June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

वृक्षको अकाल मृत्यु

Advertisement

बिहानैको अखबारले हेडलाइन ल्यायो
‘सहरको सय वर्षे नेताको मृत्यु भयो
एउटा युगको समाप्ति भयो’

Advertisement

शहरकै
बीचमा खडा थियो
एक होइन,
दुई होइन,
तीन सय हिउँद कटेको विशाल वृक्ष
इतिहासका अनेक अध्यायहरूको साक्षी
सडक निर्माणको निहुँमा
निर्ममतापूर्वक ढालियो त्यसलाई
तर लेखेन अखबारले
वृक्षका साथै
कतिवटा युग पनि ढले
इतिहासका कतिवटा पाना च्यातिए

उता, छेवैमा बग्ने
सद्य: विलुप्त छङ्छङ् खोलाको गीत
पक्कै सुनेका थिए होला
यसका हरिया पातहरूले
निश्चय वर्णन गर्थे होला
गाउँलाई शहर बनाउँदा
यसरी नै शहीद पारिएकाहरूका जीवन गाथा
अनि आफैले भोगेका
शहरीकरणका पीडाहरू
यस वृक्षका बाहुबली डालाहरूले पनि

अब भने सहरको बिचमा
सुनाखरी मुस्कुराउँदैनन्
माहुरी गुनगुनाउँदैनन्
चराचुरुङ्गीले गाउँदैनन् चिरबिर गीत
न त शहरवासीले पाउनेछन्
प्रदूषण परिशोधित निर्मल वायु
अनि विशुद्ध अक्सिजन
आर्द्रता भरेको शीतल छहारी
तर
पक्का पनि पाउलान्
ग्लोबल वार्मिङको भुङ्ग्रिलो वायु

भनिन्छ,
मानिसको अकाल मृत्युले
प्रेतात्मा जन्माई
मानिसलाई नै सताउँछ अरे।
यस जीवन्त रुखको निर्मम हत्यामा पनि
प्रदूषणरूपी प्रेतात्मा जन्मिएर
अवश्य सताउने छ मानिसलाई
अनि हेरौँला कुन धामीले हेर्ला जोखना
कुन वैद्यले गर्ला ओखतीमुलो! -sahityapost