October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

डाक्टर, प्रेसर कुकर अनि प्राक्टिकल !

यो एमबिबिएस सिजन हो।
यो समय आफ्नो सपनाको खेती उठाउने बेला हो। कतिका खेती फस्टाए होलन् अनि कतिका मासिए पनि। अनि कति अझै मलजल गरी बसेका होलान जोगाउने भनि।  आउँदा दिनमा कतिपयले यो खेतीका लागी बा-आमाको बर्षौँदेखिको जोहो सम्पत्ती साट्नेछन्। किनकी यो सामान्य कुराको खेती हैन: एमबिबिएसको खेती हो र यस्ता महँगा सपनाका खेती ठूलो मुल्य नचुकाई पुरा हुँदैन।  

“आहा डाक्टर!”
भन्ने नै हो भने कतिपय एमबिबिएसका विद्यार्थीहरु नामको अगाडि यही ‘डा.’ देख्न लाल्लाहित भएर पनि मेडिकल कलेजसम्म आइपुगेका हुन्छन्। यो ‘डा.’ टाइटलको जादु हो। मेडिकल कलेजमा छिरेदेखी घरपरिवार र आफन्तबाट पाइने भिन्न व्यवहार र समाजले आफुलाई हेर्ने दृष्टिकोणमा समेत ठूलो परिवर्तनको आभास गर्न पाइन्छ। ‘अब त हाम्री छोरी डाक्टर बन्दैछे” भन्दै दशैँमा दक्षिणा बढ्ने देखी लिएर हरेक आफन्तको घरमा स्पेशल गेस्टको लिस्टमा समेत बढोत्तरी हुनुसगैँ एउटा ‘डा.’ टाइटलले उसलाई घरपरिवार अनि समाजको समेत रोल मोडल बनाइदिन्छ।  

तर के डाक्टरीले ल्याउने प्रतिफल अनुसार डाक्टरी सजिलो होला त?
कदापि हुँदैन। अनेकौ किताबका भारी, अनगिन्ती परीक्षा, अनेकौँ रातको अनिद्रा, छुटिदैँ जाने बाहिरको साथी-सँगती, दिनदिनै टाढिने फेमिली लाइफ, बढ्दै जाने चिन्ता अनि घट्दै जाने कपाल ! छोटकरीमा भन्नुपर्दा एमबिबिएस लाइफ यही हो। कहिलेकाहीँ लाग्छ मानवजिवन जस्तो संवेदनशील कामका जिम्मा बोकेकाहरु माथी यती प्रेसर त हुनैपर्छ तर यति  भन्दै गर्दा सोच्छु कि डाक्टर बन्न हिँडेको पनि त अर्को एउटा मान्छे नै हो। अनगिन्ती कुराको प्रेसर अनि डाक्टर भएपछी खरो भएर उत्रीनै पर्छ भन्ने आन्तरिक तथा बाह्य दबाबले सबै मेडिकलका विद्यार्थीलाई थिचिरहन्छ। वास्तबमा यो सबै प्रेसर हेर्ने हो भने हाम्रो मेडिकल शिक्षाको प्रणाली एउटा प्रेसर कुकर भन्दा कम छैन। यसले हरेक परीक्षा अनि जटिलतसँगै विद्यार्थीलाई सिठ्ठी लाइरहन्छ। 
पाकेर निस्किने निस्किहाल्छन्। 

अरु त्यहीँभित्र रहन्छन ! सिठ्ठी लागिरहन्छन्, लागिरहन्छन्।

तर सिठ्ठी लाउनुको पनि आफ्नै तरिका हुन्छ। नयाँ प्रेसर कुकरमा सिठ्ठी पनि छिट्टो अनि सजिलो गरी लाग्छ। तर हाम्रो चिकित्सा शिक्षा प्रणाली पुरानो प्रेसर कुकर हो। सिठ्ठी लाग्न त लाग्छ, तर वासर खुस्केजस्तो स्याइँ स्याइँ गर्दै कैयौँ निरर्थक प्रयास पछी मात्र।  यतीन्जेलमा भित्रको खाना तयार हुँदैन, बढी पाकेर लेदो भैसक्छ – पुरै गलेको अनि बेस्वादी। अधिकांश मेडिकल कलेजका थाकेका विद्यार्थीजस्तै।

देशकै सबैभन्दा पुरानो विश्वविधालय- त्रिभुवन विश्वविधालयको एमबिबिएसको पाठ्यक्रमको पछिल्लो संस्करण नै निकै बर्ष पुरानो! अझ त्यसमाथी ६-६ वटा विषयको जाँच एकैदिन दिनुपर्ने अनि कम समयमा बढी कुराहरु जान्नै पर्ने दबाब हुनाले एउटा एमबिबिएसको विद्यार्थीको दिमागमा परीक्षा पास गर्ने बाहेक ठुलो ध्याउन्न केहि पनि हुँदैन।  अझ काठमाडौं विश्वविधालयमा कतिपय प्राक्टिकल फेल हुँदा थेउरी (सैद्धान्तिक) समेत दिनु पर्ने बाध्यता छ। एकहिसाबले त यो ठिकै हो, प्राक्टिकल नजान्नेले थेउरीमा त आफुलाई सिद्ध गर्नै पर्यो  नि। तर अर्को हिसाबले हेर्दा परीक्षा पास गर्ने दबाब भन्दा बाहेक यस्तो अवस्थाले अरु के नै सिकाउला र? अनि के मेडिकल कलेजमा हुने भनिएका प्राक्टिकलका कक्षाहरु  साचिँकै व्यावहारिक ज्ञानले भरिपुर्ण हुन्छन् त? पढेको ५ बर्षसम्म पनि सुईसमेत हान्न नसिकाइने अनि एउटा क्यानुला नै लाउनुपर्दा समेत नर्सलाई गुहार्नु पर्ने अवस्थाको प्रयोगात्मक शिक्षाले कतिको आत्मविश्वास भएको डाक्टर उत्पादन गर्ला? १० हजार पाना जति थेउरी पढुन्जेल पनि प्रयोगात्मक कक्षाका नाममा त्यही प्रश्नोत्तर (viva) जस्ता काम मात्र कति दिन गर्ने? 

एकछिनलाई एउटा काल्पनिक घटना सोचौं- उड्दै गरेको जहाजमा कसैलाई केहि भैइहाल्यो भने परिचारिकाको ” यहाँ कोही डाक्टर वा मेडिकलको विद्यार्थी हुनुहुन्छ?” भन्ने प्रश्नमा मुकदर्शक बनी बसेर हेर्नुपर्ने अवस्थाको छ हाम्रो पढाइ ! यो घटना काल्पनिक नै भएपनी एउटा डाक्टरको जीवनमा यस्त घटना परिघटना जहिले र जुनसुकै बेला पनि आइपर्न सक्छन्। आखिर डाक्टरहरु भनेकै आकस्मिकतासगँको युद्धका निमित्त तयार अनि तटस्थ सैनिकहरु हुन। अनि यस्ता युद्दको निमित्त तयार गराउने अबको चिकित्सा शिक्षाले विद्यार्थीलाई कागजी खोष्टा पढ्नमा मात्र सिमित राख्ने कि मैदानमै उतारेर आवश्यक तालिम दिने?

डा. गोविन्द केसीको आन्दोलन देखी लिएर चिकित्स शिक्षा आयोग बन्नेसम्म चिकित्सा क्षेत्रमा परिवर्तन नभएका हैनन्। तर यी पर्याप्त चाही छैनन्। एक त गरीब देश अनि कम जनशक्त्ति, अनि त्यसमाथी उत्पादन भइरहेकाहरुमा पनि उचित आत्मविश्वास र दक्षताको अभाव हुँदा त स्वास्थ्य क्षेत्र जर्जर मात्र हैन ध्वस्त नै हुने निश्चित छ। देशको स्वास्थ्य स्थितिमा सुधार गर्नै छ भने आधारभुत तहबाटै गर्दा कसो होला? अब डाक्टर बन्ने सपना लिएर मेडिकल कलेज छिर्नेका लागी उचित पाठ्यक्रमको व्यवस्था भए! प्रयोगात्मक कक्षाका नाममा बिरामीको हाल बेहाल मात्र सोध्न नलगाई अरु आधारभुत सीप विकासका ट्रेनिङ्गको पनि व्यवस्था भए! पढुन्जेल परीक्षा पास गर्ने ध्याउन्न भन्दा बाहेक अझै सिक्ने र सिकाउनेको जमर्को भए! अनि सय मनको भारी सरह लाग्ने यी परीक्षाहरुसँग जुझ्न अझै मजाको पठनपाठनको व्यवस्था भए कति गज्जब हुन्थ्यो होला। 

बिरामीको मृत्यु र जीवनबिच पलपलको दुरी तय गर्ने डाक्टरकै समयलाई सम्बन्धितहरुले महत्व नदिए अब बन्ने डाक्टरहरुले समयको पाबन्दी बारे कसरी सिक्ने? त्यसैले अब आउने समयमा सम्बन्धित निकायहरुबाट परीक्षामा चुस्तता, पठनपाठनमा नियमितता अनि समयमै नतिजा प्रकाशनका निम्त्ती प्रतिबध्दता देख्न पाइयोस। यस्तो परिवर्तनको सुरुवात चाहिँ चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढ्न आतुर नयाँ भाइ-बहिनीहरुको छिटो-छरितो भर्ना प्रक्रियाको थालनी गरिदिएर श्रीगणेश गरिदियोस ताकी आउँदा दिनहरुमा अनियमितता र प्रेसर कुकरभित्र रुमल्लिनुपर्ने भविष्यका डाक्टरहरुले उचित दिशानिर्देश पाउन।

(लेखक नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत छिन्।) swasthyakhabar