December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

स्तन क्यान्सरसँग सम्बन्धित ३३ जिज्ञासा र उत्तर

अन्तराष्ट्रिय रुपमा अक्टुबर महिनालाई स्तन क्यान्सर जागरण महिनाको रुपमा मनाइन्छ। नेपालमा पनि यो महिनामा विभिन्न सचेतनामुलक कार्यक्रम हुने गरेको छ। स्तन क्यान्सरको पहिचान, उपचार र रोकथाम सम्बन्धि जनचेतना बढाउने उद्देश्यले  नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेको छ। यस लेखमा स्तन क्यान्सर सम्बन्धि केही तथ्य तथा नेपालमा स्तन क्यान्सरबाट बच्न बचाउन  के गरिएको छ भन्ने कुरा समेटिएको छ।

Advertisement

१. स्तन क्यान्सर के हो र यो क्यान्सर हुनुका कारणहरु के के हुन्?
महिलाहरुमा देखिने स्तन क्यान्सर नेपालमा पाठेघरको क्यान्सर पछि सबैभन्दा बढी देखिने क्यान्सर हो। महिलाको स्तनको टिस्यू (तन्तु) मा क्यान्सर सेलहरु बन्नुलाई स्तन क्यान्सर भनिन्छ। यहि कारणले स्तन क्यान्सर हुन्छ भनेर भन्न सकिँदैन। यो  रोग के कारणले लाग्छ भन्ने कुरा अहिले पनि अनुसन्धानको बिषय छ। 
स्तन क्यान्सर हुनुका कारणहरु भन्दा पनि कारकहरु निम्न छन्: उमेर; महिलाहरुको उमेर बढ्दै जाँदा स्तन क्यान्सर हुने सम्भावना बढ्दै जान्छ। स्तन क्यान्सर भएका महिला र स्तन सम्बन्धि अरु रोग भएका महिलाहरुमा स्तन क्यान्सर हुने सम्भावना रहन्छ। 
वंशाणु अर्को कारक हो। जस्तो हजुरआमा, आमामा स्तन क्यान्सर थियो भने छोरी-नातिनिहरुमा स्तन क्यान्सर देखिन सक्छ। डेंस ब्रेस्ट टिस्यु अर्को रिस्क फेक्टर हो। त्यस्तै बच्चा नहुने वा नजन्माउने महिलाको स्तन डेंसहुने भएकाले स्तन क्यान्सर देखिन सक्छ भने ढिलोगरि बच्चा जन्माउने महिलाको स्तन बाक्लो (डेंस)हुने र स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ। यो संगै पोस्टमेनोपोजल हर्मोन र मध्यपानले गर्दा पनि स्तन क्यान्सर हुन् सक्छ भने इस्ट्रोजेंन अर्को कारक हुन्। चाँडै (१२ बर्ष भन्दा पहिला) र ढिला राजश्वला हुनुले पनि स्तन क्यान्सर हुनसक्छ। रेडियोथेरापी, मोटोपना आदिको कारण पनि स्तन क्यान्सर हुनसक्छ। 

२. स्तन क्यान्सरका लक्षणहरु के-के हुन्?
स्तनमा गाँठागुँठी भएको महसुस हुनु, स्तनको आकारमा परिवर्तन हुनु, स्तनको छालाको रंग परिवर्तन हुनु, स्तनको मुन्टामा परिवर्तन देखिनु, स्तनमा गिर्खा देखिनु आदि स्तन क्यान्सरका लक्षणहरु हुन्। 

३. स्तन क्यान्सरबाट बच्न के-के कुरामा ध्यान दिनु पर्छ?
साधारणतया स्तन क्यान्सरबाट बच्न महिलाहरुले आफ्नो ख्याल आफैं गर्नु पर्ने हुन्छ। आफ्नो स्तनमा के भइराखेको छ भनी महिलाहरुलाई थाहा हुन्छ। बारम्बार आफ्नो स्तनको अवस्था/आकार के कस्तो छ जाँच गर्नु  पर्छ। कुनै समस्या वा क्यान्सरको शंका लागेमा लाज नमानी  चिकित्सक सँग आफ्नो समस्या राख्नु पर्दछ। महिलाहरुले निश्चित उमेर पश्चात आफ्नो स्तन स्क्रिनिङ गर्नुपर्छ। माथि उल्लेखित कारकहरुबाट बच्नुपर्छ।  मद्यपान कम गर्ने वा गर्न हुँदैन।  नियमित शारीरिक व्यायाम गर्नुपर्छ। त्यस्तै महिलाले आफ्नो तौलमा नियन्त्रण गर्नुपर्छ। पौष्टिक खाना खानु पर्दछ। महिलाले पोस्टमनोपोजल हर्मोनथेरापी कम गर्नुपर्छ। जथाभावी औषधि प्रयोग गर्नुहुँदैन। 

४. स्तन क्यान्सर स्क्रिनिङ भनेको के हो र यो कसरी गरिन्छ?
महिलाहरुले स्तनमा क्यान्सरको शंका लागेमा गर्ने टेस्ट हो-स्तन क्यान्सर स्क्रिनिङ। यो क्यान्सरको पहिचान र रोकथाम गर्ने प्रक्रिया हो। मेमोग्राफी, अल्ट्रासाउण्ड (भिडियो एक्स-रे), एमआरआइ र थर्मोग्राफी विधिबाट स्तन क्यान्सर स्क्रिनिङ गरिन्छ। यो बाहेक प्रयोगशाला परीक्षण पनि गर्नुपर्छ जस्तो: बायोप्सी आदि।

५.  कति उमेर समूहका महिलाले स्तन स्क्रिनिङ गर्नुपर्छ?
४० देखि ४९ वर्ष उमेर समूहका महिलाले ३-४ वर्षमा एक पटक र ५० वर्ष देखि ७४ वर्ष उमेर समूहका महिलाले हरेक दुई वर्षमा एक पटक स्तन स्क्रिनिङ गर्नुपर्छ। 

६.  मेमोग्राम के हो? यो कतिको खर्चिलो हुन्छ?
एक्स-रे को प्रयोग गरि गरिने स्तन क्यान्सरको  डाइग्नोसिस विधि हो। जनचेतनाको अभावमा नेपलमा स्तन स्क्रिनिङ कमै महिलाले गर्ने गरेको पाइन्छ।  यो विधि धेरै खर्चिलो छैन। एकपटक मेमो गरेको औषतमा एकहजार रुपैयाँ पर्दछ। 

७. नेपालको सन्दर्भमा स्तन क्यान्सर कुन उमेर समूहका महिलाहरु बढी देखिने गरेको छ ? 
ठ्याक्कै तथ्यांक त भन्न गाह्रो छ तर ४० देखि ५५ वर्ष उमेर समूहका महिलाहरुमा बढी देखिने गरेको पाइन्छ। 

८. स्तन क्यान्सरको उपचार विधिहरु के के हुन्?
स्तन क्यान्सर डाइग्नोसिस भइसकेपछि कुन विधिबाट उपचार गर्ने भन्ने कुरा क्यान्सरको स्टेज, बिरामीको उपचार हिस्ट्री बिरामीको अवस्था आदि कुरामा भर पर्ने कुरा हो।  अन्य क्यान्सरको उपचार जस्तै स्तन क्यान्सरको उपचार केमोथेरापी, सर्जरी, रेडियोथेरापी र यी उपचार पद्दति संयुक्त रुपमा (एड्जुभान्ट, नियो-एड्जुभान्ट ट्रीटमेन्ट) पनि गरिन्छ। यी बाहेक हर्मोनथेरापी, टारगेटेड ड्राग थेरापी, इमुनोथेरापी, र सपोर्टिभ (पालिएटिभ) केएर उपचार विधि छन्।

९. स्तन क्यान्सर उपचार कतिको खर्चिलो हुन्छ?
स्तन क्यान्सर उपचारमा कति खर्च हुन्छ भन्ने कुरा बिरामीको रोगको अवस्थामा भर पर्दछ। सरकारी अस्पतालहरुमा त्यति महँगो पर्दैन।

१०. केमोथेरापी वा रेडियोथेरापी गर्दा के कस्ता साइड इफेक्ट देखिन्छन्? तिनको व्यवस्थापन कसरी गर्न सकिन्छ?
केमोथेरापीले गर्दा कपाल खुइलिनु, नङ परिवर्तन हुनु, मुखमा घाउ हुनु, भोक नलाग्नु,  तौलमा परिवर्तन हुनु, वाकवाकी र उल्टी लाग्नु, पखाला लाग्नु, केमोले बोनम्यारोको रगत बनाउने कोषिकाहरूमा पनि असर हुनु जस्ता साइडइफेक्ट देखिन्छन्। त्यस्तै रेडियोथेरापी उपचार गर्दा छालामा परिवर्तन देखिनु, स्तन सुन्निनु, छाती वा छाती क्षेत्रमा दुख्नु, काखको कपाल झर्ने, घाँटी दुख्नु र मुख सुख्खा हुनु, थकान लाग्नु र अल्छि महसुस हुनु, लिम्फोडेमा, स्तनको आकार र रंगमा परिवर्तन हुनु, करङहरूमा कोमलता महसुस हुनु र यी बाहेक रेडियोथेरापी गर्दा फिब्रोसिस अर्थात् स्तनको तन्तु सार्हो हुनु, टेलान्जेएक्टेसिया अर्थात् रक्त वाहिकाहरू टुट्नु, फोक्सोमा असर भई स्वासप्रस्वासमा कठिनाई हुनु, मुटुमा असर हुनु, उपचार गरिएको क्षेत्र वरिपरिको हड्डी कम्जोर हुनु आदि र रेडियसनको कारण क्यान्सर हुने जस्ता लक्षणहरु देखिन्छन्। यी मध्ये केहि लक्षणहरु सामान्यतया उपचार सकिएपछि हराउँदछन्। केहि उपचार पछिको लामो समय पछि देखिन सक्छन्।

११. स्तन क्यान्सर उपचार गराउन नेपलमा कतिको अफ्ठेरो छ?
स्तन क्यान्सर डाइग्नोसिस भइसकेपछि नेपालमा उपचार गर्न गाह्रो छैन। स्तन क्यान्सर उपचार गर्न आवश्यक दक्ष जनशक्ति र उपकरण नेपालमै छन्।

१२.  के बिरामीले सहज-गुणस्तरीय उपचार पाउँछन्?
बिरामी समयमै अस्पताल आएमा उपचार सहज हुन्छ। स्रोत र साधनको कमीले केहि अफ्ठेरो भएपनि अर्थात् केहि समय कुर्न परेपनि बिरामीले उपचार पाउने अवस्था नेपालमा अहिले छ। गुणस्तरीय उपचारको लागि राज्यले क्यान्सर रोग उपचारलाई उच्च प्राथमिकतामा राख्नु पर्छ। हामी अहिले गुणस्तर भन्दा पनि कसरि बढी बिरामी उपचार गर्ने भन्ने सोच्न बाध्य छौँ।

१३.  स्तन क्यान्सरका बिरामीले के खान मिल्छ के खान मिल्दैन?
स्तन क्यान्सरको उपचार भइरहँदा  बिरामीले तातो, मसालेदार खानाहरु खान हुँदैन। त्यस्तै बोसो, चिल्लो वा भुटेको, पोलेको खाना खान हुँदैन। धेरै गुलियो र चिनियुक्त खानेकुरा पनि खान हुँदैन,  धेरै बास्नादार खाना खान हुँदैन, खादा खेरि छिटो-छिटो खान हुँदैन, मद्यपान गर्न हुँदैन। खाने बित्तिकै सुत्न वा पल्टिन हुँदैन। 
दुध, दहि, माछा-मासु, भात-रोटि तरकारी, उसिनेको अन्डा, फलफूल आदि खान मिल्छ। बिरामीले झोलिलो खाने कुरा, जुस तथा पानी प्रसस्त खानु/पिउनु पर्छ। यसले गर्दा बिरामीमा देखिने निर्जलीकरण र केमोथेरापीको बाइप्रोड्क्टहरु हटाउन सहयोग गर्दछ।  

१४.  सर्जरी बाहेक केमोथेरापी वा रेडियोथेरापी उपचार गर्दा बिरामीले बच्चालाई स्तनपान गर्न मिल्छ कि मिल्दैन?
केमोथेरापी, हर्मोनथेरापी, एनेस्थेसिया आदि दिँदा बिरामीले बच्चालाई दूध चुसाउनु हुँदैन। तर रेडियोथेरापी उपचार गर्दा जुन स्तनमा रेडिएसन डोज दिइएको हुँदैन त्योबाट बच्चालाई दूध चुसाउन मिल्छ।

१५.  रेडियोथेरापी गर्दा महिलाको स्तनको छालाको रंग परिवर्तन हुने देखिन्छ किन होला? 
यो रेडिएसनको क्षणिक असर हो। कहिले कहिँ गलत डोज वा ओभर डोजको कारणले पनि स्तनको कलर परिवर्तन हुन्छ।  यदि यो सिभिएर छ भने बिरामीले आफ्नो उपचार गरिरहेको डाक्टरलाई देखाउनु पर्छ।

१६.  स्तन क्यान्सर निको भएपछि महिला गर्भवती हुन् सक्छन कि सक्दैनन्?
स्तन क्यान्सर उपचार गरेको महिला गर्भवती हुन् सक्छन्। तर स्तन क्यान्सर भएका महिलामा क्यान्सर नभएका महिलाको भन्दा गर्भवती हुने क्षमता कम हुन्छ। यति नै समय भन्न त सकिन्न तर केमोथेरापी गरेको कम्तिमा पनि छ महिनादेखि एक वर्ष भित्र गर्भवती हुनु हुँदैन। त्यसले बच्च्मा असर हुने अनुसन्धानले देखाएको छ।

१७.  स्तन क्यान्सर भएको महिलाबाट जन्मेको शिशुमा के कस्तो असर हुने गर्दछन्?
अध्यनहरुले के देखाएको छ भने स्तन क्यान्सर निको भएको महिलाबाट जन्मेको बच्चामा त्यस्तै खासै केहि असर हुने हुँदैन। तर महिलाले गर्भवती हुने बारे आफ्नो उपचार गरिरहेको डाक्टरसंग परामर्श गर्नु पर्छ।

१८. नेपालमा स्तन क्यान्सर उपचार खर्च सामान्य नागरिकले बेहोर्न सक्छ? राज्यले स्तन क्यान्सरका बिरामीको उपचार सहज बनाउन के गर्नु पर्ला?
समयमै क्यान्सर रोग पत्ता लागेमा उपचार सजिलो हुने मात्र होइन पूर्ण निको पनि हुन्छ। सरकारले क्यान्सरका बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च बेहोर्ने गरेको छ। जुन पर्याप्त नभएपनि क्यान्सरका बिरामीलाई ठूलो राहत हो। वर्तमान सरकारले पाँच हजार भत्ता घोषणा गरेको छ क्यान्सर रोगिका लागि। सरकारले यो घोषणालाई शीघ्र कार्यान्वयन गर्नुपर्छ।
महत्वपूर्ण कुरा के हो भने सरकारले क्यान्सरका बिरामीको सम्पूर्ण उपचार निशुल्क गर्नुपर्छ। यो गर्न सम्भब छ। सरकारले स्वास्थ्य बिमा मार्फत बेहोर्ने गरि सम्पूर्ण सरकारी अस्पतालहरुमा क्यान्सर रोगको उपचार निशुल्क गर्न सक्छ। यूरोपमा यस्तो व्यवस्था छ। क्यान्सर रोग उपचार निशुल्क गरे उपचारमा हुने भेदभाव पनि हट्छ। 

१९. स्तन क्यान्सर नियन्त्रणको लागि राज्यको तर्फ बाट के-के गरिएको छ? 
राज्यको तर्फबाट स्तन क्यान्सर नियन्त्रणको लागि सरकारी अस्पतालमार्फत स्तन स्क्रिनिङ जस्ता कार्यक्रम संचालन भैइरहेका छन्। सरकारी क्यान्सर अस्पतालहरुमा क्यान्सर शिक्षा र रोकथाम विभाग नै बनाएर सो सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन भइरहेका छन्। यी कार्यक्रमलाई अझ व्यापक बनाउनु पर्छ। कार्यक्रम दुर-दराजका गाउँ-गाउँसम्म पुर्याउनु पर्छ।

२०. अक्टुबरलाई स्तन क्यान्सर जनचेतना  महिनाको रुपमा मनाइन्छ। यो रोग नियन्त्रण, डाइग्नोसिस र उपचारको लागि के कस्ता कार्यक्रम तय भएका छन्?
राज्यस्तरबाट त त्यस्त केहि कार्यक्रम तय भएजस्तो लाग्दैन। तर अघि भने जस्तै क्यान्सर अस्पतालस्तरबाट जनचेतना सम्बन्धि कार्यक्रमहरु संचालन भैरहेका छन्। पर्चा पम्प्लेट बाँड्ने, पोस्टरहरु डिस्पेले गर्ने आदि कार्यक्रम भएका छन्। 

२१.  नेपालमा क्यान्सरका बिरामीमध्ये कति प्रतिशत जति महिलामा स्तन क्यान्सर देखिने गरेको छ?
सन् २०२० को आकडामा ग्लोबल क्यान्सर अब्जरभेटरीका अनुसार नेपालमा ९.६३ प्रतिशत महिलामा क्यान्सर रोग देखिएको पाइन्छ। सबैभन्दा बढी फोक्सोको क्यान्सर र त्यसछि पाठेघर क्यान्सरका बिरामी छन् भने तेस्रोमा स्तन क्यान्सरका बिरामी छन्।

२२.  स्तन क्यान्सर नेपालमा नियन्त्रण हुँदै गइरहेको छ कि बढेको छ?
स्तन क्यान्सर उपचार सुबिधा बढ्दै गइरहेको छ। नियन्त्रण गर्न विभिन्न पहल भएका छन् तर यसको खास कारण र उपचार पत्ता नलागेकाले नियन्त्रण गर्न गाह्रो छ। स्तन क्यान्सर सम्बन्धि महिलाहरु सचेत भए भने यो क्यान्सरको दर घटाउन सकिन्छ। त्यो भनेको समयमै स्क्रिनिङ गर्ने, समयमै अस्पताल जाने आदि हो।

२३.  केही वर्षयता नेपलमा स्तन क्यान्सर बढेको देखिन्छ, किन होला?
पछिल्लो समय नेपालमा क्यान्सर डाइग्नोसिस सुबिधा बढेको र क्यान्सर सम्बन्धि जनचेतना बढेको कारण मानिसहरुले समयमै चेक-जाँच गर्ने भएकाले होला स्तन क्यान्सरका बिरामी बढेका  पाइन्छन्।

२४.  स्तन क्यान्सर- क्यान्सर रजिस्ट्रीको व्यवस्था नेपालमा छ कि छैन?
नेपालमा देश व्यापीरुपमा क्यान्सर रजिस्ट्रीको व्यवस्था छैन तर केहि अस्पतालहरुमा क्यान्सर रजिस्ट्रीको व्यवस्था छ।  विस्तारै यो देशव्यापी हुन्छ।

२५.  स्तन क्यान्सरको सबैभन्दा प्रभावकरी उपचार पद्दति कुन-कुन हुन्? 
माथि उल्लेख गरेजस्तै सर्जरी, केमोथेरापी र रेडियोथेरापी स्तन क्यान्सरका प्रभावकरी उपचार पद्दति हुन्।

२६.  स्तन क्यान्सरको रेडियोथेरापी उपचार कतिको भरपर्दो उपचार पद्दति हो?
नेपालमा स्तन क्यान्सरको प्राथमिक उपचारको रुपमा रेडियोथेरापी उपचार गरेको त्यति पाँइदैन। तर रेडियोथेरापी प्रभवकारी उपचार पद्दति हो। नेपालमा प्राय: सर्जरी वा केमोथेरापी पछि रेडियोथेरापी वा कम्बाइन्ड (एड्जुभेंट/नियो-एड्जुभेंट) रुपमा उपचार गर्ने गरिन्छ।

२७. नेपालमा प्राय: स्तन क्यान्सरका बिरामीको सर्जरी गर्ने गरेको पाइन्छ? के सर्जरी अरु उपचार पद्दति भन्दा प्रभावकारी हो? 
सर्जरी प्रभावकारी उपचार पद्दति हो। तर कुन पद्दतिबाट उपचार गर्ने वा गर्दा राम्रो हुन्छ भन्ने कुरा ट्यूमर बोर्डले निर्णय गर्छ क्यान्सर अस्पतालमा। कुन पद्दति बढी प्रभावकारी हो भन्ने कुरा बिरामीको बिभिन्न सूचकहरुले निर्धारण गर्छ।

२८.  प्राइमरी ट्यूमर लोकलाइज्ड छ भने पनि सर्जरी गर्नै पर्छ? कि केमोथेरापी वा रेडियोथेरापीद्वारा उपचार गर्न सकिन्छ?
यसको निर्धारण ट्यूमर बोर्डले गर्छ। यदि प्राइमरी ट्यूमर लोकलाइज्ड छ भने उपचार सजिलो हुन्छ। बिरामीको सर्भाइबल दर (रेट) पनि बढी हुन्छ।

२९. नेपालमा प्राय अस्पतालहरुमा ट्यूमर बोर्ड बनाएको देखिँदैन किन होला? के यो जनशक्तिको अभावले हो कि चिकित्सकहरु एकअर्कोसंग समन्वयको कमी हो?
नेपालमा क्यान्सर रोग उपचारको इतिहास लामो छैन/होइन। विगतमा आवश्यक जनशक्तिको अभावका कारण यस्ता बोर्ड नभएका हुन् तर अहिले विस्तारै प्राय सबै क्यान्सर अस्पतालहरुमा कुनै न कुनै रुपमा ट्यूमर बोर्ड सक्रिय छन। अबका दिनहरुमा यस्तो बोर्ड क्यान्सर अस्पतालमा अनिवार्य हुनेछन्।

३०. स्तन क्यान्सरका बिरामीको सामान्यतया सर्भाइबल कति हुन्छ?
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यदि क्यान्सर लोकलाइज्ड (स्तनमा मात्र) छ भने ९९ प्रतिशत बिरामीको सर्भाइबल रेट पाँच बर्ष हुन्छ। अर्थात् ९९ प्रतिशत बिरामी पाँच वर्षसम्म बाँच्दछन्। यदि क्यान्सर स्तनबाट सरेर नोड र वरिपरिको अरु अंगम/अर्ग्यानमा सरेको छ भने ८६ प्रतिशत बिरामीको  सर्भाइबल रेट पाँच वर्ष हुन्छ। त्यस्तै यदि क्यान्सर सरेर फोक्सो, कलेजो,  हड्डी आदिमा पुगेको छ भने २८ प्रतिशत बिरामको सर्भाइबल रेट पाँच वर्ष हुन्छ। समग्रमा ९० प्रतिशत बिरामीको  सर्भाइबल रेट पाँच वर्ष हुन्छ। यी अनुमानित आकडा हुन्। 

३१. क्यान्सरका बिरामीको उपचारमा अहिले सरकारको तर्फबाट एक लाख र थप ५ हजार उपचार खर्च र भत्ता पाउँछन्। सरकारले यसरी पैसा बाँड्नु भन्दा क्यान्सरका बिरामीको उपचार निशुल्क गर्न सकिँदैन?
सकिन्छ। यसरी पैसा बाँड्नु वैज्ञानिक छैन। यो रोक्नु पर्छ र क्यान्सरका बिरामीको सम्पूर्ण उपचारको जिम्मा राज्यले लिनुपर्छ। नेपाल सरकारले क्यान्सरका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय स्वागतयोग्य भएपनि यो पर्याप्त वा वैज्ञानिक छैन। यो पैसाले बिरामीले औषधि समेत किन्न पुग्दैन कतिपय अस्वस्थामा। विगत देखिनै सरकारले क्यान्सरका बिरामीलाई एक लाख रुपैयाँ सहयोग गर्ने गरेको छ। यी दुवै व्यवस्थाबाट क्यान्सरका बिरामीलाई राहत पुगे पनि यी कदम दीर्घकालिन  छैनन्/होइनन्। राज्यले यसरी पैसा बाँड्नु भन्दा देशैभर गुणस्तरिय क्यान्सर अस्पतालको लागि लगानी गर्नु पर्छ र क्यान्सर रोगको उपचार पूर्ण रुपमा निशुल्क गर्नुपर्छ/हुनुपर्छ। क्यान्सरका बिरामीलाई पैसा भन्दा गुणस्तरीय उपचार आवस्यक छ/हुन्छ। 

नेपालमा हाल करिब २९ हजार क्यान्सरका बिरामी रहेको छन्। २९ हजार जना क्यान्सरका बिरामीलाई ५ हजारका दरले भत्ता दिँदा मासिक १४ करोड ५० लाख रुपैयाँ जान्छ। यसरी वर्षमा करिब एक अर्ब ७४ करोड रुपैयाँ जान्छ।  त्यस्तै एक लाखका दरले २९ हजार बिरामीलाई पैसा तिर्दा २ अर्ब ९० करोड गरि  जम्मा करिब ४ अर्ब ६४ करोड रुपैयाँ राज्यको क्यान्सरका बिरामीको लागि लगानी हुन्छ-एक बर्षमा। यो पुँजीले नेपालमा एकै बर्षमा कम्तिमा  २ वटा युरोपिएन स्तरका क्यान्सर अस्पताल निर्माण-संचालन गर्न सकिन्छ र ती अस्पतालबाट सम्पूर्ण क्यान्सरका बिरामीलाई निशुल्क उपचार दिन सकिन्छ।  

क्यान्सर रोग विश्वव्यापी मृत्युको प्रमुख कारण बन्दै गइरहेको छ। सन् २०३० सम्ममा २१.६ मिलिएन अर्थात् २ करोड १६ लाख क्यान्सरका बिरामी प्रत्येक वर्ष थपिने अनुमान गरिएको छ। संक्रामक रोगहरु सहित मृत्युको अन्य कारणहरुको तुलनामा क्यान्सरबाट हुने अपांगता तथा मृत्युको कारण विश्वमा ठूलो आर्थिक भार झेल्नु पर्ने देखिन्छ। तसर्थ आर्थिक तथा सामाजिक भार घटाउनको लागि क्यान्सर रोग नियन्त्रण तथा उपचारको लागि तत्काल कदम चल्नु पर्ने देखिन्छ।

क्यान्सर रोग संग लड्न क्यान्सर रोग सम्बन्धि अनुसन्धान बढाउनु पर्छ। तर क्यान्सर रोग सम्बन्धि अनुसन्धानले  बिश्वमाअझै पनी ठूलो चुनौतिहरुको सामना गरीरहेछ जस्तै अतिरिक्त प्रभावी रोकथाम र प्रारम्भिक पत्ता लगाउने रणनीतिहरुको विकास, निदान प्रक्रियामा प्रगति, कम लागतमा जीवन बचाउन उपचारको विकास, अन्तर्राष्ट्रिय सहयोगी नेटवर्कहरु लाई बढाउन, दिगो कोष मोडेलको स्थापना, अनुसन्धान/प्रशिक्षणको अवसरहरु लाई बढाउन, र परिभाषित क्यान्सर नियन्त्रण गर्नको लागी राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा अनुसन्धानको लागि पूर्वाधार तय गर्नु आवश्यक छ। 

३२.  अन्त्यमा स्तन क्यान्सरबाट बच्न महिलाहरुले न्यूनतम कुन कुन कुराहरुमा ध्यान दिनुपर्छ?
महिलाहरुले आफ्नो स्वास्थ्यको ख्याल आफैं राख्नु पर्छ। आफ्नो स्वास्थ्य सम्बन्धि समस्या लाज नमानी निर्धक्क भन्नु पर्छ। परिवारको सहयोगको ठूलो खाँचो हुन्छ। सरसफाईमा ध्यान दिँदै पौष्टिक खानेकुरा खानु पर्छ। धूम्रपान र मध्यनपानबाट टाढै राख्नु पर्छ। आफूलाई स्तन सम्बन्धि कुनै रोगको शंका लागे नजिकैको क्यान्सर अस्पताल वा स्वास्थ्य संस्थामा गई चेक-जाँच गर्नपर्छ।  

३३.  के महिलाको जस्तै पुरुषमा पनि स्तन क्यान्सर हुन् सक्छ?
हुन सक्छ। तर यो क्यान्सर पुरुषहरुमा बिरलै देखिन्छ। यो रोग बुढ्यौलीमा बाढी देखिन्छ तर जुनसुकै उमेर समूहका पुरुषमा हुनसक्छ। नेपालमा केहि पुरुषहरुमा स्तन क्यान्सर देखिएको पाइन्छ। पुरुषमा स्तन क्यान्सर देखिनुको कारणहरुमा:आनुवंशिकता,  विकिरण, बढ्दो उमेर, आलश्यपूर्ण जीवनशैली, बोसोयुक्त आहार, धूम्रपान-मद्यपान, हार्मोनल कारक, विषादीयुक्त खाना आदि  पुरुषहरुमा स्तन क्यान्सर हुनुका प्रमुख कारणहरु हुन्।