June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

आमा, त्यो आउँछ र ?

आमा, त्यो आउँछ र ? 
हो बाबु, त्यो आउँछ 
तिमी बुढो हुन्जेलसम्म आउँछ  
मैले पनि बालाई सोधेकै थिएँ 
साँच्चै बा, त्यो आउँछ र ? 
बाले भन्नु भएको थियो– 
आउँछ रे !
तर, 
अहिलेसम्म आएको छैन  
तिमी कुर्दै गर, पक्कै आउँछ 
आएन भने 
तिम्रा सन्ततिले सोध्लान्
अनि, 
मैलेजस्तै उत्तर दिनु–
हो बाबु, त्यो आउँछ 
सललऽऽऽ बगेर आउँछ । 

Advertisement

तर, कहाँ आउँछ आउँछ 
त्यही आउने आशामा
वर्ष बित्छन्, दशक बित्छ
तर, त्यो आउँदै गरेको देखिन्छ 
सायद 
कछुवाको गतिमा हिँड्दै होला 
र त 
ढिला हुँदै छ, तर पक्कै आउँछ
बाको पुस्ताले देखेन 
छोराको पुस्तामा आएन
नाति पुस्तामा पक्कै आउँला
आशा गर, 
त्यो पक्कै आउँछ ।

Advertisement

कुलो त उही बेलामा खनेकै हो 
मूल पनि फुटाएकै हो  
तर, 
मूलमै स्यालहरू देखिए
कुलो खन्दा खन्दै 
ब्वाँसाहरू पनि सल्बलाउन थाले
गाउँले त हेर्ने त हुन्, 
त्यहाँ स्याल र ब्वाँसाको 
रमिता हेर्दै दंग पर्दै 
क्या बात क्या बात भन्दै 
ताली ठटाए, 
झ्याली पनि पिटाए 
तर,
छोरा त्यो अहिलेसम्म आएन 
तर आउँछ, पक्कै आउँछ 
ताली बजाइसके !

एकपटक होइन, 
दुई तीन चारपटक होइन,
पाँचैपटक ताली पड्किएको छ 
दमाहा बजाउँदै झ्याली पनि पिटिएको छ 
दूरबिनले देखिएजस्तै टाढा देखिएको छ
त्यसैले होला, 
छिमेकी खित्का छाडेर हाँसिसके
पटकपटक ताली पिट्दै, 
खित्काउँदै स्यालको रजाइँझैँ 
परको त्यो पाखाबाट 
सुस्केरा हालिसक्यो रे,
ओरालो झरिसक्यो रे !
बागद्वार भत्काएरै 
डाँडो कोपेरै 
दुलोभित्र मुसा छिरिसक्यो रे !

के रहला वा नरहला, 
म त यसै भन्न सक्दिनँ 
तर, आउँछ
मेरो पालामा आउला वा नआउला, 
तेरा पालामा देखिएला वा नदेखिएला
ऊ बेला 
केही दिनका लागि 
भृकुटीमण्डपसम्म आइपुगेथ्यो रे !
फेरि कसले मन भड्काइदियो 
ऊ बादल मडारिएजस्तै गरी मडारियो
आउनै छाड्यो 
त्यो त 
मकर संक्रान्तिको फेरो समाएर 
सिंहदरबारभित्र गड्गडाएर आयो 
त्यसैले बाबु, आउँछ 
सपना साकार बनाउने गरी आउँछ 
तेरै पालामा आउँछ कि
नातिको पालामा आउँछ 
आउनचाहिँ पक्कै आउँछ 
नआएर सुखै छैन 
बरु, सुकेर जाला 
आउनचाहिँ पक्कै आउँछ 
मेलम्ची मुखमुख आउँछ 
पुस्तापुस्तासम्म आउँछ ।

-baahrakhari