October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

नर्सिङ क्षेत्रका विद्यमान दृष्य र चुनौती

अंग्रेजीमा नर्सिङ पेशा बारेमा एउटा रोचक भनाइ छ।

‘केयर फर वान, द्याट्स लभ। केयर फर हन्ड्रेड्स् द्याट्स् नर्सिङ।’

यसको अर्थ हो, एक जनाको हेरबिचार गर्नु प्रेम हो। सयौँको गर्नु नर्सिङ हो। 

नर्स माथि कामको चाप मात्र हुँदैन। विभिन्न व्यक्तिहरुले गर्ने प्रश्नको चाङ पनि उस्तै हुन्छन्। मेरै साथीहरु बीचमा दिनको सुरुवात कुनै न कुनै कोणमा नर्सिङ बहसबाटै हुन्छ। भर्चुअल दुनियाँ छ। संसारका जुनै भूगोलमा भएका साथिहरुसँग छिनभरमै कुरा गर्ने सुविधा हामीलाई इन्टरनेटले दिएको छ। त्यही माथि कुराकानीमा नर्सिङ कनेक्सन पनि छँदैछ।

‘नर्सिङ पढेको मान्छे। तँ आइज के विदेश’ यस किसिमको सल्लाह बेला बेलामा आइरहन्छ। फेरि विदेशबाटै साथीहरुको प्रश्न आउँछन्, ‘किन नआएको?’

नर्सिङ स्वास्थ्य सेवाको क्षेत्रमा स्वास्थ्य सेवाग्राहीका स्तरीय, सुनिश्चित र सुरक्षित सेवा दिलाउने क्षेत्र हो। यो पेशाको कुनै राष्ट्रियता हुँदैन। विश्वका महामारी र विपत्तिहरुमा छिनभरमै एक देशका नर्सहरु अर्को देश र भूगोलमा गएर सेवा दिन्छन्। नर्सिङ भन्ने बित्तिकै अधिकांशले चिन्ने ‘फ्लोरेन्स नाइन्टेङ्गेल’ पनि यस्तै असहज अवस्थामा सेवा दिएरै चर्चामा आएकी थिइन्। आजसम्म उनकै सेवाको स्तर र प्रतिवद्धता नै नर्सिङ पेशाको मानक बनेको छ। यो विश्वभरको मानक हो भन्दा पक्कै पनि गल्ती नहोला। 

विपत्तिको समयमा बाहेक अस्थायी वा स्थायी जागिर गर्नलाई नर्सिङ पेशाकर्मीहरु विदेश जाने क्रम राम्रै छ। नेपालमा त नर्सिङकै जागिर गर्न विदेश जान पाएमा खुशी नमान्ने सायद अत्यन्तै थोरै मात्रै होलान्। म त्यहि थोरैमा परेँ। हो विदेशमा यो पेशाको छुट्टै मान सम्मान छ। सेवा–सुविधा छ। राम्रो वेतन छ। 

किन किन मलाई भने यी कुराहरुले तानेनन। यद्यपि अहिले आएर भने यो सबै किन भयो भन्ने एक गम्भीर प्रश्नले मनमा डेरा जमाएको छ। 

नेपालमा नर्सिङ पेशाको प्रवेश २०१३ सालबाट भएको मानिन्छ। नर्सिङ स्वास्थ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान र स्थान बनाउन सफल क्षेत्र भएको छ। नर्सिङ सेवामूलक पेशा हो। आफ्नै अगाडी दीर्घ रोगीहरु ठिक भएको देख्दा नर्सिङ पेशाकर्मीहरु प्रफुल्ल हुन्छन्। स्वास्थ्य सेवा पाएर उज्यालो भएका अनुहारहरुले नर्सहरुलाई पनि खुशी बनाउँछ।। 

यो पेशामा प्रवीणता प्रमाणपत्रदेखि विद्यावारिधिसम्मका कक्षाहरु छन्। हाम्रै देशका यस्ता जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय र जनशक्ति छन्। सरकारी तथा निजी अस्पताल, कलेज, विद्यालयदेखि समुदायमा सबैमा सेवा दिने पेशा हो यो। 

मलाई आफ्नै घरमा गाँस खाएर परिवारसँगै बसेर आफ्नै तर्फबाट नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई सेवा दिनु गर्व लाग्छ। विदेश जानैपर्ने भन्ने जसो अहिलेसम्म लागेको छैन। देश–विदेशमा पढेर र गरेर आर्जेको सिप र सेवा नेपालमै प्रयोग गर्न पाएकोमा मलाई धेरै खुशी मिल्छ। 

खुशी मिल्छ भन्नुको अर्थ यो पेशामा सबै कुरा राम्रो मात्रै भएको भन्ने अर्थ पनि हैन। नेपालको नर्सिङ क्षेत्रमा धेरै समस्याहरु छन। सधै मुस्कुराइरहने अनुहार भित्रका दुःखका आफ्नै कथाहरु छन्। पीडाका आफ्नै अनुभूतिहरु छन। व्यावसायिकताको पाटो कमजोर छ। 

नेपालमा हरेक वर्ष साढे सात हजार नर्सहरु उत्पादन हुन्छन्। तर खपत हुने क्षेत्र भने साँघुरो छ। हो, हरेक वर्ष जनसंख्या बढ्छ। बिरामी बढ्छन्। त्यो अनुपातभन्दा नर्सहरुको उत्पादन धेरै भएको छ। 

उदाहरणका लागि एउटा नयाँ अस्पताल निर्माण भएमा सबै नयाँ नर्सहरु आवश्यक पर्छन्। नयाँले जागिर गर्न पाउँछन्। सञ्चालन भइरहेका अस्पतालहरुमा भने वार्षिक केही सय मात्रै नर्सिङ जागिर खुल्छन्। सरकारी सेवामा पनि सय हाराहारीभन्दा धेरैको संख्यामा हरेक वर्ष जागिर खुल्दैन। यसरी उत्पादन हजारौँमा छ।  खपत भने सयौँमा मात्रै। यहि छ नेपाली नर्सिङ क्षेत्रको ठुलो समस्या। नर्सिङ उत्पादन र लोक सेवाको खपतको खाडल व्यापक ठुलो छ। यो झनै ठुलो बन्ने क्रममा छ। किनभने नर्सिङ कलेजहरुको सम्बन्धन र सञ्चालन झन बढ्दो क्रममा छ। 

यहाँ अहिले नर्सिङ क्षेत्रमा स्ताताकोत्तरदेखि विद्यावारिधि गरेकाहरुलाई समेत समस्या छ। प्रवीणता प्रमाणपत्रदेखि स्तातक गरेकाहरुको झन कस्तो अवस्था होला? 

विशेषज्ञताको सर्टिफिकेट अहिले औपचारिकतामा सीमित जस्तो भएको छ। नेपालमा अब विभिन्न देशहरुमा प्रचलनमा आएको जस्तै नर्स प्राक्टिसनरको सञ्चालनको टड्कारो आवश्कयता देखिन्छ। नर्स प्राक्टिसनर भनेको जुन क्षेत्रमा आफ्नो विशिष्ट दक्षता छ त्यहि क्षेत्रका बिरामीहरुको सेवा गर्नु हो। 

आजकाल नर्सहरु प्रतिको साझा प्रश्न छ, ‘नर्सको व्यवहार किन एति साह्रो छुच्चो?’ 

यो जटिल प्रश्नको उत्तर जटिल व्यवस्थापनसँग गाँसिएको छ। जब नर्सले हेर्न सक्ने बिरामीको अनुपातभन्दा धेरै बिरामीहरु हेर्ने बाध्यात्मक परिस्थिति आउँछ, तब यस्ता मानवीय समस्या र कमी कमजोरीहरु आउँछन्। एक हिसाबमा भन्ने हो भने चाहिनेभन्दा धेरै कार्य दबाब भएकाहरुबाट आउने स्वाभाविक मानवीय पक्ष हो।  

नेपालमा नर्सहरुको अवस्था बुझ्न केहि तथ्यांक हेरौँ। विश्व स्वास्थ्य संगठनले भन्छ टिचिङ अस्पतालमा एक नर्सले तीन जना बिरामी हेर्नुपर्छ। सामान्य अस्पतालमा एक नर्सको भागमा पाँच बिरामीसम्म हुनुपर्छ। यो न्यूनतम संख्या हैन। अधिकतम हो। अझ गहन हेरचार गर्नुपर्ने बिरामीमा त एक नर्स एक बिरामी भन्ने छ। के यो अवस्था नेपालमा छ?

अरु त अरु सरकारी अस्पतालमै यो अवस्था छैन। सरकारले नै कमजोरी गरेपछि निजी क्षेत्रले झन गर्ने भइहाल्यो। यस्तो अवस्था छ अहिले। 

नर्सिङ पेशाकर्मीको वेतनमा पनि उत्तिकै समस्या छ। १० देखि १२ लाख खर्चेर वर्षौं लगाएर पढेकाहरुको मासिक वेतन हुन्छ, दश–बाह्र हजार मात्रै। यसले कसरी धान्न सकिन्छ? एतातिर अत्यधिक बिरामीको चाप। अर्कोतिर वेतनको अत्यन्तै थोरै व्यवस्था। यो नेपाली नर्सिङ क्षेत्रको एक गम्भीर समस्या हो। 

अर्को बिडम्बना के छ भने स्नतोकोत्तर गरेका नर्सहरुले प्रवीणता मात्रै गरेकासँग एकै तहमा काम गर्नुपरेको छ। यो नेपाली नर्सिङ क्षेत्रको विडम्बना हो । 

यो हुनुको मुख्य कारण कार्य विवरणको पारदर्शिता नहुनु हो। स्तानक गरेकाहरुको कार्य दरबन्दी अत्यन्तै थोरै नीतिगत तहले व्यवस्था गर्नु हो। स्नातकोत्तरदेखि विद्यावारिधि गरेका नर्सहरुको आफ्नै कथाहरु छन्। 

चिकित्सा शिक्षा आयोग नर्सिङ क्षेत्रको गुणस्तर निर्धारण र निरीक्षणको लागि नै जन्मिएको हो। यसमा दुइ मत छैन। आयोगले निर्धारण गरेका १ हजार २४० बिएससी नर्सिङको कोटामा औसतमा ४१ प्रतिशत हाराहारीले मात्रै उत्तीर्ण गरेका छन्। 

बिएनएसमा विद्यार्थी संख्या पनि निक्कै कम नै छन्। जसको प्रत्यक्ष प्रभाव निजी संस्थाहरुमा परेको छ।  निजी संस्थामा काम गर्ने नसिङ कर्मचारी, शिक्षकहरुको जागिरनै धराशायी छ भन्दा पनि हुन्छ। यदि निजी संस्थाहरु बन्द गर्ने रणनीति हो भने खुल्ला रुपमा घोषणा गर्नुपर्छ।  त्यस अघि त्यहाँका जनशक्तिको उचित व्यवस्थापनको पाटो पनि ध्यानमा राख्नुपर्छ।  

कुनै पनि निर्णय लिनु अगाडि त्यसको सुुक्ष्म अवलोकन गरेर मात्रै लिनुपर्छ। स्तरीयता नभएका सरकारीलाई सुधार गर्न र निजीलाई मादपण्ड अनुरुप अनिवार्य राख्नु आजको आवश्यकता हो। निजी क्षेत्रले पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान गरेकै छ। त्यही कारण बन्दभन्दा पनि सच्चा नियमनको बाटोमा जान आवश्यक छ । 

नर्सिङ क्षेत्रलाई किताबमा मात्रै सीमित गर्नु हुँदैन। यसलाई देश समाज र समुदायको हितमा प्रत्यक्ष फाइदा हुने गरी तयारी गर्नुपर्छ। त्यसको लागि विदेशमा जस्तै नर्सहरुलाई अनुसन्धानकर्ता, नर्स प्राक्टिसनर, टेलि नर्सिङ, नर्स विश्लेषक, क्लिनिकल नर्स विशेषज्ञ जस्ता विभिन्न विधामा शिक्षाको गुणस्तर बढाउन आवश्यक छ। 

अभ्यासको मात्रा बढाउँदै सरकारबाट प्रोत्साहन र हौसलाको आवश्यकता छ। यति गर्न सके मात्रै नेपाली नर्सिङ क्षेत्रले विश्व स्तरीय सेवा र उपस्थिति जनाउन सक्छ। आफ्नो भविष्यलाई एक्काइसौँ शताब्दी अनुरुपको बनाउन सक्छ। swasthyakhabar