May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

रूपन्देहीमा ‘हाउजिङ’ लहर

भैरहवा– पछिल्लो समय रुपन्देहीमा ठूलो लगानीमा धमाधम एकीकृत आवास परियोजना (हाउजिङ) निर्माण बढेको छ । सर्वसाधरणलाई एकै स्थानमा सुविधा सम्पन्न आवास सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो लगानी गर्ने बढेका हुन् । रुपन्देहीका सहरी क्षेत्रमा खुला क्षेत्र अभाव हुँदै गएको छ । अन्तर्राष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीका कारण बसाइँ सर्नेको संख्या उच्च छ । व्यावसायिक र पेशागत क्षेत्रमा अग्रणी जिल्ला भएकाले यहाँका बासिन्दाको यस्ता आवासमा आकर्षण देखिन्छ । त्यसले गर्दा लगानीकर्ता आकर्षित बनेका हुन् ।

Advertisement

यसअघि जिल्लामा थोरै संख्यामा भए पनि कोलोनी निर्माण गर्ने र एकै स्थानमा बसोबास गर्नेको संख्या धेरै छ । त्यस्ता हाउजिङ कोलोनी सफल भएपछि ठूला लगानीमा धेरै घर निर्माण गर्न थालिएको हो । यस्ता हाउजिङमा रुपन्देही र संघीय राजधानी काठमाण्डौंका व्यावसायीेले लगानी गरेका छन् । पछिल्लो समय रुपन्देहीमा सहरीकरण तीव्र छ । आसपासका कपिलवस्तु र पश्चिम नवलपरासी जिल्ला जोडेर बृहत्त सहर निर्माणको प्रस्ताव गर्न थालिएको छ ।

दातृ निकायको ध्यान सिमावर्ती सहरको बिकासमा बढेको पाइन्छ । मूल नाका यही भएकाले सिमावर्ती भारतीय पर्यटकको आकर्षण देखिन्छ । यस बाहेक उद्योग, पर्यटन, कृषि र खाद्यान्न लगायत क्षेत्रमा लगानीकर्ता आकर्षित छन् । व्यावसायिक प्रतिष्ठानका कर्पोरेट कार्यालय रुपन्देहीका बुटवल र भैरहवामा केन्द्रित छन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढ्दै छ ।

परम्परागत सहर सांघुरा भइरहेका छन् । नयाँ र खुला स्थानमा बसाइँ सर्ने धेरै छन् । यस्तै परिवार लक्षित गरेर रुपन्देहीमा आधुनिक घर निर्माण (हाउजिङ) कम्पनी आकर्षित भएका छन् । आरामदायी जीवनयापनका लागि आवश्यक सुविधा दृष्टिगत गरी कम्पनीले व्यावसायिक घर निर्माण गरिरहेका छन् । रूपन्देही र बाहिरी जिल्लाका बासिन्दाको आकर्षण हाउजिङ र कोलोनीमा बढेपछि विभिन्न कम्पनीले ठूलो लगानी गरेका हुन् ।

यहाँस्थित अष्टदीप मल्टीनेशनल प्रालिले गत वर्षदेखि सुरु गरेको परियोजना तिलोत्तमा होम्सको आवास क्षेत्र अवलोकन तथा बुकिङका लागि खुला गरिएको छ । तिलोत्तमा–७ भलवारीमा निर्माण भइरहेको तिलोत्तमा होम्स सिद्धार्थ राजमार्गदेखि पूर्व ६ विघा क्षेत्रफलमा अवस्थित छ । व्यवस्थित शहरीकरणको उद्देश्यसहित १ सय ९ वटा घर बन्ने परियोजना अन्तर्गत ५५ घर बन्दै छन् । जस अन्तर्गत २० वटाको ढलानको काम सकिएको र ३५ वटाको जगको काम सकिएको कम्पनीका सेल्स एण्ड मार्केटिङ हेड सुदिप ढकालले बताए ।

निर्माणाधीन आवास क्षेत्रमा कम्पाउण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्सियल कम्प्लेक्स, सामुदायिक भवन, व्याडमिन्टन कवर्ड हल, बाँस्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थक्लब, रेष्टुरेण्ट, सैलून, ब्यूटीपार्लर, ग्रीन जोन रहने कम्पनीका अध्यक्ष नेत्र बनले बताए । यस्तै परियोजना स्थलभित्र मूल बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहनेछन् ।

परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ विल्डर्सले गरिरहेको कम्पनीले जनाएको छ । परियोजना अन्तर्गत बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामाग्री सरकारले तोकेको मापदण्ड अनुसारका हुने र निर्माण कार्य पूर्णतः इञ्जिनियरको सुपरीवेक्षणमा भइरहेको कम्पनीका सिइओ प्रकाश भण्डारीले बताए । परियोजना निर्माण स्थलको माटो परीक्षण गरी त्यसको आधारमा नक्सा डिजाइन गरिएको र घरहरु भूकम्प प्रतिरोधात्मक हुने प्रोजेक्ट म्यानेजर यदु बरालले जानकारी दिए ।

‘परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैले गरिरहेको छ’, उनले भने, ‘परियोजना अन्तर्गत बन्ने घरहरुको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा त्यहां रहने सोसाइटी आफैले गर्नेछ ।’

सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुनेगरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकारी नीतिअनुरूप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन गर्न थालिएको आवास क्षेत्रमा २ समूहमा घर विभाजन गरिएको प्रोजेक्ट इन्जिनियर बासुदेब नेपालले जानकारी दिए । समूह ‘ए’ का घरको सूचीकृत मूल्य २ करोड ५० लाख र समूह बी’ का घरको सूचीकृत मूल्य १ करोड ७५ लाख निर्धारण गरिएको कम्पनीका सेल्स एण्ड मार्केटिङ हेड सुदीप ढकालले बताए ।

मध्यम वर्गको आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १५ धुर जग्गामा २९२० सय स्क्वायर फिटको घर निर्माण गरिने छ । दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २१८१ सय स्क्वायर फिटका घर निर्माण गरिने कम्पनी प्रचेज डिपार्टमेन्ट पमुख षडानन्द पोखरेलले बताए । एन्ट्रास्पेश टेक्निकल कन्सल्टद्वारा डीपीआर तयार पारी काम भइरहेको एकीकृत बस्तीमा घर लिन चाहानेहरुलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने उनले बताए ।

होम्स एरियामा सरकारी कर्मचारी, बैंकका कर्मचारी तथा विदेशमा रहेका नागरिकहरुलाई लक्षित गरी परियोजनाका आवासप्रति आकर्षण रहेको वनको भनाई छ । हालसम्म ४१ वटा घर बुकिङ भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले सेन्चुरी कमर्सियल बैंकसँग सहकार्य गरी घर लिन चाहनेलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधासमेत उपलब्ध गराउने जनाएको छ । परियोजनामा वनसहित तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र उद्योगी विष्णुप्रसाद भुसालसमेतको लगानी छ ।

२६ फुट मूल बाटो तथा २४ फुटको सहायक बाटो रहने गरी नेपाल सरकारको सहरी विकास मापदण्डअनुसार साढे दुई तलाका भूकम्परहित घर निर्माण गरिने वनले जानकारी दिए । तीन वर्षभित्रमा परियोजना सम्पन्न गर्ने गरी काम गरिरहेको कम्पनीले कुनै पनि ग्राहकले घर बुकिङ गरेमा कम्तीमा ९ महिनाभित्रमा उपलब्ध गराउने बताएको छ ।

रुपन्देहीको ओमसतिया–४, स्थित बोधी होल्डिङ प्रा.लि. अन्तर्गत बोधी होम्स हाउजिङ परियोजनाले सुविधा सम्पन्न आवास निर्माण गरिरहेको छ । उक्त होम्स अन्तर्गत पहिलो चरणमा विभिन्न किसिमका १ सय ४ वटा घर निर्माण हुने भएका छन् । बोधी होम्समा दुई चरण गरि साढे चार अर्ब रुपैयाँ लगानी रहेको छ । होम्समा जलेश्वर पाण्डे, प्रमोद यादव, दीपक पाण्डे, रविन्द्र कुंवर, छबिलाल कुँवर र दीनबन्धु पोखरेलको लगानी छ ।

रुपन्देहीको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र विकासको क्रम हेरेर हाउजिङको आवश्यकता महशुस गरेर लगानी गरिएको परियोजनाका प्रबन्ध निर्देशक दीनबन्धु पोखरेलले बताए । एकीकृत वस्तीको अवधारण अनुसार बोधी होम्सको सुरुवात गरिएको उनले बताए । यस प्रालिमा पोखरा, काठ्मांडौ, भैरहवा र एनआरएनएका लगानीकर्ता संलग्न छन् । परियोजनाले काठमाडौं र पोखराको झल्को दिने आवास निर्माण गरिरहेको छ ।

रुपन्देहीका स्थानीय र बसाइँ सरेर यहाँ बसोबास गर्न इच्छुक ग्राहक लक्षित गरिएको उनले बताए । ‘परियोजनाले डाक्टर, उद्योगी–व्यवसायी, वित्तीय क्षेत्रका कर्मचारी तथा यहाँबाट बिदेशमा बसोबास गरिएका व्यक्ति कहिलेकांही फर्केर आउँदा बसुन भनेर हाउजिङ लक्षित गरिएको छ,’ उनले भने, ‘अहिलेसम्म २७ वटा घर बुक भइसकेका छन् ।’ जिल्लाबाहिरबाट बुद्ध जन्मस्थल लुम्बिनीलाई रोजेर अवकाश जीवन बिताउन धेरै व्यक्ति आउनेमा शंका नरहेको उनले बताए ।

तराई क्षेत्रमा भैरहवाको आधुनिक सहरीकरण तीब्र रुपमा भइरहेको छ । यही अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा छ । विमानस्थलको वरपर तारे होटल निर्माण भइरहेका छन् । त्यसले गर्दा हाउजिङ परियोजना यस क्षेत्रमा ल्याउन प्रेरित गरेको उनले बताए । आफूहरू यसअघि नै व्यावसायिक प्रतिष्ठानमा जोडिएकाले विभिन्न स्थानको व्यावसायिकता र चहलपहल बुझ्न गाह्रो नहुने पोखरेलको भनाई छ । परियोजना अन्तर्गत निर्माण भइरहेका पहिलो २० वटा घर बुकिङ गर्ने ग्राहकलाई आकर्षक अफर उपलब्ध गराइएको उनले सुनाए ।

हाउजिङ निर्माण सकिएपछि भैरहवा आसपास तारे होटल सञ्चालनको योजना रहेको उनले सुनाए । अहिले १४ बिघा क्षेत्रफलमा ३०० घर निर्माण हुने र पहिलो चरणमा ६८ वटा घर चार बेडरुम र ३६ वटा घर ५ बेडरुमसहितका हुने उनले जनाए । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोमिटर पूर्वमा परियोजना अन्तर्गतका घर निर्माण भइरहेका छन् । परियोजनामा स्विमिङ पुल, साउनाबाथ सेन्टर, डिपार्टमेन्टल स्टोर, पार्किङ एरिया, सामुदायिक हल, रेस्टुरां, ब्याडमिन्टन कोर्ट, ग्रिनरी पार्कसमेत बनाइने भएको छ ।

चार बेडरुमसहितका घरलाई २ करोड र ५ बेडरुम सहतिका घरको २ करोड ३० लाख रुपैयाँ मूल्य छ । पोखरेलले प्रत्येक घरमा २–२ वटा रुख रोपी हाउजिङ कोलोनीलाई नै हरियाली युक्त बनाउन ५ सय रुख बिरुवा बृक्षारोपण गरिने जनाए । २० वटा घरको पूर्ण निर्माण सकिन लागेको छ । ३० वटाको जग निर्माणको काम सकिएको उनले जानकारी दिए । आवास परिसरको मुख्य बाटो ८ मिटर र सहायक बाटो ७ मिटरको हुनेछ । पूर्वाधार निर्माणका सबै सामाग्रीमा मूल्यदर बढ्दै गएकाले यही दररेट कायम रहिरहन नसक्ने भएकाले निकट भविष्यमा घरको मूल्य परिवर्तन गरिने उनले स्पष्ट पारे ।

काठमाडौंको तत्व कन्सल्टेन्सीले स्ट्रक्चरल डिजाइन गरिरहेको होम्सको बोधी डेभलपर्सले निर्माण ठेक्का लिएको छ । अहिले ५० घर निर्माणाधीन छन् । ती मध्ये २७ घरको बुकिङ भइसकेको छ । २ वर्षभित्र पहिलो चरण पूरा गर्ने लक्ष्य रहेको उनले बताए । आगामी दसैंपछि दोस्रो चरण अन्तर्गत घर निर्माणको काम सुरु गरिने उनले बताए । परियोजनाले दुई चरण गरी ३ सय वटा घर निर्माण गर्ने जनाएको छ ।

रुपन्देहीकै तिलोत्तमा–१६, मधवलिय चोकदेखि डेढ किलोमिटर पूर्वमा ४८ वटा घरसहितको माया रेसिडेन्सी तयार भइरहेको छ । सीई कन्स्ट्रक्सन प्रालि अन्तर्गत माया डेभलपर्सले आवास, अपार्टमेन्ट र कम्प्लेक्स निर्माण गर्नेगरी हाउजिङ परियोजना अगाडि बढाएको उक्त कन्स्ट्रक्सनका बजार व्यवस्थापक दीपेन्द्र केसीले बताए । उनका अनुसार ३ विघाहा जमिनमा पहिलो चरणमा ४८ घर निर्माण भइरहेका छन् । ती घरलाई ए, बी र सी गरी ३ वटा प्रकारमा विभाजन गरिने उनले बताए ।

विजय भण्डारी अध्यक्ष रहेको उक्त प्रालिको परियोजनामा गोपाल मानन्धर अपरेशन निर्देशक छन् । श्याम मिलन श्रेष्ठ यसका वित्तीय निर्देशक हुन् । बजार व्यवस्थापक केसीले निर्माणाधीन आवास मध्ये २९ वटा विक्री भइसकेको जानकारी दिए । ‘अब क्रमैसँग घर निर्माण अघि बढइनेछ,’ उनले भने, ‘समग्रमा २ सय भन्दा बढी घर निर्माण हुनेछन् ।’ उनका अनुसार यस आवास क्षेत्रमा १ करोड ७५ लाखदेखि ३ करोड २० लाख रुपैयाँसम्म मूल्यका घर निर्माण भइरहेका छन् ।

‘ओन योर, ओन होम’ नामक ट्याग लाइनको साथमा परियोजना अगाडि बढाइएको उनले बताए । अहिलेको अवस्थामा आवश्यक सबै सुविधा रहेको एकीकृत वस्तीमा बालबालिका खेल्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर र बसोबास गर्नेको जीवनस्तर उकास्ने सुविधा उपलब्ध हुने उनले बताए । २ हजार ६० वर्ग फुटदेखि २ हजार २ सय वर्ग फुटसम्मको निर्माण क्षेत्र रहेको आधुनिक र परम्परागत लुकको संयोजनमा साढे २ तले भवनको डिजाइन गरिएको छ । चार बीएचके हाउसमा भान्छा घर, बाथरुम, बस्ने र खाने ठाउँ, लुगा धुने कोठा, पूजा कोठा र परिवार कोठाका साथै बाल्कोनी हुने छन् ।