उद्योग–व्यवसाय धरासायी



भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित अञ्चलपुरमा एक सातादेखि लुम्बिनी औद्योगिक महोत्सव सञ्चालन भइरहेको छ । उक्त महोत्सवमा बिगतमा जस्तो उत्साहित आयोजक र दर्शक सहभागिता देखिँदैन । कोरोना महामारीका कारण केही वर्ष स्थगित महोत्सवलाई यसपटक सिद्धार्थ उद्योग वाणिज्य संघले निरन्तरता दिएको जनाएको छ । संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने २०७२ सालको महाभूकम्प र कोरोना महामारीले अर्थ व्यवस्थामा पारेको असर कम गर्न र व्यवसाय उकास्न महोत्सव आयोजना गरिएको बताउँछन् ।
महोत्सवको ऐतिहासिक महिमासँगैं अहिले उद्योगी–व्यावसायी थला परेको न्यौपाने सुनाउँछन् । कोरोनापछि यस क्षेत्रका उद्योगी बैंकको ब्याज तिर्न सक्ने अवस्थामा छैनन् । नयाँ लगानीको वातावरण छैन । वित्तीय संस्थाले लगानी गरिरहेका छैनन् । बैंकहरु यसअघिको लगानी अशुल्न हर उपाय अवलम्बन गरिरहेका छन् ।
यस्तो बेला ठूलो लगानी गरेर उद्योग व्यावसायको क्षेत्रमा नाम हाँसिल गरेका व्यापारी र उद्योगपति अहिले आर्थिक अभावले पिरोलिएको सुनाउँछन् । महोत्सव स्थलमा पुरानो रौनक देखिँदैन । त्यहाँ राखिएका व्यावसायिक स्टलमा पहिले जस्तो साजसस्जा र ग्राहक आकर्षित गर्न अनेक उपाय अपनाइएको पाइँदैन ।
आर्थिक मन्दिले लगानीकर्ता मात्र होइन्, महोत्सव भर्न आउने सर्वसाधरण समेत मारमा छन् । अहिले सर्वसाधरण धक फुकाएर खर्च गर्ने अवस्थामा देखिँदैनन् । उनीहरु बचत गरेर सामान्य खर्च गरिरहेका छन् । जसले गर्दा महोत्सव स्थलमा रहेका खाजा घरमा भीड देखिँदैन । ‘लगानीकर्ता र उपभोक्ता दुबै आर्थिक मारमा छन्,’ संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘पुरानो मेला महोत्सव संस्कृति कायम राख्न र आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव आयोजना गरेका हौं ।’
यसपटक महोत्सवबाट आम्दानीको लक्ष्य छैन । अहिले भइरहेको खर्च बराबर भए खुसी हुने उनले बताए । ‘अब दर्शक बढ्लान,’ उनले भने, ‘अन्तिम दिनमा भीड लाग्ने गर्छ ।’ यो महोत्सव उदाहरण मात्र हो । अहिले जिल्लाका जुनसुकै क्षेत्रका लगानीकर्तासित कुरा गर्दा उनीहरु निरासा मात्र व्यक्त गर्छन् । कतिपय उद्योग, व्यावसायी ‘ग्वाँ ग्वाँ’ रुन मात्र बाँकी हुन्छ । बैंकको ब्याज तिर्न नसक्ने सुनाउँछन् ।
यही अवस्था कायम रहे धेरै लगानीकर्ता घरबार बिहीन हुने अवस्था रहेको उनीहरुको भनाई छ । अहिले जिल्लाभरि आर्थिक गतिविधि ठप्प छन् । पहिले चलायमान होटल, रेष्टुराँ सुनसान बन्दैं गएका छन् । धेरै उद्योग ठप्प छन् । बजारमा किनमेल गर्नेको कमी छ । ‘भूकम्प, कोरोना महामारीसँगैं राष्ट्र बैंकको नीतिले प्रभाव पारेको हो,’ लुम्बिनी महोत्सवका प्रचारप्रसार संयोजक कृष्णप्रसाद घिमिरेले भने, ‘झट्ट हेर्दा कोरोना कारण देखिए पनि भूकम्पको बेलादेखिको असर हो ।’
आर्थिक गतिविधि पुरानै अवस्था फर्काउन मद्दत पुगोस् भनेर महोत्सव आयोजना गरिएको उनले बताए । राष्ट्र बैंकको नयँँ नीतिको मारमा यहाँको उद्योगी व्यावसायी परेका छन् । लामो समयदेखि ब्याज बृद्धि नियन्त्रण गर्न भन्दैं उनीहरु आन्दोलित भइरहेका छन् । जिल्लाका नेताहरुले ब्याज घटाउने आश्वासन दिएका छन् ।
अहिलेसम्म व्यावसायीको माग सुनुवाई भएको छैन । जसले गर्दा उद्योग व्यवसाय झन समस्या ग्रस्त बनिरहेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हीरामणि भट्टराईले बताए । उनका अनुसार औद्योगिक क्षेत्रभित्र रहेका ५० प्रतिशतमात्र सञ्चालनमा रहेका छन् । ‘सञ्चालन भइरहेका उद्योगमा समेत पहिले जसरी कर्मचारी राख्ने, उत्पादन बढाउने काम भएको छैन,’ उनले भने, ‘सीमित कर्मचारी राखेर सीमित उत्पादन गरिरहेका छन् ।’

उत्पादन भएका बस्तु खपतमा समस्या कायम भएकाले उद्योग नाम मात्रले चलिरहेको उनले बताए । उनका अनुसार बजारमा आर्थिक चलायमान नभएकाले उद्योगका उत्पादन खपत नभएका हुन् । उत्पादनले बजार नपाउँदाको पीडा र बैंकले ऋण लिएबापत लिने अधिकतम् व्याजको भारबारे सरकार अनविज्ञ रहेजस्तो गरी नीति बदल्दै दुःख दिनु निन्दनीय भएको उनले बताए ।
नयाँ सरकार बनेपछि मौद्रिक नीतिमा लचिलो भइदिनुपर्ने माग आफूहरूको रहेको उनले बताए । नयाँ मौद्रिक नीति परिवर्तन भएर आउनु नै यहाँका उद्योगीको समस्याको विषय बनेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वलप्रसाद कसजूले बताए । युक्रेन र रसियाबीचको लडाइको मार नेपाली उद्योगीलाई परेको उनले बताए ।
‘उक्त लडाइले देशमा आयात बढ्दै गयो,’ उनले भने, ‘११ महिनामा जति डलर सञ्चित हुन्थ्यो, अहिले ६ महिनामै सकिंदै गएको अवस्था छ ।’ यसलाई नियन्त्रण गर्नुपर्छ भनी लेटर अफक्रेडिट (एलसी)बाट सामग्री आयात गर्नुपर्ने नयाँ नियमले उद्योगीले १ करोडको सामग्री ल्याउन परे थप २० लाख थपेर १ करोड २० लाख धरौटीमा राखे मात्र पाइने भएको सरकारी नीतिले उद्योग व्यवसाय धराशयीको अवस्थामा पुगेको उनले जनाए ।
धकधईस्थित रोहिणी एग्रोका सञ्चालक दीपक पौडेल सरकारले मौद्रिक नीतिमा सीएलआर (जुन ३ प्रतिशत थियो, अहिले ४ प्रतिशत बनाइदियो)ले बैंकमा तरलता छाएको बताउँछन् । ‘त्यसकारण ७ प्रतिशत रहेको बैंक व्याजदर १४ सम्म पुग्यो,’ उनले भने, ‘उद्योगीले कच्चा पदार्थ किन्न पैसा सर्टेज हुनु, सामान बिक्री नभई २४ घण्टा चल्ने उद्योग ८ घण्टामा झर्नु यही नीतिकै बदौलत हो ।’
हरेक उद्योगीको चालु पुँजी कर्जा कोरोनाकालमा बैंकले दिएको जथाभावी ऋणलाई ७ प्रतिशतमा व्याज लिइरहेकामा अहिले वर्किङ क्यापिलका लागि लिएको ऋण त्यसमा मात्र खर्च गर्नुपर्ने निर्णय गरिदिंदा समेत गाह्रो भएको कसजू बताउँछन् । उनले यस्ता समस्याबारे सरकारको ध्यानाकर्षण गराउन आफूहरू संगठनात्मक रूपमै डेलिगेसन साथै छलफल गरिरहेको बताए ।








लेखकको सम्वन्धमा