December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

लिंगको क्यान्सर हुने कारण, लक्षण र उपचार

  • डा.प्रेमराज सिग्देल

के हो लिंगको क्यान्सर?
छाला वा अंगको कोषहरुको असामान्य वृद्धि क्यान्सर हो। जब यी कोषहरूको वृद्धि लिंगमा शुरू हुन्छ यसलाई लिंगको क्यान्सर भनिन्छ । पश्चिमी मुलुकमा लिंगको  क्यान्सर दुर्लभ छ तर एसिया, अफ्रिका र दक्षिण अमेरिकाका केही भागहरूमा क्यान्सर अलि धेरै नै देखिने गरेको छ। अधिकांश लिंगको  क्यान्सर रोगीहरु ६० देखि ७० बर्षका हुन्छन्। नेपालमा मधेसी समुदायमा लिंगको क्यान्सर अधिक मात्रामा पाइएको छ ।

Advertisement

लक्षण
    लिंगको टुप्पोको छाला मोटो हुनु वा रंग परिवर्तन हुनु 
    लिंगमा गाँठो वा डल्लो आउनु 
    लिंगमा घाउ आउनु, घाउबाट रगत बग्नु 
    लिंगमा मासु पलाउनु 
    लिंगको टुप्पोबाट गन्हाउने पानी बग्नु 
    लिंग सुन्निनु 
माथि उल्लेखित समस्याहरु लिंगको संक्रमणको कारणले पनि हुन  सक्छन्।
यदी रोग फैलिएको छ भने तौल घट्नु , थेरै थकाई लाग्नु , हड्डी दुख्नु जस्ता समस्या पनि देखा पर्दछन्।

दुर्भाग्यवश लिंगको क्यान्सर सुरुको आवस्थामा लाज तथा डरको कारणले बिरामीले लुकाउन खोज्छन्। अनि अलि धेरै बढेपछि मात्र चिकित्सकको सम्पर्कमा आउँछन् । त्यतिबेला निकै ढिला समेत भइसकेको हुनसक्छ। डराएर, लजाएर आफ्नो रोग पाल्नु भन्दा समय मै उपचार खोज्नु बुद्धिमानी हुन्छ ।

क्यान्सर बन्नुका कारणहरु 
–    लिंगको टुप्पोको छाला भित्र फसेर बसेको फोहोरलाई लिंगको क्यान्सरको कारक तत्वको रुपमा मानिन्छ। यदी यो जमेर बसेको फोहोर नियमित रुपमा सफा गरिएन भने लिंगको क्यान्सरको सम्भावना धेरै हुन्छ ।
–    धूम्रपान गर्ने पुरुषमा लिंगको क्यान्सरको जोखिम  धेरै हुन्छ।
–    उमेर ढल्किँदै गएपछि क्यान्सरको जोखिम हुन्छ ।
–    परिवारमा कसैलाई लिंगको क्यान्सर भएको छ भने परिवारको अरु सदस्यलाई क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
–    एड्स जस्ता अवस्थाले पेनाइल क्यान्सर निम्त्याउन सक्छ।
–    एचपिभि संक्रमण –  एचपिभि एक भाइरस हो जुन यौन सम्पर्कबाट सर्छ। एचपिभिले लिंगको क्यान्सर र  पाठेघरको मुखको क्यान्सरमा  पनि भूमिका  खेल्छ ।

निदान 
–    लिंगको क्यान्सर बायोप्सीबाट निदान गरिन्छ। यदि क्यान्सर शरीरको अन्य भागहरुमा फैलिएको शंका भएमा इमेजिंग परीक्षण (सिटी अथवा एमआरआइ) गरिन्छ।

उपचार 
–    जति सुरुको अवस्थामा लिंगको क्यान्सर पत्ता लगाउन सकिन्छ, त्यति नै सफल उपचार गर्न सकिन्छ। यदि निदान ढिलो भयो भने फैलिएको क्यान्सरलाई उपचार गर्न गार्हो हुने तथा उपचार कम सफल हुने हुन्छ।

–    क्यान्सर कति फैलिएको छ भन्ने आधारमा अप्रेसन, विकिरण अथवा केमोथेरापीको उपचार आवश्यक हुन सक्छ।  लिंगको क्यान्सर छिटो पहिचान गर्नु अति महत्त्वपूर्ण हुन्छ। यसले राम्रो नतिजा मात्र सुनिश्चित गर्दैन,  छिटो पहिचान भएका लिंगका क्यान्सरको उपचार विकल्पहरू पनि धेरै छन् र पूर्णरुपमा निको हुने सम्भावना पनि धेरै छ।

–    यदी क्यान्सर निकै नै सानो छ भने मल्हम औषधि लगाएर नै क्यान्सरलाई निको बनाउन सकिन्छ। अलि ठूला क्यान्सरलाई थोरै मासु काटेर, लिंगको टुप्पोमा भएको छालालाई काटेर उपचार गर्न सकिन्छ।  यो अप्रेसनपछि लिंग सामान्य जस्तै देखिन्छ र सामान्य जस्तै काम गर्न सक्छ ।

–    क्यान्सर अझ ठूलो भएको छ भने लिंगलाई आधा काट्ने वा पुरै काट्नु पर्छ। यो आवस्थामा  ग्रोइनमा रहेका डल्लाहरु पनि निकाल्नु पर्छ । यदि आधा मात्र लिंग काट्नु परेको छ भने शल्यक्रिया पछि पनि बिरामीले  उभिएर पिसाब  फेर्न तथा यौन सम्पर्क  गर्न  सक्छन् । यदी लिंग पुरै काटियो भने पिसाब फेर्ने ठाउँ  दिसा गर्ने ठाउँ भन्दा थोरै अगाडि बनाउनु पर्छ र  महिलाले पिसाब फेर्ने जसरि बसेर पिसाब फेर्नु पर्छ।

कसरी बच्ने त? 
– लिंगको सफाई – सम्भवतः सर्कमसिजन (लिंगको टुप्पो वरिपरि रहेको छाला निकाल्नको अवस्था) नभएका पुरुषहरुमा लिंगको क्यान्सरको रोकथाममा सबैभन्दा महत्त्वपूर्ण कुरा लिंगको सफाई हो। सर्कमसिजन नभएका पुरुषहरूले हरेक पटक नुहाँउदा लिंगको टुप्पोमा भएको छालालाई पछाडी फर्काएर सम्पूर्ण लिंग सफा गर्नु पर्छ। छाला पछाडी नफर्किने आवस्थालाई फाइमोसिस भनिन्छ। यदी फाइमोसिस भएको छ भने डाक्टरलाई भेटेर उचित परामर्श लिई औषधिको विधि अथवा सानो अप्रेसन गरेर छाला काटेर फाल्नु पर्छ। नेपालमा मधेसी समुदायमा  लिंगको क्यान्सर धेरै पाइएकोले यो समुदायमा लक्षित गरेर जनचेतना कार्यक्रम संचालन गर्नु अति नै आवश्यक देखिएको छ ।

– सर्कमसिजन (लिंग को टुप्पो को छाला फाल्ने अप्रेसन ) –  बच्चा अवस्थामा गरिएको सर्कमसिजनले पुरुषहरूमा मूत्रमार्गको संक्रमण र लिंगको क्यान्सर कम हुने गर्दछ । आमाबाबुले आफ्नो बच्चाको सर्कमसिजन गर्नु अगाडि डाक्टरसँग सर्कमसिजनको जोखिम र फाइदाहरूबारे छलफल गर्नुपर्छ। उमेर बढ्दै गए पछि  सर्कमसिजनले लिंगको क्यान्सर बाट बच्न त्यती धेरै फाइदा भने गर्दैन ।

– धूम्रपान नगर्ने

– एचपिभि संक्रमण –  एचिपिभि संक्रमणबाट लिंगको जोखिम बढ्न सक्छ। सुरक्षित यौन सम्पर्क तथा उचित रुपमा  कण्डमको प्रयोगले एचपिभि संक्रमण तथा लिंगको क्यान्सरबाट बच्न सकिन्छ।

(डा सिग्देल भरतपुर क्यान्सर अस्पतालका  यूरोलोजिस्ट हुन्।) swasthyakhabar