक्ति सफलताको कोटीमा पर्छ जसले राज्यको उपल्लो तहमा पुगेर मनग्गे धन कमाएको हुन्छ, समाजमा रबाफ देखाइरहेको हुन्छ र आफूसँग फरक मत राख्ने सबैलाई दबाएर राखेको हुन्छ । यस्ता व्यक्तिहरू एकपटक होइन, पटकपटक उच्च ओहोदामा तथा  प्रशस्त कमाइ हुने ठाउँमा पुग्न सफल भएका देखिन्छन् ।

यसको कारकमा समाज नै मुख्य देखिन्छ । भ्रष्ट, घुस्याहा व्यक्तिहरूलाई सफल व्यक्तिका रूपमा लिइने समाजले उनीहरूबाट नै समाज र राष्ट्रनिर्माणको अपेक्षा पनि गरिएको हुन्छ । त्यस्तो समाज कसरी समृद्ध हुन सक्छ ? सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सफल र असल उमेदवारलाई मतदान गर्न गरेको आह्वान सार्वजनिक खपतका लागि मात्रै गरेका हुन् वा परम्परागतरूपमा समाजमा स्थापित मूल्यलाई नै चुनौती दिन खोजिएको हो त्यो हेर्न बाँकी छ । 

परम्परागत मूल्य मान्यतालाई चुनौती दिँदै सामाजिक रूपान्तरणको अभियान थालिएको हो भने यसको सुरु आगामी निर्वाचनमा आफू, आफ्नो परिवार र छरछिमेकबाटै गर्नुपर्ने देखिन्छ । समाजमा स्थापित उच्च ओहोदामा पुगेपछि मात्र ठूलो भइन्छ भन्ने मान्यताको साटो उच्च ओहोदामा पुग्दैमा ठूलो भइँदैन, त्यसका लागि पदमा बहाल रहँदा आफरनो उत्तरदायित्वप्रति इमानदार, समाज र राष्ट्रप्रति समर्पित हुँदै पदअनुरूपको आचरण अवलम्बन गरेको हुनुपर्छ भन्ने मान्यता स्थापित गर्नु आवश्यक देखिन्छ । यसका लागि स्थानीय निर्वाचन एउटा अवसर बन्न सक्छ । 

त्यसैगरी अभियन्ताहरूले राजनीतिक दलका नेता कार्यकर्तालाई पनि भन्न सक्नुपर्छ ‘राजनीति भनेको एक थान नेता कार्यकर्ताको स्वार्थपूर्ति गर्ने साधन होइन’ । तिम्रो दलले उमेदवार बनाएका हरेक असल र योग्य उमेदवारलाई हामी मतदान गर्न तयार छौँ तर त्यसको बदलामा तिमीहरूको दलले आफ्नो दलभित्र ‘आफ्नो दलको खराब व्यक्तिले जित्नुभन्दा अर्को दलको असल र सक्षम व्यक्तिले जितोस्’ भन्ने वा आफ्नो दलबाट उमेदवार चयन गर्दा ‘असल, सक्षम र समाजले स्वीकार गरेको व्यक्तिमात्र उमेदवार हुनुपर्दछ’ भन्ने मान्यता स्थापित गर्नुपर्दछ । साथै जीवनभर शक्ति र सत्ताका आडमा जेजस्तो आचरण व्यवहार गरे पनि पैसा खर्च गरेपछि निर्वाचन जित्न सकिन्छ भन्ने मान्यतालाई पनि चुनौति दिनु आवश्यक छ । हरेक नागरिकले पैसा बाँड्न आउने उमेदवारलाई ‘तिम्रो पैसा तिमी नै राख हामी तिमीलाई भोट दिन सक्दैनौँ’ भन्न सक्ने परिस्थितिको निर्माण गर्दै मुस्किल मुस्किलले उमेदवार बन्ने अवसर पाएका तर साधनस्रोतको अभावले जनतासमक्ष पुग्न नसकेका योग्य र सक्षम उमेदवाररूलाई सामूहिक रुपमा चन्दा संकलन गरी साधनस्रोत जुटाइदिने र भोट पनि दिने प्रण गरौँ । यस्तो हुने हो भने साँच्चीकै यो निर्वाचनले परम्परागत मूल्यमान्यतालाई भत्काउदै माथि भनिएजस्तै ठूलो र असलको परिभाषा पनि परिवर्तन गरिदिन सक्छ । baarhakhari