October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

सत्तापक्षबाटै लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार

भैरहवा– सत्तापक्ष प्रदेश सभा सदस्यले नै लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सत्तापक्षले बैठक बहिस्कार गरेपछि सभामुख पूर्ण घर्तीले ऐतिहासिक परिघटना भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर अझैसम्म बैठक बस्न सकेको छैन ।

पाँच बजे मुख्यमन्त्री शंकर पोखरेलले संसदमा धारणा राखेपछि सत्ता पक्ष बाहिरिएका थिए । त्यसपछि आधा घण्टाका लागि बैठक स्थगित भए पनि अझै बस्न सकेको छैन ।

प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट पारित हुने सम्भावना नदेखेपछि सत्तापक्षले बैठक बहिस्कार गरेको हो । गत असार १ गते लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष ०७८–०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए । संविधान अनुसार बजेट असार भित्रै प्रदेश सभाबाट पारित गरिसक्नु पर्ने व्यवस्था छ ।

बजेट पारित हुनैपर्ने अन्तिम दिन मुख्यमन्त्री शंकर पोखरेलले बजेटबारे उठेका प्रश्नको जवाफ दिए लगत्तै मतदानको प्रक्रिया शुरु हुनु अघि संसद भवनबाट बाहिरिए । सत्तापक्षबाटै बैठक बहिस्कार भएपछि बैठक बस्नेबारे अन्यौल भएको छ ।

मुख्यमन्त्री पोखरेलसहित सत्ता पक्षका सबै मन्त्री र सदस्यहरु सभाबाट बाहिरिएपछि सरकारले संसदमा प्रस्तुत गरेको बजेट सम्बन्धमा के हुने भन्नेबारे अझै अन्यौल छ । बैठकमा छलफ सकिएर आज बिभागीय मन्त्रीहरुसहित मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि मतदानमा जाने प्रक्रिया शुरु भएको थियो ।

मुख्यमन्त्रीको जवाफ सकिए लगत्तै सभामुखसँग समय मागेर एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले छलफलका लागि समय माग गरे पनि विक्षीहरुको तर्फबाट छलफलमा बस्न अस्वीकार गर्दै प्रक्रियामा लैजान माग गरेका थिए । त्यसपछि सत्तापक्षका सबै सदस्यहरु बैठक छाडेर बाहिरिएका थिए ।

लुम्बिनी प्रदेशसभामा सत्ता पक्ष र विपक्षीको आसनमा ४१–४१ जना सदस्यहरु उपस्थित थिए । लुम्बिनी प्रदेशसभाका विपक्षीहरु बजेट प्रस्तुत र छलफलमा सहभागी भए पनि आफुहरुसंग बहुमत भएको भन्दै प्रदेशसभामा बजेट फेल बनाउने रणनीति तय गरेका छन् । निर्णायक अवस्थामा मतदान गर्न पाउने सभामुखले विपक्षमा मतदान गर्ने आंकलन गरिएको छ । सभामुख घर्ती विपक्षी माओवादी केन्द्र निकट हुन् ।