November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ट्रान्जिट उडानले दिन सकेन खुशी

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ट्रान्जिट उडान सुरु गरेको छ । जेठ ३० देखि हरेक मंगलबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा आएर काठमाडौं जाने गरी ट्राजिट उडान सुरु गरेको हो । लामो समय अन्तर्राष्ट्रिय उडान बिहीन भएको विमानस्थलमा ट्रान्जिट उडानले केही आशा त पलाएको छ तर उत्साह भने छैन ।

Advertisement

लामो समय विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गरिरहेका यहाँका निजी क्षेत्र नेपाल एयरलाइन्सको ट्रान्जिट उडानप्रति खुशी छैनन् । ‘एउटा पनि उडान नहुन भन्दा हप्ता एउटा ट्रान्जिट उडान छ भन्ने मात्रै भयो, यसबाट न निजी क्षेत्रलाई फाइदा हुन्छ न त राज्यलाई नै’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने, ‘खाली हामीलाई रनभुल्ल पार्नका लागि यसो गरिएको हो भन्ने ठम्याई हाम्रो छ ।’

Advertisement

हरेक मंगलबार हुने उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालक दलका सदस्य पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउँदैन भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जानेछ । ‘यस्तो नियमले के को नेपाल एयरलाइन्सले व्यवसायिक उडान सुरु गर्यो भन्नु, खाली जनतालाई ढाटछल मात्रै हो भन्ने मेरो बुझाई हो’, श्रेष्ठले भने, ‘यदि सरकारले यो विमानस्थल संचालन गर्न चाहेकै हो भने दैनिक एउटा उडान गर्नै पर्छ, अन्य विदेशी एयरलाइन्स पनि भित्र्याउन सक्नुपर्छ ।’

विमानस्थल सञ्चालनमा आएको एक वर्ष एक महिनापछि नेपाल एयरलाइन्सले ट्रान्जिट उडान सुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७९ जेठ २ गते उद्घाटन गरेपछि विमानस्थल सञ्चालनमा आएको थियो । यसअघि, विमानस्थलबाट कुवेतको जजिरा एयर र नेपालको हिमालयन एयरलाइन्सले उडान सुरु गरेका थिए । तर, अहिले ती दुवै एयरलाइन्स कम्पनीले यहाँबाट उडान बन्द गरेका छन् । जसले गर्दा विमानस्थल अन्तर्राष्ट्रिय उडानबिहीन थियो ।

निजी क्षेत्रले नेपाल एयरलाइन्सबाट दैनिक उडान गर्न माग गर्दै धर्ना दिने, ज्ञापन पत्र बुझाउने कार्य गर्दै आएका थिए । तर नेपाल एयरलाइन्सले ट्रान्जिट उडान मात्रै सुरु गरेपछि उनीहरु निरास छन् । ‘हाम्रो माग विमानस्थल पूर्ण क्षमतामा चलोस् भने हो । यदि त्यो नभए राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नियमित उडान गरोस् भन्ने थियो । तर ट्राज्टिन मात्रै गराइयो, त्यो पनि अनेकौं नियम राखेर’, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘तत्काल सरकारले भैरवा–दिल्ली, भैरहवा, श्रीलंका, म्यानमार, थाइल्याण्ड, चीन लगायतका देशमा उडान सुरु गर्नुपर्छ ।’

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्न लागि परेको जनाए । उनले यति धेरै नियम राखेर के को व्यवसायिक उडान भन्ने प्रश्नमा भने, ‘अहिलेलाई यही भए पनि सुरु भएको छ । केही विदेशी एयरलाइन्सले पनि चासो देखाइरहेका छन् । केही समयपछि नेपाल एयरलाइन्सले पनि अन्य ठाउँमा उडान भर्ने हाम्रो जानकारी छ । त्यसैले आत्तिनहालौं, विमानस्थलको भविष्य राम्रो छ ।’

ट्रान्जिट उडान गर्दा पनि निकै तामझाम गरियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, यस क्षेत्रका सांसद दीपक बोहरा, मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयलाइन्सका अध्यक्षदेखि उच्च तहका अधिकारी ट्रान्जिट उडानको हर्ष बढाई गर्न भैरहवा आए । ठूलाठूला गफ दिएर फर्किए । आउजाउ, पाँचतारे होटलको बास र कक्टेल पार्टीमा करोड हाराहारी खर्च गरे । तर, विमानस्थल पूर्ण क्षमतामा संचालनमा आउने त टाढाको कुरा नियमित उडान समेत छैनन् ।

अहिले ट्रान्जिट उडानका लागि पनि अत्यन्तै खर्चेर तामझाम गरिएको भन्दै मन्त्रीदेखि उच्च पदस्थको आलोचना भइरहेको छ । सिंगो लुम्बिनीका निजी क्षेत्र र स्थानीय तामझाप्रति बेखुस छन् । उच्च पदस्थको आलोचना गरिरहेका छन् । नेपाल वायुसेवाले ट्रान्जिट उडान सुरु गरेपछि मलेशियामा रोजगारी गरेर घर फर्कने पश्चिम नेपालका नेपालीहरु घरछेउको विमानस्थलमा ओर्लन पाएका छन् । भाडादर, घर नजिक र सहज यात्राले गर्दा उनीहरु खुशी त छन् तर नियमित उडान नहुँदा यो सेतो हात्ती सरह भएको छ ।

नेपाल वायु सेवा निगमअनुसार अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया– काठमाडौं एकतर्फी भाडादर ५६ हजार रुपैयाँ तोकिएको छ । तर विमानस्थलको प्रवद्र्धन गर्न भन्दै तत्कालका लागि मलेसिया–भैरहवा हवाई भाडादर ११ हजार रुपैयाँ मात्रै कायम गरिएको छ । मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी छ । जजिरा र हिमालयन एयरबाहेक अहिलेसम्म ४० बढी बिदेशी एयरलाइन्स कम्पनीले गौतमबुद्धमा चार्टर्ड उडान गरेका छन् । यहाँका स्थानीय र पर्यटन व्यवसायीले जजिरा र हिमालयन एयरलाइन्सले जस्तै केही समय उडान गरेर रोक्ने नभई नियमित र दैनिक उडान गर्न सरकारसँग माग गरेका छन् ।