May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्ट्रोक के हो, किन हुन्छ र यसबाट कसरी बच्ने ?

सानेपा घर भएकी ६० वर्षीय कान्छी थापाको अचानक शरीरको दायाँ भाग  चल्न छोड्यो। बोली पनि स्पष्ट नबुझिने भयो। परिवारका सबै सदस्य आत्तिएर उनलाई अस्पताल पुर्‍याए। अस्पतालमा जाँच गर्दा थाहा भयो, स्ट्रोक भएको रहेछ।

Advertisement

छिटो अस्पताल पुर्‍याएकाले नआत्तिन डाक्टरले आग्रह गरे। डाक्टरले भनेअनुसार औषधि दिएको दुई घन्टापछि उनी पहिलाको जस्तै बोल्न थालिन्।

Advertisement

उनी जस्तै स्ट्रोक भएर ४ घन्टाभित्र अस्पताल आउने बिरामीलाई थ्रोम्बोलोसिस  दिएपछि स्वास्थ्यमा छिटो सुधार हुने बताउँछन् वरिष्ट न्युरोलोजिस्ट बाबुराम पोखरेल। उनका अनुसार यदि ढिला गरेर अस्पतालमा पुर्‍याएमा स्ट्रोकका बिरामीले विभिन्न स्वास्थ्य समस्या भोग्नु पर्छ।  

स्ट्रोक भनेको के हो?
वरिष्ठ न्युरोलोजिस्ट बाबुराम पोखरेलका अनुसार स्ट्रोकलाई सरल भाषामा भन्नुपर्दा फास्ट भन्ने गरिन्छ। यसको मतलब यदि अचानक अनुहार बांगियो, हात सिधा भएन, बोलि लरखरायो भने स्ट्रोक भयो भनेर बुझ्नु पर्छ।

दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको  जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ। 

खासमा स्ट्रोक ४५ वर्षभन्दा माथि उमेरका व्यक्तिहरुलाई हुने गर्दछ तर नेपालमा ४५ वर्षभन्दा कम उमेका मानिसहरुलाई स्ट्रोक हुने गर्दछ। यसको मुख्य कारण उच्च रक्तचाप, मधुमेह र धूमपान सेवन देखिएको छ।

स्ट्रोक दुई प्रकारका हुन्छन्– एउटा शरीरमा रगत सञ्चालन नपुगेर हुने गर्दछ भने अर्को  नशा फुटेर हुने गर्दछ। यसलाई हामीले ब्रेन हेमरेज स्ट्रोक पनि भन्ने गर्दछौँ। यो उच्च रक्तचापले हुने गर्दछ। 

स्ट्रोक हुनुको प्रमुख कारण 
स्ट्रोक हुनुको बढ्दो उमेर यसको एउटा प्रमुख कारण हो। महिलालाई भन्दा पुरुषमा स्ट्रोक हुने सम्भावना बढी हुन्छ।  
धूमपान गर्ने व्यक्तिलाई स्ट्रोक हुने सम्भावना बढी हुन्छ। 
उच्च रक्तचाप र मधुमेह स्ट्रोक हुनुको प्रमुख कारण मान्न सकिन्छ। 
जसको मुटुको चाल गडबढ छ, त्यसलाई पनि स्ट्रोक हुने सम्भावना बढी हुन्छ। 

स्ट्रोकका लक्षण 
यदि अचानक अनुहार बांगो भयो, आखाँ देखिएन, बोली लरखरायो, हात सिधा भए भने  स्ट्रोक भयो भनेर अस्पतालमा जँचाउन जानु पर्छ। 

स्ट्रोक भएको थाहा पाएपछि के गर्ने? 
स्ट्रोक भइसकेपछि जतिसक्दो चाँडो अस्पताल जानु पर्दछ। स्ट्रोक भएको ४ घन्टाभित्र अस्पताल लगियो भने बिरामीलाई छिटो निको बनाउन सकिन्छ। ४ घन्टाभित्र आएका ९० प्रतिशत बिरामीले उपचारपछि आफ्नो काम आफैं गर्न सक्ने हुन्छन्।थ्रोम्बोलाइसिस भन्ने औषधि समयमै दिइएको खण्डमा बिरामीले आफ्नो काम आफैं गर्न सक्ने हुन्छन्। 

नेपालमा स्ट्रोक अवस्था कस्तो छ?
नेपाल स्ट्रोका कति बिरामी छन् भन्ने तथ्यांक छैन। तर नुरोलोजीमा स्ट्रोक भएर अस्पतालमा आउने बिरामी दोस्रो नम्बरमा पर्छन्। समयमा अस्पताल नआएर हेलचेक्र्याइँ गरेर घरमा बस्दा जीवनभरि नै दुःख पाएका घटना पनि छन्।

नेपालमा स्ट्रोक धेरै मानिसलाई हुने गर्दछ तर मानिसलाई स्ट्रोकबारे चेतना नहुँदा ढिला अस्पतालमा पुग्दछन्। महिनौँ फिजियोथेरापी गर्ने गर्नु पर्दछ। त्यतिमात्र होइन, लामो समय  अस्पतालमा भर्ना भएर बस्दा स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन्छन्। जस्तैः इन्फेक्सन,प्रेसर अल्सर, निमोनिया हुने सम्भावना धेरै हुन्छ। 

स्ट्रोकबाट बच्न के गर्नुपर्छ?
स्ट्रोकबाट बच्नको निमित्त जीवनशैली परिवर्तन गर्नुपर्दछ। धूमपान गर्नु हुँदैन। नियमित शारीरिक कसरत गर्ने बानी बसाल्नु पर्दछ र उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नु पर्दछ। त्यसो गर्दा केही हदसम्म स्ट्रोकबाट बच्न सकिन्छ।