June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

सिमी गाउँ देवदहको शरहनवारी

Advertisement

भैरहवा– नगदे बालिका रुपमा रहेको सिमी खेतीबाट रुपन्देहीको एक गाउँका स्थानीयको आर्थिक अवस्था नै फेरिएको छ । त्यो ठाउँ सिमी खेती हुने गाउँमा परिचित छ । यहाँका स्थानीयहरुको आयआर्जन भनेको नै सिमी खेती हो । हरेक घरमा सिमी खेती हुन्छ । नकिका बजार पुर्याएर राम्रो आम्दानी गर्छन् ।

Advertisement

जिल्लाको देवदह नगरपालिकास्थित शरहनवारीगाउँ यतिबेला ‘सिमी गाउँ’को नामले परिचित बनेको छ । शरनवारी देवदह–६ स्थित पूर्व–पश्चिम राजमार्गदेखि उत्तर चुरे पहाडको काखैमा छ । यो गाउँमा करिब १ सय ६० घरधुरी छन् । यी घरधुरीको आम्दानीको मुख्य स्रोत नै सिमी खेती हो ।

स्थानीय किसान दुर्गा राना गाउँले नै सामूहिक रुपमा सिमी गर्दै आएको बताउँछिन् । दुर्गाले सिमी खेती गरेर घरपरिवार धानिरहेको बताइन् । दुर्गाका अनुसार सिमी उत्पादन गरे पनि बजारमा उचित मूल्य नपाउँदा समस्या हुने गरेको छ । ‘यहाँको उत्पादन नजिकको बजारमा जान्छ । तर, विचौलिया हाबी हुँदा हामीले पर्याप्त मुनाफा कमाउन सकेका छैनौं’, उनले भनिन्, ‘स्थानीय पालिका वा प्रदेश सरकारले आफै खरिद गर्ने व्यवस्था हुने हो भने किसानको दुःख सुःखमा परिणत हुनसक्छ ।’

सिमी खेतीबाट यहाँका स्थानीयहरुले वार्षिक ८ करोड आम्दानी गर्दै आएका छन् । यो गाउँबाट दैनिक ४ बोलेरो गाडी सिमी बुटवल बजार पुग्ने गर्छ । ब्यापारीहरु बुटवल बजारबाट शरहनबारी गाउँ पुगेर सिमी गरिद गरी ल्याउँछन् । तर, सस्तोमा खरिद गर्दा आफूहरुले त्यति नाफा कमाउन नसकेको किसानहरु बताउँछन् ।

शरहनवारी गाउँको कथा बेग्लै छ । यो गाउँ पहिला बिकट बस्ती थियो । तर, बि.सं २०६५ सालदेखि सिमीको सामूहिक खेती हुन थालेपछि यो गाउँमा धेरैको नजर पर्न थालेको छ । अहिले यहाँका स्थानीय बासिन्दाको दैनिकी नै फेरिएको छ । कुनैबेला विकट गाउँले चिनिएको यो आजकल सिमी खेतीले परिचय बदलिदिएको छ ।

स्थानीय किसान मिनबहादुर राना सिमी खेतीका कारण अहिलेसम्म राम्रै भएको बताउँछन् । मिनबहादुरले किरा लाउने समस्याका कारण कहिलेकाही भने समस्या हुने गरेको बताए । मिन बहादुरका अनुसार शरहनवारीमा हुने सिमी खेती बिषादीरहित छ ।

करिव ५० बिगाहा क्षेत्रफलमा तरकारी खेती हुँदै आएको यस गाउँबाट सिजनमा प्रत्येक दिन ३५ क्विन्टल सिमी जिल्लाको बजारहरुमा पुग्ने गरेको छ । अर्गानिक सिमी उत्पादन गर्दै आएको यस गाउँका किसानहरुले कृषक सहकारी संस्था लिमिटेड गठन गरेर सामूहिक रुपमा तरकारी खेती गर्दै आएका छन् । त्यही सहकारीकै सहयोगमा उक्त उत्पादन हुने गरेको छ ।

शरहनवारी गाउँमा सिमी खेती शुरुवात गर्ने कृषक मानबहादुर गाहा तापक्रम बढी हुँदा सिमी नहुने हुनाले बर्खामा धान रोप्ने र असोजमा धान काटिसकेपछि सिमी रोप्ने गरेको बताउँछन् । मान बहादुरका अनुसार एक चोटी लगाएको सिमी कम्तिमा १५ पटकसम्म टिप्ने गरिन्छ । उनले गाउँका एउटा किसानले कम्तिमा २० हजारदेखि ४ लाखसम्मको सिमी एक सिजनमा बेच्ने गरेको बताए । ‘बुटवल मण्डीबाट गाडी घरघरमै आएर सिमी उठाउने गर्छ,’, उनले भने, ‘तर, किसानले कहिल्यै चाहे जति मूल्य पाउँदैनन् ।’ उनले व्यापारी घरमै आएपछि धेरै दिन सिमी राख्दा कुहिने र विग्रिने डरले सस्तो दरमा भए पनि विक्री गर्ने गरेको बताए ।

सिमी खेती बाहेक यस गाउँमा पिडालु र तरुल पनि राम्रो उत्पादन हुने गरेको छ । असोज र कार्तिक महिनामा पिडालु उत्पादन हुने गर्छ भने माघ र फागुन महिनामा तरुल उत्पादन हुने गरेको छ । सिमी, पिडालु र तरुल बाहेक मौसम अनुसार अन्य बाली पनि किसानहरुले गर्दै आएका छन् । करेला, आलु, गोभी, टमाटर, अदुवा, लसुन, धनिया, प्याज खेती पनि किसानहरुले गर्दै आएका छन् ।

किसानहरुले दैनिक ३ हजार ५ सय केजी उत्पादन गरेर सिमी बजारमा पठाउने गरे पनि सरकारको नजर भने यस गाउँमा अहिलेसम्म प्रभावकारी रुपमा पर्न नसकेको देखिन्छ । किसानहरुको लागि संघीय सरकार र प्रदेश सरकारले अहिलेसम्म एउटा पनि कार्यक्रम यस गाउँमा संचालन गरेका छैनन् ।

किसानहरुले गर्ने सिमी खेतीको उत्पादन बढाउन सरकारले कुनै खालको तालिम, बजार प्रवद्र्धन कार्यक्रम, अनुदान बितरण लगायत केही पनि काम यस गाउँमा नगरेको किसानहरुको गुनासो छ । । तर स्थानीय देवदह नगरपालिकाले भने पछिल्लो समय चासो दिन थालेको छ । नगरपालिकाले गाउँमा सिमी खेती प्रवद्र्धन कार्यक्रम अघि बढाएको छ ।

देवदह नगरपालिका कृषि प्राविधिक सहायक सुस्मिता गौतम नगरपालिकाको शरहनवारी गाउँ सिमी खेतीको लागि पकेट क्षेत्रको रुपमा रहेको बताउँछिन् । सुस्मिताका अनुसार नगरपालिकाले यस गाउँमा सिंचाइ र प्राङ्गारिक मलको लागि सहयोग गर्दै आएको छ । सिमी प्रवद्र्धनको लागि नगरपालिकाले यस गाउँमा बर्षेनि कार्यक्रमहरु केन्द्रित गरेको सुस्मिता बताउँछिन् । ‘गत वर्ष मूल्य नपाउँदा किसानहरुले सोचेअनुरुप आम्दानी गर्न नसकेको देखेर नगरपालिकाले चिस्यान केन्द्रमा राख्ने गरि किसानहरुको सिमी लिएको थियो’, उनले भनिन्, ‘नगरपालिका जहिल्यै पनि किसानको साथमा छ ।’

गाउँमा उत्पादित सिमी प्रतिकेजी ५० रुपैयाँ अनुदान दिएर ६० किसानसँग १० क्विन्टल संकलन गरि नगरपालिकाले चिस्यान केन्द्रमा ल्याएर राखेको छ । अफसिजनमा सिमीले राम्रो मूल्य पाउने सम्भावनालाई मध्यनजर गर्दै परीक्षणका लागि नगरपालिकाले सिमीलाई नवलपरासीस्थित सुनवलमा रहेको चिस्यान केन्द्रमा राखेको हो । अफसिजनमा सिमी बजारमा पुर्याइनेछ र उक्त सिमीबाट हुने आम्दानी किसानहरुलाई नै दिइनेछ ।

देवदह नगरपालिका वडा नं ६ का अध्यक्ष खेमबहादुर थापा शरहनवारी गाउँमा सिमी महोत्सव गर्ने गरि आफूले योजना बनाए पनि विविध कारणले योजना पुरा हुन नसकेको बताउँछन् । खेमबहादुरले चिस्यान केन्द्रमा नगरपालिकाले लगेर राखेको सिमी करिव ३ महिना पुगेपछि बजारमा ल्याउने र अहिले भन्दा दोब्बर मूल्यमा बिक्री गर्न सकिने योजनाका साथ सिमी प्रवद्र्धन कार्यक्रम अघि बढेको बताए ।

सिमी एक प्रमुख कोसेबाली हो । नेपालको तराईदेखि उच्चपहाडी भागसम्म यसको खेती गरिन्छ । सिमीका हरिया कोसा तरकारीका रूपमा र सुकेको गेडा दाल बनाई खाने चलन छ । सिमीमा प्रशस्त प्रोटिन पाइने हुनाले ‘गरिवका लागि मासु’ पनि भन्ने गरिन्छ । प्रतिकिलो १०० ग्राम प्रोटिन, ४.३ ग्राम रेसा ३.७ प्रतिशत खनिज, १० प्रतिशत पानी पाइन्छ । आर्थिक समृद्धिका लागि तीन खम्बे नीति अन्तर्गत सहकारी एउटा महत्वपूर्ण खम्बा रहेको शरहनबारीको कार्यले पनि जनाएको छ । गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्ने सरकारी नारालाई पनि शरहनवारीको कृषक सहकारीले पुष्टि गरेको छ ।