November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

उद्योग र कारखानाको केन्द्र

भैरहवा– लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला उद्योग र कारखाना स्थापनाका केन्द्र बनेका छन् । प्रदेशमा रुपन्देहीको बेलहिया, पश्चिम नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर र बाँकेको जमुनाह ठूला स्थल नाका हुन् । यी बाहेक दर्जनौं छोटी भन्सार छन् । भारतबाट कच्चा पदार्थको सहज आयात र उत्पादन निर्यातका लागि झन्झट नभएकाले यहाँ उद्योग स्थापना गर्ने बढिरहेका छन् ।

Advertisement

पहिले रुपन्देही, दाङ र बाँकेमा धेरै उद्योग स्थापना हुने गरेका थिए । अहिले पूराना केन्द्र विकेन्द्रित हुने क्रम बढेको छ । प्रदेशमा नयाँ सहर र प्रशासनिक केन्द्र बिकास भइरहेका छन् । जसले पहिले मूल नाका आसपास केन्द्रित लगानीकर्ता फैलिन थालेका छन् । जसले गर्दा नयाँ–नयाँ औद्योगिक कोरिडर बिकास हुने क्रम बढेको छ ।

Advertisement

परम्परादेखि उद्योग र कारखानाको हब रहेको रुपन्देहीको भैरहवा क्षेत्र आसपास नयाँ औद्योगिक क्षेत्र स्थापना भइरहेका छन् । उत्पादनमूलक र सेवामूलक दुवै खाले उद्योगीको ध्यान यस प्रदेशमा छ । त्यसैले यसलाई लगानी सम्भावनाको प्रदेशका रुपमा व्याख्या गर्न थालिएको छ । उद्योग संचालनका लागि आवश्यक भौतिक पूर्वाधार र अनुकुल बातावरण भएकै कारण पछिल्ला बर्षमा यस क्षेत्रमा उद्योग खुल्ने क्रम तिब्र गतीमा छ । आर्थिक भविष्य उज्यालो देखेर पर्यटन र बस्तुगत उद्योगका लागि यस क्षेत्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गरिरहेको छ ।

तीन दशक अघिसम्म यस क्षेत्रमा संचालित ठूला उद्योग सिमित भएकाले आंैलामा गन्न सकिन्थ्यो । लगानी करोडौंमा सिमित थियो । अहिले खर्बौको लगानी पुगेको छ । तीन दशक अघिसम्म यस क्षेत्रको उद्योग भन्नु एकाध ठुला उद्योग बाहेक चामल, गहुँ, तेल लगायतका खाद्यान्नमा आधारित उद्योगको बाहुल्यता थियो । अहिले, ठूला र अत्याधुनिक प्रबिधिका सिमेन्ट र छड उत्पादनमा यस क्षेत्रमा औद्योगिक क्रान्ति नै आएको छ । दुई दशकको अवधिमा नेपालको कुल सिमेन्ट उत्पादनमा ४० प्रतिशत र छड उत्पादनमा झण्डै ५० प्रतिशत योगदान लुम्बिनी प्रदेशबाट छ ।

सिमेन्ट र छड बाहेक यस क्षेत्रमा पर्यटकीय होटेल, खाद्यान्न, चाउचाउ, औषधि, बिस्कुट, जुत्ता–चप्पल, प्रशोधित पानी, कुखुराको दाना, प्लाईउड, फोम (गद्धा), जुस, कागज, दाल, मैदा, प्लाष्टिकजन्य, इट्टा, मदीरा तथा बियर, अटो मोवाईल्स, ग्यास, टायल उद्योगको स्थापना बढ्दो छ । स्वदेशको आफ्नै चुन ढुंगा उत्खनन् गरि क्लिंकर उत्पादनसहितको सिमेन्ट उत्पादन गर्ने नेपालका १२ वटामध्ये ६ वटा ठूला सिमेन्ट उद्योग यस प्रदेशमा छन् । दुई दर्जनको संख्यामा क्लिंकर पेलेर उत्पादन गर्ने सिमेन्ट उद्योग छन् ।

यसैगरी नेपालमा हाल संचालनमा रहेका १८ वटा छड उद्योगमध्ये ९ वटा यस प्रदेशमा छन् । सिमेन्ट र छड उत्पादनमा २ सय अर्व भन्दा धेरै लगानी यस क्षेत्रमा रहेको भनाइ व्यवसायीको छ । यस प्रदेशमा रहेका पहाडी जिल्लामा जडिबुटीमा आधारित उद्योग संचानका लागि उत्तिकै अनुकुल सम्भावना छ । भैरहवा–लुम्बिनी सडक खण्ड, भैरहवा–भुमही हुलाकी सडक, भैरहवा–बुटवल सडक खण्डमा जताततै औद्योगिक बिस्तार संगै शहरिकरण तिब्र गतीमा बढ्न थालेको छ ।

भैरहवा क्षेत्रमा उद्योगका लागि आवश्यक जमिनको अभाव र मूल्य महंगो हुन थालेपछि छिमेकी जिल्ला कपिलबस्तु र नवलपरासीतर्फ पनि औद्योगिकरण बिस्तार हुँदै जान थालेको छ । बुद्धको जन्मस्थल लुम्बिनी यसै प्रदेशमा रहनु र यस क्षेत्र भौगोलिक रुपमा भारतको प्रमुख औद्योगिक क्षेत्रहरुबाट पायक पर्ने मध्य भागमा अवस्थित रहनु नै यस क्षेत्रको औद्योगिक विकास र औद्योगिक लगानीको हव बन्नुको मुख्य आधार हो । यो प्रदेश मुलुक भित्रै पनि मध्यभागमा रहनु, मिश्रित समाज भएकाले आपसी सद्भाव कायम रहनु, धमाधम भौतिक पूर्वाधार निर्माण हुँदै जानु र सिमावर्ती छिमेकी मुलुक समेत बिकसित हुनुले यस क्षेत्रमा औद्योगिक लगानीको बातावरण अन्य क्षेत्रमा भन्दा धेरै हुनुको मुख्य कारण हो ।

प्रशिद्ध औद्योगिक समूह सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेशकुमार अग्रवाल उद्योग संचालनका लागि आवश्यक पर्ने औद्योगिक क्षेत्र, बिद्युत, आईसीपी (एकिकृत चेक पोष्ट), रेलवे सम्पर्क जस्ता पूर्बाधार भैरहवा र आसपासका क्षेत्रमा नहुँदा नहुँदै पनि भौगोलिक रुपमा पायक पर्ने नाका र औद्योगिक कच्चा पदार्थ उत्पादन गर्ने भारतका औद्योगिक शहरबाट नाकासम्म ढुवानीका लागि सडक राम्रो भएकाले औद्योगिक लगानीको बातावरण बनेको बताउँछन् ।

‘बिद्युत, औद्योगिक क्षेत्र, आईसीपी, रेलवे कनेक्टीभिटी जस्ता पूर्वाधार यस क्षेत्रमा उपलब्ध भैदिएको भए लुम्बिनी क्षेत्र मुलुककै एक नम्बरको औद्योगिक क्षेत्र हुने थियो’, अग्रवाल भन्छन्, ‘कच्चा र तयारी माल धेरै उत्पादन गर्ने भारतको गुजरात, राजस्थान, हरियाणा, पंजाव जस्ता औद्योगिक सहरबाट ढुवानीका लागि छोटो र पायक पर्ने ठाउँ वा नाका सुनौली–भैरहवा नै हो ।’ उनका अनुसार, ढाइ दशक अघिसम्म भारतको बिहार प्रदेश कानुनी र सुरक्षाको दृष्टिले उत्तर प्रदेशको तुलनामा उति राम्रो मानिँदैनथ्यो । जतिवेला भारतको गुजरात र राजस्थानमात्र सिमेन्टको कच्चा पदार्थ क्लिंकर उत्पादन हुने र त्यहाँबाट ढुवानी गरि नेपालमा सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना क्रमको तिब्र बिकास भएको थियो ।

त्यही आधारमा लुम्बिनी क्षेत्रमा सिमेन्ट उद्योगको बाहुल्यता र धेरै लगानी भएको हो । यही अवस्था छड उद्योग र अन्य औद्योगिक कच्चा पदार्थ आयात गरि उत्पादन गर्ने उद्योगहरुको पनि हो । छड उत्पादनका लागि पनि आवश्यक पर्ने फलामे ब्लेडको आयात भारतको दुर्गापुर, बंगाल, राहुलकेला, छत्तिसगढबाट नेपालमा आयात हुने गर्छ र ति ठाउँबाट आयात गर्न सुनौली–भैरहवा नाका नै सहज र छोटो दुरीमा छ । सरकारी तथ्यांक अनुसार, गत बर्ष भारतबाट नेपालमा ६५ लाख क्विन्टल धान, चामल ६३ लाख क्विन्टल, मकै ५८ लाख क्विन्टल, गहु ३९ लाख क्विन्टल खाद्यान्न आयात भएको थियो

खाद्यान्न बढी उत्पादन गर्ने भारतको पंजाव, हरियाणा, राजस्थान, उत्तर प्रदेशबाट पनि लुम्बिनी प्रदेशका नाका पायक पर्ने भएकाले खाद्यान्नमा आधरित ठूला उद्योग यस प्रदेशमा संचालन हुनुको मुख्य कारण हो । भैरहवा क्षेत्रमा मात्रै १६ वटा ठुला र अत्याधुनिक मैदा उद्योग संचालनमा छन् । लुम्बिनी प्रदेश नेपालकै मध्य भागमा रहेकाले पनि उत्पादित सामान मुलुकभरि आपूर्ति गर्न ढुवानी कम पर्ने भएकाले औद्योगिक लगानीका लागि यस प्रदेश पहिलो रोजाईमा पर्ने गरेको छ । यस बाहेक विगतमा भएका मधेश र विभिन्न सशस्त्र भूमिगत मधेशी मोर्चाको आन्दोलनले मुलुकको तराई क्षेत्र आक्रान्त बनेपछि तुलनात्मक रुपमा लुम्बिनी क्षेत्रमा कम प्रभाव परेकाले पनि भैरहवा आसपासको क्षेत्रले उद्योग स्थापना गर्न आकर्षित गर्नु स्वभाविक नै थियो ।

नेपालका प्रमुख अटो मोबाइल्स कम्पनीले पहिला भैरहवा नाकाको प्रयोग गरेका थिएनन् । मधेश आन्दोलन र नाकाबन्दीपछि उनीहरुका लागि भैरहवा नाका पनि रोजाईमा परेको छ । सुजुकी, महेन्द्रा, हुण्डाई, आयसर, होण्डा, मित्सुबिसी, टोयटा, किया, फोर्ड, डायसु लगायत्का कम्पनीका नेपालको आधिकारिक बिक्रेताले भैरहवा नाकाबाट पनि आयात गर्न थालेका छन् । मधेश आन्दोलन पश्चात् बीरगञ्ज नाका संचालनमा आएपछि पनि ति कम्पनीले भविष्यको लागि पनि यो नाकाबाट कारोवार गर्न ठाउँ सुरक्षित बनाएका छन् ।

यही नाकाको प्रयोग गर्न केहीले जमिन खरिद गरेर गोदाम बनाएका छन् । केहीले जमिन भाडामा लिएर । भैरहवा क्षेत्रबाट पायक पर्ने स्थानका लागि उनीहरुले भैरहवा नाकाबाट आयात गर्ने क्रमलाई निरन्तरता दिएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष कुलप्रसाद न्यौपाने लुम्बिनीका कारण भौतिक पूर्वाधार तयार पार्न राज्यले चासो देखाएकाले यस क्षेत्रको महत्व बढ्दै गएको बताउँछन् । यद्यपि मधेश आन्दोलन र नाकाबन्दीको वेला यो नाका सर्वाधिक सुरक्षित रहेकाले औद्योगिक लगानीका लागि यस क्षेत्र सवैको रोजाईमा पर्न थाल्नुको मुख्य कारण भएको उनले बताए ।

‘नाकाबन्दी र मधेश आन्दोलनले एक दिन पनि भैरहवा भन्सार नाका अवरुद्ध नभएकाले यस नाका सवैभन्दा सुरक्षित रहेको सन्देश मुलुकभरि पैmलियो’, न्यौपाने भन्छन्, ‘लुम्बिनी क्षेत्रमा शान्ति सुरक्षा र सामाजिक सौहार्दपूर्ण बातावरण कायम छ ।’ ‘बुटवल–लुम्बिनी १ सय ३२ केभी प्रशारण आयोजना’ र आयोजना अन्तर्गत भैरहवाको मैनहियामा बिद्युत सवस्टेशन बनेकाले यो पूर्णरुपमा संचालनमा आएपछि भैरहवा र आसपासको क्षेत्र औद्योगिक हवको रुपमा स्थापित हुने छ । लुम्बिनीको कारण १५ किमी दुरी भित्र उद्योग सस्थापना गर्न नपाइने र तिब्र गतीमा बढ्दो शहरिकरणका कारण भैरहवा आसपासमा उद्योगका लागि आवश्यक पर्ने जग्गाको अभाव हुन थालेको छ ।

यसका कारण पछिल्लो समयमा भैरहवा–परासी हुलाकी सडक खण्ड अन्तर्गतको नवलपरासी र कपिलबस्तु क्षेत्रमा उद्योग बिस्तार हुने क्रममा छ । लुम्बिनी क्षेत्रबाट औद्योगिकरण र पर्यटनको माध्यमबाट राष्ट्रले नै ठूलो फाइदा लिन सरकारले भैरहवासम्म १ सय ३२ केभिएको बिद्युत प्रशारणको व्यवस्था, भैरहवामा निर्माण गर्ने भनिएको एकीकृत चेक पोष्ट (आईसीपी) को सिघ्र संचालन, औद्योगिक क्षेत्रको स्थापना र सिमानादेखि ११ किमी पर भारतको नौतनवासम्म रहेको रेलमार्गलाई आईसीपी र सेजसम्म जोड्ने कार्यलाई अति प्राथमिकतामा राख्न जरुरी छ ।

भर्खरै संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, छ लेनको बेलहिया–बुटवल व्यापारिक मार्ग, बिशेष आर्थिक क्षेत्र (सेज), मोतीपुरमा प्रस्तावित ठूलो औद्योगिक क्षेत्र, धकधई क्षेत्रमा निर्माण हुने तयारीमा रहेको औद्योगिक करिडोर, चार लेनमा निर्माण भएको भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सडक, भैरहवाको बेथरीदेखि अमुवा हुँदै बुटवल पूर्व–पश्चिम राजमार्गमा जोडिने चार लेनको सडक, देवदह–मणिग्राम–मानपकडी–सूर्यपुरा हुँदै लुम्बिनी जोड्ने बुद्ध सर्किट सडक, भैरहवा नजिकैको मैनहियामा संचालनमा आएको १ सय ३२ केभी बिद्युत प्रशारण आयोजना लगायतका पूर्वाधारले नै लुम्बिनी क्षेत्रमा औद्योगिक लगानीको हव बनाएको हो ।