November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

प्रदेश पर्यटनको केन्द्र लुम्बिनी

लुम्बिनी– हरिया फाँट । ढुंगा छापिएका सिंनग्ध सडक । दुई आँखाले नियाली रहेका थरिथरी प्रतिमा । जलकुण्डमा तरंगित निर्मल पानी । मधुर स्वरमा गुन्जायमान पवित्रवाणी । ऋतु अनुसार फूलका सुगन्ध । त्यसमाथि रातो र गेरुवा वस्त्र पहिरेर शान्ति पाठ गरिरहेका शान्तीका अनुयाई । यति उल्लेख गरेपछि तपाइँले स्थान पत्ता लगाइसक्नु भयो होला ? यो बुद्ध जन्मस्थल लुम्बिनीको आगन हो । यहाँ पुग्नासाथ शान्तिको अनुभूति हुन्छ ।

Advertisement

दया, माया र प्रेरणा पलाउँछ । सद्भाव, करुणा, मैंत्री र मुदिताको भाव जाग्छ । यो पवित्र उद्यान हो । लुम्बिनीको कुरा थाल्दा शाक्यमुनी बुद्धलाई छुटाउन मिल्दैन । यहाँ बुद्ध जन्मिएपछि लुम्बिनी विश्व सामु चिनिएको हो । यो बुद्ध जन्मस्थल मात्र होइन । प्रदेशको पर्यटकीय केन्द्र समेत हो । यसलाई केन्द्र मानेर प्रदेशका पर्यटकीय गन्तव्यको प्रदवद्र्धन भइरहेको छ । यहाँबाट बर्दिया निकुञ्जको वन्यजन्तु सफारीदेखि पहाडका रमणीय ‘हिल स्टेशन’ जोड्न पहल भइरहेको छ ।

Advertisement

लुम्बिनी क्षेत्र प्रदेशको पर्यटकीय हबकै रुपमा विकास भइरहेको छ । तिलौराकोटदेखि त्रिवेणीसम्मका पुरातात्विक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक सम्पदा र धरोहरले सम्पन्न छ । पर्यापर्यटनको उत्तिकै आकर्षण छ । यो क्षेत्रमा पहिचान भएकामात्रै ऐतिहासिक र पुरातात्विक महत्वको स्थल झण्डै ३ सय बढी छन् । नभएका त्योभन्दा बढी छन् । तीन वटा बुद्ध यही जन्मेका छन् । शाक्यमुनी बुद्ध लुम्बिनीमा र क्रकुछन्द बुद्ध गोटिहवा तथा कनकमुनि बुद्ध निग्लिहवामा जन्मेका हुन् । त्यसैले यो ठाउँलाई विश्व शान्तिको मुहान भनिन्छ । भगवान बुद्ध जन्मेदेखि उनको बाल्यकाल र युवा अवस्थाका महत्वपूर्ण समय यही क्षेत्रमा भएको छ ।

राजशी सुखसयल छाडेर ज्ञानको खोजीमा जाने क्रममा युवराजको भेषभुषा र कपाल खौरेर अनोमा नदीमा घोडा छन्दक र साथी कन्थकलाई दरबार फर्काएको ठाउ पश्चिम नवलपरासी पनि यही पर्छ । मुलुकमा पर्यटन उद्योगको सुरुआत हुनु अघि नै लुम्बिनीको पर्यटकसंग संबन्ध गासिएको थियो । हिमाल आरोहणपश्चात् नेपालमा पर्यटन उद्योगको औपचारिक सुरुवात भएको हो । विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमै पर्छन् । नेपालमा १९ औं शताब्दीदेखि हिमाल आरोहणको प्रयास जारी थियो । तर १९५० जुन ३ मा फ्रान्सेली दलले अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरी विश्वकीर्तिमान कायम गर्यो  । तर लुम्बिनी क्षेत्रमा भने भगवान गौतम बुद्धको मृत्युपछि नै पर्यटन तीर्थयात्रीको आउने जाने सुरु भइसकेको वरिष्ठ पुरातत्वविद वसन्त बिडारी बताए । लुम्बिनी उत्खनन्का क्रममा ईशा पूर्व पाँचौ र छैठौ शताब्दीका वस्तु पाईनु त्यो प्रमाण रहेको उनले बताए ।

मौर्य सम्राट अशोक तिर्थाटन गर्दै ईपू २४९ आएर लुम्बिनी अभिलेखसहितको स्तम्भ ठड्याएका थिए । चिनियन पैदल यात्री ह्वेयङ साङ् ईस ६३६ डिसेम्बर २५ मा लुम्बिनी आए । ‘लुम्बिनी क्षेत्रले नेपालको पर्यटनको इतिहास मात्र बोकेको छैन्,’ उनले भने, ‘अशोकले त लुम्बिनीमा आएर बली (धार्मिक) कर घटाई दिएका थिए ।’ यहाँ पर्यापर्यटनको पनि उत्तिकै आकर्षण छ । नेपालमा पाईने ८ सय ८७ मध्ये झण्डै आधी ४ सय २१ प्रजातिका चरा देख्न पाइन्छ । यी मध्ये आधी जस्तोले गुँड राख्ने, अण्डा पार्ने र बचेरा यही हुर्काउछन् । तराईका समथर फाँटदेखि पहाडसम्म पाईने चरा यहाँ अवलोकन गर्न पाइन्छ । घाँसे मैदानमा पाईने दुर्लभ कासेघाँसे चरीदेखि खेतमा पाइने भूडिफोर गुरुड पनि यही देख्न पाइन्छ ।

उड्न सक्ने मध्ये सबैभन्दा अग्लो पंक्षी सारस पनि मुलुकमा सबैभन्दा धेरै यही क्षेत्रमा पाईन्छ । सारसको नेष्टिङदेखि बचेरा हुर्काउने दुर्लभ रोमाञ्चक गतिविधिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउने गरेकोछ । लुम्बिनी क्षेत्रको मौषमको मिठास र माटोको गन्ध पनि उस्तै आकर्षण छ । अक्टुबर नोभेम्बर र फेब्रुअरीमा गजबले हिमाल हेर्न हेर्न पाईन्छ । कपिलवस्तु र लुम्बिनी क्षेत्रबाट लुम्बिनीबाट ७ हजार ७ सय ५१ मिटर अग्लो धौलागिरी दोस्रो, ७ हजार ७ सय १५ मिटर धौलागिरी तेस्रो हिमाल देखिएको थियो ।

त्यस्तै ७ हजार ६ सय ६१ मिटर अग्लो धौलागिरी चौथांै र ७ हजार एक सय ९३ मिटर अग्लो गुर्जा हिमाल आखै अगाडी देखिन्छ । बादलको पर्दा हटाएर शुभ्र हिमाल हासेको देख्दा लुम्बिनी क्षेत्र मुस्कुराईरहेको देखिन्छ । प्राय बादलले नदेखिने हिमाल उघारिएर लुम्बिनी हेरिरहेको दृष्यले सबै मुग्ध बन्छन् । मनमोहक हिमश्रृंखला हेरेर पर्यटकले रमाउछन् । लुम्बिनीका चित्ताकर्षक र शान्तिप्रिय विहार, गुम्बा, चैत्य र गोन्पोसंगै उत्तर तिर देखिएको शुभ्र हिमाल जता हेरेपनि उत्तिकै हसिलो र रोमाञ्चक देखिदा पर्यटक आल्हादित बन्छन् ।

वर्षाका बेला ल्याण्डस्केपिङमा परम्परागत तरिकाको गर्ने रोपाई पर्यटकीय आकर्षण बनेकोछ । रोपाईमा सहभागी भएर र हेरेर पर्यटन उत्तिकै आनन्दित बन्ने वातावरण छ । यता सेप्टेम्बर अक्टुबरमा पहेलपुर तोरी देखेर पनि पर्यटक लठ्ठिने गरेका छन् । वसन्त ऋतु सुरु हुदा लुम्बिनी आसपास कोइलीले काफल पाक्यो–काफल पाक्यो भनेको सुनिन्छ । छिछिनमा उही कोईलीको बीउ कुहियो भन्ने आवाजले वसन्तको बहार छाईरहेको छ, भन्ने लाग्छ । चिरबिर गर्ने जुरेली र पिकलुरले चुहुँचुहुँ गरिरहेको तिखो आवाजले मौषम परिवर्तनको उन्मुखता दिन्छ । बसन्त ऋतुको सुरुवातसंगै गृष्मकालिकन कटुसटाउँके र निरपुछ्रे मुरलीचरा, स्वर्गचरी, गाँजले सुनचरी, सुन्तले चाचर चरी र राजचरीको चिरविराहटले यस क्षेत्रमा प्रकृतिमा सौन्र्दयता थपिदिएको पाउन सकिन्छ ।

रानीचरी, चित्रक पिट्टा, गाँजले पिट्टा र नीलकण्डे ठेउवाको बृति र व्यस्तता यतिबेला लुम्बिनी पुग्दा हेर्न सकिन्छ । प्राकृतिक छटासँगै आगन्तुक र रैथाने चराले लुम्बिनीको बगैंचा मनोरम बनेको छ । थपे–कतिपय चरा यहाँका बागबगैचामा अण्डा कोरल्न र बचेरा हुर्काउन गुँडमा ओथारो बसेका छन् । ‘विश्व पर्यटनकै हव लुम्बिनी हो,’ लुम्बिनी होटल एशोसिएसनका वरिष्ठ उपाध्यक्ष लिलामणी शर्माले भने, ‘किनकी विश्वभर शान्तिको सन्देश यहीबाट फैलिरहेको छ ।’ त्यसैले प्रदेश पर्यटनको हब बनेको छ । लुम्बिनी आसपासका जिल्लामा अध्यामिकतादेखि शान्ति पर्यटन, नौका विहार, चरा अवलोकन, कल्चरल संस्कृति र परम्परा पनि देख्न पाईन्छ । भिलेट टुर पनि यहाको निक्कै महत्वपूर्ण पर्यटकीय प्रडक्ट हो । यस्ले संस्कृतिमा धनी तराईका अवधिभाषीको रहनसहन, परम्परा र रितिरिवाज थाहा पाउन सकिन्छ ।