December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

लक्ष्यविहीन नेपाली राजनीति

काठमाडौंको बानेश्वरमा बस्ने एक जागिरेले खाना पकाउला, कपडा धोइदेला भनेर गाउँतिरबाट एक युवकलाई लिएर आएछन्। सोहीअनुरूप बिहान र बेलुका त्यो युवकले खाना बनाउँथ्यो जागिरेलाई सन्तुष्ट पारेर खुवाउँथ्यो‚ कपडा धोइदिन्थ्यो।

Advertisement

जागिरेले त्यो युवकलाई दिउँसो पढ्न पठाउनेबारे पनि सोचेका थिए। तर उमेर बढी र हातमा कुनै सर्टिफिकेट नभएकाले पढाइको पनि तालमेल मिलेको थिएन । दिनभर ऊ खाली हुन्थ्यो।  जागिरे अफिस गएको हुन्थ्यो।

त्यो वेला ऊ हरेक दिन नयाँ  बानेश्वरबाट पानीटंकी, ह्वाइटहाउस हुँदै पुरानो बानेश्वर पुगेर फर्कन्थ्यो। धेरै दिनसम्म ऊ यही बाटोबाट आउँदै जाँदै गर्दा एउटा नयाँ चेतना आयो‚ उसले बाटो परिवर्तन गर्ने सोच्यो । सधैँ हिँडेको भन्दा फरक बाटोबाट हिँड्नुलाई  ठूलो रोमाञ्च विषय मान्यो।

बाटो फेरेर जाँदा  पुरानो बानेश्वर पुग्न अति नै कठिन भयो, प्रत्येक दोबाटोमा अलमलियो, बडो मुस्किलले ३ घण्टा यता र उता भौँतारिएपछि बल्लतल्ल ऊ पुरानो बानेश्वर पुग्यो। बाटो फेरियो अनेक प्रत्यत्न गरेर धेरै हिँड्दा ऊ असिनपसिन पनि भयो तर फेरि पुरानो बानेश्वर पुग्यो।

बाटो दिनदिनै  फेर्न थाल्यो तर गन्तव्य फेर्न सकेन। यसरी काठमाडौँ बसाइ फरक फरक बाटोबाट नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर पुग्नमै रुमलियो। उद्देश्यको नयाँपन नभेटिएकाले फरक बाटो अनुभवलाई नै उसले आफ्नो सफलता द्योतक मान्यो। कतै नेपाली राजनीति पनि यसरी नै अल्मलिएको त छैन।

परिस्थितिले नेता जन्माउँछ कि नेताले परिस्थिति जन्माउँछ‚ यो बडो गम्भीर प्रश्न छ। यो प्रश्नको सही उत्तर पाउन निकै कठिन छ। जोन एफ केनडी र मार्शलको जीवनी लेख्ने नाइजल हेमिल्टनले एक ठाउँमा लेखेका छन्‚  ‘जीवनी भनेको व्यक्तिले गरेका कामहरूको टुहुरो सन्तान हो।’ यसको अर्थ जीवनी विज्ञान हो। यसमा त्यो मात्र उल्लेख हुन्छ‚ जुन काम कसैले वास्तवमा गरेर समाजमा छोडेको हुन्छ।

जति नै ठूलो तथा शक्तिशाली व्यक्ति भए पनि उसले गरेका वास्तविक काममात्र जीवनीका हाइलाइटेड पंक्ति हुन सक्छन्। बाँकी कुराको सारभूत कुनै अर्थ रहँदैन। जीवनी उल्लेख्य बनाउने एक आधार स्वार्थको त्याग हो‚ जुन नेपालमा देखिएन।

राजनीतिमा कसले कति गफ गर्‍यो, कतिलाई भोज खुवायो,  पार्टीका लागि कति कोष जुटायो भन्ने कुरा अर्थहीन हुन्छ। नेताले समाजलाई के दियो भन्ने कुरा मात्र स्मृतियोग्य हुन्छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे।

चन्द्रशमशेरको ३१ वर्षे कार्यकालभन्दा बहुमूल्य भयो। सतिप्रथा अन्त्य,  दासत्वमोचन‚ बिजुली र टेलिफोन भित्र्याउने जस्ता काम नगरेको भए इतिहासको दृष्टिमा चन्द्रशमशेर हुनु नहुनुको कुनै अर्थ हुँदैनथ्यो। जसरी अन्य कतिपयको शासनकाल अर्थहीन छ। जसले भत्तामात्र पचाएर गए।

पदमा पुग्नु र त्यो समयमा ठूलो निर्णय गरेर अविस्मरणीय बनाउनु दुई अलग कुरा हुन्। हुनत प्रत्येक नेतामा केही राम्रो र अविस्मरणीय गर्ने इच्छा हुन्छ। तर उद्देश्य निर्धारण गर्न त्यसमा कटिबद्ध रहन नसक्नु र स्वार्थमा लाग्नुले उनीहरूलाई सानो भुमरीमा घुम्छन्।

प्रत्येक राजनीतिक दल, नेता तथा अख्तियारवाला सत्तारूपी पुरानो बानेश्वरमा अनेक तरिकाले पुग्छन्। अनि फर्किन्छन्, त्यही थकित, अकर्मण्यता र असफलताको झोली बोकेर। अकर्मण्यताका बाटाहरू फेरिएका छन्, नामहरू फेरिएका छन् वाद र तन्त्रको नाममा तर उपलब्धि केवल पुरानो बानेश्वरमा सीमित छ। पदमा पुगेका ९९ प्रतिशत व्यक्तिलाई एकान्तमा लगेर सोध्ने हो भने उनीहरू आफै आफ्नो कामबाट सन्तुष्ट छैनन्। जनताले के पाउने?

केवल भूतपूर्वको बिल्ला ओगट्न मात्र पद ओगट्नु बाध्यता हो। त्यहाँ पुगेपछि त्यस्ता समस्या आइलाग्छन्‚ जसलाई कतैबाट चिर्न सकिदैन बुझ्न कठिन छ। जागिरेले काठमाडौं भित्र्याएको ठिटो न त कहिल्यै अलि माथि गौशाला चाबहिल पुग्न सक्यो, न त नेपालको विकास आफ्नो खुट्टामा अडिन सक्यो।

सत्ता अथवा प्राप्त पदलाई कुनै गन्तव्यतर्फ लैजाने कि त्यही युवकझैँ सधैँ पुरानो र नयाँ बानेश्वरको बीचमा यता र उता घुमाउने। राजनीति कुनै उपाधि वा योग्यता होइन। कुनै चिकित्सक एकपटक प्रमाणपत्र प्राप्त गरेपछि नमरुन्जेल डाक्टर नै हुन्छ। इन्जिनियर सोही नामले चिनिन सक्छ। तर नेताले एउटै पनि राम्रो गरेको छ भने सधैँभरि स्मृतिमा रहिरहन्छ। नराम्रो गरेको छ भने पनि कसैले सम्झिएला तर कर्मकाण्डी मात्र रहेको छ भने उसको कुनै नाम वा स्मरण रहँदैन।

कृष्णप्रसाद भट्टराईले बालुवाटार छोड्दा एउटा सुराही र छाता लिएर निस्केको विषय अहिलेसम्म स्वच्छताको प्रतीक बनेको छ। भारतमा लालबहादुर शास्त्री गृहमन्त्री भएका वेला उनको कार्यालय सचिव, सहसचिवका छोराहरू सरकारी मोटरमा विद्यालय जाँदा सोही स्कुलमा गृहमन्त्री शास्त्रीका छोरा पैदल जान्थे। जो पछि भारतका प्रधानमन्त्री समेत बने त्यतिवेला पनि उनले सरकारी सेवा सुविधाको दुरुपयोग गरेनन्। घरमा ज्यादै किचकिच भएपछि उनले बैंकबाट ऋण लिएर ५ हजारमा एउटा गाडी किने।

उनी तासकन्दमा गएका वेला हृदयाघात भएर मृत्यु भयो। गाडीको ऋणको किस्ता सरकारले तिरिदिने निर्णय इन्दिरा गान्धी सरकारले गर्‍यो र तर शास्त्रीकी श्रीमतीले त्यो पनि मानिनन् बडो मुस्किलले आफैं तिरिन्।

भट्टराई र शास्त्रीको मूल्य अहिलेका अख्तियारवालका लागि कौडी बराबर होला तर उनीहरूले दिएको पाठ देशका लागि अनुकरणीय छ। आज नेपालमा मन्त्रीले कति सवारीसाधनको दुरुपयोग गर्नुभएको छ, सेतो प्लेटका निजामती, सेना, प्रहरीका गाडी कति दुरुपयोग भएका छन् जनतासँग हिसाब छ‚ बोल्न नसकेको मात्र हो ।

कतिपय उच्चपदस्थ कर्मचारी, सेना, प्रहरीका छोराछोरी आज पनि सरकारी गाडीमा स्कुलमा जान्छन्। श्रीमान् वा श्रीमती सरकारी गाडीमा किनमेलमा जान्छन्। यहाँ आर्थिक खर्चको मात्र प्रश्न होइन‚ यसरी मन्त्री, सेना, कर्मचारी, प्रहरीले गरेको फजुल खर्चमा वर्षभर केवल ५ करोड खर्च होला।

यो रकमले त्यति ठूलो असर पार्दैन तर त्यो देख्ने आमजनताको नजरमा ती कर्मचारीप्रति घृणा त पक्कै जाग्छ। उनीहरूका छोराछोरी जो सित्तैमा राज्यको लुटिरहेका छन्। उनीहरूको सोचमा पनि नकारात्मक असर पार्छ। उनीहरूमा केही गर्नेभन्दा बाउले झैँ अरूकै लुट्नेमा व्यस्त रहनेछन्  र पछि जीवनमा केही नैतिक बन्नबाट वञ्चित हुँदै छन्।

राज्यले दिने अख्तियारबाट आफ्नो  परिवारलाई मात्र लाभान्वित गर्न खोज्नु देशलाई बर्वाद गर्ने मन्द विष हो। न्याय त दिने तर त्यसको बदला मूल्य लिने घटना जुन देखियो। के यो हाम्रो देशको बिडम्वनाको प्रतीक होइन र ? गजेन्द्र हमाल मन्त्री बन्नु र निस्कनुले देशको जुन न्यायिक फजिहत गर्‍यो, के क्षतिपूर्ति हुन सक्ला?

अरू कसैले गल्ती गरेका छन् भनेर सबैले गल्ती गर्नु क्षम्य विषय होइन‚ यसबारे गहिरिएर हेरौँ। यो बाटो फेरेर देशले नयाँ बाटो खोज्ने कि त्यही युवकझैँ देश पुरानो र नयाँ बानेश्वरमा घुम्ने हो सोचौँ। I thahakhabar