सबाल्टर्नको प्रतीक ‘पूर्णबहादुरको सारङ्गी’ हेरेपछिको फ्ल्यासब्याक

विषय प्रवेश:
नेपाली फिल्म उद्योगमा पछिल्लो समय चर्चाको शिखरमा रहेको फिल्म हो, पूर्णबहादुरको सारङ्गी । यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ आशाको सञ्चार गराएको छ । कथा र प्रस्तुति राम्रो भयो भने मानिसहरु आफै हल धाउँछन् भन्ने कुरालाई पुष्टि गरेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ को कारण यतिबेला देशैभरका हलहरु भरिभराउ छन् । फिल्मको कथाले हलमा मानिसहरु सुकसुकाएको मात्रै होइन ग्वाँ–ग्वाँ गरेर रोइरहेका पनि देखिएका छन् । फिल्मको कथाले साँच्चिकै धेरै मानिसहरुलाई भावविह्वल बनाएको छ ।
म स्वयं पनि हलमा विरलै जाने मान्छे । प्र्रेमगीत हेरेको धेरै समयपछि पूर्णबहादुरको सारङ्गी हेर्न हलमै पुगियो । त्यो पनि बिना योजना । पूर्व पत्रकार समेत रहेका राजु पौडेल पछिल्लो समय हल संचालक समेत भएका छन् । उनले सोमबार दिउँसो २ बजेतिर फोन गर्दै सबैजना फिल्म हेर्न आउनुभयो तपाईं आउनुभएन, आज फिल्मका कलाकार पनि आउने कुरा छ, समय मिल्छ भने ३ बजे आउनुस् भनेपछि धेरै मान्छेलाई रुवाउने फिल्म कस्तो रहेछ हेरौं न त भनि अनयासै योजना बन्यो, हलमा पुगेर फिल्म हेर्ने । अफिसका थप ६ जना साथिहरु लिएर भैरहवाको पद्माश्री फिल्महलमा जाने योजना अनुसार सोमबार ३ बजेतिर हलतिर लागियो ।
हामी हलमा पुग्दा फिल्ममा अभिनय गर्ने कलाकारहरु हिँडिसकेका रहेछन् । उनीहरु सबै हलमा १०–१५ मिनेट पस्दै जाने कार्यक्रम भएर पनि होला ३ बजेको शो शुरु नहुँदै हिँडेछन् । हामी भने कलाकारलाई नभेटे पनि हलमा बसेर फिल्म हेरेर मात्रै फर्कियौँ । फिल्म सरसर्ति हेर्दा धेरै प्रकारका अर्थ दिने खालको लाग्यो । फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपुतको बाबु छोराको अभिनय र भूमिकाले दर्शकको मन जितेको छ । उक्त फिल्मको मुख्य कथा जातीय विभेद, बर्गिय असमनता, बाबु र छोराको प्रेम, नेपालको ग्रामीण भूगोलको स्वास्थ्य, शिक्षाको समस्याको अवस्था र पढाईको महत्वलाई उजागर गरेको छ ।
फिल्ममा खासगरि पढाइको महत्वलाई दर्शाइएको छ । पूर्णबहादुरको छोरालाई पढाउने हिम्मत साँच्चिकै अनुकरणीय छ । एउटा सारङ्गी बजाएर गाइने पेशाबाट आर्जन गरेको रकमले छोरालाई डाक्टर बनाउने साहस गरेका छन् पूर्णबहादुरले । पूर्णबहादुर सबाल्र्टनको प्रतीक बनेर प्रस्तुत भएका छन् । हेपिएको, पिल्सिएको, दमित गन्धर्व परिवारको छोरा कमल गन्धर्वको मेहनत र लगनले उनको डाक्टर बन्ने सपना पूरा भएको छ । बुबा पूर्णबहादुर समाजमा अपहेलित भए तापनि त्यही समाजका लागि छोरालाई डाक्टर बनाउन चाहनु जन्मथलोप्रतिको माया र अपनत्व देखिन्छ ।
संघर्षको घनचक्करमा पूर्णबहादुर
हलमा बसेर फिल्म हेर्ने मानिसहरु पूर्णहादुरको जीवनमा आउने थरिथरिका कठिनाईपूर्ण घटनाको कारण भावविह्वल भएका छन् । प्राध्यापक सन्जिब उप्रेतीको घनचक्कर उपन्यासको नायकलाई जसरी समाजले नै पागल बनाएको हुन्छ, त्यसैगरी पूर्णबहादुरको सारङ्गीमा नायक पूर्णबहादुरलाई संघर्षको आरोह–अवरोहले जीवनको घनचक्करमा पुराएको छ । यो फिल्म साँच्चिकै भन्नुपर्दा पूर्णबहादुरको संघर्षको कथाको वरिपरि फन्को मारेको छ । बिरामीलाई गाउँमा स्वास्थ्य चौकीको राम्रो व्यवस्था नहुँदा डोकोमा बोकेर सहर लैजानुपर्ने बाध्यता, विरामी बुबाको उपचार गर्दा पैसा नपुगेपछि सहरको चोकमा बसेर सारङ्गी बजाएर पैसाको जोहो गर्नुपर्ने बाध्यता, एकातिर पैसाको कारण अस्पतालले समयमा औषधि उपचार नगर्दा बुबाको निधन हुनु अर्कोतिर हर्के जस्तो पराईको पछि लागेर बाटुली (घरकी श्रीमती) सहर पस्नु, छोरालाई पढाउन अन्तिम श्वास हुँदासम्म सारङ्गी बजाएर आफ्नो कर्मप्रति संघर्षरत भइरहनु पूर्णबहादुरको कर्तव्यप्रतिको निष्ठा देखिएको छ ।
उनको जीवनमा धेरै उकाली–ओराली आउँछन् । तर, छोरो डाक्टर बनेको सपना पूरा गर्न भने उनी आधी पेट खाएर संघर्ष गरिरहेका छन् । निरक्षर हुँदा चिठ्ठी पढ्न अरुको भर पर्नुपर्ने बाध्यता, माथिल्ला जातिका मानिसहरुको हप्की–दप्की र खप्की सहनुपरेको पीडालाई पनि कथाले उठान गरेको छ । फिल्ममा नेपालको वर्तमान पहाडी क्षेत्रको ग्रामीण सामाजिक अवस्था, शैक्षिक र स्वास्थ्य अवस्थालाई पनि उजागर गरेको छ । दुर्गमका जिल्लाहरुको विद्यमान अवस्थालाई जस्ताको तस्तै फिल्ममा उतारिएको छ । फिल्ममा बिरामीलाई गाउँमा स्वास्थ्य चौकीको राम्रो व्यवस्था नहुँदा डोकोमा बोकेर सहर लैजानुपर्ने बाध्यताले नेपाली गाउँको कथा जस्ताको तस्तै पस्केको छ ।
अहिले पनि नेपालको धेरै गाउँहरुमा सडक पुगेको छैन । यातयातको व्यवस्था छैन । स्वास्थ्य चौकी छैनन् । फिल्ममाझै कोही विरामी भइहाले डोकोमा, डोलिमा बोकेर स्वास्थ्य चौकी लानुपर्ने अवस्था विद्यमान छ । विरामी बुबाको उपचार गर्दा पैसा नपुगेपछि सहरको चोकमा बसेर सारङ्गी बजाएर पैसाको जोहो गर्नुपर्ने बाध्यताले नेपालमा स्वास्थ्य सेवाको अवस्थालाई उजागर गरेको छ । सरकारी विद्यालयका शिक्षकहरु राजनीतिमा लाग्ने गरेको घटना र विद्यालयमा समेत हुने गरेको जातीय विभेदलाई फिल्ममा देखाइएको छ । जीवनको घनचक्करमा परिरहेका पूर्णहादुरले हरेश भने कहिल्यै पनि खाएको देखिँदैन । यसैले उ एउटा सबाल्र्टनहरुको आशा र भरोसाको प्रतिबिम्ब बनेर उभिएको छ ।
बुढा पुरानाले भनेझै छोरा मान्छेले कहिल्यै हरेश खान हुँदैन भन्ने श्रुतियुक्तिलाई पूर्णबहादुरले अंगीकार गरेका छन् । छोरालाई डाक्टर बनाउन उनले आफ्नो पेट खाली राखेर भए पनि सारङ्गी बजाउँदै गाउँघरमा हिँडेको घटनाले धेरैलाई स्तब्ध बनाएको छ । एउटा बुबाले सन्ततीप्रति निर्वाह गर्ने दायित्व र जिम्मेवारी जसरी पनि पुरा गर्दछ भन्ने पुष्टि यो फिल्ममा देखाएको छ । फिल्ममा आमाको भूमिका गौण देखाइएको छ । फिल्मको शुरुवातमा दोहोरी गाउँदागाउँदै विहे गरेका बाटुली र पूर्णबहादुरको पारिवारिक जीवन धेरै वर्ष टिक्दैन । बिहे गरेर लैजाँदै गर्दा बाटोमा पर्ने खोला तर्दा बोकाको बलि दिएर, पुजापाठ गरेर मात्रै तर्नुपर्ने खोला यत्तिकै तरेर घर जाँदा उनीहरुको जीवनमा विघ्न बाधा आएको देखाइएको छ । भागेर विहे गरेकोले बाटुलीको बुबाले कुशको चित्ता बनाएर छोरी मरेको भनि घोषणा गरेका छन् ।
धर्मप्रतिको विश्वासलाई पनि उल्लेख गरिएको छ । गाउँमा विष्टहरुको टोल र तल्लो जातिको टोल भनेर छुट्टाउने विगतको प्रचलनलाई पनि उल्लेख गरिएको छ । सारमा भन्दा गणतन्त्र आउनुभन्दाको अगाडिको ग्रामीण भूगोल, सामाजिक अवस्थालाई फिल्ममा उठान गरिएको छ । तर, पनि आज पर्यन्त कर्णाली, सुदूरपश्चिमको विकट गाउँहरुमा छुवाछुत, जातीयप्रथा अझै डरलाग्दो रुपमा जरा गाडेर बसेको छ । फिल्मको समय, राजनैतिक नारा, रेडियोको समाचार जस्ता विषयले अलि पुराना विषय केन्द्रित भए तापनि आज पनि नेपालको दुरदराजको गाउँमा फिल्ममाझै समस्या बग्रेल्ती भेटिन्छन् ।
महिला पात्र कमजोर
यो फिल्ममा महिला पात्र अत्यन्तै कमजोर रुपमा प्रस्तुत भएको छ । संसारभर महिलाहरुको सशक्तिकरणको अभियान चलिरहँदा नेपालमा पछिल्लो समय सर्वाधिक चर्चामा रहेको फिल्मले महिला पात्रलाई अत्यन्तै गैरजिम्मेवार र कमजोर रुपमा प्रस्तुत गरेको छ । तर, पनि फिल्म हलमा फिल्म हेरिसकेपछि सबैभन्दा धेरै रुने, पूर्णबहादुरप्रति र कमलप्रति सहानुभूति प्रकट गर्ने भने महिलाहरु नै छन् । एकातिर गीत गाउँदा गाउँदै हार्दैमा विहे गर्ने विषय नेपाली परम्परामा अत्यन्तै पुरानो हो । आजकल त्यो सम्भव हुँदैन । अर्कोतिर मनपराएको मान्छेसँग विहे गर्दा बुबाले छोरी मरेको भनेर चित्ता नै बनाएर जलाउने विषय पनि बडो गम्भिर रहेको छ । अर्को छोरो पढाउने कुराको निहुँमा हर्केले बाटुलीलाई लिएर सहर भाग्ने विषय अहिलेको समयसँग त्यति मेल नखान सक्छ । बाटुली जत्तिको सशक्त महिलाले आफै केही गरेर खान सक्दछिन् ।
एउटा सामन्य चिनेजानेको मान्छेको पछि लागेर ससुराको देहान्त भएको बेला घर छाडेर भाग्नुले गैरजिम्मेवारी पन देखाएको छ । यसैगरी फिल्ममा बाटुली नाबलक छोरालाई यत्तिकै छाडेर हर्केसँग कता गइन त त्यो प्रस्टाइएको छैन । यत्तिकै रहस्यमय बनाइएको छ । कथाबस्तुको प्याराग्राफ नै गायब भएझै बाटुली यतिकै हराएकी छन् । हुनसक्छ कथाकारले सारङ्गी फिल्म भाग–२ बनाएर त्यसमा उनको कथा व्यथा देखाउने सोँचमा होलान तर एक्कासी विषयवस्तु उठान गरेर बैठान नगराउँदा नमिल्दो देखिएको छ ।
फिल्ममा बाटुलीको परिवार आरने समुदायको र पूर्णबहादुर गाइने समुदायको भएकोले दलित भित्रै पनि विभेद रहने गरेको तथ्यलाई देखाएको छ । जसले गर्दा आरनेको छोरी गाइने समुदायको पूर्णबहादुरले बिहे गरेर लैजाँदा आरने परिवारले स्वीकारेको छैन । जातीय व्यवस्था अनुसार ब्राह्मण, क्षेत्री, बैश्य र शुद्रमा त विभेद छँदैछ त्यसमा शुद्रभित्र पनि त्यस्तै जातीय विभेद रहेको देखिनु झनै नेपाली समाजको लागि विडम्बनापूर्ण रहेको तथ्य हो । नेपालको संविधानले छुवाछुत प्रथा उन्मूलन भएको बताएको छ । जातीय आधारमा कसैमाथि विभेद गरेमा जघन्य अपराध ठानेको छ । पशुपति कोटिहोममा हिन्दू धर्मका महन्तहरुसँगै कृष्ण दमाईले प्रवचन दिइरहँदा पूर्णबहादुरहरु जस्ता हजारौं दलितहरु अहिले पनि फिल्ममा देखाइएकोझै हाम्रो समाजमा आयोजित धार्मिक कार्यक्रममा अछुत हुने गरेका छन् ।
फिल्म हेरेपछि लेखकको फ्ल्यासब्याक
आफ्नो नाममा एक टुक्रा पनि जग्गा जमिन नभई सरकारी जग्गामा घर बनाएर बसेको गन्धर्व परिवारको कलालाई पनि उक्त फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको छ । उक्त घटनाले नेपालमा अहिले पनि सीमान्तकृत, दलित, गरिब, विपन्न परिवार जसलाई सबाल्र्टन भनेर पनि चिनिन्छ उनीहरुको लागि गाँस, बास र आवसको अभाव रहेको प्रस्ट्याएको छ । यो सत्य पनि हो । नेपालका केही प्रतिशत मानिसहरुसँग आज पनि एक झर्को पानी रोक्ने बासको पनि व्यवस्था छैन । कतिपय अहिले पनि वन, जंगल र खोला किनाराको सरकारी जग्गा, आठ नम्बरी जग्गा, उखडामा बास बनाएर बसेका छन् । फिल्मले उक्त कुराको संकेत गरेको छ ।
आजपर्यन्त पनि नेपालको पहाडी क्षेत्रमा सारङ्गी बजाएर गीत गाउँदै हिँड्ने ‘गाइने’ कर्म नेपालको सन्दर्भमा परम्परागत पेशाको रुपमा रहँदै आएको छ । कतिपय ठाउँमा त केही वर्ष पहिलेसम्म पनि गाइने पेशालाई बालिघरे पेशाको रुपमा राख्ने प्रचलन थियो । तर, आजकल गाइने पेशा हराएर गएको छ । गन्धर्ब परिवारले मात्रै बजाउने सारङ्गी आजकल अन्य जाति, समुदायका मानिसहरुले पनि बजाउने प्रचलन बढेर गएको छ ।
प्यूठानको गौमुखी गाउँपालिकाको पुजा गाउँमा जन्मे हुर्केको मैले पूर्णबहादुरको सारङ्गी हेरेपछि मलाई २५ वर्ष अगाडिको फ्ल्यासब्याकमा पुराएको छ । जत्तिबेला म भर्खरको किशोर थिएँ । म २०५७ सालदेखि जन्मथलो छाडेर कर्मथलो भैरहवातिर केन्द्रित भएँ । पुजाको महेन्द्र निमावि र ठुलाबेसीको गौमुखी माविमा पढ्दाको समयमा देखेको त्यो बेलाको घटना फिल्म हेरिसकेपछि मानसपटलमा फेरि पुनर्ताजगी भएको छ । त्यो समय मैले देखेको जातीय विभेद र गाइने कर्मको बारेमा यो फिल्मले पुनर्ताजगी बनाएको छ । उक्त घटनालाई पुनः मानसपटलमा नजिकबाट हेर्ने, बुझ्ने र अनुभूति गर्ने मौका दिएको छ ।
त्यो बेला हाम्रो गाउँको पारिपट्टी रहेको एक्ले सल्लाहमा गन्धर्व परिवार बस्दथ्यो । सारङ्गीको धुनमा गीतको भाका निकालेर मान्छेका घरघर गई मनोरन्जन दिने र त्यसवापत पैसा, अन्नबाली, लत्ताकपडा प्राप्त गर्ने गर्दथे । यसरी उक्त परिवारले गुजरा चलाएको थियो । आजकल त्यो परिवारका सन्ततीहरुले बाउबाजेको पेशालाई निरन्तरता दिएको देखिँदैन । बुढ्यौली उमेरमा पनि सकिनसकी सारङ्गी बोकेर श्रीमती लिएर गाउँगाउँमा हिंड्ने, सारङ्गी बजाउने र जीविकोपार्जन गर्ने गर्दथे । यो लेख तयार गर्ने क्रममा फिल्मको पूर्णबहादुर पात्रसँग करिब–करिब मिल्दोजुल्दो तिनै एक्ले सल्लाहका गाइनेको बारेमा सोधिखोजि गरेँ ।
गौमुखी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य समेत रहेका स्थानीय भरतबहादुर केसीका अनुसार एक्ले सल्लाहका पुने गन्धर्व अहिले पनि उक्त पेशामा निरन्तर लागिरहेका छन् । उनको जेठो छोराले केही समय उक्त पेशामा लागे तापनि अहिले उक्त पेशा छाडेका छन् । फिल्ममा पूर्णबहादुर बिरामी भएको बेला नाबलक छोरा कमलले बिस्टहरुकोमा गई सारङ्गी बजाउँदा बिस्टहरुले धकेलेझै पुने गन्धर्वका जेठा छोरालाई पनि लिवाङमा दुव्यर्वहार गरेको सुन्नमा आएको छ । अन्य सन्तती भने गाइने कर्म छाडेर पढिलेखी अन्य काममा लागेका छन् ।
फिल्ममाझै दमाई, कामी र टोमटाहरुको समेत बसोबास रहेको पुजामा त्यतिबेला हुने विभेद अत्यासलाग्दो नै थियो । गाउँमा आरनटोल, दमाई टोल र टोमटा टोेल नै थियो । बालिघरे प्रथाबाट त्यहाँको कामीको आरन, दमाईको सिलाई र टोमटाको आरन चलेको थियो । आजकल ती आरनहरु आधुनिकीकरण भएका छन् । बालिघरे आरने पेशा व्यवसायिक हुँदै गएको छ । यतिबेला उक्त गाउँको निर्वाचित वडाध्यक्ष नै दलित समुदायबाट प्रतिनिधित्व गर्ने गर्दछन् ।
करिब २५ वर्ष पहिले जुन जातीय विभेद थियो, त्यो घटनासँग मिल्दो कथा पूर्णबहादुरको सारङ्गीमा छ । कोड्का नजिकै फुर्से दमाई, पर्से दमाई, काले दमाई, शोभे दमाईको घरमा कपडा सिलाउनेको भीड नै लाग्दथ्यो । माथिमाथि सेतो कमेरो, बीचमा रातो माटो, तल कालिमाटीले पोतेको खरले छाएको चिटिक्कको घरको दलानमा बिहानैदेखि मेशिन चलाउँदै बस्ने फुर्से, पर्से, काले, शोभे, मंगले मामाहरुलाई पूर्णबहादुरको सारङ्गीले सम्झाईदिएको छ ।(लेखकले गाउँको करिब सबै दलित समुदायलाई मितेरी साइनोको कारण धेरैलाई मामा भन्ने गर्दछन् ।)
कहिले काँचापातको भूसाले भरिएकोे सुल्फा त कहिले धार्नेको पातको बिँडी तान्दै घरको दलानमा मेसिन चलाउँदै बस्ने उनीहरुलाई बिहानदेखि साँझसम्म भ्याइनभ्याई हुन्थ्यो । गाउँका सबै जातका मानिसहरु कपडा सिलाउन गएमा उनीहरुले क्षेत्री र बाहुन समुदायको कपडालाई पछि आए पनि पहिले सिलाउने प्रचलन चलाएका थिए । उक्त घटनालाई पनि फिल्मले जस्ताको तस्तै टिपेर राखेको देखियो । कपडाको नापो दिने चलन पनि पुरानै हो ।
फिल्ममा देखाएझै दोहोरी गाउने परम्परा हाम्रो गाउँमा पनि पुरानो हो । तर, दोहोरी जसलाई गाउँतिर झाम्रे भन्ने चलन छ । झाम्रे गाएर जित्दैमा बिहे गर्ने चलन भनि पुरानो हो । आजकल जस्तो सामाजिक सन्जाल मार्फत् पर्ने प्रेम भन्दा त्यतिबेला रातिराति कटेरा, थारा, ओडार, खरेनमा बसेर गाउने झाम्रे धेरै संस्कारयुक्त थिए । जे हुन्थ्यो फिल्ममाझै शब्दको र टुक्काको खेल हुन्थ्यो । गाउँमा देवली, दशैँ पूर्णिमा, तिहार, तिज कार्यक्रम पश्चात युवा–युवती मात्रै होइन्, उमेर पुगेकाहरु पनि खुल्ला चौरमा बसेर मज्जाले टुक्काले हानाहान गर्दै झाम्रे गाउने प्रचलन पुरानै हो । यो परम्परा आजकल हराउँदै गएको छ ।
नेपाली फिल्म उद्योगमा जागेको आशा
नेपाली फिल्ममा लगाएको लगानी डुबेर चलचित्र निर्माताहरु निराश भइरहेको बेला पूर्णबहादुर सारङ्गीले भने आशा जगाएको छ । लक्ष्मी पुजाको दिन रिलिज भएको फिल्मले अहिलेसम्म ३५ करोडको कारोबार गरेको छ । तराई मधेशको क्षेत्र मानिने भैरहवामा हिन्दी फिल्महरु मात्रै चल्ने गर्दा केही नेपाली फिल्महरुले पनि हल संचालकहरुमा खुसी दिएको छ । पद्माश्री फिल्महलका संचालक राजु पौडेलका अनुसार २ घन्टा २६ मिनेट २४ सेकेन्ड लामो पूर्णबहादुरको सारङ्गी हेर्न आउने दर्शकहरुको घुइँचो छ । उनका अनुसार नेपाली फिल्मको इतिहाँसमा सबैभन्दा बढी चलेको फिल्म नै यही हो ।
नेपाली फिल्म उद्योगमा छक्का पन्जाले १७ करोड, कपर्दीले १८ करोड, जारिले २२ करोड, बाह्र गाउँले २५ करोड २५ लाख र यो फिल्मले ३५ करोड कारोबारा पुराइसकेको छ । हल संचालकहर पनि यो फिल्म लगाउँदा सन्तुष्टि छन् । विषय बस्तु नेपाली जनमानसले भोगेको भए तापनि त्यसलाई पटकथामा पस्केर निर्माताले प्रशंसनीय काम गरेका छन् । पूर्णबहादुर (विजय बराल) शालिन र शान्त स्वभावको एक परिवर्तनकामी योद्धा भएर प्रस्तुत भएका छन् । समाजले अपहेलित गरेको पेशा जसलाई उनको श्रीमती बाटुली (अन्जना बराईली) ले समेत स्वीकारेकी छैनन्, त्यसलाई उनले आफ्नो मनको कुनामा दबाएर छोरालाई पेशा परिवर्तन गराउन उद्दत भएका छन् । अन्ततः गन्धर्व परिवारबाट पनि कमल गन्धर्व डा.कमल बन्न सफल भएको कथालाई देखाइएको छ ।
(लेखक केसी समता टेलिभिजनका सम्पादक हुन् ।)
लेखकको सम्वन्धमा