February 8, 2025, Saturday
२०८१ माघ २७

फुड फेस्टिबल र म्युजिकल नाइटमा ‘जुरुक्कै उठेको भैरहवा’

असोज १८ र १९ गते मध्यरातिसम्म सिंगो भैरहवा सांगीतिक रमझममा झुम्यो । साँझ ७ बजेदेखि मध्यराति १२ बजेसम्म भैरहवाको देवकोटाचोकदेखि हाटबजार चोकसम्मको चार लेन र सर्भिसलेन सडकमा खुट्टा राख्ने ठाउँ थिएन । एक लहरमा मिलाएर राखिएका ५५ वटा स्टलहरुमा थरिथरीका परिकार चाख्नेहरुको भीड उत्तिकै थियो ।

Advertisement

नयाँ वर्षको अवसरमा, दिपावलीको समयमा तथा विभिन्न अन्य समयमा विभिन्न संघसंस्थाको समन्वय र आयोजनामा भैरहवामा यसअघि फुड फेस्टिबल, सडक खाना महोत्सव, सांगीतिक साँझहरु नभएका होइनन् । तर, असोज १८ र १९ गते सम्पन्न भएको भैरहवा फुड फेस्टिबल तथा म्युजिकल नाइटको रौनकता भने बेग्लै थियो । यसले भैरहवाको सुस्ताएको बजारलाई समेत चलायमान गराएको छ । पर्यटन व्यवसायमा आशाको सञ्चार पैदा गरेको छ ।

गतिविधि
घटस्थापनाको अर्कोदिन असोज १८ गतेकोे गोधुली साँझमा देखिएका रंगीन किरणहरुलाई सडकमा सजाइएका लाइटहरुले झन चहकिलो र चमकदार बनाइरहेका थिए । मानिसहरु एक पछि अर्को गर्दै थपिँदै थिए । उद्घाटन सत्र समापन भएर म्युजिकल नाइट शुरु हुँदासम्म करिब ८ बज्यो । त्यो समयसम्म करिब चार सय मिटरको चार लेन सडकमा मानिसहरु भरिभराउ देखिए । कुनैबेला १४–१५ वर्ष अगाडि सिद्धार्थ उद्योग बाणिज्य संघले सिद्धार्थ रंगशालामा मेला लगाउँदाको भीडको झल्को दिनेगरी मानिसहरु उपस्थित भएका थिए । संयोग पनि कस्तो जतिबेला उद्योग बाणिज्य संघको मेलाको संचालन गर्न बुटवलबाट स्कुटीमा दौडीदौडी आउने मन्जु पौडेल यतिबेला भैरहवा फुड फेस्टिबलको उद्घोषिका थिइन् ।

चार लेन सडकको आधा भागमा विभिन्न परिकारले सजाइएका पाँच, चार, तीनतारे होटलहरुको स्टल, विदेशी थाई खानाको स्टल, नेपाली, इन्डियन, चाइनिज र विभिन्न जाति समुदायका पर्यटकीय रेष्टुरेन्टहरुसहित ५५ वटा स्टलहरुका लाइभ किचनसहतिका परिकार देख्दा धेरैका आँखा तानिएका देखिन्थे, मुख रसाइरहेका थिए । निर्धारित कार्यक्रम भन्दा केही ढिला गरि साँझ ६ बजेदेखि शुरु भएको औपचारिक कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारयण आचार्यले गरे । प्रदेश सरकारका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने र भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेश सांसद सन्तोषकुमार पाण्डे, सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खान, मायादेवी गाउँपालिका अध्यक्ष धुब्रनारयण चौधरी, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, कार्यक्रम संयोजक विनोद खरेल लगायत विभिन्न संघसंस्थाका प्रमुखले शुभकामना मन्तब्य राखेका थिए । उद्घाटन सत्रको समता टेलिभिजन र भैरहवा टेलिभिजनले देशभरका जनतालाई देखाउने गरी प्रत्यक्ष प्रशारण गरेका थिए । त्यहाँ प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विशेष सम्मान समेत गरिएको थियो ।

औपचारिक कार्यक्रम लगत्तै म्युजिकल नाइट शुरु भयो । म्युजिकल नाइटमा कलाकारहरुको प्रस्तुतीले दर्शहरुलाई उल्लासमय र रोमाञ्चित बनाइरहेका थिए । जत्ति रात छिप्पिँदै थियो, त्यति मानिसहरुको भीड बढ्दै थियो । शुक्रबारको मध्यरातमा जब स्टेजमा गाउँदा गाउँदै चर्चित कलाकार दुर्गेश थापाले आफूले लगाएको ज्याकेट खोल्दै गए, तब झन भीडमा हुटिङ गर्ने क्रम बढ्दै गयो । कलाकारहरु दुर्गेश थापा, एलिना चौहान, इन्दु दनुवारको थरिथरीको गायन प्रस्तुतीले भीडलाई जुरुक्कै उठाएको भिडियो यतिबेला सामाजिक संजालहरुमा भाइरल भइरहेका छन् । यसैगरी अफसर अलि र द मिराजको म्युजिकल ब्यान्डको प्रस्तुती पनि पहिलो दिन कम्ता थिएन । कलाकारहरुको प्रस्तुतीलाई चर्चित उद्घोषिका मञ्जु पौडेलले झनै मलजल गरेर छिप्पिँदो रातलाई झनै रमाइलो गराउँदै लगेकी थिइन् । बम्बईदेखि आएकी कलाकार सन्जना शिल्कको नृत्यले पनि रमाइलो प्रदान गरेको थियो । पहिलो दिनको सडकमा देखिएका करिब ३० हजार भन्दा बढी मानिसहरुले भीडले दुर्गेश थापा, एलिना चौहान, अफसर अलि र द मिराजको म्युजिकल ब्यान्डको प्रस्तुतीलाई अलि बढी रुचाएको देखियो । दुर्गेशको प्रस्तुतीले त भरिभराउ सडकका मानिसहरु जुरुक्कै उठाएझै देखिन्थ्यो ।

असोज १९ गते शनिबार अघिल्लो दिन भन्दा दर्शकहरुको संख्या बढ्नु स्वभाविक हो । संख्या बढ्यो कसरी ? सडकका मानिसहरुको मापन कसरी गर्ने भन्नेहरु पनि निस्कन सक्छन् तर शनिबार अर्थात् भैरहवा फुड फेस्टिबलको दोेस्रो दिन करिब ४० हजार मानिसहरुले अवलोकन गरको निश्कर्ष निकालिएको छ । पहिलोः अघिल्लो दिन थाहा नपाएकाहरु अर्को दिन आए । दोस्रोः शनिबार विदाको समय उपयोग गर्न पनि मानिसहरु परिवारसहित स्ट्रीट खानाको स्वाद चाख्न आए । तेस्रोः सीमावर्ती भारतीयहरु सहर र गाउँको मानिसहरुको पनि संख्या उल्लेख्य रह्यो ।

दोस्रो दिन धन्यवाद समारोहको सत्र साँस्कृतिक कार्यक्रम भन्दा पहिले सम्पन्न भयो । सिद्धार्थनगरका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, उपाध्यक्ष भोजबहादुर खत्री लगायतले सम्बोधन गरेको उक्त कार्यक्रममा मायाको चिनो बितरण गरियो । त्यसलगत्तै शुरु भयो साँस्कृतिक कार्यक्रम । दोस्रो दिन राष्ट्रिय कलाकारहरु अस्मिता अधिकारी, सिर्जना खत्री, प्रीति पासवानको विशेष प्रस्तुती रहेको थियो । यसैगरी बसन्त श्रेष्ठको म्युजिकल ब्यान्ड, कर्णराज गिरीको प्रस्तुती र स्थानीय कलाकारको प्रस्तुति पनि रहेको थियो । शनिबारको राति सिर्जना खत्री र प्रीति पासवानको फ्यानहरु अन्य कलाकारको भन्दा धेरै देखिएको हुटिङको बिश्लेषण गर्दा देखिन्थ्यो । यद्यपि बसन्त म्युजिकल ब्यान्डको प्रस्तुतीले कता–कता नेपथ्य ब्यान्डको झल्को दिइरहेको थियो । यसैगरी अस्मिता अधिकारीले गाएका गीतको शब्द र स्वरले धेरैको मन जितेको दर्शकहरुको एककोहोरो सुनाई र हाउभाउबाट प्रस्ट बुझिन्थ्यो । दोस्रो दिन भारतीय कलाकार सन्जना शिल्कको पनि प्रस्तुती रहेको थियो । शनिबारको मध्य रातमा देवकोटा चोकदेखि हाटबजार चोकसम्मको चार सय मिटरको चार लेन र सर्भिसलेन सडकमा भरिभराउ मान्छेहरुलाई रातको १२ बजे असिन पसिन गराई नचाउने सामथ्र्य भने प्रीति पासवान र सिर्जना खत्रीको कलाकारिताले गरेको देखियो ।

‘हिँड््ने मान्छे लड्छ’ भने झै हरेक कार्यक्रममा कमजोरी हुन्छ नै । यद्यपी यो कार्यक्रम सम्पन्न भइरहँदा केही देखिएका कमजोरीहरु छन् । जसलाई केलाउँदा आगमी दिनमा यस्तै प्रकृतिको कार्यक्रम आयोजना गर्दा सुधार गर्न धेरै सहज हुने छ । विश्व पर्यटन दिवसको दिन तय गरिएको कार्यक्रम मौसमी क्यालेन्डर हेरेर तय गरेको भए मिति, तिथी, समय परिवर्तन गर्न पर्ने थिएन । यद्यपी पर्यटन दिवसको दिन गर्नै पर्ने बाध्यता थियो । मौसम प्रतिकुल भइरहेकोबेला, वेदर फोरकास्टबाट थाहा हुँदै फेस्टिबल आयोजना गर्नुहुन्थेन । एक हप्ता अगाडि मिति सारेको भए आयोजकलाई आर्थिक र प्राविधिक हिसाबले पुगेको क्षतिमा केही कम हुने थियो ।

औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा बक्ताको संख्या अझै कम गरेको भए राम्रो हुने थियो । फुड फेस्टिबल र म्युजिकल नाइटमा मानिसहरु भाषण सुन्न रुचाउँदैनन् । कलाकारको प्रस्तुती हेर्न लालयित हुने गर्दछन् । यस्तो कार्यक्रममा कार्यक्रम संयोजक, अध्यक्ष र प्रमुख अतिथि मात्रैले वक्ताको भूमिका निर्वाह गर्दा प्रभावकारी हुने गर्दछ । आसन ग्रहण लम्बेतान हुँदा सहभागीहरुले दिक्क मानेको देखियो । यसैले आगमी दिनमा आसन ग्रहण सबैलाई एकमुष्ठ रुपमा गराउनु ठीक हुनेछ । मायाको चिनो बितरणमा पनि आसन ग्रहणमाझै गल्ती दोहोरियो । आसनग्रहणमा बरियता क्रम बिग्रँदा केही अतिथिहरु रिसाएको पनि देखियो ।

उद्घोषण कलामा चर्चित मन्जु पौडेल संचालक रहेको उक्त कार्यक्रममा पनि आसन ग्रहण र अतिथिलाई मंचमा बोलाउँदा मान्छे नचिन्दा धेरै अफ्ठयारो बनाइरहेको थियो । औपचाारिक कार्यक्रमको उद्घोषक तथा औपचारिक कार्यक्रमको संचालक स्थानीय राख्दा यस्ता समस्या आउँदैनन् । सांस्कृति कार्यक्रमको संचालक भने जसलाई राखे पनि फरक पर्दैन । यसैगरी साउन्ड सिस्टम र एलईडि ठाउँठाउँमा राखिनु पथ्र्यो । लुम्बिनी प्रदेशमै ख्याति प्राप्त युनिक साउन्ड सिस्टम भए तापनि ब्यवस्थापकीय पाटो नमिल्दा मंच केन्द्रित भयो । साउण्ड र एलइडी कम्तिमा थप एउटा मौर्या होटलको अगाडिको बीच सडकमा राखेको भए धेरै उपयोगी हुन सक्थ्यो । यस्ता कार्यक्रममा नेपाल टेलिकम लगायत निजी क्षेत्रका इन्टरनेट सेवा प्रादायकसँग सम्झौता गरेर हाई स्पिडको वाइफाई फ्री गराउन सकेको भए सामाजिक संजालभरी भैरहवा फुड फेस्टिबल तथा म्यूजिकल नाइट छाउने थियो । त्यो हुन सकेन ।

आयोजकहरुले एउटै पोशाकमा उपस्थित भएको भए अझै आकर्षक र सुन्दर हुन सक्थ्यो । प्रमुख अतिथिलाई उद्घाटनमा सहभागी गराउँदा स्टलतिरबाट हिँड्दै जाँदा त्यहाँ प्रवेशद्वार बनाउन नसक्दा अस्थायी बार भत्काउनुपर्ने बाध्यता भयो । स्टलसँग मंच जोड्ने एउटा गेट बनाउनु पर्दथ्यो । आयोजक र कलाकारहरुलाई आवतजावतमा समेत समस्या परिरहेको थियो । कार्यक्रम अवधि छोटो भएको देखियो । कलाकार छनोटमा अझै ध्यान दिनुपर्ने देखिएको छ । चर्चित कलाकार भए तापनि अस्मिता अधिकारीको प्रस्तुतीले मासलाई होल्ड गर्न सकेन । यसैगरी मुम्बईबाट आएकी सन्जना शिल्कको प्रस्तुती अत्यन्तै फिका देखियो ।

उपलब्धी
सामन्य कमिकमजोरीकाबीच कार्यक्रम मूलतः सफल भएको छ । यो कार्यक्रमले भैरहवामा रात्रिकालीन बजार ढुक्कसाथ चल्न सक्छ भन्ने मुख्य सन्देश प्रवाह गरेको छ । मध्यरातसम्म सडकमा रमाउँदै बसेका मानिसहरुको अनुहार नियाल्दा महिनाको मासिक रुपमा २ दिन कम्तिमा रात्रिकालीन म्युजिकल नाइट राख्न सकिने सम्भावनाको ढोका खोलेको छ । सिद्धार्थ होटल संघ नेपालले नाट्टा, उद्योग बाणिज्य संघ र अन्य पर्यटन सम्बद्ध संघसंस्थासँग सहकार्य गरेर महिनाको २ दिन भैरहवामा म्युजिकल नाइट राखेमा त्यो फलदायी हुने देखिएको छ । अर्कोतिर भैरहवामा मानिसहरु जुटाउन गाह्रो हुन्छ भन्ने विगतको तथ्यगत कमजोेरीलाई यसपटक २ दिने महोत्सवमा सहभागीको भीडले उक्त कमजोरीलाई समाधान गरेको छ ।

सही कलाकार छनोट भएमा मानिसहरुको भीड थेगी नसक्नुको हुन्छ भन्ने देखाएको छ । अझ भन्नुपर्दा हरेक वर्ष दसैंको अवसरमा घटस्थापना पश्चात् ३ दिने दसैं लक्षित म्युजिकल नाइट कार्यक्रम गरेमा त्यो भब्य रुपमा सफल हुने देखिएको छ भने हरेक वर्ष विश्व पर्यटन दिवसको दिन २७ सेप्टेम्बरमा सडक खाना महोत्सव राखेमा विदेशी पर्यटकलाई भैरहवा घुम्ने क्यालेन्डर तयार गर्न सहज हुनेछ ।

भैरहवा फुड फेस्टिबल तथा म्युजिकल नाइट सम्पन्न भइरहँदा धेरैलाई चासो र कौतुहलता सृजना भएको विषय हो कि यो कार्यक्रमले निरन्तरता पाउँछ की पाउँदैन । लेखकको सुझाब चाहिँ यस्तो कार्यक्रम बार्षिक क्यालेन्डर नै बनाएर गर्नुपर्दछ । कार्यक्रम आयोजकको रुपमा जो भए तापनि यो कार्यक्रम भैरहवाबासी सबै व्यक्ति, संघसस्थाको हो । यसैले कसैले अगुवाई गर्दा अर्कोले असहयोग गर्नु हुँदैन । सरकारी निकायले पनि हिउँदमा लाग्ने ब्यापारिक मेला महोत्सवको कार्यक्रम भन्दा यस्ता कार्यक्रलाई सहयोग र प्रबद्र्धन गर्नुपर्दछ । हरेक २७ सेप्टेम्बरमा पर्ने विश्व पर्यटन दिवसमा फुड फेस्टिबल र म्युजकल नाइट हुनुपर्छ । तयारी ब्यापक हुनुपर्छ ।

पर्यटन सम्बद्ध अन्य संघसंस्थासँग साझेदार गरेर, समन्वय गरेर कार्यक्रम गरेमा अझै प्रभावकारी हुन्छ । मासिक रुपमा क्यालेन्डर बनाएर म्युजकल नाइट र वर्षमा एक दिन फुड फेस्टिबल अनि दसैं मेला गरेमा भैरहवाको पर्यटन प्रबद्र्धनमा थप टेवा मिल्ने देखिन्छ । यो लेखमा मूलतः घटना प्रधान र बर्णनात्मक विषय प्रस्तुत गरिएको हो । खासमा भैरहवा फुड फेस्टिबल तथा म्यूजकल नाइट कार्यक्रम एक भए तापनि यसले अनेक सन्देश प्रवाह गरेको सबैले मनन गरेका छन् । विश्व पर्यटनको केन्द्र लुम्बिनीमा आउने पर्यटकको बसाईं लम्बाउन स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया–भैरहवामा पर्यटकीय गतिविधिहरुलाई प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले थप मद्दत पनि पुग्नेछ ।

होटल एशोसिएसन अफ नेपाल (हान) को क्षेत्रीय संस्था सिद्धार्थ होटल एशोसिएसनले रात्रिकालीन बजारको संस्थागत विकासका लागि सबै निकायसँग समन्वय, सहकार्य गरेमा फलदायी हुने देखिन्छ । गृह प्रशासनको समन्वयमा रात्रिकालीन बजारलाई जतिसक्दो छिटो संचालन गर्ने गरी भैरहवालाई नेपालकै नमूना रात्रिकालीन बजार बनाउने अभियानमा सबै जुट्नु समग्र भैरहवाको समृद्धिमा टेवा पुग्नेछ । भैरहवाको हाटबजार चोकदेखि देवकोटाचोकसम्म रात्रिकालीन बजारको क्षेत्र निर्धारण गरेर पहिलो चरणमा काम गर्नतर्फ सबै पर्यटन व्यवसायी, सरकारी तथा गैरसरकारी निकाय लाग्नु जरुरी देखिन्छ । बिद्रोहीचोकदेखि पवन मिष्ठानसम्म सिक्कीमको एमजी रोड जस्तै बनाउन सकिन्छ । लुम्बिनी रोडदेखि बसडिलवा शिव मन्दिरसम्म चितवनको अम्ब्रेला स्ट्रीट जस्तै बनाउन सकिन्छ ।

स्थानीय नगरपालिकाले आफ्नो नारा पनि पर्यटकीय नगरी सिद्धार्थनगर भनेको हुनाले शान, नाट्टा, उद्योग बाणिज्य संघको सहकार्यमा पर्यटन गतिविधिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुपर्दछ । कार्यक्रम संयोजक विनोद खरेल, आयोजक संस्था सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्ष भोजबहादुर खत्रीसहित सम्पूर्ण कार्यसमिति, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षा निकाय, स्थानीय संघस्था, पत्रकार, स्थानीय सञ्चार माध्ययम, पर्यटन क्षेत्रका सम्पूर्ण निकाय र सिद्धार्थ होटल संघ नेपालका सबै सदस्यसहित आम सर्वसाधरण सबैसजना धन्यबादका पात्र बनेका छन्् । युनिक साउन्ड सिस्टम जसले साउन्ड र लाइटिङमा पश्चिम नेपालमा साम्रज्य नै खडा गरेको छ । भैरहवा फुड फेस्टिबल तथा म्युजिकल नाइटमा युनिक साउण्डको प्रशंसा जत्ति गरे नी कमै हुन्छ । यसैगरी फोटो ग्राफीमा ब्लास्ट भिजनको टिमको सक्रियता पनि उल्लेखनीय छ ।
(पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका लेखक के.सी. समता टेलिभिजनका सम्पादक हुन् ।)