December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

कम जाँचेर मात्रै घटेको हो कोरोना संक्रमण

कुनै पनि प्यान्डेमिक अवस्थाको एक प्रमुख जोखिम हो भीडभाड। यो कुरा कोरोना संक्रमण र यसको प्यान्डेमिकमा पनि शतप्रतिशत लागु हुन्छ। यही भीडभाड कम र नियन्त्रण गर्न लकडाउन तथा अन्य निषेधाज्ञाहरुको आवश्यकता  पर्दछ। पर्वको अर्को नाम भीडभाडभन्दा त्यति फरक नपर्ला। त्यसमाथि दशैं तिहारजस्तो ठूला पर्वहरुको बेला बजारदेखि बाटो र घरसम्म भीडभाड हुने गर्दछ। यस्तो बेला कोरोना संक्रमण एकबाट अर्कोमा सर्ने सम्भावना प्रशस्त हुन्छ।

Advertisement

एक वर्ष अगाडि अर्थात् बि.सं २०७७ को दशैंको बेला नेपालमा कोरोना प्यान्डेमिकको अवस्था फरक थियो। त्यति बेला नेपाललगायत दक्षिण एसियामा कोरोना प्यान्डेमिकको लहर चलिरेहेको थियो, जुन त्यति बेलासम्म सबैभन्दा ठूलो थियो। त्यतिबेला नेपाल सरकारले निषेधाज्ञा खुकुलो गरेको अवस्था थियो। स्मरण रहोस् बि सं २०७७ श्रावण ७ गते नेपाल सरकारले केही प्रतिबन्धसहित लकडाउन समाप्त गरेको थियो। त्यतिबेला देखि नै नेपालमा कोरोना संक्रमण बढ्दै गइ दशैंको बेला उक्त लहर उच्च बिन्दुमा पुगेको थियो। त्यतिबेला नेपालमा दैनिक नयाँ कोरोना संक्रमण ३००० देखि ४५०० सम्म पुगेको थियो। त्यतिबेला दैनिक पीसीआर परीक्षण १३००० देखि १७००० जतिसम्म गर्ने गरिन्थ्यो भने दैनिक पोजिटिभिटी अर्थात् संक्रमण दर २०% देखि २६% सम्म हुने हरेको थियो। त्यति बेला देशभरि दैनिक १० देखि २० जनासम्मको कोरोनाका कारण मृत्यु हुने गरेको थियो भने देशभरिको तुलनामा काठमाडौँ उपत्यकामा मात्रै करिब ६०% दैनिक कोरोना संक्रमण भेटिन्थ्यो। त्यतिबेला धेरै नेपालीले कोरोनाका कारण धेरै दुःख पाए, धेरैले जनधन गुमाए।

त्यतिबेला दशैंको भीडभाड कम भएर गएसँगै कोरोना संक्रमण र प्यान्डेमिक लहर क्रमैसँग कम हुँदै गएको थियो। स्मरण रहोस्,   बि.सं २०७७ कत्तिक ५ गतेका दिन त्यतिबेला सबैभन्दा धेरै परीक्षण गरिएको थियो, एकैदिन २०,११८ पीसीआर परीक्षण। सोही दिन सबैभन्दा धेरै संक्रमण, ५७४३ नया संक्रमण भेटिएको थियो। काठमाडौँमा मात्रै ३१०७ संक्रमित थपिएका थिए भने सबैभन्दा धेरै कोरोना मृत्यु पनि सोही दिन, २६ जना भेटिएको थियो। सोही दिन नेपालमा त्यतिबेलासम्म सबैभन्दा धेरै पोजिटिभिटी, २८.५% पनि देखिएको थियो।

आजको अवस्था अलि फरक छ। यी सबै तथ्यांकहरु हालको भन्दा निकै उच्च थिए। हालको तथ्यांक तल उल्लेख तथा वर्णन गरिएको छ। यसरी त्यतिबेलाको दशैं हालकोभन्दा निकै जोखिमपूर्ण र दुःखपूर्ण थियो।

यी सबै कुराहरु अहिले हाम्रो लागि इतिहास भइसकेको छ। हाल कोरोना संक्रमण नेपालमा केही कम भएको अवस्था छ र नेपालीहरु पनि कोरोनाबाट केही तंग्रिएको अवस्था छ। तर इतिहासबाट पाठ र शिक्षा लिन बिर्सनु हुँदैन। इतिहासबाट पाठ सिकी सुनौलो भविष्यको परिकल्पना र विकास गर्नु पर्दछ।

हाल विश्वमा कोरोना प्यान्डेमिकका कैयौं लहरहरु आउनेजाने क्रममा दक्षिण एसिया पनि यसै परिस्थितिबाट गुज्रिरहेको छ।

चित्र न. १ ले दक्षिण एसियाको विगत दुई हप्ताको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रबृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु दुवैमा क्रमिक कमी हुँदै आएको छ। हाल दक्षिण एसियामा दैनिक औसत करिब २३,५०० नयाँ कोरोना संक्रमण र करिब ३४० नया मृत्यु देखिने गरेको छ, जुन तीन हप्ताअघिको औसतभन्दा केही कम देखिन्छ।

चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो दुई हप्ताको दैनिक नया कोरोना संक्रमणको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा  दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ। माल्दिभ्समा पछिल्लो समय दैनिक नयाँ संक्रमण संख्यामा सामान्य वृद्धि भएको देखिन्छ भने श्रीलंकामा हाल पनि दैनिक संख्यामा उतारचढाब हुने गरेको देखिन्छ।

त्यस्तै, चित्र न. ३ले  दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरु, विशेष गरी पाकिस्तान, श्रीलंका र बंगलादेशमा दैनिक मृत्युमा कमी हुँदै आएको छ।

चित्र न. ४ ले दक्षिण एसियाली र अन्य केही देशहरुको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत  संक्रमण दरको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय सबै दक्षिण एसियाली देशहरु लगायत अमेरिका, जापान र बेलायतको पनि दैनिक संक्रमण दरमा क्रमिक कमी आएको देखिन्छ। यद्यपि हाल नेपाल, श्रीलंका र अमेरिकाको दैनिक संक्रमण दर WHOको मापदण्डभन्दा बाहिर छ भने अन्यको विगत एक महिनाभन्दा लामो समयदेखि मापदण्ड भित्र नै पर्दै आएको छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता सन् २०२१ अक्टोबर १० देखि १६ (बि.सं २०७८ असोज  २४ देखि ३०) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्, जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नया संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने  नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२१ अक्टोबर १० देखि १६ (बिसं २०७८ असोज  २४ देखि ३०) सम्म जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न. ५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, असोज ३० गते शनिबारसम्म, देशभरि जम्मा ३०१९    जना नयाँ संक्रमित थपिइ जम्मा संक्रमितको संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण दुई हप्ताअघि ५०१५ थियो। त्यस्तै, साप्ताहिक मृत्यु गत हप्ता ५७ रह्यो, जुन दुई हप्ताअघि ६४ थियो। गतहप्ता जम्मा ३४, १५७ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ५८, ६०८ थियो।

यसरी पछिल्लो समय नेपालको साप्ताहिक कोरोना संक्रमण र मृत्युमा क्रमशः कमी हुँदै गइरहेको छ। तर साप्ताहिक पीसीआर परीक्षण संख्या पनि पछिल्लो समय निकै कम गरिएको छ। कोरोना प्यान्डेमिकको हालसम्मको विश्वको अनुभवले के देखाउँछ भने कोरोना परीक्षण कम गरिए भने कोरोना सम्बन्धि सबै तथ्यांकहरु, जम्मा संक्रमण, मृत्यु, मृत्यु दर, संक्रमण दर पनि कृतिम तरिकाले कम हुँदै जान्छ। प्यान्डेमिक कालमा अधिकतम परीक्षणमा न्यूनतम संक्रमण देखिनु सबैको लक्ष्य हुनु पर्दछ नकि न्यूनतम परीक्षणमा न्यूनतम संक्रमण। चित्रमा गतहप्ताको दैनिक परीक्षणको प्रबृत्ति स्पष्ट देखाइएको छ।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ५०.०१% जति देखिएको छ, जुन दुई हप्ताअघि ४३.७% थियो। पर्वको समयसँगै सिंगो देशको दाँजोमा काठमाडौँ उपत्यकाको दैनिक संक्रमण अनुपात पछिल्लो समय निकै बढेको देखिन्छ। बजारमा दशैंको माहोल बढेसँगै सिंगो देशको दाँजोमा काठमाडौँ उपत्यकाको दैनिक संक्रमण अनुपात पनि बढ्दै गइ शनिबारको अनुपात ६६% भन्दा धेरै पुगेको छ, जुन काठमाडौँबासीको लागि  चिन्ताको विषय हो।

दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate)


प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो, जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न. ६ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ, जुन विस्तारै केही घट्दै गएको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ६.१२% देखि अधिकतम ११.६४% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ९.५% रह्यो, जुन दुई हप्ताअघि ९.०२% थियो। नेपालको कोरोना संक्रमण दर विगत डेढ महिनादेखि केही कम हुँदै गएकोमा गत हप्ता फेरि बढ्नु चिन्ताको विषय हो।

संक्षेपमा, पछिल्लो समय नेपालमा पर्वको समय कुल संक्रमण र मृत्यु घटेता पनि यसको प्रमुख कारण अति न्यून परीक्षण नै हो। जोखिमको समयमा परीक्षण अझै धेरै गरिनु पर्नेमा कम गरिनु असावधानी र हेलचेक्र्याइँ नै हो। परीक्षण कम गर्दागर्दै पनि संक्रमण दर र काठमाडौँ उपत्यकाको संक्रमण अनुपात बढ्नु सुखद् होइन।

दक्षिण एसियामा समग्ररुपमा दैनिक संक्रमण र मृत्युमा कमी आउँदै गएको प्रबृत्ति देखिएको छ।

कोरोना कालमा आफू बच्ने उपाय मात्रै गरे पनि त्यसले अरुलाई पनि बचाउन सकिन्छ। कोरोना प्यान्डेमिक समस्त मानवजातिको लागि एक युद्ध हो। अलि दुःख र कष्ट सहेर भए पनि सुनौलो भविष्यको लागि यो युद्ध लडेर जित्नै पर्छ। यसको अरु कुनै विकल्प नै छैन।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैली नै एक मात्र यस्तो हतियार हो, जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाइका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ, त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ। deshsanchar