बुटवलमा नमूना बधशाला संचालनले उपभोक्तामा खुसी



भैरहवा– लामो समयको प्रतीक्षापछि बुटवलमा सञ्चालनमा आएको नमूना पशु बधशालाले उपभोक्ता आकर्षित गर्न थालेको छ । बधशाला सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रमा उत्पादन भएका खसी, बोका खपत हुन थालेका छन् । भने, उपभोक्ताले स्वच्छ मासु रोजेर खान पाएपछि खुसी व्यक्त गरिरहेका छन् ।
‘आफूलाई चाहिएको मासु रोजेर किन्न पाइन्छ,’ बुटवल–११, की रोशनी गुरुङले भनिन्, ‘बरु एक–दुुई रुपैयाँ महंगो पर्छ, तर स्वच्छ मासु खान पाइएको छ ।’ बुटवल उपमहानगरले सहर–गाउँ जोड्न साझेदारीमा बधशाला परियोजना सञ्चालनमा ल्याएको हो । सञ्चालनमा आए लगत्तै बधशालाले बुटवलका दुई ठाउँमा आउटलेट सञ्चालनमा ल्याएको छ । जसले गर्दा सहरका बासिन्दालाई मासु पशल खोज्दै धाउनु पर्ने बाध्यता अन्त भएको छ ।
यस परियोजनाको मुख्य उद्देश्य आर्थिक रुपमा गाउँ र सहरलाई जोड्ने हो । गाउँमा उत्पादन भएका पशु खरिद गरेर सहरमा ल्याएर विक्री गर्न थालिएको छ । जिल्ला बाख्र्रापालन पनि राम्रो छ । किसानका उत्पादनले सहजै बजार पाएका छन् । यसले जिल्लाका ग्रामीण क्षेत्र र पहाडका बासिन्दालाई आर्थिक रुपमा राहत मिल्न थालेको छ । घर नजिकै खपत हुन थालेपछि पशुपालक पनि हौसिएका छन् । सार्वजनिक–निजी साझेदारी अन्तर्गत परियोजना सञ्चालनमा आएको हो । परियोजनाबाट गाउँ र सहरलाई जोडेर उत्पादन, बजारीकरण र आर्थिक विकासमा टेवा पुर्याउने विश्वास उपमहानगरले लिएको छ ।
मुलुकै नमूना पशु बधशालाई सार्वजनिक क्षेत्र, किसान, पशुपालक र उपभोक्तासित साझेदारीमा अगाडि बढाइएको हो । बुटवल–१०, धागो कारखाना नजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा अत्याधुनिक उपकरणहरु जडान गरिएको छ । बधशालासँगै सुख्खानगर र होराइजन चोकनजिकै दुईवटा मासु बिक्री कक्ष संचालन गरिएको छ ।
‘बुटवल र आसपासका जिल्लाहरुमा समेत सेवा दिन सक्ने गरी बधशाला निर्माण संचालनमा ल्याएका छौं’, उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भने, ‘यसले आमउपभोक्तालाई गुणस्तरीय मासु प्रयोगमा सहयोग गर्छ नै किसानको उत्पादनको बजारीकरण समेत टेवा पुग्छ ।’ उनले बुटवलमा सञ्चालन भएको पशु बधशालामा दैनिक १ हजार खसीबोका बध गर्नसक्ने क्षमता रहेकाले अन्य जिल्लाहरुलाई सहज रुपमा सेवा दिन सक्ने बताए ।

‘स्वस्थ मासु र स्वच्छ मासु’ उपभोगका लागि बधशालामा खसीबोकाको स्वास्थ्य परीक्षण गरी आधुनिक प्रविधिमार्फत बध गरी प्याकेजिङ गरेको मासु उपलब्ध हुने भएकाले उपभोक्ताले विशेष ध्यान दिन जरुरी रहेको उनले बताए । ‘हामीले खाने मासु कस्तो ठाउँमा कसरी काटिएको हुन्छ र त्यसको विश्वसनीयता कसरी गर्ने भन्ने कुरा उपभोक्ताले सोच्नुपर्ने हुन्छ’, उनले भने, ‘अब बुटवलमा पशु स्वास्थ्यका विज्ञले परीक्षण गरी आधुनिक प्रविधिको प्रयोग गरेर बध गरी तयार गरेको मासु उपभोग गर्नतर्फ ध्यान दिन जरुरी छ ।’
बधशाला निर्माणका लागि बुटवल उपमहानगरसित लुम्बिनी प्रदेश सरकारले सहकार्य गरेको छ । साथै हेफर इन्टरनेसनलले प्राविधिक सहयोग गरेको छ । यस बाहेक मासु व्यवसायी र पशुपालक महिला सहकारीले समेत सहकार्य गरेका छन । पशुपालक महिला किसान तथा मासु व्यवसायीको प्रत्यक्ष आर्थिक लगानी रहेकाले बधशाला दीगो रूपमा सञ्चालन हुने र त्यसका लागि आवश्यक तयारी उपमहानगरले गरेको उपमहानगरपालिकाका प्रमुख पाण्डेयले जनाए ।
उनका अनुसार परियोजनाबाट उपभोक्ताले स्वस्थकर मासु उपभोग गर्न पाइरहेका छन् । अहिले बुटवलमा मात्र रहेका यसका आउटलेटलाई बिस्तारै भैरहवा लगायत मुलुकमा अन्य सहरमा बिस्तार गरिने प्रमुख पाण्डेयले बताए । यसबाट एकातिर उचित मूल्यमा खसीबोका बिक्रीको सुनिश्चितता हुने उनको भनाई छ ।
बुटवल–१२ की सुशीला पोखरेलले बधशाला संचालन पछि स्वस्थकर मासु खान पाइरहेको जनाइन् । ‘बुटवलको सिको अन्य ठाउँमा पनि गर्न जरुरी छ’, उनले भनिन्, ‘बधशाला संचालन पछि ढुक्कले सफा र शुद्ध मासु खाइरहेका छौं ।’ पशु बधशालाको सञ्चालक संस्था मुक्तिनाथ लाइभस्टक बैंकका प्रमुख उमेशकुमार आचार्यले आधुनिक प्रविधि र उपकरणसहित दक्ष जनशक्तिले पशु बधशालामा खाद्य सुरक्षाका सबै मापदण्डहरु पूरा गरेर तयार गरिने बताए । उनले पशु बधशालाले दिने मासु र बजारमा पाउने मासुको मूल्य एउटै रहेको बताए । बधशालालाई थप व्यवस्थित गर्दै सुख्खानगर र होराइजन चोकमा बिक्री कक्ष स्थापना गरिएको र अन्यत्र स्थापना गर्ने तयारीमा रहेको उनले बताए ।
मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । ५ वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।
पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको उनले बताए । बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यवसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाइने र बध गरेको पाइएमा कारबाही गर्ने नगरको तयारी छ ।

बुटवलको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणिकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् । झन्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ । यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ ।
उपमहानगर प्रमुख पाण्डेयले बुटवललाई व्यवस्थित र आधुनिक सहरका रुपमा स्थापित गर्नका लागि बधशालाले थप मद्दत पुर्याउने बताउँदै बधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुगेको जनाए । ‘अहिले बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित भएको छ’, उनले भने, ‘यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने क्षमता राख्छ ।’
उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका मासु पसलहरु अनुगमन गर्दा लापरबाही गरेको र खसीबोकाको भनेर बाख्रीको मासु बेचेका कैयौं स्थान फेला पारेकाले बधशालाकै मासु उपभोगतर्फ उपभोक्ताले ध्यान दिनुपर्ने बताइन् । ‘म अनुगमनमा जाँदा धेरै बेथिति गरेको भेटेकी छु, नाफा कमाउन जे पनि गर्ने गरेको पाएकी छु,’ उनले भनिन्, ‘यो बेथितिले हाम्रो स्वास्थ्यमा कति असर गरेको छ भन्ने हामीलाई हेक्का छैन, यसर्थ बधशालाकै मासु उपभोग गर्न मेरो सबैलाई सुझाव छ ।’ उनले बधशालाले स्वस्थकर मासु खान पाउने उपभोक्ताको चाहना पूरा गरिरहेको जानकारी दिइन् । बधशालाले रुपन्देहीका ग्रामीण बस्तीसँगै गाउँलाई समेत जोडेको छ ।








लेखकको सम्वन्धमा