November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

किसानलाई सधैं मलकै पिरलो

भैरहवा– लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मलको चरम अभाव छ । किसानले खेतीको सिजनमा मल पाएका छैनन् । यी तीन प्रदेशसहित गण्डकी प्रदेशको नवलपुर र स्याङ्जा जिल्लामा मल उपलब्ध गराउँदै आएको भैरहवास्थित कृषि साम्रगी कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म यूरिया २४ हजार ७  र डीएपी मल १६ हजार ७४ मेट्रिक टन आएको छ । यूरिया माघ महिनामै सकियो र त्यसयता आयात नै भएको छैन ।

Advertisement

धान र मकैको सिजनका लागि चैत महिनामा डीएपी ७ हजार र पोटास २ हजार ५ सय मेट्रिक टन आएको थियो । अहिले कम्पनीको गोदाममा करिब १ हजार ५ सय मेट्रिक टन डीएपी मौज्दात छ । बाँकी वितरण गरेर सकियो । केही मात्रामा मौज्दात रहेको पोटास र डीएपी मल सरकारले घोषणा गरेको पकेट क्षेत्रका लागि हो । यो वर्ष आयात गरिएको डीएपी, युरिया र पोटास कृषकको माग भन्दा निकै कम हो । जसले गर्दा किसान मल पाउनबाट बञ्चित भएका छन् ।

Advertisement

‘यहाँ मल माग्न आउने धेरै हुनुहुन्छ, भएसम्म हामीले कोटा प्रणालीबाट वितरण गरेका छौं’, भैरहवास्थित कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रबन्धक नारायणप्रसाद शर्माले भने, ‘अहिले यूरिया छैन, डीएपी पनि पर्याप्त नहुँदा किसानलाई चाहेजति उपलब्ध गराउन सकिएको छैन ।’

यस वर्ष यूरिया आयात नै नभएको पाँच महिना भइसकेको छ । कोरोना महामारी, मलको अन्तर्राष्ट्रिय बजारमा मूल्यबृद्धि, ठेकेदारको ढिलासुस्ती, युक्रेन र रसियाबीचको युद्धका कारण मल समयमै नआएको शर्मालजनाए । ‘तर, पछिल्लोपटिक भारतले मल उपलब्ध गराउने प्रतिबद्धता जनाएका कारण असार तेस्रो सातासम्म मल आउने अपेक्षा हाम्रो छ’, उनल भने ।

खेती गर्ने सिजनमा मल अभावले किसानले सधै हैरानी खेप्दै आएका छन् । सरकारले ग्लोबल र जिटिजी टेण्डरमार्फत् मल ल्याउने प्रक्रियामा ढिलाई गर्दा सधैजसो सिजनमा मल अभाव हुने गर्छ । यो वर्ष पनि समयमै मल नपाउँदा किसान चिन्तित छन् । सीमाक्षेत्रका किसानले भारतबाट कम पोषकतत्व भएको मल ल्याएर प्रयोग गरिरहेका छन् । मल समयमै आपूर्ति नहुँदा उत्पादन घट्ने चिन्तामा किसान छन् ।

अहिले मलको माग अत्यधिक छ । कृषि सामाग्रीको कार्यालयमा धान, मकै र तरकारी बालीका लागि मल माग्न आउने संस्था दैनिक २०–२५ वटा छन् । मलको अवस्था बुझ्न आउने किसानको लर्को नै लाग्छ । तर मल नभएका कारण उनीहरु सधैं अमिलो मन बनाएर रित्तै फर्किने गरेका छन् । ‘पटकपटक कम्पनीको कार्यालय धाउँदासमेत मुख्य सिजनैमै मल नपाउँदा सरकार किसानप्रति उदासिन भएको प्रष्ट देखिन्छ’, लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अब्दुल वहिद मुसलमानले भने, ‘मल समेत नपाउने मुलुकलाई कसरी कृषि प्रधान भन्ने ? सरकार कहिल्यै किसानका मर्कामा गम्भीर बनेन ।’ उनले तीनपटकसम्म मलका लागि आफू कृषि सामाग्री कम्पनीको कार्यालय धाएको जनाए ।

कृषि सामाग्री कम्पनीको कार्यालय पटकपटक धाउने अर्का किसान हुन्, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका देवीराम पाण्डे । उनले तेस्रो पटक भैरहवा आउँदा बल्ल पाँच मेट्रिक टन जति डीएपी पाएको बताए । ‘टाडाबाट धाउँदा धाउँदै वाक्क भएको थिएँ, धन्न आज थोरी भए पनि मल पाइयो’, बिहीबार कम्पनीको कार्यालय परिसरमा भेटिएका उनले भने, ‘यो मल लगेर हामीले गाउँभरि किसानलाई समूहमार्फत वितरण गर्छौं ।’ उनले सधैभरि मलको चिन्ताले किसानलाई पिरोल्दासमेत राजनीतिक दल र सरकारमा बस्नेको मन कहिल्यै नपोल्ने बताए ।

लुम्बिनी प्रदेशमा वार्षिक युरिया एक लाख, डीएपी ७० हजार र पोटास १० हजार मेट्रिक टन आवश्यक पर्छ । तर, हरेक वर्ष यसको आधा पनि आयात हुँदैन । समयमै मल नपाउँदा सीमा क्षेत्रका किसानले भारतीय बजारबाट चोरी पैठारी गरी कम पोषकतत्व भएको मल ल्याएर प्रयोग गरिरहेका छन् । यसले उत्पादन र माटोको उर्वराशक्तिमा ह्रास ल्याइरहेको कृषि विज्ञ बताउँछन् । अवैधरुपमा आयात भएको मल परीक्षण गर्ने प्राविधिक र प्रविधि यस क्षेत्रमा छैन । जसले गर्दाकिसानले कस्तो मल प्रयोग गरे भन्ने थाहा नहुने प्रबन्धक शर्माले जनाए ।

धेरै ठाउँमा यतिबेला धान रोपाइँ सुरु छ । कृषि प्राविधिकका अनुसार डिएपी, यूरिया र पोटास प्रतिकठ्ठा ३ः२ः१ को समिश्रणमा राख्नुपर्छ । जसले उत्पादन र उत्पादकत्व बढाउँछ । धानको उत्पादन बृद्धि गर्नका लागि डिएपी र पोटास रोप्नुपूर्व खेतमा हाल्नुपर्छ । पोटास नराख्दा धानमा किरा लाग्ने हुनाले उत्पादनमा ह्रास आउन सक्छ । पोटासले किरा मार्न र माटो खुकुलो पार्न मद्दत गर्छ । यूरिया धान रोपेपछि कम्तिमा तीन पटक प्रयोग गर्नुपर्छ । तर यही बेला मल नपाउँदा किसान चिन्तित छन् ।