May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

जहानिँयावादले निल्दैछ लोकतन्त्र

कुलचन्द्र वाग्ले

‘लोकतन्त्र’लाई उत्कृष्ट शासन व्यवस्था भनिन्छ । बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले आफ्नो समयमा भनेका थिए रे –‘प्रजातन्त्रमा कमजोरी त छ तर यसभन्दा राम्रो व्यवस्था दुनियाँमा अर्को छैन । त्यही कारण म प्रजातन्त्रको समर्थक भएको हुँ’ । प्रजातन्त्रलाई किन उत्कृष्ट वा राम्रो भनियो त ? 

Advertisement

अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनले –‘जनताले, जनताको लागि, जनताद्वारा गरिने’ शासन व्यवस्थालाई प्रजातन्त्र भने । यही कारण प्रजातन्त्र जनताको लागि उत्कृष्ट ठहर भयो र स्वीकार्य बन्यो । 

प्रजातन्त्र वा लोकतान्त्रिक प्रणालीकोे पक्षमा यसभन्दा सार्थक भनाइ अरु के हुनसक्छ र ? तर प्रणाली वा व्यवस्था आफैँ राम्रो हुने त होइन । अर्को भनाइ लिऊँ – भारतीय संविधान निर्माणका संयोजक भीमराव अम्बेडकरको । उनले भनेका छन् – ‘संविधान आफैँमा राम्रो नराम्रो हुने होइन, त्यसका सञ्चालक वा प्रयोगकर्ता सत्ताधारीको भूमिकाले संविधानलाई राम्रो, नराम्रो बनाउने हो’ ।

कुनै पनि भनाइ शतप्रतिशत सही मान्न नसकिएला । जस्तै चर्चिलले भने नि प्रजातन्त्रमा कमजोरी छ तर योभन्दा अर्को राम्रो प्रणाली दुनियाँमा छैन । अर्थात् उनले कमजोरी पनि स्वीकार गरे, श्रेष्ठता पनि उद्घाटित गरे । अर्थात् कमजोरी र श्रेष्ठता सँगैसाथै छन् ।  

यही कारण, यस्ता भनाइको पनि समीक्षा हुनसक्छ, हुनुपर्छ । कुनै संविधानमा आधारभूतरुपमै अधिनायवादी र तानाशाही प्रावधान समाविष्ट छन् भने स्वाभाविक हुन्छ शासक त्यहीरुपमा सञ्चालित हुन प्रेरित हुन्छ र वैधानिकताका लागि त्यसैको उदाहरण दिन तत्पर हुने नै छ । 

यसकारण संविधान स्वयं पनि लोकतन्त्र निर्दिष्ट गर्ने प्रकारको हुन अनिवार्य छ । तर, संविधानले लोकतन्त्र निर्देश गरे पनि व्यवस्थापक नेताले अन्यथा गर्न खोजे त्यो संविधानको दुरुपयोग मजैले गर्नसक्दा रहेछन् । नेपालको विगत राजतन्त्र र यहुदी समुदायका संहारक जर्मनीका हिटलर यसको उदाहरण हुनसक्छन् वा दुनियाँका अरु तानाशाह पनि ।  यसको अर्थ संविधान पनि लोकतान्त्रिक र सत्ता सञ्चालक पनि चरित्र र प्रवृत्तिले लोकतान्त्रिक हुनुपर्छ भन्ने हो । 

व्यवस्था लोकतान्त्रिक भएरमात्र पुग्ने त होइन रहेछ । त्यसो हुन्थ्यो भने अहिले नेपालमा प्रणालीसँग नागरिकको कुनै गुनासो हुनु नपर्ने । यस्तो लेख्दा एउटा प्रश्न आउँछ – गुनासो लोकतन्त्रसँग हो कि राजनीति सञ्चालकको प्रवृत्तिसँग ? दुर्भाग्य यहाँका नागरिकको गुनासोलाई प्रवृत्तितिर होइन प्रणालीतर्फ मोड्न खोजिएको छ । यस्तो अवसर अहिलेको प्रणाली सञ्चालकहरुको स्वार्थी, अनैतिक र परिवारवादी कार्यशैलीले उत्पन्न गरेको हो । यसैलाई पूरापन्थीहरुले लोकतन्त्रविरुद्ध प्रयोग गर्न खोजेका छन् । थप, यही कारण संविधान र संविधान प्रयोगकर्ता राज्य सञ्चालक पनि प्रवृत्ति, प्रावधान र चरित्रले सुविचारित वा प्रजातान्त्रिक हुन अनिवार्य छ भन्ने देखिन्छ । यही पृष्ठभूमिमा अहिलेको नेपालको राजनीतिक प्रक्रियाको समीक्षा गरिनु उपयुक्त हुनेछ । 

यस्ता आधारमा समीक्षा गर्दा नेपालको राजनीतिमा देखिएको चरित्र र प्रवृत्ति सकारात्मक छैन । किनभने नेपालको लोकतन्त्रमा परिवार वा जहानवाद व्याप्त बनाइएकाले सोचेको र जनअपेक्षाभन्दा प्रतिकूल बाटोमा लोकतन्त्रलाई हिँडाइएको छ । लोकतन्त्र परिवारवाद होइन र न जहानिया सत्ता नै । हो त जनवाद । यहाँ परिवारवाद कसले बढी प्रयोग गरे ? जसले ‘जनवाद’को नारा धेरै उराले र उराल्दै छन्, तिनैले गर्दैछन् परिवारवादी जहानियाँ  राजनीति ।

बहुदलीय व्यवस्थामा दलीय अनुशासनलाई अनपेक्षित तानाशाही तहमा पुर्याइएको अनुभूति यहाँ भएको छ । बहुदलीय व्यवस्थामा दलगत अनुशासन हुने नै हो । दलगत अनुशासनको उदाहरण अरु दिनुपर्दैन अहिलेको गठबन्धन नै पर्याप्त हुन्छ र त्यो गठबन्धन यतिबेला गलत संकेत दिँदैछ । कारण बढी पारिवारिक अवसरमा राजनीति र गठबन्धनलाई केन्द्रित गरिएको छ । 

जस्तै स्थानीय तहको चुनाव सन्निकट छ । सरकारी सत्तामा आसीन पाँच दल बीचको गठजोडले स्थानीय तहको उम्मेदवार र सिट बाँडफाँटको लागि गरिएको सम्झौतासहित अहिले तिनले आआफ्ना कार्यकर्तालाई दिएको निर्देशनात्मक सर्कुलर नै दलीय तानाशाहीको पर्याप्त उदाहरण हो । 

सैद्धान्तिक निष्ठाको पर्याय भएसम्म गठबन्धन स्वीकार्य हुनुपर्ने । त्यस्तै जनताकै पक्षमा भए त्यो पनि स्वीकार्य हुने नै हो । तर, अहिलेको गठबन्धन के वा कसको पक्षमा ? सिद्धान्त कि जनताको ? दुवैको पक्षमा न्यून, बढी सत्ताधारी नेता वा तिनको दल र जहान परिवारको पक्षमा देखिएको छ । 

गठबन्धनका शीर्ष नेता तथा प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफू र आफ्नाका लागि गठबन्धन चाहिएको छ । उनको कार्यशैली र छनोटले प्रस्टै देखाएको छ । गठबन्धनका अर्का रचनाकार पुष्पकमल दाहाललाई आफू र आफ्ना परिवारका सदस्यलाई अवसर जुटाउन गठबन्धन चाहिएको देखिएको छ । 

यही गठजोडमा टाँसिएका अरु दललाई अस्तित्व बचाउन गठबन्धन आवश्यक छ । अस्तित्व बाँचे नै आफ्नालाई दिन पाइन्छ । बचेखुचेको मौका अहिले पनि दिने आफ्ना र झोलेमोलेलाई नै हो, देखिसकियो । परिवारको सदस्य, आफन्त र झोलेमोले तीमध्ये धेरै त पैसावाल पनि हुन्छन्, तिनैलाई मौका दिने र आफूले आर्थिक आयमा चौका हान्ने रहस्यले गरिने गठबन्धन जनता, योगदान दिएका कार्यकर्ता र सक्षमहरुलाई के काम, के उपादेयता ? 

यो कुनै आरोप होइन । हालै सिफारिस गरिएका राजदूतहरुमा नेताका आफन्त र भाइबुहारीहरुको नाता सम्बन्धको नामावली सम्झिए पुग्छ । अरु सक्षम वा योग्य थिएनन् ? नेताहरुको नाता नै सक्षम ? नाता र परिवारका सदस्यलाई राज्यसंयन्त्रमा अधिक अवसर दिने को छन् ? जसले सर्वहारा र जनवादको गफ गर्छन् तिनै कम्युनिस्टहरु छन् । 

उदाहरण दिऊँ ? नेकपा (माओवादी केन्द्र)का अध्यक्षदेखि दोस्रो तहका नेतासम्मका आफन्त प्रायः सबै राज्ययन्त्रका सुविधामा आसीन छन् वा थिए । अध्यक्ष पुष्पकमल दाहलाका एक दर्जन आफन्त राज्यस्रोतमा हालीमुहाली गर्न आसीन बनाइएका छन् । हालैका उदाहरण हुन् भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र कास्कीतिरकी त्रिपाठी थरकी बुहारी । बुहारी प्रस्तावित हुन् । अरुको फेहरिस्त सबैलाई यसअघि नै थाहा भइसकेको छ ।

नेता वर्षमान पुनकी पत्नी, चर्को क्रान्तिकारी गफ हाक्ने देव गुरुङकी पत्नी वा यस्तै सर्वहारा क्रान्तिकारी लीलामणि पोखरेलकी आफ्नी कहाँ कहाँ छन्, थिए ? सज्जन देखिने दीनानाथ शर्माका नातेदार कहाँ ? कति उदाहरण चाहियो ? माओवादीले जति परिवारिक जहानियाँ राजनीति र अवसरको प्रयोग, दुरुपयोग वा 

शोषण अरु दलले गरेको देखिँदैन । 

यो पारिवारिक अर्थात् जहानियाँ प्रवृत्तिले लोकतन्त्रलाई बदनाम गर्दै छ, निल्दै छ । यसमा सबैभन्दा दोषी माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन् ।

भाषणमा र गफमा लोकतन्त्र र संविधानको प्रावधान रक्षा गर्न गठबन्धन वा राजनीति गरेको नारा दिने माओवादी र टाँसिएका अन्य दलसमेत अब सचेत भए हुन्छ – परिवारवाद, जहानियाँ स्वार्थ र आफन्त वा झोलेमोले (पैसावाला)वादी घृणित राजनीतिले लोकतन्त्र निल्दैछ । सँगै तिमीहरु पनि निलिने छौ कि ? 

अर्को कम्युनिस्ट पार्टी नेकपा (एमाले)को के कुरा गर्नु ?  विगतमा ५७ दिन संसद् अवरुद्ध पारेर तत्कालीन राजालाई मनपरी गर्न दुरुत्साहित गरेकै थियो । अहिले पाँच महिनादेखि संसदीय लोकतन्त्रको आधारस्तम्भ संसद्लाई पुनः अवरुद्ध गरेर लोकतन्त्रको प्रतिकूल र जहानियाँ सत्ता प्रतिस्थापन अनुकूल कर्म गरेको प्रस्टै छ । एमालेले गरेको गठबन्धनले पनि यही बुझाएको छ ।

लोकतन्त्र जोगाउँछौं भन्ने सत्ता गठबन्धनको पारिवारिक जहानियाँवादले पनि लोकतन्त्र निल्दैछ । हेर्दै जाऊँ । हुनत, सबैमा जानकारी नै छ कि ?  baahrakhari