लुम्बिनी महोत्सवः चुनौतिलाई अवसरमा बदल्ने हाम्रो प्रयास


विषम् परिस्तिथिमा पनि आज हामी एउटा खुशीको क्षणमा आइपुगेका छौं । वर्तमान अवस्थामा उद्योग–व्यवसाय लगायत सबै क्षेत्र धरासायी हुँदा समग्र निजी क्षेत्र चिन्तित छ, बजारमा देखिएको मन्दी र उद्योगी व्यवसायीलाई सरकारबाट हुनुपर्ने पर्याप्त संरक्षण नहुँदा समेत नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकास गर्ने उद्देश्यले हामीले नाफा कमाउने नभई आर्थिक क्षेत्रलाई थोरै भए पनि चलायमान बनाउने मनसायले यो महोत्सव आयोजना गरिएको हो । यो महोत्सवलाई आजको अवस्थासम्म ल्याउन हरेक क्षेत्रबाट सक्रिय रहनुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ । यहाँहरुकै अथक प्रयास र सहयोगले अहिलेको चरणमा आइपुगेका हौं ।
तपाईं हामी सबैले महशुस गरेकै विषय हो, बजार सिथिल छ । यस्तो अवस्थामा महोत्सव गर्ने की नगर्ने भन्ने हामीहरुबीच पनि केही चिन्ता थिए । तर, भैरहवासँगै सिंगो मुलुकलाई गुल्जार बनाउन, क्रेता र विक्रेताबीचको सामिप्यतालाई अझै प्रगाढ बनाउन हामीले प्रयास गरेका हौं । यसलाई सफल पार्नु सिद्धार्थ उद्योग बाणिज्य संघको मात्रै दायित्व होइन्, स्थानीय, प्रदेश र संघ सरकारसँगै तपाईं सम्पूर्ण रुपन्देहीबासीको हो भन्ने मलाई लागेको छ ।
वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग बाणिज्य संघ नेपालकै पूराना संघ मध्येको संस्था हो । अझ भन्ने हो भने महासंघको संस्थापक सदस्य हो । निजी क्षेत्रको हकहीत र नयाँ उद्यमशीलता विकास गर्ने उद्देश्यले स्थापित यो संस्थाले सधैं निजी क्षेत्रको सकारात्मक संरक्षण र राज्यको नीति नियमलाई साथ, सहयोग दिँदै आएको छ । मुलुकको अर्थतन्त्र सुधारका लागि रायसुझाव दिने, उद्योगी व्यवसायीलाई समयमै कर तिर्न प्रोत्साहित गर्ने, आर्थिक तथा पर्यटकीय गतिविधिलाई बढवा दिँदै आएको सबैलाई सर्तविदितै छ । २०६१ सालमा पहिलो पटक भैरहवामा औद्योगिक महोत्सव आयोजना गरेर संघले नै मेलामहोत्सवको सुरुवात् गरेको थियो । यसैले संघले यस्ता महोत्सवलाई जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिने काम गरिरहेको छ ।
नेपाललाई विश्वमै चिनाउने भगवान बुद्धको जन्मस्थल लुम्बिनीको सामिप्यतामा रहेका हामी भाग्यमानी हौं । तर, उद्योगी–व्यवसायी र पर्यटनमैत्री नीतिनियमको अभावले सधै चिन्तित छौं । भएका नीति नियमको पालना समेत सरकारले सही ढंगले कार्यान्वयन नगर्दा निजी क्षेत्र सधैं चिन्ताले पिरोली रहेको सबैमाझ राख्न चाहन्छु ।
संघले विगतदेखि उद्योग व्यवसाय प्रबद्र्धनको काम गर्दै आइरहेको छ । चाहे त्यो लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तव्य प्रबद्र्धनका काम होस् या विभिन्न सभा, गोष्ठी सेमिनार र कार्यक्रममार्फत् यस क्षेत्रलाई चायमान बनाउने काम, हरेक किसिमले संघले काम गरिरहेको छ । एकीकृत जाँचचौकी (आईसीपी) निर्माणमा पहलकदमी, विशेष आर्थिक क्षेत्र (सेज) निर्माणमा पहलकदमी गर्दै आएको छ । यतिमात्रै होइन्, संघले यस क्षेत्रमा लगानी भित्र्याउन समेत विभिन्न प्लेटफर्ममार्फत् आह्वान गरेको छ भने अर्बौं लगानी भित्र्याउन पहल गरेको छ ।
भैरहवामा विमानस्थल बन्नुपर्छ भन्ने माग राख्ने र अन्तर्राष्ट्रिय विमानस्थ बनेपछि संचालनका लागि दवाव सिर्जना गर्ने सिद्धार्थ उद्योग बाणिज्य संघ पहिलो संस्था हो । हाम्रो पहलकदमी र सरकारको सोंचले गौतमबुद्ध विमानस्थल संचालनका सन्दर्भमा सरकारले गरेका पछिल्ला प्रयास सह्रानीय छन् । यसैले पनि अहिले जति उडान भइरहेका छन्, त्यसप्रति हामी खुशी छौं । तर, निरन्तरता हुनेमा आशंका छ । सरकारले चार महिना पहिले नै घोषणा गरेका काम समेत अझै पूरा गर्ने सुरुसार गरेको छैन । विमानस्थल निर्माण सुरु भएपछि निजी क्षेत्रले अर्बौं रुपैयाँ ऋण लिएर लगानी गरेका छौं । यो विमानस्थलमा पूर्ण क्षमतामा नचले निजी क्षेत्र थप धरासायी हुन्छ । यसमा सरकारको ध्यान जाओस् ।
‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यो महोत्सवमा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्छनेछन् । व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हुनेछ भने जो ब्यापार गरेर स्थापित हुनुभएको छ, उहाँहरुका लागि यो अध्ययनको थलो बन्ने मैले विश्वास लिएको छु । अहिले मुलुकको आर्थिक अवस्था दयनीय हुँदा समेत चुनौतीलाई अवसरमा बदल्नका लागि हामीले ब्यापार मेलामार्फत् केही अवसरहरु सिर्जना गर्न खोजेको हौं ।
महोत्सवमा स्वदेशी तथा गुणस्तरीय बस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाइ सीमावर्ती बजारहरुमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका वारेमा जानकारी दिने र स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीको बजार प्रबद्र्धन गर्ने बिश्वास हाम्रो छ ।
रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कलासंस्कृतिको संरक्षण गर्दै बिशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्ट पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने मुख्य उद्देश्य यस महोत्सवको हो । महोत्सवमा उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्येक्ष भेटघाट हुने भएकाले यस भेगमा उत्पादित कृषिजन्य बस्तुहरु माछा, कुटिर तथा घरेलु र राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण हुनेछछ भने यसबाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायिककरण पनि हुने हाम्रो विश्वास छ ।
महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरिनेछ । यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहनेछ । महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा बिशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था मिलाइएको छ ।
मैले अब यहाँ केही विषयहरु बुँदागत रुपमा राख्न चाहन्छु
१) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही विमान कम्पनीले उडान सुरु गरेपछि यस क्षेत्र केही हदसम्म गुल्जार भएको छ । तर, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम केन्द्र, बिमा, श्रम स्वीकृत, भिसा यहीबाट जारी गर्ने कार्यालय र म्यानपावर कम्पनीहरु स्थापना लगायतका काम यहीबाट हुन सकेको छैन । सरकारले यी कार्यालय खोल्ने निर्णय ४ महिना पहिला गरे पनि कार्यान्यवन भएको छैन । संघ यही मेला मार्फत् तत्काल सरकारी निर्णय कार्यान्वयनको माग गर्दै विमानस्थल दिगो संचालनको माग गर्दछ ।
२) विमानस्थलमा जडित आइएलएस संचलन भएको छैन । तसर्थ यसको विकल्पमा आर.एन.पी–ए.आर. को काम तत्काल गरी भारतसँग थप रुटप्रमिट लिन पहल होस् ।
३) सरकारी उच्च तहका व्यक्तिले भैरहवामा होटल छैन, यातायातको सुविधा छैन, फोहर छ, ट्याक्टरमा चढ्नुपर्छ भन्ने जस्ता नकारात्मक कुराहरु विगतमा गरेको हामीलाई ताजै छ । यसर्थ सरकारी तहबाट हुने गरेका यस्ता अफाबाह अब नगरियोस् । रुपन्देहीमा दैनिक १० हजार बढी पर्यटकलाई एकैपटक राख्न सक्ने सानादेखि पाँचतारेसम्मका स्तरीय सुविधासम्पन्न होटल छन् । ट्याक्सीदेखि स्तरीय यातायातको राम्रो प्रबन्ध निजी क्षेत्रले गरेको छ । यो कुरा सरकारमा बस्ने र माथिल्लो तहका व्यक्तिले बुझ्न जरुरी छ ।
४) विशेष आर्थिक क्षेत्र (सेज) मा देखिएका समस्या समाधान गरी तत्काल पूर्णक्षमतामा चलाउन सरकारले पहल गरोस् ।
५) स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने बेलहिया नाका थप व्यवस्थित गरियोस् । नाकामै पर्यटकीय सूचना केन्द्र स्थापना गरी मुलुकका सम्पूर्ण गन्तव्यको जानकारी दिने डिस्प्ले राखियोस् ।
६) बेलहियास्थित अध्यागमनमा कर्मचारी अभावले पर्यटकले ६ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता छ । त्यहाँ तत्काल कर्मचारीको व्यवस्था गरी पर्यटकले पाइरहेको दुःखलाई सुःखमा परिवर्तन गरियोस् ।
७) उद्योग–व्यापारमैत्री नीति बनाइ व्यवसायीलाई भइरहेको अनावश्यक दुःख र हैरानीको अन्त्य होस् ।
८) एक सय रुपैयाँ भन्दा बढीको सामान खरिद गरी मुलुक भित्र्याउँदा संक्षिप्त प्रँज्ञापन भर्ने कामलाई थप कडाई होस् ।
९) विभिन्न पर्यटकीय गन्तव्यमा जाने सडकसंजाल ध्वस्त छन् । त्यसैले नारायणगढ–बुटवल लगाययत समग्र सडकसंजाललाई जतिसक्दो चाँडो निर्माण सकी व्यवस्थित गरियोस् ।
१०) यस क्षेत्रमा एउटा पनि मण्डप नहुँदा वर्सेनि मेलामहोत्सव गर्न लाखौं रुपैयाँ अस्थायी संरचनामा खर्च भइरहेको छ । त्यसैले भैरहवा क्षेत्रमा व्यवस्थित मण्डपका बनाउन सरकारले रकम छुट्याओस् । यसका लागि तत्काल भैरहवास्थित भैलोभुजको जग्गा प्रँप्ती होस् ।
११) अहिले नेपाल–भारत बेलहिया–सुनौली नाकामा बनिरहेको आईसीपीलाई रेल्वे कनेक्सनसँग जोड्न तत्काल पहल होस् ।
१२) अहिले धमाधम उद्योग व्यवसाय बन्द छन्, बन्द उद्योगको पुनः संचालन र बढ्दो युवा पलायनलाई रोक्न विशेष योजना ल्याएर काम गरियोस् ।
१३) भैरहवामै नेपाल पर्यटन बोर्डको कार्यालय तत्काल खोलियोस् ।
१४) लुम्बिनी सरकारले भारतीय पर्यटकलाई पटके कर लिइरहेकाले त्यसलाई खारेज गरियोस् । साथै भारतीय पर्यटकले नेपाल आउँदा अधिकतम २५ हजार रुपैयाँ ल्याउन पाउने प्रावधानलाई हटाई कम्तिमा ५ हजार डलर ल्याउन पाउने प्रावधान बनाइयोस् ।
१५) भैरहवाबाट आन्तरिक हवाई कनेक्टिभिटी बढाई भैरहवा–नेपालगंज, भैरहवा–धनगढी, भैरहवा–विराटनगर लगायतका ठाउँमा तत्काल हठाई उडान गर्न पहल होस् ।
१६) ट्रंकलाइन र डेडिकेटेट लाइनको विवाद तत्काल समाधान गरी मर्कामा परेका उद्योगी व्यवसायीलाई न्याय गरियोस् ।
१७) अहिले संचालित उडानलाई निरन्तर गरी तत्काल भैरहवा–दिल्ली, भैरहवा–श्रीलंका, भैरहवा–चीन लगायत बुद्धिष्ट मुलुकमा नियमित उडान गर्न पहल होस् । यसका साथै सरकारले अन्य मुलुकसँग सहमती, सहकार्य र पहलकदमी गरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवामा आकर्षित गर्न निरन्तर लागोस् ।
१८) निजी क्षेत्रबाट गर्नुपर्ने आवश्यक सहयोग, सहकार्य र लगानीका विषयमा सुझाव लिएर सरकार अघ बढोस् ।
१९) कोरोना कालमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुबाट उठाएको डिमाण्ड चार्ज फिर्ता गरियोस् ।
अन्तमा, यो महोत्सव तपाईं हाम्रो सबैको गहना भएकाले यसलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट आवश्यक सल्लाह, सुझाव र सहयो गर्नुहुनेछ भन्ने अपेक्षासहित सम्पूर्णमा हार्दिक आभार ।
(सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष श्रेष्ठले मंसिर २० गते बिहीबार नवौं लुम्बिनी राष्ट्रिय महोत्सव उद्घाटनका अवसरमा राखेको मन्तव्यको सम्पादित अंश ।)








लेखकको सम्वन्धमा