November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

रूपन्देही ‘स्वाद’को सहर

भैरहवा– चिसो मौसममा हरेक घर, थरिथरी परिकार पाक्छन् । फुर्सद नहुनेको रोजाई रेष्टुरेन्ट हुन् । रुपन्देही रेष्टुरेन्टको सहर बन्दै छ । हरेक रेष्टुरेन्टमा एउटै परिकारले ग्राहक आकर्षित गर्न सम्भव छैन । त्यसैले प्रत्येक रेष्टुरेन्टले फरक स्वाद पस्किरहेका छन् । अहिले जिल्ला रेष्टुरेन्टमा नयाँसँगै परम्परागत खाना लोकप्रिय बनिरहेका छन् । अहिले जिल्लाका साना ठूला बजार क्षेत्रमा विभिन्न स्वाद र प्रकारका रेष्टुराँ देखिन्छन् ।

Advertisement

रेष्टुरेन्टसँगैं स्वाद पारखीको संख्या ह्वात्तै बढेको छ । मुलुक र मुलुक बाहिर आउजाउ हब बनिरहेको जिल्लामा चिया, खाजा र खानाका पारखी लोभिने गरेका छन् । यहाँका रेष्टुराँमा सधैं भीड देखिन्छ । बुटवल–८, स्थित सन्ध्या सेकुवा कर्नरमा अपरान्हपछि अचाक्ली भीड लाग्छ । ५० वर्षीय विष्णुप्रसाद न्यौपाने भट्टीमा सेकुवा पोल्न व्यस्त हुन्छन् । श्रीमतीले भान्छाका अन्य काम सम्हाल्छिन् । १४ वर्षदेखि दम्पतीले सेकुवा कर्नर चलाइरहेका छन् ।

Advertisement

विष्णुका अनुसार उनले नेपाली सेनामा भर्ति भएर ३६ साता तालिम पूरा गरेपछि जागीर छाडेका थिए । त्यसपछि आफ्नै मर्जीले जीवनयापन गर्न यो व्यवसाय थालेको उनले बताए । ‘काठमाडौंमा दुइ वर्ष तन्दुरी चिकन बनाएर बेचें,’ उनले भने, ‘अटो, गल्ला, गाडी मार्केटिङ क्षेत्रको अनुभव बटुलेपछि होटल चलाउने सोचले सेकुवा कर्नर खोलें ।’ सुरुमा सेकुवा बनाउन सिपालु कुक राखेर व्यापार थालेका थिए । ‘कुक परिवर्तन गरिरहनुपर्ने झनझट भएपछि बुढाबुढीले पकाउन सिकेर रेष्टुरां अगाडि बढायौं ।’

रेष्टुराँमा सेकुवा बाहेक हांसको छोइला, मटन भुटुवा, मःम पाइन्छन् । यहाँका परिकारमा घरेलु बाहेक बजारीया मसला प्रयोग नगरिने न्यौपानेले बताए । ‘लसुन अदुवाको पेष्ट, जिरा पिसेको, तोरीको तेल हरेक परिकारमा प्रयोग हुन्छ,’ उनले भने, ‘बांकी त पकाउने प्रक्रिया हो, स्वाद रुचाएरै ग्राहक आइरहेका छन् ।’ सेकुवाका लागि तोरीको कांचो तेल, जिरा धनीयाको पेष्ट, रातो खुर्सानीको पेष्ट, नुन, बेसार र अदुवा लसुनको पेष्ट प्रयोग गरिने उनले जनाए । बुटवल र भैरहवाका ठूला होटलमा बास बस्न आएका पाहुना सेकुवा चाख्न आउने गरेको उनले बताए ।

‘सेकुवा खान काठमाडौं, पोखरा, सुर्खेत लगायत ठाउँबाट ग्राहक आउँछन्,’ विष्णुले भने, ‘भारतीय ग्राहक समेत आइरहेका छन् ।’ एकपटक सेकुवा खाने ग्राहकले दोहोरिएर आउने गरेको उनले बताए । ‘तिनैले प्रचार गरेर नयां ग्राहक बनाइदिन्छन,’ उनले भने, ‘सेकुवा व्यवसायबाट सन्तुष्ट छु ।’ आफूले पकाउने सेकुवाको स्वादले ख्याती कमाएकाले आफूले सकुन्जेल यही व्यवसायलाई अगाडि बढाउने उनले बताए । श्रीमती र तीन छोराछोरी सांझसम्म होटलमा खटिएर काम गर्छन् । ‘म कहाँ बाहिरी कामदार छैनन्,’ उनले भने, ‘परिवार मिलेरै अहिलेसम्म चलाएका छौं ।’

सिद्धार्थनगरमा रहेको तन्दुरी जाइका रेष्टुराँ तथा क्याफे सञ्चालनमा आएको ७ महिना भयो । उक्त क्याफेमा इरानी चिया पिउनेको लर्को लाग्न थालेको छ । क्याफेमा कार्यरत सेफ रामभेद प्रसादले इरानबाट मसला ल्याएर चिया पकाउने गरेको बताए । ‘यसको स्वाद सामान्य चियाभन्दा बेग्लै हुन्छ,’ उनले भने, ‘मसला फ्लेवर आउने भएकाले ग्राहकले रुचाएका छन् ।’ क्याफे नयाँ भएपनि चिया पारखी नियमित आउने स्थान बनेको उनले बताए । उक्त चिया प्रति कप ५० रुपैयाँ पर्छ । रुपन्देहीमा विगत ७ वर्षदेखि सेवा प्रदान गरिरहेको होटल पौवा भिन्न परिकारका स्वादले मुलुकभरि चिनिएको छ ।

मुलुकभर ११ स्थानमा आवाससहित रेष्टुरेन्ट सञ्चालन गरिरहको पौवाका सबै शाखामा खानाका विशेष परिकार उपलब्ध रहेको होटलका कर्पोरेट सेफ देव न्यौपानेले बताए । उनका अनुसार पौवाको मेनुमा अहिले आलु पौवा, चिकन पौवा, अफ्गानी चिकन, खुदो–भकिम्लोको सर्वत, मही र मकैको खिर नमुना परिकारका रुपमा उपलब्ध छन् । ‘घरेलु मसला प्रयोग गछौं,’ न्यौपानेले भने, ‘मासुका परिकार, गाउँले पेय पदार्थ र खिरले ग्राहक तानिरहेका छन् ।’ पौवामा ग्राहकले रुचाउने परिकार मध्ये अफगानी चिकन रहेको उनले बताए ।

उनका अनुसार अफ्गानी चिकन बनाउन १ किलोको कुखुरा सिंगै चाहिन्छ । त्यसलाई तयार गरेर काजु, लसुन–अदुवा को पेष्ट, नेपाली मसला र नुन मोलेर १ घण्टा भिजाइन्छ । त्यसपछि तन्दुरमा पोलेर अफ्गानी चिकन तयार गरिन्छ । ‘अफगानी चिकन खान भारतीय आउने गरेका छन्,’ उनले भने, ‘अहिले त नेपाली ग्राहकले पहिलो नम्बरमा यही अर्डर गर्छन् ।’ पौवामा आउने ग्राहकलाई मही, भकिम्लो र खुदो पानीले स्वागत गरिन्छ । ‘खुदो तथा भकिम्लो पानीले नेपाली पन दिने भएकाले ‘वेलकम ड्रिङक’का रुपमा पाहुनालाई दिने गरेका छौं,’ न्यौपानेले भने । उनका अनुसार भर्खरै मेनुमा समावेश गरिएको मकैको खिरको अहिले चर्चा भइरहेको छ । कर्पोरेट सेफ न्यौपानेले दुधे मकैलाई सिलौटा वा मिक्स्चरमा पिसेर दुधमा पकाएर खिर पकाउने गरिएको बताए ।

‘पकाइसकेपछि इच्छाअनुसार काजु किस्मिस र चिनी हालेर परिकार तयार गरिन्छ,’ उनले भने, ‘डेजर्टको रुपमा खरि चखाउने गरेका छौं ।’ इटालियन र कन्टिनेन्टलका साथै नेपाली खाजाका लागि प्रसिद्ध बुटवलको रिफ्रेस क्याफेले दुइ वर्षयता फरक स्वादले ग्राहकको मन जितिरहेको छ । लामो समय साइप्रसमा बसेर होटल व्यवस्थापन अध्ययन पूरा गरेका अमृत गुरुङले कोरोनाकालमा ‘फ्युजन खाजा’सेट बनाएर ग्राहकलाई फरक स्वाद प्रदान गरिरहेको बताए । सबै परिकारको संगमका रुपमा प्ल्याटर सेट बनाएका छन् । त्यसमा मःम, चिकन ग्रेभी, चिकन फ्राई, सोथे आलु, ओनियन (प्याज) रिङ, सलाद, ३ प्रकारका अचार, ससेज, अण्डा र स्पागेथी –विदेशी चाउचाउ) हुन्छ । प्रति प्लेट ७ सय ९५ रुपैयाँ पर्ने प्ल्याटर पारिवारिक जमघटका बेला ४ जनालाई सजिलै खान पुग्ने गरेको उनले जनाए ।

‘यो सेटमा उपलब्ध ओनियन रिङ अन्यत्र नपाइने परिकार हो,’ उनले भने । रिफ्रेस क्याफेमा उपलब्ध हरेक परिकारमा प्रयोग हुने सस आइटम आफैले बनाउने भएकाले अन्यत्रभन्दा फरक स्वाद हुने बताए । ‘ब्लग, टिकटक, विदेशीका सामाजिक संजालमा प्ल्याटरका तस्बिर आउन थालेपछि चर्चामा रहेको छ,’ उनले भने, ‘सैयौ नेपाली र विदेशी पाहुनाले प्ल्याटर खाने गरेका छन् ।’ क्याफेबारे सोधखोज गरेर प्ल्याटर खान आउने गरेको उनले बताए । उनका अनुसार अहिले धरान काठमाडौं, सुर्खेत आदि स्थानका मानिस त्यती चाख्न क्याफेमा आइरहेका छन् ।

रुपन्देहीमा परम्परा झल्काउने, विभिन्न समुदाय र जातजातीको पहिचान समेटिएका परिकार प्रिय छन् । पहिलोपटक चाख्ने होस् या पहिल्यै परिचित व्यक्तिले रुचाउने गरेका छन् । यसको उदाहरण हो बुटवलस्थित मगर्स किचन । उक्त रेष्टुरेन्टमा कोदोको रोटी, ढिंडो, फाफरको रोटी, आटो जस्ता नेपाली खाना पाइन्छन् । सन्जय काउचा मगरले सञ्चालन गरेको किचनले मगर संस्कृति झल्काउने प्रयास गर्दै आएको छ । रैथाने र लोप हुन लागेका पकवान खुवाएर यसले लुम्बिनी प्रदेश सरकारबाट सम्मान पाइसकेको छ । गाउँबाट कोदो ल्याएर घ्युमा रोटी पकाउने गरिएको सञ्चालक काउचाले बताए । मगर्स किचनमा सिस्नोको मःम स्पेशल डिसका रुपमा राखिएको छ । मःम पकाउन चाहीने किमा मसला बाहेक ताजा सिस्नो केलाएर उमालेपछि बनाइएको पेष्टमा पिठो राखेर मुछ्ने गरिएको काउचाले बताए ।

‘उक्त पेष्टमा किमा राखेर म ः म पकाउने गछौं,’ उनले भने । रुपन्देही माछा उत्पादन हब हो । जिल्लाको सियारी गाउँपालिका माछा पकेट क्षेत्र हो । त्यही रहेको फिस भिलेज रिर्सोटमा माछाका विभिन्न परिकार चाख्न पाइन्छ । माछाको मःम, सुकुटी र अचार अन्य आइटमभन्दा बढी विक्रि हुने गरेको संचालक गौरभ गौतमले बताए । माछा फ्राइ र झेल भन्दा केही फरक गर्ने सोंचले बनाउन थालेको परिकारले बजार धानेको उनले बताए । सुकुटी–अचार बनाउन माछालाई लामो पिसमा काटेर सुकाइन्छ । सुकेको माछा सानो टुक्रा बनाएर पानीमा उमालिन्छ । ‘माछालाई तेलमा फ्राइ गरे सुकुटी बन्छ,’ गौतमले भने, ‘अचार मसला राखेर मोलेपछि अचार बन्ने हो ।’ सुकुटी र अचारकालागि काटिने माछाको कांडा निकालेर सुकाइने उनले बताए ।

यो बाहेक माछाको मःम मा माछाको किमा बनाएर हालेपछि अन्य मःम कै विधी अपनाइने समेत उनले जानकारी दिए । खाना–खाजा मात्र नभई मिठाईको स्वादका लागि पनि जिल्ला परिचित छ । विगत ८ वर्षदेखि यहाँ काम गरिरहेका अनुभवी सेफ केशव अर्यालले जिल्लामा स्वाद पारखीको संख्या देखेर अचम्ममा पर्ने गरेको बताए । ८ वर्षअघिसम्म आफूले पकाएका परिकार खाने मानिसको भिड सिद्धार्थ कटेज मा हुने गरेकामा अहिले नयाँ साेंच, अध्ययन र परिकार सहित बजारमा अन्य सेफहरु र रेष्टुराँ आइरहेको बताए । ‘पढेर, अनुभव लिएर, अरुको भन्दा फरक डिस बनाउने सेफ नै आइरहेका छन्,’ उनले भने, ‘यसले जिल्लालाई स्वादिष्ट परिकारको खानी भएको जिल्लाका रुपमा चिनाउन सक्ने छ ।’

अर्यालले हरेक हप्ता विभिन्न रेष्टुरां पुगी आफूले बजारमा सुनिएका परिकार चाख्ने र ती परिकारको स्वाद अति नै मिठो पाउने गरेको बताए । विदेशी खानाको तुलनामा नेपाली घरेलु मसलाले नै नेपालका होटल तथा रेष्टुरांका स्वाद बिक्नुमा मद्दत गरिरहेको उनको भनाई छ । विभिन्न स्वाद चाख्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकले रुपन्देही जिल्ला रोज्नुलाई व्यावसायिक प्रगतिको रुपमा लिएको होटल तथा रेष्टुराँ व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए । उनले यस्ता स्वादिला परिकारले केही मिहनामै अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने मानिसलाई समेत जिल्लामा एकरात अडाउन सकिने वातावरण बन्दै गएकामा खुसी व्यक्त गरे ।

‘स्वादमा रुपन्देही आकर्षष्णको केन्द्र नै बन्न पुगेको छ,’ उनले भने, ‘हामी व्यवसायीका लागि यसको महत्वपूर्ण भूमिका हुन्छ । एकपटक आएको व्यक्तिले मनपारे उसका सर्कलका ग्राहक बढ्ने बढ्छन् ।’ रुपन्देहीमा पछिल्लो समय मानिसको रोजाइमा फरक फरक खाना तथा खाजाका स्वाद पर्न थालेका छन् । कामकाजी मानिसले घरबाहिर खान होस् वा पारिवारिक जमघट, मानिस बेग्लै स्वाद चाख्नेगरी विभिन्न रेष्टुराँ साथै होटल धाउने गर्छन् । जिल्लाभित्रै रैथानेदेखि विदेशी विभिन्न स्वादका परिकार पाक्ने भएकाले यहांका स्थानियले अन्यत्रदेखि आउने आफन्त, साथीभाईलाई समेत चखाउन भ्याएका छन् ।

अन्य जिल्लाको तुलनामा रैथाने परिकारमा रुपन्देहीले फड्को मारेको घुम्दै खांदै इन्स्टाग्राम पेजका ब्लगर विशाल श्रेष्ठले बताए । उनले जिल्लामा थप विविधताका फुड आइटम पाक्ने वातावरण सृजना भए काठमाडौं, पोखरा भन्दा राम्रो विकास हुन सक्ने बताए । यहांको परिकारको स्वादले अन्यत्रलाई जित्छ, उनले भने, अब चाइनिज, जापानिज, युरोपियन खानेकुरामा पनि जोड दिन सके राम्रो हुने थियो । दररेटका हिसाबले पनि स्थानिय तथा पर्यटकलाई रोजाईका होटल भएकाले रुपन्देही स्वाद र होटल संचालनमा अगाडि बढिरहेको उनको भनाई छ ।

तिलोत्तमा ५ का सुशान्त खनाल साथीभाई बटुल्न थाल्छन् । उनले समुह नै बनाएर मोटरसाईकलमा बुटवलको ट्राफिकचोक धाउने दिनचर्या बनाएका छन् । सांझमा कफी नखाएसम्म सुत्नै मन लाग्दैन, उनले भने, ५ वर्ष भयो, कफी पिउने बानी नै परेको छ । ट्राफिकचोकको कफी कुकुरमा पाक्ने रमाइलो शैली रहेकाले त्यसको आनन्दले स्वाद लिने गरेको उनले सुनँए । घरमै पिउन सकिने भएपनि साथीभाईसंगको भेट र मानिसको भिडको रमाइलोमा गफिँदै कफी पिउनुको मजा बेग्लै रहेको उनले बताए । खनालले पहिलोपटक ट्राफिकचोक पुगी कफी पिलाउने साथी विदेशमा रहेर पनि कुराकानी हुँदा कफी पिउन गएको छस् या छैनस् भनी सोधीरहने बताए ।

विदेश भएकाले पनि निरन्तर सम्झिन्छन्, उनले भने, हामी यहां बसेकोले किन मिस गर्नपर्यो र भनेर संधै जान्छु । खनालले आफूसंगै लगी १ दर्जन साथीलाई कफी पारखी बनाएको समेत बताए । खनालका साथी लज्जीत न्यौपानेले कफीमा पनि कोल्ड र हट पाइने भएकाले गर्मी–जाडो दुवै मौसममा ठीक हुने बताए । उनले कलेजको पकेट खर्चबाट बचाएर सांझमा कफी पिउन जाने बताए । घरभन्दा पर भएकाले बाइकमा कुद्न पाइयो, उनले भने, घुम्ने बहानामा कफीले साथ दिइरहेको छ । पिउँदा पिउँदा लतजस्तो बसेकाले ट्राफिचोक जान नपाएको दिन घरमै पकाएर पनि पिउने गरेको न्यौपानेले बताए । जिल्ला बाहिरका साथी भेट्न आउँदा, फोनमा कुरा हुंदा समेत कफीको कुरा गर्ने, साथीभाइलाई पिउन सल्लाह दिने गरेको उनी बताउँछन् ।

हरेक सांझ ७ बजेपछि ट्राफिकचोकमा युवा युवतीको अधिक भिड देखिन्छ । चोकमा पाइने कुकर कफी, कोल्ड कफी तथा सामान्य कफी पिउन भिड लाग्ने गरेको हो । ६–७ वटा ठेलागाडामा कुकुर कफी बनाएर व्यवसाय चलाउनेहरुले कफी बेचेरै राम्रो आम्दानी गरिरहेका छन् । कुकर कफी बनाउन जगमा दुध, चिनी र कफी स्वादअनुसार राखिन्छ, पाइप जडित कुकरमा पानी तताएर सिठ्ठ लाएपछि निस्कने वाफलाई जगमा हालेर वाफै वाफले कफी पाक्ने अर्याल कफी पसलका संचालक विष्णु अर्यालले बताए । प्रति ग्लास ६० रुपैयां पर्ने कफी पुर्याइनसक्नु विक्रि हुने गरेको उनले बताए । धेरै पसल छन्, सबैकहां ग्राहकको भाग पुग्छ, उनले भने, कुकरमा पाकेको भन्ने भानले पनि धेरैले चाख्नुहुन्छ । रुपन्देहीमा ठेलागाडाको प्रसिद्ध कुकर कफी बाहेक एक्सप्रेसो डोपीयो, अम्रिकानो, लाटे, क्यापाचिनो, मोक्का (मिठाई हालेर बनेको) फ्रापे (बरफमा कफी पाउडर राखी बनेको) आदि कफीका प्रकार पाइन्छ । एउटा ग्राहकले पनि फरक फरक कफीको स्वाद चाख्ने गरेको रिफ्रेस क्याफेका संचालक अमृत गुरुङले बताए ।

विदेशीको जस्तै नेपालीमा पनि कफी क्रेज बढेको उनले जनाए । मानिसले निद्रा कन्ट्रोल गर्न, अल्छीपना हटाउन समेत कफी पिउने गरेको उनको भनाई छ । क्याफेमा राखिएका पुस्तक पढ्दै घण्टौंसम्म ४ ग्लाससम्म कफी पिउने ग्राहकको पनि बाक्लै उपस्थिती रहने गरेको उनी बताउँछन् । १–२ महिना बिराएर ओमसतिया ४ की विन्दु क्षेत्री भैरहवा पुग्छिन् । भैरहवाको पवन मिष्ठान्न भण्डारमा गई ८–१० किलो पेंडा किन्छिन् । उक्त पेंडा उनको माइतीघर काठमाडौं पुग्छ । माइतका सबैजाले पेंडाबाहेक केही ल्याउनु पर्दैन भन्ने भएकाले त्यहीं नै कोशेली लिई जाने उनले बताइन् । ‘साह्रै मिठो मानेर सबैले खानुहुन्छ,’ उनले भनिन्, ‘ताजा र स्वादिलो हुने भएकाले निर्धक्क खाइन्छ ।’ माइती काठमाडौं नजांदै भैरहवा बस्ने गरेको र घरमा पेंडा लैजाने चलन त्यो बेलादेखि रहेको क्षेत्रीले बताइन् । दुधको परिकारले क्याल्सियम प्रदान गर्छ, त्यसैले पनि पेंडा खांदा फाइदै भएजस्तो लाग्ने उनले बताइन् । विन्दुका आमाबुवाले ४–४ वटासम्म पेंडा खाने गरेको उनले बताइन् । विन्दुले अनय बेला पनि पुजाआजा, जन्मदिन, विवाह वर्षगांठ को अवसरमा पेंडालाई मुख्य महत्व दिई खाने र खुवाउने गरेको जनाइन् ।

यहांको पवन मिष्ठान्न भण्डारमा पाइने पेंडा नेपाल बाहेक अमेरिका, अष्ट्रेलिया, हङकङ सम्म पुग्ने गरेको संचालक पवन हलुवाइले बताए । ‘पेंडा बनाउन दुध र चिनी मात्रै चाहिन्छ । दुधलाई कति तापक्रममा पकाएर कुराउनी बनाउने भन्ने मात्रै सोंचियो भने पवनको जस्तै पेंडा बन्छ,’ उनले भने, ‘हजुरआमाले बुवालाई सिकाएको शिप पारिवारिक व्यापारको माध्यम बन्यो ।’ पवनको मिठाईका लागि टाढाटाढाका मानिसले फोन गर्ने, लिन आउने प्रति व्यक्तिले १० किलोसम्म लाने गरेको उनले बताए । विवाह, पुजा, भेटघाट तथा कोसेलीका रुपमा पवनको पेंडा बजारमा जाने गरेको उनले जनाए । पवनको पेंडा प्रति दिन ५० किलोसम्म विक्रि हुने गरेको छ । दैनिक २५ देखि ४० जनाले जिल्ला बाहिर लैजाने भन्दै खरिद गर्ने गरेको हलुवाइले जनाए ।

जिल्लाभरिका कयाफे, रेष्टुरां तथा होटल डुल्दा होटल पिच्छेका फरक परिकार चाख्न पाइनेगरी विकास भएको खानाका पारखी जिवन क्षेत्री बताउंछन् । सिद्धार्थनगरमा व्यवसाय गरी रहेका उनले हरेक हप्ता फरक होटलमा गई फरक खाजा खाने गरेको बताए । हप्ताको एक दिन विदा हुन्छ, रमाइलो गरौं, भन्ने हुन्छ, उनले भने, टिकटक, ब्लग तथा साथीभाईको सुझाव अनुसारका होटल जान्छौं, बेग्लै खाजा–खाना खान पाइन्छ । आफुले चरंंगेको लोकल कुखुराको मासुका परिकार, कानपारामा लोकल मासु, सियारीमा माछा, सालझण्डीमा थकाली खाना आदि चाखेको र सबैतिरका आइटम स्वादीष्ट लागेको क्षेत्रीले बताए । यी बाहेक मःम, चाउमिन र चिल्ली हरेक क्याफेमा पाइने भएकाले योजना बनाएरै रैथाने वा विदेशी खाने भनी निर्णय गरेरै घरदेखि हिंड्ने गरेको उनको भनाई छ ।