बजेट पास नभएपछि हठातमा लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य


भैरहवा- प्रदेश सभामा अल्पमतमा परेर बजेट पास नहुने निश्चित भएपछि हठात् लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । बिहीबार रातिबाट अधिवेशन अन्त्य भएको हो ।
प्रदेश सरकार मन्त्रिपरषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।
संविधानअनुसार असारभित्रै प्रदेश सरकारको बजेट संसदबाट पारित गरिनु पर्ने व्यवस्था छ । तर, लुम्बिनी सरकारको बजेट भने असार अन्तिममा पनि पारित भएन । हिजो बसेको बैठकमा बजेट पास नभए पनि साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
त्यसैको आधार मध्यरातमा प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत् दिएका छन् ।
यसअघि बिहीबार आर्थिक वर्ष २०७८-०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू सदन बहिस्कार गरेर प्रदेश सभाबाट बाहिरिएका थिए ।
बजेटमाथि प्रदेश सभा सदस्यहरूले राखेका प्रश्नको मुख्यमन्त्री शंकर पोखरेल र विभागीय मन्त्रीले जवाफ दिएपछि बजेट पास गर्ने समयमा विपक्षी दलका सांसदहरूले बहुमत नभएको भन्दै बजेट पास नहुने जनाएका थिए ।
त्यसलगत्तै बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरे पनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरू प्रदेश सभा बैठक बहिस्कार गरी हिँडेका थिए ।
छलफलका लागि भन्दै सभामुख पूर्ण बहादुर घर्तीले ५ बजे आधा घण्टका लागि बैठक स्थगित गरेका थिए । आधा घण्टाको समय दिए पनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति जुटेन । छलफल नै भएन, अन्ततः प्रदेशसभा सचिवालयले बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो ।
एमाले सचेतक ढकालले समय घर्किसकेको र बजेट कार्यान्वयनको समय आएकोले बजेट पास हुन दिनुपर्ने बताए पनि विपक्षी सांसदहरूले भने अल्पमतमा रहेको सरकारले बजेट पास गर्न नसक्ने अडान राखिरहेका थिए ।
विपक्षी दल, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतमा रहेको सरकारले सदन फेस गर्नुको सट्टा षड्यन्त्रको खेलमा लागेको बताए । यही बीचमा बिहीबार रातीदेखी प्रदेश सभा स्थगित गरिएको हो ।
सत्तापक्षमा ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १७, जसपा उपेन्द्र यादव पक्षका ३ जना, राष्ट्रिय जनमोर्चाका १ र एमालेबाट निर्वाचित बिमला वली गरी ४१ जना नै सांसद छन् ।
प्रदेश सभामा मत बराबर भए सभामुखले निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहेकाले उनको मत पाउँदा विपक्षी गठबन्धनको मत ४२ पुग्छ । बिहीबारको बैठकमा भने सत्तारुढ दलका सांसद अजय शाही बैठकमा उपस्थित थिएनन् ।
नवलपरासीबाट निर्वाचित सांसद शाही उपस्थित नभएपछि मुख्यमन्त्री पोखरेल थप संकटमा परेका थिए । सूर्य चिह्नबाट चुनाव लडेका हृदेयश त्रिपाठी निकट शाहीले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई सहयोग नगर्ने संकेत गरेपछि बिहीबारको बैठकमा मन्त्री र मुख्यमन्त्रीले सरल भाषामा सांसदले उठाएका प्रश्नको जवाफ दिाँदै बजेट पास गर्न आग्रह गरेका थिए । तर, विपक्षीले बजेट पास नगर्ने संकेत गरेपछि मुख्यमन्त्री थप नैतिक र कानूनी संकटमा परेका छन् ।









प्रतिकृया दिनुहोस्