June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

सीमा क्षेत्रका किसानलाई चोरीकै मलको भर

Advertisement

भैरहवा– यस वर्ष अघिल्ला वर्षहरुमा भन्दा केही छिटो वर्षा भयो । साउनको दोस्रो हप्तामा रोपाइँ सकिएको छ । तर, रुपन्देहीका सीमा क्षेत्रका किसानलाई भने भारतीय मलकै भर छ । विगतमा जस्तो मल अभाव छैन, यस वर्ष कृषि सामाग्री कम्नपनीको गोदाममा मल स्टक छ । किसानले भने सहजै पाएका छैनन् । जसले गर्दा सीमा क्षेत्रका किसानलाई चोर बाटो प्रयोग गरेर भए पनि भारतीय मल भित्र्याउनु पर्ने बाध्यता छ ।

Advertisement

यो सिजन धानमा मल राख्ने पहिलो टप डे«सिङ् हो, यहीबेलै किसानले मल पाएका छैनन् । रुपन्देहीका सीमा नाकामा पछिल्लो एक महिना यता किसानलाई भारतीय मल ओसार्न भ्याइनभ्याई छ । यो क्रम साउन भरी नै चल्छ । धान रोपाइँ अघि नजिकका भारतीय बजारबाट भित्री बाटो हुँदै डिएपी र पोटास भित्र्याएका किसानले अहिले धमाधम यूरिया ओसारीरहेका छन् ।

‘भारतबाट मल ल्याउनु हाम्रो बाध्यता हो, सरकारले मल दिँदैन नेपाल–भारतका सुरक्षाकर्मीको लाठी खाएर, पैसा खुवाएर भए पनि मल ल्याइरहेका छौं’, कोटहीमाई गाउँपालिकाका किसान शुभाषचन्द्र यादवले भने । उनले स्वदेशमै उपलब्ध मल एक दुई बोरा मात्रै पाइने जनाए । ‘हामीलाई चाहिले जति मन नपाएपछि भारततर्फ जानुको विकल्प छैन’, उनले भने, ‘कहिलेकाहीं तस्करले ल्याएको मल पनि महंगो तिरेर किन्नुपर्छ ।’

अहिले जिल्लाका ग्रामीण क्षेत्रका नाकाबाट साइकल, मोटरसाइकलमा मात्रै होइन्, नदीमा डुबुल्की मार्दै दैनिक सयौं बोरा भारतीय मल भित्र्याउँदै गरेको दृश्य देखिन्छ । सीमा क्षेत्रका किसानको सधैं यस्तै बाध्यता छ । यसरी दैनिक मल ओसार्ने किसान न्युन भए पनि कारोबारीले ढुवानीकर्ता प्रयोग गरेर पर्याप्त सञ्चित गरी महंगोमा बिक्री गर्दै आएका छन् । ‘चोरी बाटोबाट मल भित्र्याउँदा सेटिङ गरेका कारोबारीका भरियालाई सहज हुने गरे पनि हामी जस्ता किसानलाई भने दुबै देशका सुरक्षाकर्मीले हैरानी दिने गर्छन्’, किसान अलिम पठान भन्छन् ।

मुलुकमै सहज मल नपाउँदा महंगो तिरेर भए पनि भारतीय मल प्रयोग गरिरहेको किसानहरु बताउँछन् । कृषि प्राविधिकका अनुसार डिएपी, यूरिया र पोटास समिश्रणमा राख्दा यसले उत्पादन र उत्पादकत्व बढाउँछ । धानको उत्पादन बृद्धि गर्न डिएपी र पोटास धान रोप्नुपूर्व र यूरिया रोपेपछि एकदेखि तीन पटकसम्म प्रयोग गर्नुपर्छ । अहिले धानमा पहिलोपटक यूरिया राख्ने बेला हो । तर, स्वदेशमै सहज मल नपाउँदा किसान भारतीय मलको भरमा छन् । भैरहवामा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा अहिले करिब ६ हजार बढी मेट्रिकटन यूरिया स्कट छ । तर, समानुपातिक प्रणालीले गर्दा पहाडी जिल्लामा आवश्यक नभएर मल पठाइएको छैन भने गोदाममा रहेको मल तराईमा आवश्यक भएर पनि उपलब्ध हुन सकेको छैन् ।

‘पहाडमा कति पठाउने, तराईमा कति उपलब्ध गराउने भन्नेबारे मलमा कोटा प्रणाली छ’, कृषि सामग्री कम्पनी लि. प्रादेशिक कार्यालय, भैरहवाकी सूचना अधिकारी सुमन पन्थी भन्छिन्, ‘पहाडका लागि छुट्याएको मल अझै स्टक छ । तराईमा उपलब्ध गराउने भनेको मल सकिएको छ । तर स्टक मल तराईका किसानलाई दिन मिल्दैन ।’ उनले नियमविपरीत वितरण गर्न नसकिने भएकाले अब जहाँ आवश्यक छ, त्यहाँ उपलब्ध गराउन पाउनुपर्ने नियम गराउनु पर्नेमा जोड दिइन् ।

सिजनमै मल नपाउँदा सीमा क्षेत्रमा अवैध रुपमा भारतीय बजारबाट मल खरिद बढ्दो छ । रासायनिक मल आयात गर्नु पूर्व सरकारीस्तरबाट त्यसको गुणस्तर मापन हुन्छ । तर, अवैध बाटोबाट भित्रिने मलको कुनै निकायबाट गुणस्तर जाँच नहुने भएकाले पोषकतत्व कम भई विस्तारै उत्पादनमा कमी आउने र कालान्तरमा माटोकै उर्वराशक्ति ह्रास हुने त होइन् ? यसबारे किसान र सरकारी निकाय समयमै सचेत हुनुपर्ने कृषि विज्ञहरुको सुझाव छ ।

कृषि ज्ञानकेन्द्र, रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले कम पोषकतत्व भएको मलले उत्पादनमा नराम्रो प्रभाव पार्ने बताउँछन् । ‘भारतबाट अवैध बाटो हुँदै भित्रिने मल कस्तो छ, त्यो थाहा छैन । तर, गुणस्तर जाँच नगरिएको मल प्रयोगले उत्पादनसँगै कालान्तरमा माटोमा क्षयीकरण गर्न सक्ने सक्भावना हुन्छ ।’ उनले सकभर स्वदेमै ल्याइएको र गुणस्तर जाँच गरिएको मल प्रयोगमा जोड दिए । पन्थीले पनि भारतीय मल प्रयोग नगर्न सुझाव दिइन् ।

उनले विगतमा भन्दा यस वर्ष मल आयात राम्रो भएको जनाउँदै पर्याप्त नभए पनि जति पाइन्छ गुणस्तरयुक्त मल मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिइन् । ‘किसानले जानीनजानी अवैध बाटोबाट भित्रिएको मल प्रयोग गरिरहनुभएको छ, त्यो अलि ठीक होइन्’, उनले भनिन्, ‘हामी यदाकदा सुन्ने गर्छौं नेपालमा ल्याइएको मल भारतीय किसानले नेपाली किसानसँगबाट खरिद गरेर लैजाने गरेका छन् रे । तर, हाम्रा किसानल भारतबाट मल ल्याएर प्रयोग गर्ने गर्नुभएको छ ।’