सिद्धार्थगरमा तयार हुँदैछ पर्यटकीय गेट
भैरहवा, वैशाख २८ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको सिद्धार्थनगर नगरपालिकामा निर्माणाधीन बुद्धत्व झल्कने पर्यटकीय गेट अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकाले ६ करोड ४८ लाख ९३ हजार रुपैयाँ लागतमा गेट बनाइरहेको छ । झट्ट हेर्दा बुद्धभूमि लुम्बिनीको झल्को दिने गरी पर्यटकीय गेट बनिरहेको नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।
नगरपालिकाले २०७५ मंसीरमा भैरहवाको प्राकृतिक निर्माण सेवासँग गेट निर्माणको ठेक्का सम्झौता गरेको थियो । नेपालको चिनारीसहित बुद्धत्व झल्कने गरी गेट तयार हुनेछ । सुरुमा २ करोडमा लागतमा गेटको फाउण्डेसन, पिलर उठाउने, तल्लो विम र स्याल्याव बनाउन ठेक्का सम्झौता भएको थियो । दोस्रोचरणमा ४ करोड ४८ लाख ९३ हजार रुपैयाँमा बाँकी संरचना निर्माणको भइरहेको छ ।
गेट निर्माण यही २०७८ असार २५ भित्रै सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण ढिलो हुनसक्ने नगरपालिकाका फिल्ड सुपरभाइजर चेतनारायण ज्ञवालीले बताए ।
‘योजनाका लागि आवश्यक संरचना तयार भएका छन्, अहिले पर्खाल लगाउने र फिनिसिङका काम जारी छ’, उनले भने, ‘गेटमा राखिने बुद्धमूर्ति र स्वयम्भूका आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा सबै तयार भएका छन्, काठमाडौंबाट ल्याएर राख्न मात्रै बाँकी छ ।’
अहिले गेट निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ । निषेधाज्ञाकाबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी ३१ जना कामदारले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।
यस्तो बन्ने छ गेट
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित डण्डा नदी छेउमा निर्माणाधीन उक्त गेट सुन्दर र आकर्षण हुनेछ । नेपाल–भारत सीमा नाका बेलहिया नजिक बनिरहेको गेटमा पुग्नेले बुद्धभूमिको झल्को पाउने छन् ।
गेट ५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाई तथा सडकदेखि २९ मिटर अग्लो हुनेछ । गेटलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा, बुद्ध झण्डाले सिंगारिने छ । यस्तै प्रवेशद्वारमा बौद्ध ध्वनी गुन्ज्यायमान पनि हुने छ ।
‘यसले भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकलाई बुद्धभूमि लुम्बिनी र नेपाल आयौं भन्ने सन्देश त दिन्छ नै लुम्बिनीबारे भइरहेका र हुनसक्ने भ्रम पनि चिर्ने हाम्रो विश्वास छ’, सिद्धार्थनगर वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेलले भने ।
गेटको डिजाइन पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्ति अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, जनप्रतिनिधि, परामर्शदाता, बौद्ध ज्ञाता र नगरबासीको छलफलमा तयार पारिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए ।
‘धेरै छलफल, परामर्श र अध्ययनपछि मात्रै डिजाइन तयार पारिएको हो’, नगर प्रमुख अधिकारीले भने, ‘यसले बुद्ध चिनारीसँगै नेपालको चिनारी पनि दिने छ र बुद्धको महत्व थप बढ्ने छ ।’
सिद्धार्थनगरको बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । यो नाकामा नेपालको दोस्रो ठूलो भन्सार पनि छ । यो नाका हुँदै भारतलगायत तेस्रो मुलुकबाट बर्सेनि लाखौ पर्यटक लुम्बिनीमा भ्रमणमा आउँछन् ।
‘नाकामा नेपाल र बुद्धलाई चिनाउने संरचना नहुँदा भारतीय गाइडमार्फत आउने अधिकांश पर्यटकले बुद्ध जन्मस्थल प्रवेश गरेको पत्तो समेत पाउँदैन थिए’, उपप्रमुख काफ्लेले भनिन्, ‘अब यो समस्या हट्ने छ ।’ बुद्ध जन्मस्थलसँगै नगरपालिकाको प्रचार–प्रसार गर्नु नै गेट बनाउनुको मुख्य उद्देश्य रहेको नगरपालिकाले जनाएको छ । यसले नगर क्षेत्रभित्र आन्तरिक पर्यटकसमेत बढ्ने विश्वास गरिएको छ ।
‘पर्यटक बढे यस क्षेत्रको कारोबार बढ्छ, पर्यटकको बसाई लम्बिन्छ’, अधिकारीले भने, ‘यसले नगरको आर्थिक बृद्धिदरमा टेवा पुग्छ ।’
बेलहियामा अहिले पुरानो गेट छ । उक्त गेट अत्यन्तै साँघुरो छ । सडक विस्तारसँगै उक्त गेट हटाएर सडक विभागले अर्को फराकिलो गेट बनाउने तयारी गरिरहेको छ । तर, नगरपालिकाले आफ्नै लगानीबाट नाकाभन्दा केही वर लुम्बिनी र बुद्धको पहिचान झल्कने सन्देशमूलक गेट बनाइरहेको हो । कोरोना भाइरसका कारण निर्माणमा अवरोध नभए अबको दुई महिनामा गेट तयार हुनेछ ।
लेखकको सम्वन्धमा