May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

प्रकृति र संस्कृतिको धनी लुम्बिनी प्रदेश

Advertisement

नेपालको लुम्बिनी प्रदेश विविधतायुक्त प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न रहेको छ । यिनै सम्पदाको सदुपयोगले लुम्बिनी प्रदेश समुन्नतिको सम्भावनालाई उजागर गर्ने सामथ्र्य राख्दछ । हिमाल, पहाड, भित्रीमधेश तथा तराई समेटिएको भूगोलमा रहेका हावापानी, वनजंगल, खनिज तत्व जस्ता अमूल्य स्रोत यस प्रदेशमा छन् । भौगोलिक, धार्मिक, जातीय तथा भाषिक बहुलतायुक्त संस्कृति लुम्बिनी प्रदेशमा रहेको पाइन्छ ।

Advertisement

विश्व सभ्यतामा आदिमानव विचरणस्थल लुम्बिनी प्रदेश विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्मस्थल संसारभरिका लागि पूज्य छ । दुई ठूला कर्णाली र गण्डकी नदी सभ्यताको बीचमा रहेको यो प्रदेश मानव संस्कृतिमा संसारमै अलग्लै पहिचान बोकेको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यो प्रदेश बौद्ध र हिन्दू सभ्यताको पनि महत्वपूर्ण स्थलका रुपमा रहेको छ । समुन्नतिका लागि यस प्रदेशका प्राकृतिक र सांस्कृतिक सम्पदाको यथोचित बोधका र सदुपयोग आवश्यक छ ।

लुम्बिनीको प्रकृति
नेपालको मध्यपश्चिम क्षेत्रमा अवस्थित लुम्बिनी प्रदेशको भूगोल विविधतायुक्त रहेको छ । १२ जिल्ला समेटिएको यस प्रदेशमा तराइका परासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया भित्रीमधेशको दाङ्ग जिल्ला रहेका छन् । यसैगरी पहाडका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र हिमाली जिल्ला पूर्वी रुकुम पनि यसमा समेटिएको छ । लुम्बिनी प्रदेशमा तराइको समथर भूभागदेखि रुकुमपूर्वको सात हजार दुई सय ४६ मिटर उचाइको पृथा हिमाल रहेको छ । यस प्रदेशमा करिब उच्च हिमाल तीन प्रतिशत, उच्च पहाड नौ, मध्यपहाड ३२, शिवालिक पर्वत २८, र तराइमधेश साढे २७ प्रतिशत रहेको छ । यस प्रदेशमा भूगोलजस्तै हावापानी पनि विविधतायुक्त रहेको छ । २२ हजार दुई सय ८८ वर्गकिमी क्षेत्रफलमा फैलिएको यस प्रदेशमा शीतोष्ण, समशीतोष्ण र उष्ण जलवायु पाइन्छ । लुम्बिनी प्रदेशमा सीमानदी गण्डकी, कर्णालीसहित राप्ती तिनाउ बबई बाणगंगा लगायतका नदी र जगदीशपुर लगायतका तालतलैया र सीमसार क्षेत्रहरु रहेका छन् ।

यस प्रदेशमा प्राकृतिक तथा जैविक विविधताका कारण फरक फरक भूगोल, हावापानी, बोटविरुवा, खेतीपाती, पशुपंक्षी, कीटपंतग पाइने हुनाले पर्यापर्यटन र कृषि पर्यटनको संभावना रहेको छ । यस प्रदेशको भूगोल र जलवायुअनुसार अन्न, फलपूmल, तरकारी, जडिवुटी तथा उखुँ कफी लगायतका नगदेवालीको खेती र पशुपंक्षीपालन हुन्छ । यस प्रदेशमा ढुंगा, चुनढुंगा, माटो, फलाम, कोइला लगायतका खनिज उत्खननको संभावना रहेको छ । भूगोलको करिब आधा हिस्सा ओगटेको वन क्षेत्रबाट काठ लगायतका वनपैदावार र जडिबुटी निकाल्न सकिन्छ । वर्दिया राष्ट्रिय निकुन्ज र ढोरपाटन शिकार आरक्षले पयर्टनको विकासमा महत्वपूर्ण योगदान पुराउन सक्दछन् । प्रदेशमा रहेका जलस्रोतबाट सिचाईं जलविद्युत तथा जलविहारका संभावना रहेको छ । यसरी लुम्बिनी प्रदेश प्राकृतिक र जैविक विविधताका कारण अत्यन्त सम्पन्न अवस्थामा रहेको छ । परन्तु यो सम्पन्नतालाई थयोचित सदुपयोग गर्न जरुरी देखिन्छ ।

लुम्बिनीको संस्कृति
लुम्बिनी प्रदेशमा रहेको सांस्कृतिक सम्पन्नता ऐतिहासिक, मिश्रित, बहुपक्षीय र बहुआयामिक रहेको छ । मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको धनी लुम्बिनीको सांस्कृतिक इतिहास निकै पुरानो रहेको छ । बुटवलको तिनाउ किनारामा भेटिएको आदिमानव रामापिथेकसको वंगारा र दाड लगायतका क्षेत्रमा पाइने पुरातात्विक अवशेषले यो प्रदेश आदिमानव कालदेखि विचरण स्थल रहेको थियो । सहज हावापानी, उब्जाउ जमिन, वनजंगल, जीवजन्तु पाइने यो क्षेत्रको प्रकृतिमा मानव जातिले आफ्नो संस्कृतिको जग हालेका थिए ।

प्राचीन इतिहासमा यो प्रदेशको भूभाग कर्णाली र गण्डकी नदी सभ्यताका कारण महत्वपूर्ण स्थलका रुपमा रहेको थियो । खासगरी हिन्दू सभ्यताको विस्तार र वैचारिकी निर्माणमा कर्णाली र गण्डकी प्रश्रवण क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । कपिल, पाणिनिलगायतका अनेकौ प्रसिद्ध ऋषिहरुले यसै भूभागमा ज्ञान, ध्यान र तपस्याको केन्द्र बनाएका थिए । यसै सिलसिलामा प्राचीन कपिलवस्तुमा बुद्ध निर्माणको परम्परा सुरु भएको हो । अनेक बुद्ध निर्माणपछि २६ सय वर्षअघि लुम्बिनीमा जन्मेका शाक्यवंशी सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी उनको धर्म संसारभर फैलिएको थियो । यसरी लुम्बिनी प्रदेश हिन्दू र बौद्ध गरी दुबै सभ्यताको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको छ ।

विश्वभरका अरबभन्दा बढी मानिसले अनुसरण गर्ने बुद्ध धर्मको जन्मस्थल लुम्बिनी, तिलौराकोट दरबार र बुद्ध अस्तु राखिएको रामग्राम स्तुपा जस्ता विश्व सम्पदा यसै प्रदेशमा रहेका छन । यसैगरी लुम्बिनी प्रदेशका नदी किनारमा, पहाडका शिखरमा, समथर भूभागमा र वस्तीवस्तीमा थान मठमन्दिरसहितका हिन्दू धर्मका हजारौ प्रसिद्ध तीर्थस्थलहरु छन । शैव, वैष्णव, शाक्त लगायतका बहुदेवका अनेकौ मन्दिर यस प्रदेशमा रहेका छन् ।

यस प्रदेशमा धार्मिक तथा पर्यटकीय महत्वपूर्ण स्थलहरु रहेका छन । रुपन्देहीको सिद्धबाबा, रुपन्देहीको लुम्बिनी, मणिमुकुन्द सेन पार्क, जीतगढी किल्ला, पर्रोहा पर्मेश्वरधाम, परासीको रामग्राम, त्रिवेणी, मदारथानलगायतका अनेकौ पार्क साथै पुरातात्विक र पर्यटकीय स्थल रहेका छन् । पाल्पाको रामापिथेकस पार्क, तानसेन दरबार, भैरबस्थान, रानीमहल, गुल्मीको रिडी, रेसुङ्गालगायत चौबीसे गुल्मी, धुर्कोट, इस्मा, मुसीकोट राज्यका दरबारहरु लगायतका ठाउँ दर्शनीय छन् । अर्घाखाँचीको अर्घा र खाँची दरबार, उलुछत्र, सुपादेउराली, प्युठानको स्वर्गद्वारी, खलंगा, ऐरावती, भित्रीकोट, गौमुखी लगायतका स्थानले पर्यटकीय पहिचान बनाएका छन् ।

पूर्वी रुकुममा पृथा हिमाल, ढोरपाटन शिकार आरक्ष,कमल ताल, रोल्पाको लिवाङ्ग, थवाङ्ग, सुलीचौर घर्तीगाउँ लगायतका स्थान रमणीय रहेका छन् । बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा धाम, बढैया र सतखोलुवा ताल बाँके जिल्लाको बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, जामा र इदगाहा मस्जिद, लगायतका धार्मिक तथा पर्यटकीय स्थान रहेका छन् । यसैगरी दाङ जिल्लामा घोराही, तुल्सीपुर, भालुवाङ्गका साथै बाह्रकुने ताल, कपिलबस्तुको तिलौराकोट, जगदीशपुरताल निग्लीहवा लगायतका स्थान घुम्न लायक रहेका छन् ।

यस प्रदेशमा रहेका धार्मिकस्थलमा राखिने जनआस्था, गरिने पूजापाठ, भक्तिभजनले यसक्षेत्रलाई धार्मिक संस्कृतिको अनुपम नमूनाका रुपमा रहेको छ । यस प्रदेशमा प्रकृतिपूजाका अनेकौ थान, कोट, मौला, शीला आदि रहेका छन । यसका साथै यस प्रदेशमा इस्लाम र क्रिश्चियन धर्मावलम्बीका प्रसिद्ध मस्जिद, चर्चहरु रहेका छन । यसरी बहुधार्मिक संस्कृतिको अभ्यास गरिरहेको यस प्रदेशमा धार्मिक सदभाव र सहिष्णुता उच्च रहेको छ ।

यस प्रदेशमा ५१ लाखभन्दा बढी जनसंख्या रहेको बहुजातीय बसोबास भएकोले संस्कृति पनि विविधतायुक्त रहेको छ । जाति विशेषका आफ्नै रहनसहन, बोलीचाली र भेषभुषा रहेका छन । यस प्रदेशमा बस्ने मुख्य जनजाति मगर र थारुहरुको आफ्नै विशिष्ट संस्कृति रहेको छ । मगर र थारुका आफ्नै भाषा, भेषभुषा, रीतिरिवाज, मेलापर्वहरुले अलग्लै पहिचान झल्काउँछन् । दुबै जनजातिले दशै तिहारसहितका केही पर्व समान र माघीलगायतका अन्य पर्व मौलिक रुपले मनाउछन । यसका साथै यस प्रदेशमा नेवार, गुरुड, कुमाल, बोटे लगायतका जनजातिहरुका आफ्नै विशिष्ट संस्कृति यस प्रदेशमा रहेका छन् ।

यस प्रदेशमा पहाडी ब्राह्मण क्षेत्री र दलितहरुको खसआर्यहरुको संस्कृति प्रभावशाली रहेको छ । हिन्दू वैदिक तथा प्रकृतिपूजक मस्टो संस्कृतिमा आधारित यो संस्कृति रीतिरिवाज, जीवनशैली, मेलापर्व अन्य समुदायमा विस्तारित भएको पाइन्छ । खसआर्य संस्कृति मगरलगायतका जनजाति र पछिल्लो समय तराइका थारु र मधेशी समुदायसँग अन्तरघुलित र विस्तारित भएर अघि बढेको पाइन्छ । यसैगरी तराइमधेशमा रहेका यादव, कुर्मी, हरिजनलगायतका समुदायको हिन्दू आर्य संस्कृति प्रचलनमा रहेको छ । यसका साथै मधेशमा मुस्लिम र मधेशी दलितहरुको पनि आफ्नै परम्परा रीतिरिवाज रहेका छन । यस प्रदेशमा नेपाली भाषाका अलावा थारु, मगर, अवधि, भोजपुरी नेवारी, हिन्दीलगायतका भाषा बोलिन्छ ।

यस प्रदेशमा दशै, तिहार, तीज, छठ, माघी, शिवरात्री, फागु तथा होली, चैतेदशै, कृष्णजन्माष्टमी जनै पूर्णिमा, रमाजान, कृस्मस लगायतका पर्वहरु यस प्रदेशमा मनाइन्छ । समय अनुसारका मेलापर्व र जात्राहरु यस प्रदेशमा हुने गर्दछन । संयुक्त रुपमा मनाइने रोपाइजात्रा, सँरायनाच, देउसीभैलो, तीज र होलीजस्ता पर्वहरुले सबै समुदायलाई जोडेका छन । मगरहरुको कौडा, सोरठी, घाटु, नेवारहरुको गाइजात्रा, लाखे, थारुहरुको मघौटा, झाम्टा लगायतका नाचहरु ब्राह्मण क्षेत्रीको भजन, परियारहरुको नौमति बाजा, गाइनेको कर्खालगायतका विशिष्ट संस्कृति यस प्रदेशमा पाइन्छ ।

लुम्बिनी प्रदेशमा जातिधर्म अनुसारका मौलिक संस्कृतिका साथै विभिन्न कारणले विकसित, अन्तरघुलित र समावेशी गरी दुबै प्रकारका संस्कृति पाइन्छ । व्यापार व्यवसाय, रोजगारी र बसाइसराइका कारण भिन्न समुदायको अन्तरघुलनले समावेशी संस्कृति निर्माण भएको छ । तराइको होली आज पहाडमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन्छ । पहाडको तीज, दशैको सरायँलगायतका धेरै पर्वहरु पहाडीहरुको बसाइसराइसँगै तराइमा प्रचलित हुन थालेका छन । थारु मगरलगायतका जनजातिका पर्वहरुमा अन्य जातिको सहभागिता उत्साहप्रद छ । खसआर्य संस्कृतिलाई जनजाति समुदायले अबलम्बन गर्दै आधुनिकीकरणसगै मिश्रित संस्कृति निर्माण भइरहेको छ ।

सांस्कृतिक सद्भाव, सहवलम्बनको अद्भूत उदाहरण यस प्रदेशमा भेट्न सकिन्छ । नवलपरासीको मदरबाबाको मेलामा मुस्लिम र हिन्दूको उत्तिकै सहभागिता हुन्छ । बौद्ध जन्मस्थल लुम्बिनीमा हिन्दू र बौद्धसँगै उत्तिकै श्रद्धाभाव राख्छन् । पहाडी क्षेत्रका धेरै कोटहरुमा ब्राह्मणक्षेत्रीसहितका सबै जातिले मगरलाई पूजारी बनाएर मानिराखेका हुन्छन । अर्घाको कोटमा जेठो आलम गन्दर्वहरुले निकाल्छन् । हरेक पूजापाठ, मेलाजात्रा र पर्वहरुमा दमाइहरुले बाजा बजाएर अगुवाइ गर्छन । गुल्मी धुर्कोटका सुनारहरुको कूलपूजामा ब्राह्मणहरुले भाकल गर्ने र वलि दिने प्रचलन छ । यस्तै अनगिन्ती सांस्कृतिक प्रचलनले सामाजिक विविधतामा सहिष्णुता, एकता र सदभावलाई बलियो बनाएका छन ।

समयक्रममा आधुनिकीकरण र सहरीकरणका कारण नयाँ नयाँ संस्कृतिहरुको विकास भएको छ । बसाइसराइ तयार गरेको बहुलतायुक्त समाजमा मिश्रित संस्कृति विकास भएको छ । पछिल्लो समय पुराना संस्कृतिमा रहेका जीवनविरोधी, रुढ, विभेदकारी, अन्ध परम्परालाई कानूनी र व्यवहारिक रुपमा अन्त्य गर्ने क्रम बढेको छ । एकअर्काका संस्कृतिलाई सम्मान गर्ने र अनुसरण गर्ने क्रम बढेको छ । पुर्खाको अमूल्य चिनोको रुपमा रहेको मौलिक संस्कृति जर्गेनाको चेतना पनि अहिले बढ्दो छ । यसले लुम्बिनीको सांस्कृतिक सम्पन्नतालाई उच्च बनाउँदै लगेको छ ।

विश्वव्यापीकरण, सूचना प्रविधि, जिविकोपार्जनमा आमूल परिवर्तनले मौलिक संस्कृति संवद्र्धनमा अनेकौ चुनौती खडा भएका छन । कुनै पनि ठाउँको सांस्कृतिक मौलिकता जोगाउन आत्मनिर्भरता पहिलो शर्त हो । लुम्बिनी प्रदेशले आफ्नो सांस्कृतिक सम्पदाको सदुपयोग गरेर सिंगो देशलाई समृद्ध बनाउने सामथ्र्य राख्दछ । तर विडम्बना प्रकृति र संस्कृतिले धनी भए पनि गरिबी र बेरोजगारीका कारण जनशक्तिको विदेश पलायन भइरहेको स्थिति छ ।

विश्वलाई आकर्षित गर्ने बुद्धको जन्मस्थल जस्तो सफ्ट पावर लुम्बिनीलाई मात्र उपलब्ध छ । अनैकौ आयामका विविधतायुक्त संस्कृति यसै प्रदेशमा समेटिएका छन । पृथक संस्कृतिका बीचमा सदभाव, सहिष्णुता एकताको सम्मिलन यही भेटिन्छ । हामीसँग भएका प्राकृतिक र सांस्कृतिक सम्पदाको सामथ्र्यका तुलनामा निकै न्यून लाभ हामीले लिएका छौ । अब लुम्बिनी प्रदेशसँग भएका प्राकृतिक र सांस्कृतिक सम्पदालाई केवल स्रोतका रुपमा हैन समुन्नतीका संशाधनका रुपमा प्रयोग गर्न अग्रसर हुनुपर्छ । यसका लागि हाम्रो प्रकृति र संस्कृतिको बोध र सदुपयोगको मूर्त मार्गचित्र बनाउनु पर्छ ।