November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, रूपन्देहीका सांसद रमिते

भैरहवा– मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परिकल्पना आफूले गरेको, योजना ल्याउन पहल, बजेट छुट्याउन भूमिका खेलेको र निर्माण सम्पन्न गर्न योगदान दिएको भन्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, राप्रपा बरिष्ठ नेता दीपक बोहरा, एमाले सचिव छविलाल विश्वकर्मा, लोसपा नेता शर्वेन्द्रनाथ शुक्लाले खुबै प्रचार–प्रचार गरे । मतदाता प्रभावित पार्न प्रचार गरेअनुसार उनीहरुले निर्वाचन पनि जिते । एमाले उपाध्यक्ष पौडेल अहिले उपप्रधान तथा अर्थमन्त्री छन् । चुनावमा विमानस्थललाई मुख्य एजेण्डा बनाउने नेताहरुमा काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व कृषि मन्त्री घनश्याम भुसाल पनि अग्रस्थानमा थिए ।

Advertisement

रुपन्देही क्षेत्र नम्बर पाँचबाट निर्वाचित एमाले सांसद बासुदेव घिमिरेले पनि एमाले सरकारकै कारण विमानस्थल बनेको भन्दै प्रचार–प्रसार गरेका थिए । चुनावमा नेताहरुले विमानस्थललाई केन्द्रमा राखेर प्रचार मात्रै गरेका थिएनन्, जिते पछि विमानस्थललाई फुलफेजमा संचालन गर्ने बाचा समेत गरेका थिए । कतिले विमानस्थल बनाउन योगदान दिएको भन्दै विमानस्थल अगाडि गएर फोटा र भिडियो खिचेर प्रचार–प्रसार गरे । यसमा अग्रस्थानमा थिए, अर्थमन्त्री पौडेल, राप्रपाका नेता बोहरा र काँग्रेस नेता तथा तत्कालीन गृहमन्त्री खाँण । तर, विडम्बना अहिले विनास्थल फुलफेजमा संचालन हुनु त के, हुँदै आएका अन्तर्राष्ट्रिय उडान पनि रोकिएका छन् । यसमा रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदले कुनै पहल गरेको देखिँदैन । प्रदेश सरकार मुख्यमन्त्री लीला गिरीले पनि विमानस्थलप्रति ध्यान दिएका छैनन् ।

Advertisement

संसदमा आवाज समेत नउठाएका नेताहरुले निर्वाचनमा जनतालाई छलछाम गर्न विमनस्थललाई केन्द्रमा राखेर प्रचार–प्रसार गरेको भैरहवाका स्थानीयको आरोप छ । गत जेठ दुई गते विमानस्थल उद्घाटन भएर संचालनमा आएको थियो । उसै दिनबाट कुवेतको जजिरा एयरलाइन्सले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । पछिल्लो समय मौसमको कारण देखाउँदै जजिराले भैरहवाबाट हुने सबै उडान रोकेको छ । उसले गत २१ डिसेम्बरदेखि आफ्नो उडान रोकेको हो । गत कार्तिक १७ देखि चार्टर्ड उडान सुरु गरेको हिमालय एयरलाइन्सले पनि अहिले अफ्नो उडान रोकेको छ । उसले १६ डिसेम्बरदेखि उडान रोकेको हो ।

४३ अर्ब खर्चिएर बनाइएको विमानस्थल अहिले विजनेशबिहनी छ । कर्मचारी फुर्सदिला हुँदा घाम तापेर बसेका छन् । खर्च धान्नै सकस छ । यसले राज्यलाई ठूलो व्ययभार बढाउँदै लगेको छ । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट अर्बौं लगानी भएको छ । कनेक्टिभिटी विस्तार गरेर फुलफेजमा विमानस्थल संचालनको माग गरिरहेका व्यवसायी भएका उडान पनि रोकिँदा चिन्तित छन् । तर, चुनावमा विमानस्थललाई एजेण्डा बनाएर निर्वाचित सांसद भने रमिते जस्तै छन् । उनीहरुले विमानस्थल संचालनका लागि पहल त टाढाको कुरा यसबारे एक शब्द ओकलेको सुनिँदैन । सांसदहरुले निर्वाचन जितेपछि विमानस्थल संचालनका लागि कुनै पहल नगरेको दुखेसो पर्यटन व्यवसायीको छ ।

‘विमानस्थललाई लक्षित गरेर लगानी गरेका व्यवसायी पुर्पुरोमा हात लगाएर बसेका छन्, विडम्बना हाम्रा सांसदलाई सरकार बनाउने र मन्त्री बन्ने खेलमा सहभागी हुन मात्रै ठिक्क छ’, सिद्धार्थ होटल संघका बरिष्ठ उपाध्यक्ष एवं पर्यटन व्यवसायी किशोर जोशीले भने, ‘निर्वाचनमा एजेण्डा बन्यो, नेताले जितेर गए, अहिले सेलायो । हामी व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौं ।’ विमानस्थललाई लक्षित गरेर पर्यटन क्षेत्रमा मात्रै २०–३० अर्बको लगानी भएको व्यवसायीको दावी छ । यस्तै, विमानस्थल लक्षित साना तथा घरेलु उद्योग, होटल तथा रेष्टुरेन्ट, समाज सेन्टर, कृषिउपज धेरै संचालनमा आएका छन् । कयौं धमाधम निर्माण भइरहेका छन् । अहिले विमानस्थल ठप्प हुँदा लगानी गरेरका व्यवसायीलाई ‘आकाशको फल, आँखातरि मर’ भन्ने भएको छ ।

‘बैंकको ब्याजले थिचोमिचो भएका व्यवसायी विमानस्थल पूर्ण क्षमतामा चले व्यवसाय केही उकासिन्छ की भन्ने आशमा थिए’, सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अहिले विमानस्थल ठप्प भएको छ, संचालनका लागि निजी क्षेत्रले गरेको पहलमा सरकारले साथ दिएका छैन । यस्तै अवस्था रह्यो भने व्यवसायी पलायन हुने अवस्था आउँछ ।’ विमानस्थललाई मुख्य एजेण्डा बनाएर निर्वाचित भएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल मुलुकको अर्थमन्त्री बनेपछि निजी क्षेत्रले विमानस्थल संचालनमा आउने आशा गरेको थियो । तर, उनले पनि विमानस्थल संचालन गर्न पहल नगरेको गुनासो व्यवसायीको छ ।

चुनावमा विमानस्थलको योजना मैले ल्याएको हुँ भनेर खुबै प्रचार गरेका क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा बरिष्ठ नेता बोहराले निर्वाचन जितेर काठमाडौं गएपछि विमानस्थलबारे कुनै चासो दिएका छैनन् । क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद छविलाल विश्वकर्मा, २ बाट निर्वाचति विष्णुप्रसाद पौडेल, ४ बाट निर्वाचित शुक्ला, ५ बाट निर्वाचित घिमिरे र १० वटै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यले पनि विमानस्थलबारे चासो देखाएको पाइँदैन । व्यवसायीले जजिरा र हिमालयले उडान स्थगित गरे पनि नेपाल एयरलाइन्स मार्फत् भए पनि विमानस्थललाई चलायमान गराउनु पर्ने बताउँछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले मौसमका कारण जजिराले तत्काल उडान स्थगित गरे पनि अब केही समयमा पुनः सुरु गर्ने दावी गर्छन् ।

‘मौसम खराब हुँदा भिजिविलिटी नपुगे पछि केही समयका लागि भनेर जजिराले उडान–अवतरण स्थगित गरेको हो’, उनले भने, समन्वय गरिरहेका छौं । केही समयमा फेरि उडान सुरु गर्छ ।’ उनले विमानस्थलको भविष्य निकै राम्रो भएकाले आत्तिहाल्नु पर्ने अवस्था नआएको बताए । ‘जजिराले पहिला उडान गर्दा यात्रुहरु राम्रो पाएको थियो’, उनले भने, ‘यसले के देखाउँछ भने यहाँबाट विदेश उड्ने र आउने यात्रुको अभाव हुँदैन ।’ विमानस्थल बनाउनुको मुख्य उद्देश्य बौद्धिष्ट मुलुकहरुमा कनेक्टिभिटी बढाउने र बौद्ध मार्गीहरुलाई लुम्बिनी ल्याउने हो । तर, विमानस्थल संचालनमा आएको १० महिनासम्म बौद्धिष्ट मुलुकहरुमा उडान गर्ने कुनै तयारी गरिएको छैन ।

विमानस्थल संचालनमा समस्यै समस्या छन् । कुनै पनि समय भिजिविलिटी (आँखाले देख्न सक्ने दूरी) नपुग्दा जहाज उडान–अवतरण प्रभावित नहोस् भनेर विमानस्थलमा इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम –आईएलएस) अथार्त् थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान–अवतरण गर्न सकिने उपकरण जडान गरिएको छ । तर, उक्त आइएलएस संचालनमा भारतको सहमति नल्याउँदा अहिले उडान प्रभावित भएका हुन् । भारतले अझै सिधा एयर रुट दिएको छैन । भारतीय नागरिकले विमानस्थल प्रयोग गरेर बाह्य मुलुकमा जानका लागि नो–अब्जेक्सन लेटर दिने व्यवस्था गरिएको छैन । विमानस्थलको सुविधा बृद्धि हुन सकेको छैन । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक सेवाहरु भिसा सेन्टर, बीमा, स्वास्थ्य परीक्षण संस्था, अभिमुखीकरण तालिम प्रदायक संस्था, म्यानपावर कम्पनी लगायतका समस्या छन् ।

‘अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई आकर्षित गर्न के–के गर्ने भन्ने योजना पनि भएनन्, यसमा सरकारले कुनै पहल नगरेको देखियो’, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, ‘जसले गर्दा विमानस्थल फुलफेजमा संचालनमा हुनेमै शंका छ ।’ विमानस्थलमा एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीले यसको भविष्यबारे अनेक लख काट्न थालेका छन् । धेरैलाई चिन्ता लगानी डुब्ने हो की भन्ने छ । ‘हामीले सुरुदेखि विमानस्थलबाट कनेक्टिभिटी बढाऔं । धेरै एयरलाइन्सहरु ल्याऔं भनिरहेका थियो । त्यो हुन सकेको थिएन । तर, एकदुईवटा अन्तर्राष्ट्रिय उडान हुँदा चहलपहल बढेको थियो, थोरधेर होटल तथा अन्य व्यवसाय चलेका थिए’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले भने, ‘अहिले त संचालनमा आएका उडान पनि रोकिएको छ । सरकारले यसमा ध्यान दिएन की भन्ने हाम्रो चिन्ता हो ।’

उनले कम्तिमा यस क्षेत्रबाट जितेका सांसदले संसदमा आवाज उठाएर पहलकदमी गरे पनि केही हुन्छ की भन्ने आशा पलाउने बताए । ‘विमानस्थल ठप्प हुँदा पनि कसैको चिन्ता नदेखिनु दुःखद् हो’, उनले भने, ‘निर्वाचनमा सबै नेताले ठूल्ठुला गफ गरे, अहिले विर्सिए ।’ निर्वाचनमा विमानस्थललाई मुख्य एजेण्डा बनाएका नेताहरुले चुइक्क समेत नबोल्दा रुपन्देहीबासी नै चिन्तित छन् । विमानस्थल उद्घाटनयता जजिरा एयरलाइन्सले एक सय ५४ वटा उडान र अवतरण गरेको थियो । यसबाट ३१ हजार ६ सय यात्रुले सेवा पाएका थिए । बीचमा केही समय दैनिक उडान पनि गरेको थियो । पछि फेरि सातामा तीन दिन उडान भर्दै आएको थियो । जजिराले आफ्नो उडान अहिले काठमाडौं केन्द्रित गरेको छ ।