हातखुट्टामा गिर्खा सार्कोमा त होइन ?


हाडजोर्नी, कुरकुरे हड्डी, नसा, धमनी, मांसपेसीलगायतमा हुने क्यान्सरलाई सार्कोमा भनिन्छ। यो निकै असाधारण प्रकारको क्यान्सर हो। तंथ्याकअनुसार शरीरमा हुनसक्ने सबै क्यान्सरमध्ये एक प्रतिशत क्यान्सर मात्र सार्कोमा हुन्छ। यो अरु क्यान्सरजस्तै बुढ्यौलीमा मात्र नभएर जुनसुकै उमेरमा पनि लाग्न सक्छ। बाल्यावस्था तथा युवावस्थामा हुने क्यान्सरमध्ये पन्ध्र प्रतिशत सार्कोमा हुन्छ।
हड्डीमा भेटिने क्यान्सर प्रायजसो युवा अवस्था वा बाल्य अवस्थामा छिटो बढ्ने गिर्खाको रुपमा देखिन्छ। यसले हड्डी खोक्रो गराई भाँचिन सक्ने सम्भावना हुन्छ र शरीरका अरु भागमा पनि छिटो फैलिने भएकाले शंका लाग्नासाथ विना कुनै विलम्ब बिरामीलाई सम्बन्धित चिकित्सककहाँ पुर्याउनु आवश्यक छ।
कारण र रोकथाम
कुनै रोगको उपचारमा गरिएको रेडियसनको हानीले कालान्तरमा सार्कोमा गराउन सक्छ। यसबाहेक प्राय सार्कोमा विना कुनै कारण देखापर्छ। कुनै–कुनै असाधारण सिन्ड्रम रोगमा वाहेक यो वंशाणुगत हुँदैन। यो सरुवा रोग पनि होइन। खानपिन वा जीवनशैलीका कारण पनि यो रोग लाग्दैन। सूर्तिजन्य पदार्थ सेवन, धुमपान र मध्यपानसँग पनि यो क्यान्सरको खासै सम्बन्ध भएको पाइदैन। त्यसैले अन्य क्यान्सर झैं सार्कोमा रोकथाम गर्न भने सकिदैन। तर सचेतना अपनाउने र समयमै सही उपचार सुरु गर्न सक्यौंँ भने यसलाई निर्मुल पार्ने सम्भावना भने प्रशस्तै हुन्छ।
कुनै पनि शंकास्पद ठुला साना गिर्खालाई पहिले बिस्तृत रुपमा जाचिंछ। यसबाट सो गिर्खा कुन लीयरबाट उत्पन्न भएको हो र सो गिर्खाको आकारका बारेमा अनुमान गर्न सकिन्छ। जब सार्कोमा हुन सक्ने सम्भावना अत्याधिक हुन्छ हामी प्रायः एमआरआई गराउँछौं। एमआरआईबाट कतिपय गिर्खा क्यान्सर हो होइन भनी शल्यक्रिया वा बायोप्सीविना नै पत्ता लगाउन सकिन्छ। यदि क्यान्सर हो रहेछ भनेपनि कस्तो खालको र कति फैलिएको छ भन्ने कुरा पनि एमआरआईबाट थाहा हुन्छ। एमआरआईबाट शल्यक्रियामा कुन मांसपेसी, नसा, धमनी बचाउन सकिन्छ वा काट्नु पर्ने हुन्छ सो बारेमा पनि आँकलन गर्न सकिन्छ। यसपछि गिर्खाको सानो शल्यक्रिया गरी बायोप्सी गरिन्छ, जसबाट सो गिर्खामा क्यान्सर छ÷छैन भनी निक्र्यौल गर्न सकिन्छ।
सार्कोमा भए के गर्ने ?
कुनै गिर्खा सार्कोमा भएको पुष्टि भएपछि पहिला सो क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ कि छैन भनी अनुसन्धान गरिन्छ। यस अर्थमा सार्कोमा अरु क्यान्सरभन्दा अलि फरक हुन्छ। अरु क्यान्सर झैं यो कलेजोमा नभई सिधै फोक्सोमा फैलिन्छ। मोटामोटी रुपमा भन्नुपर्दा हड्डीमा हुने र मासुमा हुने सार्कोमाको उपचार भिन्न हुन्छ। तर दुवै अवस्थामा रोग पूर्ण निर्मूलीकरण गर्न शल्यक्रिया अनिवार्य हुन्छ।
हड्डीको सार्कोमा पुष्टि भएपछि बिरामीलाई केही हप्ता केमोथेरापीमा राखिन्छ, शल्यक्रिया गरिन्छ र केही हप्तापछि पुनः केमोथेरापी सुरु गरिन्छ। मासुको सार्कोमाका बिरामीलाई भने कि त शल्यक्रिया मात्र गरिन्छ कि त शल्यक्रियासँग रेडियोथेरापी पनि दिइन्छ। सार्कोमाको शल्यक्रिया गर्दा क्यान्सर फेरि दोहोरिएर नआओस् भनी विशेष सतर्कता अपनाइन्छ। जसमा क्यान्सरसँगै छेउको नर्मल टिस्युलाई मार्जिनका रुपमा लिनु आवश्यक हुन्छ। क्यान्सरले ग्रसित हड्डीलाई निकालेर कृत्रिम जोर्नी राख्ने कामदेखि लिएर क्यान्सरले ग्रसित रगतका धमनी वा नशासमेत कृत्रिम रुपमा बनाउनुपर्ने हुन्छ।
के सार्कोमा निर्मूल गर्न सकिन्छ ?
पश्चिमेली देशको तथ्यांक हेर्ने हो भने हातखुट्टाको सार्कोमाबाट ग्रसित हरेक १० बिरामीमध्ये ९ जनाको उपचारपछि रोग निर्मुल हुने गरेको पाइन्छ। हरेक ५ बिरामीमध्ये मात्र एक जनाको हात या खुट्टा बचाउन नसकिने अवस्था आउँछ। यदि क्यान्सर अरु अंगमा फैलिएको रहेछ भने ज्यानलाई खतरा हुने र उपचार गर्न पनि जटिल हुन जान्छ। तर सुरु अवस्थामा यदि उपचार सुरु गर्ने हो भने यसको पूर्ण निर्मूलीकरण सम्भव छ। हाम्रो देशमा सार्कोमाका बारे कुनै आधिकारिक तथ्यांक नभएकाले यी अंकसँग दाँज्न सकिन्न। तर आजको दिनमा सार्कोमाको उपचार नेपालमै संभव छ। आगामी दिनमा व्यवस्थित रुपमा यसको उपचार गर्न सक्यौं भने हामीले पनि पश्चिमा मुलुकमा जस्तै राम्रो नतिजा दिन सक्छौं।
पहिलो कुरा, सार्कोमा जटिल क्यान्सर भएकाले यसको उपचार सार्कोमासँग सम्बन्धित विशेषज्ञ उपलब्ध हुने अस्पतालमा हुनुपर्छ।
दोस्रो कुरा, सार्कोमाको उपचारका लागि दातृ निकायसँग सहकार्य गरी राष्ट्रिय कोष खडा गर्नु आवश्यक छ। विकसित मुलुकमा विभिन्न गैरसरकारी कोषहरुले सफलतापुर्वक सार्कोमा उपचार र अध्ययनमा सशक्त भूमिका निर्वाह गरेका प्रशस्तै उदाहरण छन्।
तेस्रो कुरो, नेपालमा पनि सरकारीस्तरबाट अरु अंग झै हाडजोर्नी दान तथा हड्डीको बैंक अर्थात् बोन बैंक विकसित गर्नु आवश्यक छ। चौथो र सबभन्दा महत्वपूर्ण कुरा चाहिँ सचेतना हो। यो चिकित्सक तथा बिरामी दुवैमा हुनु जरुरी छ। बिरामीले शंकास्पद गिर्खाको समयमै जाँच गराउने र चिकित्सकले पनि गिर्खा सार्कोमा हुन सक्ने शंकालागेमा विशेषज्ञलाई रिफर गर्नुपर्छ। -swasthyakhabar








प्रतिकृया दिनुहोस्