October 16, 2025, Thursday
२०८२ आश्विन ३० बिहीबार

वर्षायाममा पनि सिद्धार्थ रंगशालाको उत्कृष्टता कायमै (फोटो फिचर)

भैरहवा– रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला यतिबेला पूर्ववतः अवस्थामा राख्ने काम भइरहेको छ । वर्षायाममा क्रिकेटका गतिविधि नहुँदा विगतमा घाँस उम्रिने, खाल्डाखुल्डी पर्ने र पानी जम्ने समस्या थियो । तर, पछिल्ला वर्षहरुमा रंगशालालाई वर्षा याममा समेत उत्कृष्ट अवस्थामा व्यवस्थापन गर्ने गरिएको छ ।

Advertisement

रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धीरज अधिकारी क्षेत्रीले रंगशालाको नियमित मर्मतसम्भार, मैदानको संरक्षण तथा समग्र व्यवस्थापनमा क्रिकेट संघले काम गरिरहेको जनाए । ‘हामीले वर्षामा उम्रिएको घाँस काट्ने, खाल्डाखुल्डी पुरेर सम्याउने काम गरिरहेका छौं’, उनले भने, ‘रंगशालामा उपलब्ध उपकरणको प्रयोग गरी हिउँदकै जस्तै मैदानलाई उत्कृष्ट कायम गरिरहेका छौं ।’

क्रिकेट संघको पहलले यसपटक संघीय सरकारले सिद्धार्थ रंगशाला निर्माणका लागि करोडौं रकम छुट्याएको छ । उक्त रकमबाट चालु वर्षमा बहुवर्षीया टेन्डर गरी विभिन्न संरचना निर्माण लगायत अन्य काम हुँदैछन् । पश्चिम नेपालकै उत्कृष्ट रंगशालाका रुपमा रहेको मैदानलाई अझ आकर्षक र सुन्दर बनाउन संघले काम गरिरहेको छ ।

संघका सदस्य प्रथम पराजुलीले पदाधिकारी र सदस्यहरुले निरन्तर मैदान मेन्टेनको काम गरिरहेको जनाए । ‘कार्यबाहक अध्यक्ष धीरज अधिकारी क्षेत्री र पूर्वराष्ट्रिय खेलाडी ज्वलेश प्रधानको निरन्तर सक्रियताले रंगशाला वर्षायाममा समेत उत्कृष्ट अवस्थामा व्यवस्थापन हुन सफल भएको छ’, उनले भने, ‘यसले रुपन्देहीमा क्रिकेट खेलको विकासलाई थप गति दिने अपेक्षा गरिएको छ ।’

उनका अनुसार रंगशालासँगै रहेको रुपन्देही क्रिकेट एकेडेमीमा पनि निरन्तर प्रशिक्षण भइरहेको छ । पानी नपरेको बेला प्रशिक्षार्थी खेलाडीहरुलाई मैदानमा प्रशिक्षण दिइन्छ । जसबाट प्रशिक्षार्थी खेलाडीहरु पनि खुशी छन् । रुपन्देहीका क्रिकेट प्रेमीहरुले रंगशालाको व्यवस्थापन देखेर खुशी व्यक्त गर्छन् ।

यही भदौ १ गते मात्रै लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले सिद्धार्थ क्रिकेट मैदानको अवलोकन गरेका थिए । उक्त अवसरमा संघका कार्यबाहक अध्यक्ष क्षेत्री, निबर्तमान अध्यक्ष प्रशान्तबिक्रम मल्ल, नेपाल क्रिकेट संघका पूर्वकेन्द्रीय सदस्य धर्मराज गिरी, रुपन्देही क्रिकेट संघका सदस्य विजयसिंह ज्ञवाली, पूर्वअन्तर्राष्ट्रिय प्रशिक्षक जंगबाहदुर थापाले रंगशालाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा संघले मन्त्री पाण्डेयसँग खेलाडीहरुको चेन्जिङ रुमलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाउन, जिम हलको निर्माण तथा मैदानको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) का लागि बजेट व्यस्थापन गर्न आग्रह गरेको थियो । मन्त्री पाण्डेयले यो मैदानमा आफू पनि क्रिकेट खेलेको र मैदानको स्तरोन्नति गर्नु आफ्नो पनि कर्तव्य रहेको बताएका थिए । उनले बजेट व्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए ।