हात्ती संरक्षण र सफारी



नेपालमा हात्ती सफारी इतिहास पुरानो भए तापनि हात्ती सफारी पर्यटनसँग जोडिएको धेरै भएको छैन । वि.सं. २०२० मा टाइगर टप्स होटल स्थापना भएसँगै पर्यटनसँग जोडिएको यो सफारी प्राइभेट रुपमा पालिएका हात्तीहरु सफारी मात्र नभई ठुलाठुला दैविक प्रकोप, महामारी साथै संरक्षण कार्यहरुमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको देखिन्छ । वि.सं. २०४०–०४५ सालतिर प्राइभेट रुपमा पालेका हात्तीहरु कम थिए । सफारीको लागि सरकारी हात्तीमा भर पर्नुपर्ने थियो । हात्ती सफारीको महत्व बढ्दै गएपछि सरकारी सफारीको हात्तीको संख्या कम थियो ।
सफारीको लागि टिकट काट्नको लागि रातको २ बजेबाट टिकट काउन्टरमा लाइन वस्नपर्ने र यसरी वसेकाहरुमध्ये पनि थोरैले मात्र टिकट काट्न र आफ्ना पाहुनाहरुलाई हात्ती सफारी गराएर वन्यजन्तु देखाई खुशी वनाउन सफल हुन्थे । सरकारी हात्तीहरुको उपयोग राष्ट्रिय निकुञ्जको सुरक्षा गस्ती, वन्यजन्तु उद्धार र उपचारमा प्रयोग गर्न आवश्यक भएपछि सफारीको लागि हात्तीको संख्या झन कम भयो भने हात्ती सफारीप्रति पर्यटकको आकर्षण बढ्दै गयो ।
हात्तीको संख्या कम हुँदै गएपछि पर्यटन व्यवसायसँग जोडिएका व्यवसायीहरुले छिमेकी राष्ट्र भारत र नेपालका महाजनहरुले तराईक्षेत्रमा पालिएका हात्तीहरु खरिद गरी वा भाडामा लिई चितवन राष्ट्रिय निकुञ्जको आसपास पर्यटक क्षेत्रमा राखी हात्ती सफारीको लागि प्रयोगमा ल्याउन थालियो ।
यसरी वि.सं.२०७० सालतिर आइपुग्दा नेपालमा प्राइभेट रुपमा पालिएका हात्तीको संख्या करिब १३० को हाराहारीमा रहेकोमा त्यसताका हात्ती सफारी राम्रोसँग चलिरहेको थियो । वि.संं. २०७१–०७२ मा पर्यटनमा हात्तीको उपयोग क्रुर व्यापार भएको कुरा जर्मन संस्था प्रो वाइल्डलाइफले टिप्पणी गरी हात्ती सवार सम्वन्धि पर्यटकीय गतिविधिमा कटौती गर्न विश्वभरका टुर अपरेटरहरुलाई अपिल गर्यो । र, विस्तारै वन्यजन्तुको अधिकारका लागि काम गर्ने संस्था, व्यक्तिहरुले पनि हात्तीको प्रयोग तथा उपयोग गर्न हात्ती सफारी लगायत हात्तीसँग जोडिएका मनोरञ्जनात्मक कार्यक्रम बन्द गर्नु पर्ने आवाज बाहिर आउन थाल्यो । त्यस ताका भू–कम्पका कारण पनि नराम्रोसँग पर्यटन व्यवसायमा असर पर्याे । यसबाट राम्रोसँग नउठ्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीले सबै हात्ती सफारी, पर्यापर्यटन कार्र्य बन्द हुन पुग्यो ।
हात्ती वीमाको राम्रो प्रावधान नभएको कारण वीमा कम्पनीले हात्तीको विमा नगर्ने, गरिहाले पनि चर्को विमा मूल्य तिर्नुपर्ने कारण वीमा हुन सकेन । वार्षिक रुपमा राम्रो कमाई गर्ने हात्ती हाल आएर आम्दानी हुन छोडे पछि पालनपोषणको लागि मात्र वार्षिक लगभग १० लाख लाग्ने भएकोले पनि प्राइभेट रुपमा हात्ती पाल्ने कार्य गाह्रो भएको छ । जसकारण भारतका हात्ती व्यापारिहरुले राम्रो मूल्य तिरी लगभग ४० प्रतिशत प्राइभेट हात्तीहरु पुनः भारततर्फ नै फर्काए ।
यसरी धेरै हात्तीहरु भारततर्फ फर्किन लागेपछि वन्यजन्तुमा काम गर्ने संस्थाले सर्वोच्च अदालतमा रिट दर्ता भयो र हात्तीको बारेमा उक्त रिटमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भयो । विगतमा आवश्यक पर्दा भारतबाट आउने बुढो भएर काममा उपयोग नहुने भएपछि हात्ती भारततर्फ जाने क्रम चलिरहेको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि काजल कली हात्ती सौराहाबाट भारत लान लाग्दा मकवानपुरको मनहरीबाट प्रहरी प्रशासनले सौराहामा फर्काइयो र सौराहामा फर्केपछि उक्त हात्तीलाई पुरानो ठाउँमा राख्न नसक्ने अवस्था भयो र सौराहाको होटल पार्कसाईडको हात्तीसारमा राख्न थालियो ।
यस हात्ती निकै बुढी भई दाँत समेत नभएकोले आफूले खाने आहारा राम्रोसँग चपाएर खान नसक्दा हात्तीको पाचन प्रकृयामा समस्या भई खाएको कुरा नपच्ने भएको र नपचेको लिडा (दिसा) आउने भएको थियो । यस अवस्थाको हात्तीलाई हामीले नियमित रुपमा उपचार गर्दै थियौैं । सुरुमा यस हात्तीप्रति धेरै मानिसको चासो नभए पनि उक्त काजलकली हात्ती ढलेपछि धेरै मानिसहरुको चासो पर्यो । हामीले यस हात्तीलाई पटक पटक औषधि उपचारबाट उठाउन सफल भएका थियौ तर चौथो पटकको ढलाई पछि उक्त हात्ती उठाउन सकिएन । यसरी फिर्ता भएको काजलकली हात्ती एक वर्ष पछि स्वर्गवास भइन् ।
हाम्रो ध्यान के हो भने हाल आएर नेपालमा प्राइभेट रुपमा पालिएका हात्तीहरु करिव ७० वटा मात्र छन् । त्यस मध्ये टाईगरटप्स होटलमा रहेका १२ वटा हात्तीहरुलाई पर्यटकीय गतीविधिमा सफारी वन्द गरी हात्तीसँग जंगल वाक कार्यक्रम संचालन गरिरहेको छ । सपना भिलेजमा सफारी वन्द रहेको ६ वटा मध्ये ३ वटा सफारीका लागि उपयुक्त देखिँदैनन् र ३ वटा स्वस्थ हात्तीहरुको पनि सफारी वन्द गरिएको छ । अहिले सफारीमा प्रयोग भएको करिव ४५ हात्तीहरुमा पनि ५ देखि ७ हात्ती बुढो भएका कारणले सफारीमा उक्त हात्ती वन्द गर्न पर्ने अवस्था देखिन्छ ।
हामी विगत २० वर्ष देखि हात्तीको स्वस्थ उपचार र हात्तीको दिनचर्या नजिकबाट हेरिरहेका छौं । हात्ती ठुलो जनावर भएका कारण पालन पोषण खर्चिलो छ । हात्तीबाट आम्दानी नभएपछि हात्तीको स्याहार सुसारमा कमि हुनाको साथै कोभिड १९ देखि हात्तीबाट आम्दानी हुन छोडेपछि धेरै हात्तीहरुमा २ जना माहुतबाट कटौती गरी महिनामा १५–१५ दिनको आलो पालोमा काम काज गराउने र महिनामा काम गरेको १५ दिनको मात्र तलव दिने गरिएको थियो ।
हात्ती मालिकले माहुतलाई गर्ने व्यवहार अनुसार हात्ती स्याहार सुसारमा फरक पर्दछ । हात्तीको पहिलो मालिक भनेको नै माहुत हो । माहुतलाई खुसी पारेर राख्न सकिएन भने हात्तीमा विभिन्न समस्याहरु जस्तै दानापानीमा कमी हुनु, समयमा दानापानी नदिनु, राम्रो हेरचाह नहुनु जस्ता कारणहरुले हात्तीको खानपिन नियमित नभई हात्तीहरुमा पोषणको कमि भई चाडो बुढो जस्तो देखिने, दुव्लाउँदै जाने, घाउखटिरा आउने, विरामी हुने आदि समस्या देखिन थाल्दछन् । हात्ती संरक्षणको लागि सवै भन्दा पहिला माहुतको संरक्षण गर्न सकियो भने मात्र हात्तीको उचित संरक्षण हुने देखिन्छ ।
हाम्रो अनुभवमा हात्तीलाई स्वास्थ र निरोगी राख्नका लागि दैनिक रुपमा ७ देखि ८ किलोमिटर हिडाउने, नियमित रुपमा हात्तीको खुट्टा र पैतलाको निरीक्षण गर्ने, आवश्यकता अनुसार नङ्ग काट्ने, नियमित आहारको व्यवस्थापन गर्ने, समय समयमा नाम्ले जुकाविरुद्धको औषधि खुवाउने, ढुंगा भएको ठाउँमा असहज तवरले हात्तीलाई नवसाउने आदी गर्न सकिन्छ । कोभिड १९ को महामारीको समयमा हात्तीलाई हिँडडुल नगराई हात्तीलाई थानमानै बाँधेर राख्दा हिँडडुलमा कमी भएका कारण धेरै हात्तीमा खुट्टा सुनिने, पेटकोे तलतिरको भागमा पानी जम्मा हुने, अनावश्यक रुपमा खुट्टाको नङ्ग वढ्ने आदि समस्या देखिन थाल्यो । हात्तीहरुलाई हिडडुल गराए पछि ति समस्याहरु विस्तारै आफै कमी हुँदै गएकोले हाम्रो ज्ञान र अनुभवको आधारमा पनि हात्तीलाई नियमित हिँडडुल गराउन आवश्यक छ ।
नेपालमा प्राइभेट रुपमा पालिएका ८–१० वटा हात्ती वाहेक बाकी हात्ती १०–१५ वर्ष पछि आफै सकिने अवस्थामा छन् । सवै हात्तीहरु पुराना उमेर ढल्केको हात्तीहरु हुन् । यदी हात्तीहरुलाई ७–१० वर्ष अरु थप वचाउन कोशिस गर्नेहो भने हामीसँग भएका हात्तीहरुलाई नियमित खानपिन साथै थप पोसिलो आहार खुवाई उपचारमा नियमित रुपमा विचार पुर्याउनु नै प्रमुख हुन आउँछ । खानपिन साथै अरु व्यवस्थापन भन्ने कुरा आम्दानीसँग जोडिन्छ । हात्ती स्वास्थ राख्नको लागि पनि हात्ती उपयोग आवश्यक छ । सबै हात्तीहरुलाई टाइगरटपले जस्तै हात्ती सफारी वन्द गरी हात्तीसँग जंगलवाक कार्यक्रम संंचालन गरी जंगल वाक गर्ने कार्य सजिलो छैन । हाम्रो जंगल अग्ला कासघारी, घना जंगल, खोला नाला, भास, वन्यजन्तुबाट असुरक्षित हुने भएका कारण जंगलवाक सहज छैन ।
वन्यजन्तु प्रेमी दुई चार जनाले मात्र गर्न सक्छन् सवैले सक्दैनन् आफ्नो सुरक्षा पनि हुँदैन । त्यस्तै विदेशमा जस्तो हात्तीलाई नुहाउने, हात्तीको दाना (कुची) बनाउने, हात्तीलाई नुहाउने, हात्तीमा कलात्मक पेन्टिन गर्ने आदिबाट हालको अवस्थामा आम्दानी हुने देखिँदैन । नेपालमा सवै हात्तीहरुलाई एक ठाउँमा राखेर हात्ती सेन्चुरी वनाउने, हात्तीबाट आम्दानी नगरी पालन पोषण गर्नको लागि ठुलो रकमको आवश्यकता पर्दछ । त्यो कार्य व्यक्तिगत रुपमा गर्न नसकिने र छुटाछुटै आफ्नो हात्ती पालन गर्नका लागि एकाध हात्ती धनी वाहेक अन्य हात्ती पाल्ने धनी पनि देखिँदैन र छैनन् ।
यस्तो अवस्थामा हात्तीको कल्याणलाई मध्य नजर गरी बैज्ञानिक ब्यवस्थापन गर्न जरुरी छ । हात्ती सफारीलाई सम्पूर्ण रुपमा आयआर्जनको दृष्टिकोणले मात्र नहेरी हात्तीले कल्याणकारी अवस्थामा जिउन पाउने हकको सुनिश्चितता गर्न नितान्त जरुरी छ । पर्यटक आएसम्म र हात्तीले भ्याएसम्म सफारी गराउने प्रचलन छ । हात्तीको कल्याण र बैज्ञानिक ब्यवस्थापनका लागि हात्तीले बिना हिच्किचावट गर्न सक्ने काम लगाउन अहिले भएको प्रचलनमा परिवर्तन गरी विहान २ पटक, वेलुका २ पटक र एक सफारीमा २ जना मात्र पर्यटक राखी सफारी गराउन सकिएको खण्डमा हात्तीलाई पनि सहज हुने र धनीलाई पनि आयआर्जनको सुनिश्चितता हुने देखिन्छ ।
सफारी वन्द गराएर भन्दा स्वस्थ हात्तीहरुलाई असर नपर्ने गरी हात्तीको स्वास्थ्य र खानपानमा ध्यान दिई सफारी गराउने, हात्ती सफारी गराउँदा माहुतलाई विशेष ध्यान दिने र खुशी राख्ने, बुढो र विरामी हात्तीहरुलाई छुट्टै राखेर हेरचाह गर्न सकिएको खण्डमा मात्र हात्तीको कल्याण हुने देखिन्छ । अन्यथा हात्तीबाट आम्दानी नभएपछि सवै हात्तीहरु काजलकलीको अवस्थामा पुग्न सक्ने कुरा नकार्न सकिँदैन ।
साथै हालको अवस्थामा बुढो र विरामी हात्तीहरुको संख्या बढ्दै गइरहेको छ । तीनहरुको ब्यवस्थापन पनि निकै चुनौतीपूर्ण छ । बुढो र विरामी हात्तीहरुको ब्यवस्थापनका लागि स्वस्थ हात्तीको सफारीबाट भएको आम्दानीको निश्चित रकम छुट्टाउने, अन्य दाँता, हात्तीलाई माया गर्ने ब्यक्ति, संस्था आदीबाट आर्थिक सहयोग संकलन गरी बुढो र विरामी हात्तीहरुको ब्यवस्थापन गर्न सकिएको खण्डमा सबै प्राइभेट हात्तीहरुको कल्याण हुने देखिन्छ ।
हात्तीलाई आदर्शसँग जोडेर मात्र हुँदैन, माया गर्ने व्यक्ति, हात्तीमा काम गर्ने संस्था, सरकारी निकाय सवैले वेलैमा सोच्नु पर्दछ । हाल अहिलेको अवस्थामा प्राइभेटरुपमा पालिएका हात्तीहरु जोगाउनका लागि व्यवस्थित गरी स्वस्थ हात्तीले विना हिच्किचावट गर्न सक्ने सफारी गरी आम्दानी गर्न सकिएको खण्डमा मात्र सबै हात्तीको कल्याण भई ७–१० वर्ष आयु बढाउन मद्दत पुग्ने देखिन्छ । नेपालमा हालको परिस्थितिमा हात्ती जोगाउनकै लागि स्वस्थ हात्ती सफारी संचालन गर्न आवश्यक देखिन्छ ।








लेखकको सम्वन्धमा