May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

स्थानीय निर्वाचनमा कस्ता जनप्रतिनिधि चुन्ने ?

सत्यनारायण रावत

स्थानीय तहको निर्वाचनको घोषणासँगै राजनीतिक दलका गतिविधि बाक्लिन थालेका छन् । नयाँ संवैधानिक संरचनाअनुसार दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचन आआफ्नो पक्षमा पार्न मुख्य राजनीतिक दलहरुले भरपुर मेहनत गरिरहेका छन् । दलहरूको निर्वाचन लक्षित सक्रियतासँगै जनतामा पनि कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषयमा छलफल चल्न थालेको छ । 

Advertisement

लामो समयको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्थाका कारण विगतमा लामो समयसम्म हाम्रा स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेका थिए । विसं २०७२ सालमा नेपालको संविधान जारी भएपश्चात  संवैधानिक व्यवस्थाअनुसारको स्थानीय तहको पहिलो निर्वाचन २०७४ सालमा भयो ।

स्थानीय तहको निर्वाचनले नयाँ संवैधानिक प्रावधानअनुसार निर्माण भएका स्थानीय सरकारलाई पूर्ण बनाउनुका साथै वैधानिकतासमेत प्रदान गरेको थियो । लामो समयदेखि केन्द्रबाट संचालित स्थानीय निकायबाट जनताले अपेक्षाकृत सेवा पाउन नसकेका अवस्थामा भएको निर्वाचनपश्चात स्थानीय स्तरबाट नै जनताका समस्याको सम्बोधन हुन थाल्यो । यसबाट पनि स्थानीय निर्वाचनप्रति जनचासो बढेको हो । 

गत निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले ५ वर्षको कार्यकालमा गरेका कामको मूल्यांकन गर्दै जनताले आआफ्ना स्थानीय तहमा आसन्न निर्वाचनमा  निष्पक्ष र क्षमतावान जनप्रतिनिधि चुन्ने समय आएको छ । सधैँ नेतृत्वलाई गालीमात्र गर्नेे प्रवृत्ति त्यागेर आगामी निर्वाचनमा सम्पूर्ण मतदाताले विवेकपूर्ण निर्णय गर्नुपर्छ । 

विशेषगरी स्थानीय तहको निर्वाचनमा मतदान गर्दा कुनै पार्टी विशेषको अमुक व्यक्तिलाई जिताउनेमात्र होइन हामीले त्यस व्यक्तिलाई हामीमाथि प्रत्यक्षरुपमा शासन गर्ने वैधानिक अधिकार पनि हस्तान्तरण गरिरहेका हुन्छौँ । त्यसैले आफूलाई शासन गर्ने व्यक्ति छान्दा क्षमतावान र निष्पक्ष भएर काम गर्न सक्ने व्यक्ति निर्वाचित गर्नुपर्छ । त्यसो हुन नसके अक्षमहरुबाट शासित हुन तयार हुनुपर्छ ।

निर्वाचनले जनप्रतिनिधिको चयन र शासन संचालनका साथै प्रजातान्त्रिक व्यवस्थालाई सुदृढ गर्न मद्दत गर्छ । आवधिक निर्वाचनले जनप्रतिनिधिलाई जनस्तरमा रहेर काम गर्न तथा जनसरोकारका विषयहरुप्रति प्रत्यक्षरुपमा जानकार रहेर तिनको सम्बोधनको पहल गर्न पनि बाध्य बनाउँछ । अन्यथा, जनताबाट अस्वीकृत  हुने सम्भावना रहन्छ ।

लोकतन्त्रमा आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रो समाजमा अझै पनि एजेन्डाभन्दा पनि आफन्त, नातागोता तथा व्यक्तिगत सम्बन्धका आधारमा भोट हाल्ने चलन छ । यस्ता क्रियाकलापले परम्परागत नेतृत्वलाई नै निरन्तरता दिने, नयाँ नेतृत्व आउन नसक्ने र एउटै पुस्ताले निरन्तरता पाउने क्रम जारी रहन्छ । आआफ्नो स्थानीय तह वा क्षेत्रको माटो सुहाउँदो विकास तथा योजना निर्माणका लागि विवेकशील जनताले आगामी निर्वाचनमा मतदान गरी सक्षम नेतृत्व चुन्न केही महत्त्वपूर्ण विषयहरुमा ध्यान पुर्याउन सके असल जनप्रतिनिधि चुनिन सक्छन् र स्थानीय तहमा महत्त्वपुर्ण जनसरोकारका सवालको राम्रोसँग सम्बोधन हुनसक्छ ।                                                                                                                                  

जनतासँगको सम्बन्ध र आर्थिक अवस्था 

विवेक भएका नागरिकले निर्वाचनमा मतदान गर्दा प्रतिस्पर्धामा रहेका उमेदवारमध्ये को कति जनस्तरमा भिजेको छ र त्यसले कसरी काम गर्छ ? त्यसको काम गर्ने शैली कस्तो छ ? उमदवारको पारिवारिक पृष्ठभुमि तथा जनतासँग सम्बन्ध कस्तो छ ? भन्नेजस्ता प्रश्नका उत्तरमा ध्यान दिनु उचित हुन्छ । 

उमेदवारहरुको संगत र सम्बन्ध कस्ता व्यक्तिहरुसँग छ ? त्यस्ता व्यक्तिले समाजमा कस्तो प्रकृतिको काम गरिरहेका छन् र उनीहरु त्यो हैसियतमा कसरी पुगे भन्नेजस्ता विषयमा पनि विशेष ध्यान पुर्याउनु आवश्यक हुन्छ । कुनै उमेदवारको व्यापारी, ठेकेदार वा यस्तै प्रकृतिका नाफाको लागि काम गर्ने वा कमिसनमा काम गर्ने व्यक्ति वा संस्थासँग प्रत्यक्ष वा परोक्षरुपमा व्यावसायिक वा घनिष्ठ सम्बन्ध छ भने यस्ता व्यक्ति निर्वाचित भएमा उनीहरुकै स्वार्थमा काम गर्छन् र राज्यको दोहनमात्र हुन्छ ।

यसका साथै उमेदवारको समग्र आर्थिक अवस्थाको समेत पूर्ण जानकारी लिनुपर्छ । निर्वाचनको अवधिमा कुन उमेदवारले कसरी निर्वाचन अभियान संचालन गरिरहेको छ भन्ने नियाल्नुपर्छ । त्यसको स्रोत के हो निर्वाचनमा कतिको तडकभडक गरेको छ ? निर्वाचन निष्पक्ष बनाउन के कति योगदान दिएको छ ? अन्य समयमा पनि के कस्तो प्रभाव पारेको छ भनेर हेर्नुपर्छ । 

निर्वाचन जित्न कतिपय व्यक्तिले कुनै स्वार्थ समूहको लगानीमा मतदातालाई प्रभावमा पार्न अनेकौं अवाञ्छित क्रियाकलाप गर्न सक्छन् र निर्वाचित भइसकेपछि तिनै स्वार्थ समूहको इसारामा काम गर्ने गर्छन् । त्यसैले सम्पूर्ण मतदाताले मतदानका समयमा विवेकपूर्ण निर्णय लिनु आवश्यक हुन्छ । 

सामाजिक बनोट 

कुनै पनि निर्वाचन क्षेत्रको सामाजिक बनोटले त्यस क्षेत्रको राजनीतिक तथा आर्थिक अवस्थालाई निर्धारण गर्छ । समाजको बनोट कस्तो छ त्यस समाजमा कुन कुन समुदायका कुन कुन धर्म मान्ने व्यक्तिहरुको बाहुल्य रहेको छ भन्ने विषयले निर्वाचन परिणाममा असर गर्ने गर्छ । 

समाजमा कुनै जात वा सम्प्रदायका व्यक्तिहरुको बाहुल्य छ भने निर्वाचनमा त्यसै समुदायबाट उमेदवार भएमा वा त्यस समुदायलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने कुनै एजेन्डा उठाएमा पनि उनीहरु साम्प्रदायिक भवनाबाट प्रभावित हुनसक्छन् । त्यस्तै, समाजको चेतनाको स्तरले पनि निर्वाचन परिणाम फरक पर्न सक्छ । 

हाम्रो समाजमा प्रत्येक दलका आआफ्नै मतदाताहरु छन् । कतिपय पुस्तौंदेखि एउटै पार्टीमा भोट हाल्ने बिरासत बोकेका मतदाता छन् भने अहिले आएर उमेदवारले उठान गरेका मुद्दा र क्षमता हेरी भोट हाल्ने समूह पनि बढिरहेको छ । अधिकांश मतदाताहरुबाट एजेन्डाका आधारमा मतदान गर्ने अपेक्षा गरिएको हुन्छ । 

उठान गरेका विषयवस्तु र कार्यान्वयनका आधार 

स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधि आफ्नो तहमा काम गर्न स्वायत्त हुने तथा कार्यकारी अधिकार प्रयोग गर्ने भए पनि कतिपय विषयमा स्थानीय सरकारका सीमा छन् । स्थानीय सरकारका अधिकारहरुबारे संविधानमा नै निर्दिष्ट गरेकाले उमेदवारले उठाएका विषयहरु उसको अधिकार क्षेत्रभित्र पर्छ कि पर्दैन र पर्छ भने पनि कार्यान्वयनका आधारहरु के के हुन सक्छन् भन्नेजस्ता विषयहरुको बारेमा हेरिनुपर्छ । 

स्थानीय तहमा प्रतिस्पर्धा गर्ने प्रतिनिधिहरुले उठाएका विषयवस्तु कस्ता छन् ? के ती विषयहरु स्थानीय सरकारको अधिकार क्षेत्र तथा क्षमताले सम्भव तुल्याउने खालका छन् भनेर हेर्नुपर्छ । सस्तो लोकप्रियताको लागि कसैले सम्भव नै नहुने किसिमका विषयहरु उठाएका हुन्छन् । उमेदवार स्वतन्त्र हो वा कुनै पार्टीको उमेदवार हो ? पार्टीको उमेदवार भएमा उसको पार्टी र उसले निर्वाचनमा उठाएका विषयको तादम्य मिल्छ वा मिल्दैन ? 

स्वतन्त्र व्यक्ति निर्वाचित भएमा उसलाई पार्टीको सरोकार नहुन सक्छ तर कुनै पार्टीको उमेदवार निर्वाचित भएमा उसको मात्र इच्छा शक्ति भएर हँुदैन । उसले पार्टी नेतृत्वलाई पनि विश्वासमा लिँदै स्थानीय कार्यकर्ताहरुलाई पनि चित्त बुझाएर काम गर्नुपर्ने हुन्छ । 

पछिल्लो समय नेपालमा पनि साक्षरता दर बढिरहेको तथा बौद्धिक व्यक्तिहरुको जमात पनि निकै नै बढिरहेको हुँदा आगामी निर्वाचनमा बौद्धिक समूहले उमेदवारहरुको सम्बन्धमा सूक्ष्म मूल्याङ्कन गरी विवेकपूर्ण तरीकाले निर्वाचनमा आआनो सहभागिता जनाउने अपेक्षा गरिएको छ । 

पूर्व कामको मूल्याङ्कन 

प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धीहरु कुनै न कुनै किसिमले सार्वजनिक सेवासँग जोडिएका हुन्छन् नै । कोही सार्वजनिक सेवामा जोडिएका नभए पनि उनीहरुले व्यक्तिगतरुपमा समाजमा गरेका क्रियाकलापबाट पनि उनीहरुको स्वभाव मूल्याङ्कन गर्न सकिन्छ । व्यक्तिले पहिले गरेका कामको मूल्याङ्कन गर्दा समाजमा सकारात्मक परिवर्तनका लागि काम गरेको वा गर्ने प्रयत्न गरेको र आगामी दिनमा पनि अपेक्षा गर्न सकिने उमेदवार छान्नु उपयुक्त हुन्छ ।

साधारणतया स्थानीय तहको निर्वाचनबाट चुनिने जनप्रतिनिधिले व्यक्तिका जीवनमा हु्ने दैनिक घटना तथा सामान्यभन्दा सामान्य विषयसँग सरोकार राख्ने भएकाले हामीले चुनेका प्रतिनिधिका कारण आफैलाई सेवा लिन असहज नहोस् भनेर पनि समयमा नै सोचविचार गर्नु आवश्यक हुन्छ । उमेदवारहरुले व्यक्तित्व कसरी निर्माण गरिरहेका छन् ? तिनको पृष्ठभूमि के थियो र कसरी उमेदवार भए भन्नेको पनि सूक्ष्म अध्ययन गर्नुपर्छ । 

कहिलेकाहीँ लाभको पद प्राप्त गर्न निर्वाचनमा अत्यन्त भलादमी तथा सहयोगीरुप देखाएर मतदाताहरुलाई प्रभावित पार्न सक्छन् । यसप्रति मतदाता सचेत रहन जरुरी हुन्छ ।

योग्यता

योग्यता भन्नाले उमेदवार हुन आवश्यक भनी निर्वाचन आयोगले तोकेको योग्यतामात्र नभएर निर्वाचित भइसकेपछि सो पदमा रहेर काम गर्नसक्ने वा नसक्ने‚ कार्य सम्पादनको स्तर कस्तो हुन सक्छ भन्ने जानकारी दिनु पनि हो भन्ने ब्झ्नुपर्छ । हुनत मानिस त्यस्तो प्राणी हो जसलाई कहिल्यै बुझ्न सकिदैन पनि भन्ने गरिन्छ । तर, सामान्यतः व्यक्तिको विगतका व्यवहारबाट निजले भविष्यमा गर्ने कार्यसम्पादनको अनुमान गर्न सकिन्छ । 

योग्यताले शैक्षिक योग्यतामात्र नभएर व्यक्तिको स्थानीय तहमा रहेर स्थानीय जनसरोकारका विषयको सम्बोधन गर्नसक्ने क्षमता पनि हो । उच्च शैक्षिक उपाधि धारण गरेका व्यक्ति पनि जनसरोकारका सवालहरु सम्बोधन गर्न सक्षम नहुन सक्छन् । त्यस्तै कोही साधारण लेखपढमात्र गरेका व्यक्तिहरु पनि निष्पक्ष तरिकाले स्थानीय स्तरका सवालहरुको व्यवस्थापन गर्न कुशल हुन्छन् । त्यसैले व्यक्तिको शैक्षिक उपाधि भन्दा पनि समाज विकास तथा सामाजिक विषयको व्यवस्थापनमा दख्खल राख्ने व्यक्तिलाई चुन्नुपर्छ । 

स्थानीय जनप्रतिनिधिले कार्यकारी अधिकार प्रयोग गर्नुका साथै आफ्नो स्थानीय तहभित्र विधायकी अधिकारको पनि प्रयोग गर्छन् त्यसैले स्थानीय विषयको राम्रो ज्ञान भएको तथा राष्ट्रिय कानुनका सम्बन्धमा विज्ञता भएको व्यक्तिलाई स्थानीय तहमा निर्वाचित गर्न सकेमा त्यस्ता जनप्रतिनिधिले तुलनात्मक रुपमा राम्रो काम गर्न सक्छन् । 

स्थानीय तहको निर्वाचन प्रदेश सभा र संसदीय निर्वाचनभन्दा नितान्त फरक छ । स्थानीय तहका जनप्रतिनिधिले आआफ्नो तहमा प्रत्यक्ष शासन सञ्चालन गर्छन् । स्थानीय तहमा कार्यकारी तथा विधायकी अधिकार हुन्छ भने प्रदेश र संघीय सांसदहरुले विधायकी अधिकारमात्र प्रयोग गर्छन् । 

त्यसैले स्थानीय तहमा कस्तो किसिमको जनप्रतिनिधी आवश्यक पर्छ त्यसबारेमा मतदाता आफैँले मनन गरी मतदान गर्नुपर्ने देखिन्छ ।

केन्द्रीय सरकारसँगको सम्बन्ध

हाम्रो देशमा संघीय शासन प्रणाली लागु भएको लामो समय भएको छैन । स्थानीय जनप्रतिनिधि तथा सरकारको पहिलो कर्यकाल सकिँदैछ र दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचनको संघारमा छौँ । पहिलो कार्यकालबाट के देखिन्छ भने स्थानीय तहमा रहेका जनप्रतिनिधिको सम्बन्ध संघीय सरकारका प्रतिनिधिसँग राम्रो भए त्यस्ता प्रतिनिधिहरुले उठाएका विषय समयमै सुनुवाइ हुनुका साथै संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा योजनाहरु समेत बढी पाइने रहेछन् । राम्रो सम्बन्ध नभएका स्थानीय तहहरुले कानुनबमोजिममात्र पाउने र अन्य कुराहरुको सुनुवाइ समेत नहुने भएका कारण पनि आफ्नो क्षेत्रको प्रतिनिधि छान्दा केन्द्रीय सरकारसँग उसको सम्बन्ध कस्तो छ र उसले कसरी सम्बन्ध स्थापित गर्न सक्छ भन्ने हेरेर मतदान गर्नुपर्ने देखिन्छ ।

उल्लिखित विषयबाहेका अन्य महत्त्वपूर्ण विषयहरु पनि हुन सक्छन् जसको आधारमा मतदाताले स्थानीय तहमा निष्पक्ष‚ इमानदार‚ सबल र सक्षम नेतृत्व चयन गर्न सक्छन् । 

स्थानीय तहको सरकार प्रत्यक्ष निर्वाचित हुने र यसको कार्यकाल भरी अन्य सरकारको विकल्पको परिकल्पना संविधानले नगरेकाले मतदाताको एक पटकको निर्णयले पाँच वर्षसम्म सुविधा वा दुविधा सृजना गर्न सक्छ । त्यसैले स्थानीय तहको जनप्रतिनिधि छान्दा विवेकपूर्ण निर्णय गरी मतदान गर्नुपर्छ । baahrakhari