December 5, 2024, Thursday
२०८१ मंसिर २०

औलो निवारणका लागि समुदायस्तरमा परीक्षणको भूमिका

दिनेश कोइराला

पृष्ठभूमि
नेपाल सरकारको प्राथमिकता प्राप्त औलो रोग नियन्त्रण कार्यक्रम नेपालको सबैभन्दा पुरानो जनस्वास्थ्य कार्यक्रम हो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवारण गर्ने लक्ष्य लिएका केही रोगहरु मध्येमा औलो पनि रहेको छ। जस अनुसार सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्‍याउनु रहेको छ। त्यसको लागि सन् २०२२ को अन्तसम्म स्थानीय संक्रमणलाई शून्यमा पुर्‍याई त्यसलाई निरन्तरता दिनु पर्नेछ। 

samyak inside small

सन् २०१० तथा २०१३ मा अन्तर्राष्ट्रिय विज्ञ टोलीहरुद्धारा गरिएको  कार्यक्रमको मूल्याङ्कन प्रतिवेदन अनुसार नेपाल औलो नियन्त्रणको अवस्थावाट पूर्व निवारणमा जान सक्ने सुझाव र सिफारिस अनुसार राष्ट्रिय औलो रणनीतिक योजना २०१४–२०२५ तयार गरी सोही अनुसार विभिन्न कार्यक्रम संचालन हुदै आएकोमा सन् २०१७ मा एउटा अन्तराष्ट्रिय विज्ञ टोलीद्धारा पुनः कार्यक्रमको मध्यावधीक समिक्षा गरिएको थियो। उक्त मध्यावधिक समिक्षा प्रतिवेदन अनुसार शंकास्पद औंलो बिरामीको रक्त परीक्षणको दायरा, प्रभावकारी उपचार, औंलो बिरामी र जोखिम क्षेत्रको खोजपडताल तथा निगरानी लगायतका कार्यहरु प्रभावकारी रुपमा संचालन गरे औलो निवारणको अवस्थामा जान सक्ने सुझाव दिए अनुसार मौजुदा रणनीतिलाई अद्यावधिक गरी सोही अनुरुप  कार्यक्रम संचालन हुदै आएको छ।

Advertisement

वर्तमान अवस्था
सन् २०२१ मा गरिएको औलोको जोखिम क्षेत्र निर्धारणका लागि गरिएको शुक्ष्म स्तरिकरणको प्रतिवेदन अनुसार अझै पनि झण्डै ३९ प्रतिशत जनसंख्याहरु औलो को जोखिम क्षेत्रमा बसोबास गर्दछन्। कार्यक्रमको चुस्त सर्भिलेन्स तथा कार्यक्रहरुको प्रभावकारी कार्यान्वयन स्वरुप आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ पश्चात अहिलेसम्म औलोको महामारी देखा परेकोे छैन भने  औलोको बिरामी देखिने क्रम पनि निरन्तर घट्दै गएको छ। विगत २०७७/७८ आर्थिक वर्षमा जम्मा ३७७ बिरामी मात्र निदान भएको छ, यो संख्या  २०७३/७४ को तुलनामा झण्डै ६७ प्रतिशत  ले कमि रहेको छ, त्यसमा पनि स्थानीय बिरमीको संख्या ६६ (१७.५) प्रतिशत मात्र रहेको छ। तर यहाँको हावापानी, भौगोलीक अवस्था, भारतसँग खुल्ला सिमाना लगायतका कारणले कुनै पनि बेला औंलोको महामारी हुन सक्ने अवस्था रहेको कुरालाई भने नजरअन्दाज गर्न नमिल्ने अवस्था पनि छ। 

हाल पहिचान गरिएका औलो बिरामीको संख्या कार्यक्रमले अनुमान गरे अनुरुप रहेता  पनि शंकास्पद औलो बिरामीको रक्तपरिक्षण संख्या भने लक्ष्य अनुुरुप हुन सकेको छैन। अन्तराष्ट्रिय अभ्यास अनुसार निवारणमा गएको देशहरुले जोखिम क्षेत्रमा बसोवास गर्ने जनसंख्याको वार्षिक कम्तिमा १० प्रतिशत सम्म रक्त परिक्षण गर्नुपर्ने प्रावधान भएता पनि नेपालले सन् २०२३ सम्म कम्तिमा ५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। तर बिगत  केहि वर्षहरुको उपलब्धि हेर्दा यो २ प्रतिशत भन्दा कम रहेको छ।

यसैगरी जम्मा औलोको बिरामी संख्या घटे पनि आयातित औलो बिरामीको संख्या सोही अनुपात घटेको दखिदैन। गत वर्षको तथ्याङ्क हेर्दा भारतबाट आएकाहरुमा झन्डै ८६ प्रतिशतमा औलो देखिएको छ, जसमा मौसमी कामदारको रुपमा भारत गई फर्केकाहरु बढी मात्रामा रहेका छन्। यो समूह समुदायमा सिधै प्रबेश गर्ने भएकाले उनीहरुबाट अन्य व्यक्तिमा सर्ने सम्भावना पनि अत्याधिक रहेको देखिन्छ।

संचालित कार्यक्रम
सरकारले  निर्धारण गरेका लक्ष्य प्राप्तीको लागि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व र समन्वयमा औलो रोग परीक्षणका लागि आवश्यक सामग्रीको नियमित रुपमा आपूर्ति,  कार्यक्रमबारे अभिमूखिकरण, तालिम, समिक्षा बैठक, गुणस्तर सुनिश्चितता, गुणस्तर नियन्त्रण, औलो बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, जोखिम क्षेत्रहरुमा गर्भवती महिला तथा आम मानिसलाई किटनाशक झूल वितरण, विषादी छिड्काउ, निजी सेवा प्रदायकहरुलाई कार्यक्रमबारे अभिमूखिकरण, जनचेतना अभिबृद्धिका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

यसका साथै पछिल्लो समय भारतसंग जोडिएका सिमा नाकाहरुमा शंकास्पद औलो बिरामीहरुको परीक्षण, भारत जाने र फर्किएकाहरुलाई औलो रोगबारे जानकारीमूलक सामग्री वितरण तथा केहि बडाहरुमा समुदाय स्तरमै रक्त परिक्षण लगाएतका कार्यक्रम संचालन भएको छ।

समुदाय स्तरमै रोगको परीक्षण
समुदाय स्तरमै औलोको परीक्षण भन्नाले स्थानीय स्वास्थ्यकर्मीद्धारा घरघरमा नै गई नियमितरुपमा औलो रोगका शंकास्पद बिरामीहरुको रक्त परीक्षण गर्ने कार्यलाई बुझाउँदछ। यसको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सेवाको पहुँच कम भएको, कीटनाषक झूल वितरण, बिषादी छिड्काउने गर्दा पनि औलोको बिरामी  भेटिएको, आयातित औलोको उच्च भार रहेको क्षेत्रहरुमा सम्वन्धित स्थानीय निकायको अगुवाईमा प्रयोगशाला सहायक नियुक्त गरी यो कार्यक्रम संचालन गर्दै आएको छ।

स्वास्थ्यकर्मी नै नियमितरुपमा घरघर गई शंकास्पद औलो बिरामीको परीक्षणका साथै जनचेतना अभिबृद्धि गर्ने भएकोले यस विधिले सुरुकै अवस्थामा औलो निदान तथा बिरामीलाई प्रभावकारीे उपचारमा ल्याउन सहयोग पुग्ने देखिन्छ। फलस्वरुप रोग सर्ने क्रमलाई रोकेर सन् २०२५ सम्म नेपाललाई औलोमूक्त राष्ट्रको रुपमा पुर्‍याउन लक्ष्य प्राप्त गर्ने आशा गरिएको छ।

यस कार्यक्रम अन्तर्गत छनौट भएका स्वास्थ्यकर्मिलाई औलो रोग निवारण कार्यक्रम र  उसले गर्ने कार्य बारे सामान्य जानकारी पश्चात स्थानीय जानकार ब्यक्ति र महिला स्वयम सेबिकाको सहयोगमा सामाजिक नक्सा तयार गर्दछन्। सोही अनुरुप मासिक कार्य योजना बनाई नियमित रुपमा स्वयमसेविकासहित घरदैलो गर्ने गर्दछन्। 

यसरी घरदैलोमार्फत पुगेका घरधुरीको विवरण तथा  परीक्षण गरेका बिरामीको बिवरण स्वास्थ्यकर्मीले उपलब्ध गराइएको रजिष्टरमा दुरुस्त राखी महिनाको अन्तमा सम्बन्धित स्वास्थ्य संस्थामार्फत राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीमा आउने गर्दछ। हालसम्म यो कार्यक्रम देशका २० वटा वडाहरुमा संचालन भई झण्डै चार हजार जनाको रक्त परीक्षण हुँदा १० जना औलो बिरामीको निदान भैसकेको छ।

परीक्षणका क्रममा औलो पोजेटिभ भेटिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउँदछन। यसरी जानकारी प्राप्त हुनसाथ स्वास्थ्यकर्मी समुदायमै पुगेर बिरामी निश्चित गरी उपचारका साथै मोवाइल एसएमएस मार्फत वा MDIS Nepal नामक एपको प्रयोग गरी Web based Malaria Disease Information System-MDIS मा जानकारी गराउँदछन्।

स्थानीय सरोकार निकायसँंग कार्यक्रम बारे छलफलका साथै समन्वय र सहकार्यमा कर्मचारी नियुक्ती लगाएत अन्य नियमित कार्य हुने गरेकोले स्थानीय निकायले कार्यक्रमको स्वामित्व लिएको छ। जसको फलस्वरुप आगामी लिनमा पनि यस कार्यक्रमको  निरन्तरता रहने दखिन्छ। स्थानीय स्वास्थ्यकर्मीहरुद्धारा नियमित रुपमा घरघरमै गई स्वास्थ्य शिक्षाका साथै शंकास्पद औलो बिरामीको रक्त परीक्षण गरिने भएकोले तत्काल मात्र नभएर यसको प्रभावले आगामि दिनमा बिरामी स्वस्फूर्त रुपमा स्वास्थ्य संस्थासम्म आउने छन भन्ने आशा गरेको छ। 

अन्तमाः
कोभिड-१९ को महामारीले सुरुवाती बेला कार्यक्रममा केही बाधा ल्याएता पनि पछिल्ला समय विभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यमा निर्धारित कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन हुदै आईरहेको छ। जसको फलस्वरुप बिगत केही वर्षदेखि निरन्तर रुपमा कार्यक्रमले सोचे अनुसार औलोको जोखिम क्षेत्र, बिरामीको संख्या तथा रोगको संक्रमण दर घट्दै जानुका साथै समुदाय स्तरमा नै शंकास्पद बिरामीको परीक्षण सुरु हुनुले निर्धारित समयमा औलो निवारण हुनेमा विश्वास बढ्दै गएको छ।  swasthayakhabar