नक्कली छोरी बनेर घरजग्गा हडप्ने प्रयास : कतैबाट न्याय नमिलेपछि निराश मल्लाह दाजुभाई


भैरहवा– सरकारी अड्डा अदालतबाट न्याय नपाएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६, का सन्त र लालजीत मल्लाह निराश छन् । प्रमाण जुटाउँदा जुटाउँदै समय घर्केपछि राज्यप्रति उनीहरुको विश्वास टुटेको छ । खुट्टामा चप्पल, काँधमा झोला बोकेर सरकारी अड्डा पुग्ने उनीहरुलाई कर्मचारीले टेर्दैनन् । नागरिकका रुपमा कार्यालय पुग्दा सुनुवाई नहुने भएपछि दाजुभाई टाउकोमा हात लगाएर बस्न बाध्य छन् । राज्यका निकायप्रति भरोसा टुटेको सुनाउँछन् ।
दाजु–भाईलाई पुख्र्यौली सम्पत्ति प्राप्त गर्न कानुनी अड्चन छैन । सम्पति नाउँमा आउनेमा दुबैं ढुक्क थिए । अचानक काका सुखु मल्लाहको छोरी भएको दावी गर्दै दुई भारतीय महिला देखापरे । परिवारको दावी अनुसार सुखु निःशन्तान थिए । सुखुको शेषपछि अदालतको पैसलाबाट सुखुको सम्पत्ति उनका दाई फौदारका छोराहरु लालजीत र सन्तको नाममा गइसकेको छ । यसैबीच सरकारी कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा भारतीय नागरिक बदल मल्लाहका छोरीहरु मालती र रिखिदेवी मल्लाहले सम्पत्ती हत्याउन खोजेको दावी लालजीत दाजुभाईको छ । मालती र रिखदेवी आफ्नो दिदि–बहिनी नभएको प्रमाण सन्त र लालजतीले जिल्ला प्रशासन र अदालतमा बुझाइसकेका छन् । मालती र रिखिदेवी आफ्नो वंशको भए–नभएको प्रमाणित गर्नका लागि डीएनए परीक्षणको माग गरिरहेका छन् । तर, सुनुवाई भएको छैन ।
दैनिक अड्डा अदालत धाउन थालेको ५ वर्ष भयो । झुठो विवरण पेश गरेर सम्पत्ति कब्जा हुन लाग्यो भनेर दाजुभाईले गुहार मागिरहेका छन् । ‘२०७७ सालमा बुवाको मृत्यु भयो,’ सन्तले भने, ‘त्यही बेलादेखि हामी सम्पत्ति जोगाउन माग गर्दै धाइरहेका छौं ।’ अहिले दाजुभाई अटो रिक्सा चलाएर घर खर्च धानिरहेका छन् । एक समय बडी विल्डर रहेका सन्तको स्वास्थ्य अवस्था नाजुक छ । २०६८ सालमा निमोनिया भएका बेला चिकित्सकले क्षयरोगको औषधि सेवन गराएपछि फोक्सोमा असर गर्यो । काठमाडौंमा एक वर्ष बसेर उपचार गराए । ‘फोक्सोको तीनपटक अप्रेशन गरेपछि निको भयो,’ सन्तले भने, ‘अहिले पनि गह्रौं काम गर्दा घाउबाट रगत बग्छ ।’ न्यायका लागि जिल्ला प्रशासन र अदालत धाउँदा उनीहरुका अटो रिक्सा रित्तै हुन्छन् । अटोमा सर्वसाधरण ओसार्दा पनि उनीहरुको पिठ्यूँमा झोला छुट्दैन ।
लालजीत र सन्तका बुवा फौदार हुन भने सुखु उनीहरुका काका हुन् । फौदारका दुई छोरा र ५ छोरी छन् । तर, काका सुखु र काकी कवुतरीबाट सन्तान भएनन् । बुवा फौदारको २०७७ जेठ ८ र आमा झिनाको भने ११ वर्षअघि मृत्यु भइसकेको छ । सुखुको २०७८ असार १७ र काकी कवुतरीको २०७७ माघ १० मृत्यु भइसकेको छ । सन्तान नजन्मिएपछि लालजीत र सन्तले नै काका–काकीको रेखदेख गरेका थिए ।
‘काका–काकी दुःख बिरामी हुँदा, औषधि उपचारदेखि मृत्युपछिका सम्पूर्ण संस्कार दुईभाईले गरेका हौं’, सन्तले भने, ‘बुवाआमा र काकाकाकी बाचुन्जेल कसैको दावी थिएन । उहाँहरु मरेपछि एकाएक मालती र रिखीदेवी छोरी बनेर आइपुगे ।’ त्यसपछि बुवाआमा र काका–काकीको मृत्युपछि लालजीत र सन्तले काकाको नाममा रहेको जायजेथा आफूहरुका नाममा गर्नका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरे ।
तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले २०७८ कार्तिक १५ गते फौदार र सुखुको नाममा रहेको जमिन लालजीत र सन्तको नाममा जाने फैसला सुनाएको थियो । उक्त फैसलापछि दाजुभाईले अंशबण्डा गरेर सम्पत्ति आफ्नो नाममा गराएका थिए । सम्पत्ति नाममा आएपछि दुःख सुरु भयो । लालजीतका अनुसार २०७८ फागुन १० गते अंश मुद्दा परेको उल्लेख गरेर जिल्ला अदालतले म्याद पठायो । ‘म्याद बुझेर हामी अदालत गयौं,’ लालजीतले भने, ‘त्यसपछि बल्ल काकाको नक्कली छोरी बनेर अंशका लागि सिद्धार्थनगर–८ की रिखीदेवी मल्लाह अग्रवाल र मायादेवी गाउँपालिका–३ की मालती मल्लाहले मुद्दा हालेको थाहा भयो ।’ अंश मुद्दा हाल्ने रिखिदेवी र मालतीले सुखुका दुई श्रीमती रहेको दावी गरिरहेका छन् ।
अदालतमा रिखिदेवीले सुखुको पहिलो श्रीमती कवुतरी र मालतीले दोस्रो श्रीमती फूलझरीको छोरी भएको दावी गरेको दाजुभाईले बताए । मालती र रिखिदेवीले आफूहरु सुखुको छोरी भएको दावी गरेर सिद्धार्थनगर नगरपालिका–६, मा सुखुको मृत्युदर्ता माग गरेका थिए । पहिलोपटक माग गर्दा वडा कार्यालयले दर्ता गर्न मानेन् । त्यसपछि उनीहरुले उच्च अदालत बुटवलमा सिद्धार्थनगर नगरपालिका र वडा नं. ६ को कार्यालयविरुद्ध मुद्दा दायर गरेको सन्तले बताए । पहिलोपटक अदालतमा उनीहरुले सुखु मल्लाहको छोरी भएको प्रमाण पेस गर्न सकेनन् ।
त्यसबेला अदालतमा मालती र रिखिदेवीले एकअर्कालाई आफू मात्रै सुखुको छोरी भएको दावी गर्दै मुद्दा लडेका थिए । तर, अदालतले मालतीको जन्म र बाबु दावी गरिएका सुखुको जन्ममिति जम्मा ६ वर्ष फरक देखिएको तथा रिखिदेवीको दावी र प्रमाण झुठा भएको भन्दै न्यायाधीश अच्युतप्रसाद भण्डारीको इजलासले २०७८ माघ ५ गते रिट निवेदन नै खारेज गरिदिएको थियो । त्यसपछि रिखिदेवीले मैले दुबै आमाको पालनपोषण, शेषपछि काजक्रिया गरेको र उनीहरुको अंश हक खाने आफू एक्लै हकवाल भएको भन्दै २०७८ पुसमा लालजीत र सन्तको नाममा गएको जमिन आफ्नो नाममा ल्याउन माग दावी गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा हालिन् ।
त्यतिबेला जिल्ला अदालतले पहिलो सुखुको छोरी भएको प्रमाणित भइसकेपछि मात्र अंश पाउने फैसला सुनायो । त्यसपछि लालजीत र सन्त झुठो विवरण खारेजीको माग गर्दै उच्च अदालत बुटवल पुगे । उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गर्यो । दाजुभाई अहिले पनि मालती र रिखिदेवीको बाबु सुखु नभएको विवरण कायम गरिदिन माग गर्दै धाइरहेका छन् । पछिल्लो पटक जिल्ला प्रशासनले प्रहरी तैनाथ गरेर २०८० कार्तिक ७ गते सिद्धार्थनगर–६, बाट स्थलगत सर्जमिन मुचुल्का उठाइएको थियो । वडाध्यक्षको रोहबरमा गरिएको मुुचुल्कामा पनि सुखु मल्लाहको सन्तान नभएको प्रमाणित गरिएको छ । नयाँ सर्जमिन मुचुल्का तयार गरे पनि जिल्ला प्रशासनले अहिलेसम्म रिखिदेवी र मालतीको बुवा सुखु नभएको प्रमाणित गर्न मानेको छैन ।
‘जिल्ला प्रशासनले सुखुको सन्तान नभएको प्रमाणित गर्न पनि मानेको छैन,’ लालजीतले भने, ‘डीएनए परीक्षण गरिदिनुस् भन्दा समेत न अदालत सुन्छ, न त प्रशासनले सुनुवाई गर्छ ।’ जिल्ला अदालत रुपन्देहीमा पनि दाजुभाईले रिखिदेवी र मालतीको नामको अंश नामसारी खारेज र जालसाजी मुद्दा हालेका छन् । उक्त मुद्दा अहिले विचाराधीन छ । साथै अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल कार्यालयमा पनि झुठो विवरण पेश गरेर लिएको नागरिकता खारेज गर्न माग गर्दै उजूरी गरेको सन्तले बताए । जिल्ला प्रशासन पुगेका दाजुभाईलाई प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले मुद्दाको फाइल अध्ययन गरेर यथार्थ जानकारी दिने बताए । ‘मुद्दा शाखाबाट फाइल झिकाएर अध्ययन गर्छु,’ उनले भने, ‘त्यसपछि के गर्न सकिन्छ सहयोग गर्छु ।’
‘विश्वासको आधारमा रोहबरमा बसेँ, बल्ल थाहा भयो नक्कली छोरी भन्ने’
‘नागरिकता छानबिन नै नगर्ने गरी कुनै पनि भनसुन र सिफारिश गरेको छैन’
भारतीय नागरिकका छोरीलाई सम्पत्ती दिलाउन यसरी गरियो फरक सर्जमिन, को–को संलग्न ?
पत्रकार सम्मेलनमा नक्कली छोरीहरुले आफूहरुको घरजग्गा हत्याउने प्रयास गरेपछि के भने मल्लाह दाजुभाईले ?








प्रतिकृया दिनुहोस्