May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

२४ घण्टामा मृत्यु गराउन सक्ने ‘चन्दिपुरा भाइरस’ के हो ?

-डा.शेरबहादुर पुन

‘चन्दिपुरा भाइरस’ नेपालमा पुष्टि भइसकेको त छैन। तर नेपालसँगको लामो र खुला सिमाना जोडिएको देश भारतमा भने बेला बेलामा बालबालिकामा यो भाइरसले प्रकोपको रुप लिएको देखिन्छ। उच्च मृत्युदर र लक्षण देखिएको केहि घण्टामा नै मृत्युको मुखमा पुर्‍याउन सक्ने क्षमता भएको यो भाइरस भारतको लागि मात्र नभएर नेपालको लागि पनि चिन्ताको विषय हो।

Advertisement

यो भाइरस फैलाउने भेक्टर काला ज्वरो फैलाउने पोथी ‘फ्लेबोटोमिन स्याण्डीफ्लाई’ नामक भुसुना भएको र यसको उपस्थिति नेपालमा पनि व्यापक/बाक्लो रहेकोले यसको जोखिम नेपालमा पनि उच्च देखिन्छ।

Advertisement

सन् १९६५ मा भारतको महाराष्ट्र राज्यको नागपुर जिल्लामा पहिलो पटक बिरामीको प्रयोगशाला परिक्षण गर्दा पत्ता लागेको थियो। तत्पश्चात विभिन्न समयमा ‘चन्दिपुरा भाइरस’ को प्रकोप बालबालिकामा देखिँदै आइरहेको पाइन्छ। यसलाई ‘किलर ब्रेन’ अर्थात् ‘मष्तिस्क हत्यारा’ भाइरसको नामले पनि चिनिने गरिन्छ।

‘चन्दिपुरा भाइरस’ संक्रमितहरुमा उच्च ज्वरो, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने र अचानक मांशपेशी बाउडिने/शरीर काप्ने (क्नभलसन) जस्ता समस्याहरु देखिएका थिए। त्यस्तै स्नायु प्रणालीमा समस्या देखिएर अचेत हुने गरेको देखिन्छ। यसको मृत्युदर ७५ प्रतिशतसम्म देखिएको छ भने अधिकांश संक्रमितमा लक्षण देखिएको २४ घण्टा भित्र नै मृत्यु हुने गरेको छ। कतिपय अवस्थामा ‘चन्दिपुरा भाइरस’ जापानिज एन्केफलाइटिससँग पनि झुक्किने गरेको पाइन्छ।

‘चन्दिपुरा भाइरस’ पिसिआर प्रविधिबाट पत्ता लगाउन सकिन्छ। यो उच्च घातक संक्रमण भएकोले ‘चन्दिपुरा भाइरस’ इन्डेमिक क्षेत्रमा खोपको बढी आवश्यकता देखिन्छ। खोपहरु बन्ने क्रमको विभिन्न चरणहरुमा छन्। तर क्लिनिकल ट्र्याल (मानिसमा) भने भइसकेको छैन। अर्थात् यसको खोप उपलब्ध हुन अझै केहि समय पर्खनु पर्ने देखिन्छ। तसर्थ अहिले संक्रमणबाट बच्नु नै बुद्धिमानी हुनेछ। यसको लागि भाइरस फैलाउन भेक्टर ‘स्याण्डीफ्लाई’ को नियन्त्रण अति नै जरुरी देखिन्छ। गाई‌ंभैसी राख्ने गोठका स-साना प्वाल ‘स्याण्डीफ्लाई’ बस्ने ठाउँ भएकाले त्यस्तो प्वालहरु टाल्नु पर्दछ। त्यस्तै प्रभावकारी किटनाशक औषधिको प्रयोग गरेर पनि नियन्त्रण गर्न सकिने छ। 

अन्तमा, सन २००३ मा मनसुनको शुरुवातीसंगै ‘चन्दिपुरा भाइरस’ ले आन्द्र प्रदेशमा झन्डै ४ महिनासम्म प्रकोपको रुप लिएको थियो। सो अवधिमा ९ महिनादेखी १४ बर्षसम्मका ३२९ जना बालबालिका यो भाइरसबाट प्रभावित भएका थिए। त्यस मध्ये १८३ जनाको मृत्यु भएको थियो। यसले विश्वको ध्यान ‘चन्दिपुरा भाइरस’ प्रति नै आकृष्ट गरेको थियो। भाइरस फैलाउने भेक्टर ‘स्याण्डीफ्लाई’ नेपालमा पनि व्यापक रहनु र नेपाल-भारत पनि सहजै आरपार गर्नसक्ने भएकोले ‘चन्दिपुरा भाइरस’ प्रति सम्बन्धित निकायले विशेषत चासो र निगरानी बढाउनु पर्ने हुन्छ। swasthayakhabar