आहा ! रमणीय नुवाकोटा, घुम्ने हैन त ?



नुवाकोट (पाल्पा)– उमेरले करिब ६० पुगेका सुनबहादुर कुमाल पाल्पास्थित नुवाकोट घुम्न आउने पाहुना देख्दा दङ्ग पर्छन् । १० वर्षको उमेरदेखि त्यहीँ डाँडाकाडामा खनिखस्री गरेर हुर्किँदै, जिविकोपार्जन गर्दै नुवाकोटमै जीवन बिताएका उनको हेराई र भोगाईमा पनि उतारचढाव छ ।
कुनैबेला यो डाँडामा मानिसहरुको भीड थामिनसक्नु हुन्थ्यो । पहाड बाट घ्यु बोकेर खस्यौली नुन लिन झर्थे मानिसहरु । खस्यौली झर्नु पूर्व रेकर्ड राख्ने ठाउँ थियो, नुवाकोट डाँडा । बुटवलको खस्यौली झर्नुपूर्व नुवाकोट डाँडामा भन्सारमाझै चेकजाँच गरिन्थ्यो । त्यतिबेला त्यहाँ बाक्लो बस्ती थियो । घोडा, खच्चर र पैदल यात्रा गरेर आउने मानिसहरुको चहलपहल हुन्थ्यो । सडक संजालको विस्तारसँगै सुनसान बनेको उक्त डाँडामा यतिबेला फेरि आन्तरिक तथा बाह्य पर्यटकको भीड देखिन थालेको छ । सुनबहादुर त्यतिबेलाको दिन सम्झिँदै उदासिन्छन् पनि ।
‘अहिले नुवाकोट फेरियो, विगत गुल्जार थियो । बीचमा सुनसान भयो, अहिले फेरि पूरानै अवस्थामा फर्किएको छ’, उनले भने । सुनबहादुर जस्तै नैना बस्यालले बर्षौ जंगलै–जंगलले घेरिएको सुनसान नुवाकोटमा समय गुजारिन् । ३५ वर्षदेखि नुवाकोटमै रहेकी नैनाले यहाँ सुनसानको अनुभूति बेस्सरी गरेकी छन् । उनको अनुभव पनि चाखलाग्दो छ । पहिलेको ब्यापारिक नाका नुवाकोट यतिबेला फेरिएको छ । मानिसहरु पनि आउनेजाने गर्न थालेका छन् । फरक यत्ति हो, त्यतिबेला नुनका भारी बिसाउने चौपारी र रात पर्दा बास बस्ने थलो थियो भने यत्तिबेला मनका गह्रौ भारीहरु हल्का गराउने पर्यटकीय गन्तब्य बनिरहेको छ ।
त्यतिबेला खस्यौली बजारबाट नुनको गह्रुङ्गो भारी सकिनसकि बोक्दै, चराहरुको चीरबीरसँगै पसिनाको धारा चुहाउँदै निधारमाथिको तालुमा नाम्लोको पातो सार्दै सूईय्या गर्दै ठाउँठाउँमा भारी बिसाउँदै नुवाकोटको डाँडामा पुगेर खस्यौलीतर्फ फर्केर आनन्दको श्वास फेर्नेहरुको लर्को हुन्थ्यो । तर, यतिबेला त्यही पुरानो खस्यौली फेरिएर बुटवल भएको छ । नुन पाउने साहुका गोदामहरुमा भनसुन गर्नेहरुको होलसेल बजार चलिरहेको छ । ‘मानिसहरुको कोलाहल छ, कसैलाई कसैको पर्वाह छैन, खस्यौली हुँदाको बुटवलको मानवीयता बुटवलमा बिरलै भेटिन्छ’, उनले भनिन्, ‘त्यही पनि केही पुराना मनहरुले नुवाकोटलाई जीवन्त राख्ने प्रयास गरिरहेका छन् ।’
पुराना स्थानीय अहिले दिनरात नभनि नुवाकोटको विकासमा खटिरहेका छन् । तीनै खस्यौली देखेका, नुवाकोटको भन्सार र रस्तीबस्ती भोगेका मनहरुले फेरि नुवाकोटमा रौनकता ल्याउने प्रयास गरिरहेका छन् । जसले गर्दा आजकल नुवाकोटमा चहलपहल बढेको छ । आजकल हिँड्न रुचाउने मानिसहरु फूलबारी हुँदै जंगलै–जंगलको बाटो करिव ४ घण्टा उकालो चढेर (हाइकिङ गरेर) नुवाकोट पुग्छन् । बेलबासबाट ८ किलोमिटरको पीचैपीचको सडकबाट करिब आधा घण्टामा सवारी साधनमा सहजै डाँडामा पनि पुग्न सक्छन् ।
‘हिँडेर जाने वा सवारी साधन मार्फत् जाने दुबै किसिमको पर्यटकहरुका लागि रोजाइ बन्न थालेपछि नुवाकोटको बिरासत ६० बर्षपछि फेरि फर्किन थालेको छ । नुवाकोटका रातहरु रमाइलो हुन थालेका छन् । छ दशक अगाडि टुकीको धिपधिपेमा झिलमिली भएको नुवाकोटमा यतिबेला बिजुलीको झिलिमिली देखिन्छ’, सुनबहादुर भन्छन्, ‘हिलस्टेशनको रुपमा बिकास भइरहेको नुवाकोटमा लुम्बिनी प्रदेशको सबैभन्दा ठुलो शहर बुटवल र मुकाम भैरहवाका स्थानीयहरु गर्मीमा सित्तल खोज्न र जाडोमा घाम खोज्न नुवाकोट चढ्ने गरेका छन् ।’
दैनिक सरदरमा आन्तरिक र बाह्य गरी एक सय हाराहारी यहाँ पुग्छन् । पहिला बाध्यताले पुग्ने धेरै थिए भने अहिले रहर घुम्न पुग्ने प्रशस्त भेटिन्छन् । यसले स्थानीयलाई रोजगारी सिर्जना गरेको छ । कामकाजी भएका छन् भने होटल व्यवसायी दैनिक पर्यटकको स्वागतमा तल्लीन हुन्छन् ।

पर्यटकहरुको ओइरो लाग्न थालेपछि बुटवलका स्थानीयहरुले घर जग्गा लिएर नुवाकोटमा ब्यवसाय समेत संचालन गर्न पुगेका छन् । बुटवल लक्ष्मीनगर निवासी बिष्णु ज्ञवाली क्षेत्री र उनका श्रीमान कृष्ण ज्ञवाली क्षेत्रीले नुवाकोट पुगेर होटल ब्यवसाय गर्दै आएका छन् । बिष्णु भन्छिन्, ‘नुवाकोटको पर्यटकीय सम्भवाना देखेर यस क्षेत्रमा आइ होटल संचालन गरेका हौं । पर्यटकको आगमन राम्रो छ । व्यवसाय पनि राम्रै छ ।’
नुवाकोट, नुवाकोटका सुन बहादुर र नैनाहरुले बर्षौं एकान्तमा बिताउनु परेको ठाउँमा यतिबेला दिनरात मानिसहरुको भीडभाड देखिन्छन् । नुवाकोट अहिले आन्तरिक र बाह्य पर्यटकहरुको आवगमनका कारण गुल्जार बन्दै जान थालेको छ । केही वर्षसम्म एकान्त रहेको नुवाकोट डाँडामा अहिले चहलपहल देखिन्छ । कर्णेल उजिरसिंह थापाले स्वयम् डाँडाको छेडोमा उभिएर नुवाकोट डाँडामा आउनेजानेहरुको भीडलाई एकटक हेरिरहेको जस्तो देखिन्छ । कर्णेल थापाको प्रतिमासँग तस्वीर खिचाउनेहरुको भीड पनि हरेक दिन उस्तै छ ।
अङ्ग्रेज फौजलाई पराजित गर्न सफल नुवाकोट किल्ला समेत रहेको यहाँको प्राचीन, ऐतिहासिक वीरताको गाथाको चर्चा जत्ति गरे पनि पुग्दैन । नुवाकोटमा भगवती मन्दिर, भैरव कामना मन्दिर, खड्ग मन्दिर, राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषि कालदेवल (आशुतोष) को आश्रमस्थल, ऐतिहासिक रानीकुवाको संरक्षणका लागि गुरुयोजनाको प्रस्ताव अघि सारिएको छ । केही काम सुरु भएका छन् । नुवाकोटको योजनाबद्ध विकासका लागि नुवाकोट विकास समिति नै गठन गरेर काम गर्दै आएको समितिका अध्यक्ष माधब नेपाल बताउँछन् ।
नुवाकोट विकास समितिले यसको व्यवस्थित गुरुयोजना निर्माणका लागि पहल थालेको छ । यहाँ विश्रामस्थल र घरबासको लागि भौतिक संरचना निर्माण गर्ने योजना छ । समितिका अध्यक्ष नेपालले नुवाकोटगढी नेपालको एकदमै गौरवगाथा बोकेको क्षेत्र भएको बताउँछन् । नुवाकोट बुटवलको बेल्वास बदेल पोखरीबाट करिव ८ किमीको दुरीमा छ । रुपन्देही र पाल्पाको सीमा पर्ने भएका कारण रुपन्देहीको सीमातर्फ पर्ने सडक पुरै कालोपत्रे भएको छ । ८ किमीमा करिव ८० प्रतिशत सडक कालोपत्रे छ ।
पाल्पातर्फ रहेको सडक निर्माण हुन बाँकी छ । नुवाकोट पुग्ने सडक खण्डमा धेरै स्थानबाट बुटवल शहरको सुन्दर दृश्यावलोन गर्न सकिन्छ । रातीमा बुटवल शहरको दृश्य हेर्न लायक हुन्छ । नुवाकोटगढीको डाँडाबाट बुटवलको दृश्य त अझ मनमोहक देखिन्छ । नुवाकोटको अर्को बिशेषताः त्यहाँको बातावरण हो । तल बुटवलमा ४० डिग्री तापक्रम हुँदा ८ किलोमिटर माथि डाँडामा २८–३० डिग्री मात्रै हुने गरेको छ । स्वदेशी मात्रै होइन, सीमावर्ती भारतीय सहर गोरखपुर, लखनऊ, देवरिया, कोल्हुई, नौतनवा, सुनौली, ठुटिबारीसम्मका भारतीयहरु नैनिताल र चेरापुन्जीको बातवरणीय अत्यास मेट्टाउन नुवाकोटगढी जाने गरेका छन् ।

नुवाकोटको बातावरणले त्यहाँ पुग्ने पर्यटकहरुलाई सधैसधै बसुीरहुँ जस्तो गरी लालायित बनाउने गरेको पाइन्छ । दृश्यावलोकनका लागि पनि नुवाकोट महत्वपूर्ण छ । यहाँका हरेक थुम्का, हरेक छेडा, हरेक टाकुराबाट बुटवल, भैरहवाजस्ता सहर नाङ्गा आँखाले अघाउन्जेल हेर्न पाइन्छ । वरिपरि रहेको घना जंगलको हरियालीले यहाँको सुन्दरता थपेको छ । डाँडाकाँडा, वनजंगल, नदीनालादेखि समथर फाँटको दृश्यले सबैको मन लोभ्याउने गरेको छ । कामको बोझले थकित सर्वसाधारण पुनर्ताजगी बन्न, युवायुवती आफ्नो दैनिकीलाई प्रेममय बनाउन, नयाँ–नयाँ सोच, विचार, रूचि जगाउन, मनमोहक दृश्य हेर्न पर्यटक नुवाकोट पुग्ने गरेका छन् ।
स्थानीय ब्यवसायी लोकनाथ बस्यालले नुवाकोटको भविष्य राम्रो देखेर आफूहरुले ब्यवसायको शुरुवात गरेको बताए । अहिले बुटवलबाट नुवाकोटगढी पुग्ने केवलकार निर्माण भइरहेको छ । यही आर्थिक वर्षमा केबलकार निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । पुरानो बुटवलको माथिल्लो डाँडादेखि नुवाकोटसम्मको केवलकार निर्माण करिब ४ अर्ब लगानीमा भइरहेको हो । यो केवलकार सञ्चालनमा आएपछि बुटवलबाट पर्यटकहरू पाँचदेखि ७ मिनेटमै नुवाकोट गढी पुग्ने छन् । नुवाकोटमा जानेहरुलाई न्यानो आतिथ्यता गर्न होमस्टे, होटलहरु पनि प्रशस्त खुलेका छन् ।








लेखकको सम्वन्धमा