May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्खलित बामपन्थवाद र सम्भाव्य परिदृष्य

Advertisement

संसारको राजनीतिक इतिहास हेर्दा कुनै पनि राजनीतिक विचारधारा सधैँ प्रभावशाली र प्रभावकारी रहेको देखिँदैन । जतिसुकै उत्कृष्ट राजनीतिक विचारधारालाई जडसुत्रवादमा राखिरहँदा परिस्थितिले बदल्छ भने नेताहरूले पनि बिगार्छन् । परिणाम त्यसका विरूद्धमा जनता जाग्दछन्, अनि त्यसलाई इतिहासको गर्तमा मिल्क्याएर जनताले नयाँ विकल्प खोज्दछन् । आधुनिक राजनीतिक विचारधारामा देखिएको पछिल्लो उदाहरण बामपन्थी आन्दोलनको उठान, विकास र पतनको कथा यससँग हुबहु मिल्दछ ।

Advertisement

बीसौँ शताब्दीको सुरुवाततिर संसारभरि फैलिएको समाजवादी सपना र १९१७ मा भएको सोभियत क्रान्तिले बोकेको आदर्शले लाखौँ मानिसहरूलाई आशाको नयाँ क्षितिज देखाएको थियो । सामन्तवाद, दासप्रथा, पुँजीपति व्यवस्थाको शोषणजस्ता समस्यामा दुरूह जीवन बाँचिरहेका जनताले अब समानता, वर्गविहीन समाज, शोषणमुक्त र समृद्ध जीवनको सपना साँच्न थालेका थिए । यस सपनाका कारण नै यो राजनीतिक बिचारधाराले केही दशकमै आधा संसारलाई नै गोलबन्द गर्दै रातो झण्डामुनि ल्याउँदा सोभियत संघ, पूर्वी युरोप, चीन, क्युबा, भियतनाम, कोरियाजस्ता ठाउँमा बामपन्थी बिचारयुक्त राज्यसत्ताको स्थापना हुन सफलता मिलेको थियो ।

तर, समय बित्दै जाँदा त्यही स्वप्न शासनको व्यवस्था नै जनताका लागि बोझिल बन्न थाल्यो । नेताहरू बहुल जनताको लागि भन्दा पनि आफ्ना स्वार्थमा लागे, कठोर नियन्त्रणयुक्त शासनव्यवस्थाको प्रादुर्भावले असन्तोष बढायो, राज्य सञ्चालनमा देखिएका समस्या समाधानका लागि गर्नै पर्ने समयोचित व्यवस्थापकीय सुधार गर्ने आँट पनि देखाएनन् । परिणामस्वरूप १९९१ मा सोभियत संघ नै भत्कियो भने पूर्वी युरोपका कम्युनिष्ट शासनहरू लगालग ढले । तर, चीनले भने समाजवादभन्दा फरक पुँजीवादी विकासको बाटो समात्यो । यस संसारले विचारधारा जतिसुकै बलियो र असल देखिए पनि नेताहरू अयोग्य र असफल भए भने राजनीतिक आन्दोलन दीर्घकालिक हुन सक्दैन भन्ने उदाहरण देख्यो ।

नेपालको वामपन्थी आन्दोलन पनि यो उदाहरणलाई हुबहु नक्कल गर्ने बाटोमा दौडिरहेको भान बामपन्थमा विश्वास राख्ने आम समर्थकहरूले गरिरहेको कुरा यथार्थ हो भन्न अब कसैले अस्वीकार गर्नसक्ने अवस्था छैन । नेपालको बामपन्थी आन्दोलन लामो संघर्षपछि राजकीय सत्ताको पहुँचसम्म पुगेको हो । यस आन्दोलनका आरम्भिक समयमा बामपन्थीहरू नै तत्कालिक निरङ्कुश राजनीतिक प्रणालीका रूपमा रहेको पञ्चायत विरुद्ध आन्दोलनको अग्रपंक्तिमा उभिएका थिए । बि.सं.२०४६ को जनआन्दोलनमा प्रजातन्त्र ल्याउनका लागि उनीहरूले दिएको योगदान अत्यन्त महत्त्वपूर्ण थियो । तर यो विचारधारा २०६२–६३ को आन्दोलनमा भने निर्णायक शक्ति नै बन्न पुगेको थियो । यही कारण नै आम नेपाली जनताले बामपन्थी बिचारधारालाई विश्वास गरेर लोकतान्त्रिक निर्वाचनका माध्यमबाट नै राजकीय सत्ताको साँचो यसको नेतृत्वलाई थमाएका थिए ।

तर यसरी राजकीय सत्ता हातमा आएको केही वर्षमा नै बामपन्थी नेतृत्व र उनीहरूको भनाइ र गराइबीच खाडल देखिँदा जनताको विश्वास खस्किन थाल्यो । जनताले सोचेजस्तो समानता र न्याय देखिएन भने यसको मूल नेतृत्वले देखाएको द्रुत र सुशासनयुक्त विकासको ठूला वाचा हावादारी रहेको कुरा प्रमाणित हुँदै गए । जनतामा देखिएको विश्वासको खडेरीलाई पुर्नुभन्दा यी विचारधारका नेता दाबी गर्नेहरू उल्टै आपसी खिचातानीमा लागे । उनीहरूले व्यक्तिगत हितका लागि मात्र आफूलाई समर्पित गर्दै सत्ता बाँडफाँट, पदीय स्वार्थ, र व्यक्तिगत वर्चस्वलाई विचारधाराभन्दा माथि राखेको कुरा आम जनताका नजरबाट लुक्न सकेन ।

यसको सबैभन्दा गजबको उदाहरण भनेको तत्कालिक नेकपा र हालको एमाले नामक बामपन्थी बिचारको बाहक दाबी गर्ने पार्टीका नेता खड्कप्रसाद ओलीको नेतृत्वशैलीमा देखिएको प्रवृत्ति हो । यो बामपन्थी दलको नेताका रूपमा उनको बोली र भाषणका प्रारम्भिक दिनहरूमा जनताहरू उत्साहित हुने र रमाउने गरेको देख्दा व्यवस्थामाथिको बामपन्थी पकडले पुँजीपति धारको राजनीति गर्नेहरूमा एक खालको हतास र राजनीतिक भविष्यको कहालीलाग्दो अवस्था सिर्जना भएको छ भन्ने मानसिक छट्पटी देखिन्थ्यो ।

उनका हरेक भाषण चोटिलो भाषामा व्यङ्ग्यात्मक र त्यसभित्र हास्य थियो भने उनले गर्ने राजनीतिक कटाक्षमा भिन्न स्वाद थियो । तर उनको कार्यशैली र विवादित नीतिगत निर्णयले उनको वास्तविकता जनतामाझ छरपस्ट हुनुका साथै उनका भाषणलाई परिणामबिहीन चटकेको भाषणका रूपमा समाज र नागरिकले लिन थाल्यो । ‘हावाबाटै विजुली बेचेर सम्पन्न बनाउँछौँ’ भन्ने जस्ता हावादारी वाचा सुन्दा मख्ख परेका नागरिकले प्रतिबद्धता, योजना र नीतिगत व्यवस्थापनका तहमा उनको त्यस घोषणाको उपादेयताबारे कुनै छेउटुप्पो नै पाउन सकेनन् । बामपन्थी बिचार बोक्ने राजनीतिक दलहरूको एकीकृत हुने प्रतिबद्धता र चुनाबी गठबन्धनका कारण उत्साहित भएका बामपन्थमा झुकाउ राख्ने नेपाली जनताहरूले नेताको बोली र व्यवहारबीचमा देखिएको ठूलो खाडलका कारण दिक्क हुन थाले ।

यस मानसिकताका कारण ओलीप्रति मात्र नभएर समग्र बामपन्थी दलप्रति नै अस्वीकारको भावनामा बढ्न पुग्दा दुइतिहाइ निकट रहेको बापन्थी जनमत समान्य बहुमतको सरकार बनाउन पनि असफल भयो भने बामपन्थ विचारको सबैभन्दा ठूलो दल पहिलो पटक सबैभन्दा कमजोर जनसमर्थनको अवस्थामा पुग्न बाध्य भयो । हालको प्रवृत्ति हेर्दा यो विचार र अन्दोलन नै जनअस्वीकारको गर्तमा पर्ने हो कि भन्ने त्रास सिर्जना भएको छ ।

बामपन्थको ओरालो यात्राको मूल कारणका रूपमा सबैभन्दा ठूलो बामपन्थी दल एमालेको नेताका रूपमा ओली प्रमुख जिम्मेवार भए तापनि यो समस्या केवल ओलीसम्म मात्र सीमित छैन । यस आन्दोलनको उठानमा राजनैतिक तथा बैचारिक योगदान दिएका र हालसम्म पनि सक्रिय रहेका अन्य बुढा नेताहरू पनि उत्तिकै मात्रामा जिम्मेवार रहेका छन् । यस आन्दोलनमा चिनिएका नेतृत्वहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल– यी सबै विगतका दशकभरी नै राज्यसत्ताको वरिपरी वा त्यसको नेतृत्वमा बसेका थिए । यी सबै नेतृत्वकर्ताहरूले आफ्नो व्यक्तित्व र भाषणबाट जनतालाई आशा दिलाए पनि अन्ततः आफ्नै स्वार्थमा अड्किन पुगे । यी सबै नेतृत्वहरूको व्यक्तिगत तानातानी र उनीहरूबीचको आपसी अविश्वासले आन्दोलनलाई नै कमजोर बनाउन पुग्यो ।

बामपन्थको सबैभन्दा स्वर्णकालका रूपमा देखिएको बापमन्थी धारका दुइ दल माओवादी र एमालेबीचको एकताले निकै ठूलो जनविश्वास र जनमत निर्माण गरेको भए तापनि यो एकता बामपन्थी विकास राजनीतिको शुन्य आरम्भसहित ठूलो मात्रामा राष्ट्रिय ऋण बढाउनका लागि मात्र बनेको आभाष दिँदै एकीकरण भएको केही वर्षमै विभाजन हुन पुग्यो । यो विभाजनका पछाडि कुनै बैचारिक मतभेद वा कार्यदिशाको लडाइ नभएर केवल नेतृत्वमा रहेकाहरूको फगत अहंकार हो भन्ने कुरा आम जनताले बुझ्ने तहमा नै सार्वजनिक सञ्चारका माध्यमले तथ्यसहित बाहिर ल्याए ।

यसले गर्दा नेतृत्वमा एकले अर्कालाई स्वीकार्न नसक्ने, शक्तिको प्रयोगमा सामूहिकताको अभ्यास नगर्ने प्रवृत्ति देखिँदा जनतामा उनीहरूप्रतिको विश्वास नै भत्किन पुग्यो । उनीहरूप्रति जनताको दिक्दारी भनेको विचारधारामा नभएर नेताहरूको कार्यशैलीमा व्यक्तिगत स्वार्थ हावी भयो भन्ने नै हो । आम नागरिकमा यी नेताहरू पुरानै शैलीमा अड्किएका हुनाले यिनीबाट नयाँ सोँचको अपेक्षा गर्नु मुर्खताबाहेक केही हुँदैन भन्ने धारणा बनिसकेको छ । यहीँ कारण जुनसुकै चुनाव बामपन्थी वा यिनीहरूको समर्थन प्राप्त उम्मेद्वारले पाएको र पाउने जनसमर्थन घट्दै गएको छ ।

हालैका निर्वाचन परिणाम हेर्दा यो कुरा थप स्पष्ट हुन्छ । वि.सं. २०७४ सालमा एकीकृत भएका बामपन्थी दलहरूले पाएको जनमतका कारण सिंगो मुलुक नै रातो झण्डाले ढाकिएको थियो । तर, त्यसको तीन बर्षम नबित्दै र कुनै जनआकांक्षा पुरा नै नगरी त्यो बापमन्थी जनमतयुक्त सरकार नै व्यक्तिगत अहम् र अहंकारका कारण छिन्नभिन्न हुनु पुग्यो । यहीँ जननिराशा र बापमन्थी नेतृत्वको अविश्वसनीयताका कारण त्यसपछिको आम निर्वाचन २०७९ मा नयाँ विचारधारा (?) भएका राजनीतिक शक्तिहरूले यी बामपन्थीहरूलाई चकित बनाएर आफ्नो अस्तित्व जबरजस्त रूपमा स्थापित गर्दै बामपन्थी आन्दोलनका आधारभूमिका रूपमा रहेको काठमाडौंजस्ता सहरहरूबाट जित्नुका साथै राम्रो मत ल्याए । त्यस निर्वाचनले बामपन्थी आन्दोलनबारे दिएको प्रष्ट सन्देश भनेको अब आम जनतामा यी बामपन्थी दलका व्याजधारी इतिहासको बखान गर्ने पुरानो नेतृत्वप्रति कुनै आशा नभएको र उनीहरूका परम्परित थोत्रा भाषणबाट आजित र थाकिसकेका छन् ।

जबरजस्त देखिएको बामपन्थको उभारलाई अचानक जबर्जस्त धक्का दिँदै आएको यो नयाँ शक्तिको उदय आकस्मिक परिघटना नभएर पुराना बामपन्थधारीहरूको असफलताले सिर्जना गरेको निराशा र आक्रोशको प्रतिक्रिया थियो । राजनीतिमा बिचारले नेतृत्व गर्ने कुरालाई त्यागेर जब नेताहरू भाषणमा रमाउँछन् तर परिणाम दिन सक्दैनन्, तर दशकौँसम्म उही अनुहारहरू मात्र रङ्गमञ्चमा देखिइरहन्छन्, जब विचारधाराको राजनीतिभन्दा स्वार्थको गठबन्धन ठूलो हुन्छ– त्यसबेला जनता वैकल्पिक बाटो खोज्छन् ।

युवाले नेतृत्व गरेका स्वतन्त्र अभियानहरू, सहरमा देखिएको नयाँ चेतना र गाउँमा पनि पुराना दलप्रतिको निराशा– यी सबैको संयुक्त मेल बामपन्थलाई पछाडि धकेल्ने कारण र नयाँ शक्तिको आधार बनेका छन् । नेपालको बामपन्थ रूमानीवादमा लमतन्न राजनीति फैलाएर यहाँसम्म आएको कुरा यिनीहरूको पछिल्लो राजनीतिक लेनदेन र सत्ताका अगाडि बिचार तुच्छ हो भन्ने व्यवहारले देखाएको छ । तर, मदन भण्डारी, जनयुद्धकालिन प्रचण्ड र बाबुराम तथा भारतीय नाकाबन्दीताकाका खड्कप्रसाद ओलीका नाममा बामपन्थले देखाएको जादुयी नेतृत्वको खोजी गर्ने नेपाली आम मानसिकता बामपन्थबाट विचलित हुन पुग्दा विचारबाट व्यवहारबादमा बदलिएको छ ।

यसले निरन्तर नयाँ प्रयोगमा समाजलाई हिँडाउँदै गर्दा अनेकन क्षेत्र र भूगोलमा नयाँ शक्तिको उदय भएको छ । नयाँ शक्तिलाई जनताले अझै पनि पूर्ण परीक्षण गर्न भने पाएका छैनन् । त्यसैले बामपन्थको भविष्य बैकल्पिक राजनीतिमा आएको नयाँ पुस्ताले आफूलाई कुन तहसम्म पारदर्शिता, जवाफदेहिता र सेवा भावयुक्त व्यवहार भएको नेतृत्वकर्ताका रूपमा देखाउँछ भन्ने कुरामा भर पर्नेछ ।

आजको वास्तविकता नेपालमा बामपन्थी आन्दोलनको यात्रा ओरालो लागेको छ । यस अवरोहको कारण राजनीतिक विचारधारामा कमजोरी हुनु नभएर यसको नेतृत्वमा त्यो योग्यता नहुनु वा नेतृत्व नै असफल हुनु हो । नेपालका सबैभन्दा ठूला बामपन्थका बाहक दलका प्रमुख दुइ नेताका रूपमा रहेका ओली र प्रचण्डको अस्थिर बोलीका साथै अन्य नेताहरूमा रहेको व्यक्तिकेन्द्रित स्वार्थी राजनीति र राजनीतिक नेतृत्वले जनताको विश्वासभन्दा माथि पद र पैसालाई राख्ने प्रवृत्तिको समग्र प्रभावले बामपन्थलाई कमजोर बनाएको छ । इतिहासले देखाइसकेको छ– जबजब मूल नेतृत्वमा रहेका नेताहरू आफ्ना निकृष्ट स्वार्थका लागि बिचारको राजनीतिलाई तिलाञ्जली दिन उत्सुक रहन्छन्, जतिसुकै बलियो बिचारयुक्त आन्दोलनको प्रभाव कमजोर र अवरोह तीब्र हुन्छ । यहीँ कारण सोभियत संघ ढल्यो, पूर्वी युरोप ढल्यो, र अहिले नेपालमा पनि बामपन्थ ओरालो यात्रामा तीब्र गतिमा लागिरहेको छ ।

नयाँ राजनीतिक शक्तिको नेतृत्वमा देखिएको युवा पुस्ताको प्रभाव र जनआकर्षणलाई सचेत रूपमा बुझेर बामपन्थको ठेकेदार बन्ने भ्रम पालेका नेताहरूले आत्ममूल्यांकन गर्दै नयाँ पुस्तालाई नेतृत्वको मौका दिन सक्ने हो भने, बोलीले भन्दा परिणामले काम देखाउन सक्ने हो र विचारधारालाई व्यवहारमा उतार्ने हो भने बामपन्थी बिचार पुनः जागृत र बलियो हुन सम्भव छ, तर बर्तमानमा यही जनविश्वास गुमाएको र नयाँ युगको नयाँ अभिभाराबारे पूरै बेखबर डेटएक्सापयर नेतृत्वले नै मपाइँत्व देखाउँदै पुरानै स्वार्थ र पुरानै शैली दोहोर्याइरह्यो भने, जनतामा नयाँ शक्तिप्रतिको आशक्ति थप बढ्ने छ, यी शक्ति थप सबल भएर आउने सम्भावना थप बलवान् बन्ने छ, आजको नेपालको बामपन्थी आन्दोलन पनि युरोप वा भारतीय बंगालमा जसरी नै गर्तमा गाडिनेछ भने आजको बामपन्थको इतिहासका मूल खाँबो आफूलाई मान्नेहरू उखालिएर खरानी बन्दै इतिहासबाट नै नामेट हुनु सामान्य घटनाभन्दा बढी कसैको चासोका रूपमा रहने छैन ।

कुनै चाटुकारले यिनीहरूको इतिहास लेखे तापनि कुनै पुस्ताले कहिल्यै अध्ययन नगर्ने इतिहासको पुस्तकका रूपमा रहन त सक्नेछ तर त्यो पुस्तक चटपटे बेच्ने व्यापारीका लागि उपयोगी हुनेछ या पुस्तकालयको कुनामा रहेका अनेकन पुस्तकजसरी धुलो र धमिराको बासस्थलका रूपमा कुनामा नै पाठक नपाइ त्याज्य भएर बस्नेछ ।