सम्झनामा भैरहवाको ‘गल्लामण्डी’



भैरहवा- धेरै वर्ष अघिको कुरा हो । रुपन्देहीको सदरमुकाम भैरहवाको मध्य भागमा एउटा व्यापारिक केन्द्र थियो । गाउँ–गाउँमा उत्पादन भएका खाद्यान्नको व्यापार हुने उक्त ठाउँको नाउ नै गल्लामण्डी थियो । हुन त अहिले पनि उक्त ठाउँको नाम गल्लामण्डी नै छ । तर, अहिले खाद्यान्नको मात्र व्यापार हुँदैन । जिरा, धनियाँदेखि गरगहनाको व्यापार हुन्छ । आधुनिक भाँडाका सामानदेखि आकर्षक कपाल काट्ने पसल त्यहीँ खुलेका छन् । गल्लामण्डीको त्यो व्यापारको साक्षीका रुपमा पुराना व्यापारीको बसोबास त्यहीँ छ । उहिले धान, मसुरो, गहुँ, चना, अरहर लगायत खाद्यान्न विक्री गर्ने उनीहरु अहिले आधुनिक समाग्री विक्री गर्छन् ।
यहाँ गल्लाको व्यापार सुरु गर्ने व्यवसायीका अनुसार चालीस वर्ष अघिको कुरा हो । त्यसबेला भैरहवामा घरैघर थिएनन् । मैदान, खेत र छिटफुट घर थिए । आधुनिक आलिशान घर थिएनन् । गल्लामण्डीमा व्यापारिक उद्देश्यले निर्माण गरिएका घर थिए । अहिले जस्तो अटोरिक्सादेखि २० चक्के ट्रकले ढुवानीको काम गर्थेनन् । यहाँका गल्ला व्यापारी रामशंकर कान्दुका अनुसार त्यसबेला ढुवानीको प्रमुख साधन लडिया थिए । त्यसबेला तराई क्षेत्रको प्रमुख यातायातको साधन यिनै लडिया हुन्थे । अधिकांश समय मालसमान ढुवानी गरिन्थ्यो । आवश्यकता अनुसार मानिस सवार हुन्थे । बिरामीलाई अस्पताल लैजानु परे ‘एम्बुलेन्स’को काम पनि गथ्र्यो ।
कान्दु पुराना दिन स्मरण गर्छन् । उनका अनुसार त्यसबेला गाउँबाट दैनिक दुई सयसम्म तिरेपछि लडिया विभिन्न खाद्य सामाग्री बोकेर भैरहवा आउँथे । जिल्लाका विभिन्न गाउँबाट मात्र होइन्, कपिलवस्तु र नवलपरासीका किसानले उब्जाएको खाद्यान्न लडियाबाटै यहाँसम्म ओसारिन्थ्यो । रुपन्देही र आसपासका जिल्लाबाट धान, गहुँ, तोरी, आलस, दाल, मटर, चना विक्रीका लागि लडिया भरेर किसान भैरहवाको गल्लामण्डी आइपुग्थे । गल्ला व्यापारीको बेग्लै सान हुन्थ्यो । त्यसबेला अहिलेजस्तो छड प्रयोग गरेर पिलरले थामेका घर निर्माण हुन्थेनन् । बिना पिलरका घरभित्र गल्ला व्यापारी डसनामा बस्थे ।
अहिले पनि कपडाका पसलमा यसरी डसना बिच्छ्याएर बस्ने गरेको देखिन्छ । गाउँबाट किसानले खाद्यान्न ल्याएपछि डसनामा बसेका व्यापारीले नमुना हेर्थे । किसानले तराईको ब्राण्ड गम्छामा आफूले ल्याएको खाद्यान्न पोको पारेर व्यापारीलाई देखाउने चलन थियो । त्यो पोकोमा रहेको खाद्यान्न हेरे पनि खरिद गर्ने नगर्ने व्यापारीले निधो गर्थे । भैरहवाका पुराना व्यापारीका अनुसार गल्लामण्डी त्यो बेला मुलुकमै ठूलो खाद्यान्न खरिदबिक्री केन्द्र थियो । जिल्लामा खाद्यान्नको उत्पादन राम्रो हुन्थ्यो ।
त्यसबेला गाउँबाट खाद्यान्न बोकेर आएका लडियाको बिसौनी स्थल थियो । उक्त बिसौनीमा लडिया आइपुग्ने बित्तिकै व्यापारी पुग्थे । अधिकांश समय किसानले आफ्नो खाद्यान्न गम्छामा पोको पारेर व्यापारीलाई देखाउनु पथ्र्यो । पुराना व्यवसायी कान्दु त्यसबेला गम्छाले व्यापारी र किसानको इमान्दारिता तय गर्ने गरेको बताउँछन् । यहाँबाट व्यापारीले किसानसित खरिद गरेका खाद्यान्न पहाडी जिल्लामा पठाउँथे । जुन अहिलेसम्म कायम छ । पहिले किसानबाट खरिद गरेर पहाड पठाउने गरिन्थ्यो । अहिले भारतबाट आयात गरेर पठाउने गरिन्छ ।
२०३२–३३ तिर धान चामल निर्यात कम्पनी स्थापना भएपछि किसानको उत्पादन बिचौलिया मार्फत विक्रीतिरण हुन थालेको गल्लामण्डीकै स्थानीय व्यापारी तथा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । निर्यात कम्पनी स्थापना भएपछि पुराना डसनामा बसेर हुने व्यापार विस्तारै हट्दै गएको उनले बताए । ‘गल्लामण्डीमा पडाउ (मैदान) मा लाम लाग्ने लडियाबाट खरिद गरेको २ रुपैयाँ बोरा नाफा लिएर विक्री हुन्थ्यो,’ उनले भने, ‘निर्यात कम्पनी खुलेपछि सबै किसान उतै जाने र विक्री गर्न थाले ।’ त्यसपछि ग्राहक, किसान दुवैको मण्डितिरको आवतजावत पातलिएको उनले बताए ।
उनका अनुसार २०२२ सालमा बुवा प्रेमलाल तिवारीले आसामबाट आएर गल्लामण्डीमा घर बनाएका थिए । घर बनेपछि परिवारको बसाइँ यतै भयो । त्यतिबेला ओहोरदोहोरका लागि घरमा डल्लफ (गाडा) थियो । ‘डल्लवमा यात्रा गर्दा गाउँले परिवेश र गल्लाको व्यापार देखे,’ उनले भने, ‘त्यसबेला बंगलादेशसम्म यहाँको चामल विक्री हुन्थ्यो ।’ टाढाका गाउँबाट २–३ दिन लगाएर लडिया भैरहवासम्म आइपुग्ने गरेको उनले बताए ।

‘व्यापारीले उत्पादन किन्थे,’ उनले भने, ‘पैशा बुझेर किसान फर्किन्थे ।’ निर्यात कम्पनी आउने बित्तिकै माहोल परिवर्तन भएको उनले बताए । तौलिहवा, परासी, मर्चवार, लुम्बिनीका किसानले गोरु र आफूहरुका लागि खाने, पकाउने, ओछ्याउने सामग्री लिएरै आउने गरेको उनले बताए । विकासका क्रमसँगै व्यापारशैली आधुनिक बने पनि गल्लामण्डीको पहिचान जोगाउन सकेको भए अहिले पनि व्यापारिक केन्द्रका रुपमा रहने उनको भनाई छ ।
उनका अनुसार अहिले गल्लामण्डीमा किसानका उत्पादन नभई भारतीय बजारको ८० प्रतिशत गल्ला विक्री वितरण भइरहेको छ । नेपाली किसानको उत्पादनले बजार नपाउँदा र उत्पादन गर्ने किसानकै संख्या घट्दै जाँदा निर्यात गर्ने मण्डीमा आयातको लर्को देख्न सकिने उनले बताए । २० वर्षयता भएको विकास आफूलाई राम्रो लागेको गल्लामण्डीका हार्डवेयर व्यावसायी सन्तोष शुक्लाले बताए । लडियाको युग सकिए पनि मण्डीमा खाद्यान्नको व्यापार उस्तै रहेको उनको भनाई छ । ‘अहिले नेपालको उत्पादनभन्दा भारतीय उत्पादनको बिक्रीमा जोडबल रहेको छ,’ उनले भने, ‘यहाँ किसान घटे, उत्पादन घट्यो, भारतीय बजारले प्रोत्साहन पायो, नेपालको सरकारले केही गर्न सकेन ।’








लेखकको सम्वन्धमा