November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

न लोडसेडिङ, नत बिजुली

भैरहवा– तपाइँले कम्प्युटरमा काम गर्दै हुनुहुन्छ वा राइस् कुकरमा खाना पकाउँदै हुनुहुन्छ । अन्य कुनै विद्युतीय उपकरणको प्रयोग गर्दैहुनुहुन्छ ? ख्याल गर्नुस्, कुनै पनि बेला विद्युत सप्लाई बन्द हुन सक्छ । कतिखेर विद्युत आउने हो ? कुनै ठेगान छैन । केही दिनदेखि विद्युत अनियममितता बढ्दै जान थालेको छ । विद्युत सप्लाई निरन्तरता छैन ।

Advertisement

विद्युत आपूर्ति भैरहेकै वेलामा पनि भोल्टेजमा एक रुपता छैन । घरि अति डिम, त घरी एक्कासी उच्च भोल्टेज । घरी पंखा पनि घयाट् घयाट् गर्दै चल्ने । स्टेपलाइजर नराखेको भए घरी उच्च भोल्टेजले कम्प्युटर फ्रिज सवै उपकरण जल्ने । यस्ता समस्याबाट धेरैजना पीडित भैसकेका छन् ।

Advertisement

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ मुक्त घोषणा गरेको धरै वर्ष भयो । तर त्यस किसिमको अनुभूति भने भैरहवावासीले गर्न पाएका छैनन् । अघोषित लोडसेडिङको मार खेप्न अहिले पनि बाध्य छन् ।

‘देशभर लोडसेडिङ नहुने घोषणा सरकारले गरे पनि हामी भने वारम्बार हुने गरेको अघोषित लोडसेडिङ्गबाट पीडित छौं’, भैरहवा मर्निङ्ग वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले भने, ‘बिजुली आएको वेला पनि भोल्टेजमा एकरुपता नभएकाले विद्युतीय उपकरण बिग्रिएकाले क्षतिपूर्ति उपलब्ध गराइनु पर्छ ।’ दिनमा २५–३० पटकसम्म बिजुली जाने गरेको, विजुली आए पनि पानी तान्ने मोटर, लुगा धुने मेसिन, पंखा, एयरकण्डिशन, फ्रिज, कम्प्युटर जस्ता उपकरण नचल्ने र उच्च र कम भोल्टेजका कारण ति सामाग्री बिग्रिने गरेकाले क्षतिपूर्ति उपलब्ध गराउनका लागि पहल गरिदिन उनले वर्षदिन अघि नै लिखित माग गरेका थिए ।

‘सामान्य पंखा पनि नचल्ने खालको बिजुली दिनु भन्दा बरु निश्चित समयसम्म लोडसेडिङ्गलाई कायमैं राखेर भए पनि गुणस्तरीय बिजुली दिइयोस्’, भैरहवाका स्थानीयबासी तथा इलेक्ट्रोनिक व्यवसायी राजु नारायण श्रेष्ठले भने, ‘देशव्यापी लोडसेडिङ्ग मुक्त गर्ने क्षमता नहुँदा नहुँदै पनि सस्तो लोकप्रियताका लागि गरिएको यो घोषणाले हामी पीडित हुनु परेको छ ।’

अत्याधिक गर्मीले सताउने गरेको भैरहवा क्षेत्रमा वारम्बार विद्युत अवरोध हुने र पंखा समेत राम्ररी नचल्ने गुणस्तरहीन विद्युतबाट स्थानीय वासिन्दा समस्यामा परेका छन् ।
विद्युतका कारण भैरहवा क्षेत्रका उद्योगतर्फको अवस्था त अझ बेहाल छ । एक साता हुन लाग्यो उद्योगमा लाइन नभएर ब्लाकआउट भएको ।

दिउँसो एकाध घण्टा विद्युत उपलब्ध हुने र त्यतिबेला उद्योग परिसरका बत्ति, पंखा र पानी तान्ने मोटर बाहेक उद्योगका मेसिन चलाउने अनुमती नभएको भैरहवास्थित घराना फुड्सका संचालक बिकास गोयनका बताउँछन् । उनका अनुसार, त्यतिवेला बत्ति, पंखा र पानी तान्ने मोटर बाहेक अन्य केही पनि बिजुलीबाट नचाउन भनेर विद्युत प्राधिकरणको बितरण शाखाबाट फोनबाट मौखिक निर्देशन आएको छ ।

चैतको अन्तिम हप्तादेखि नै उद्योग संचालनका लागि विद्युत अभाव हुन थालेको हो । एक सातादेखि ३३ केभीए बिद्युत प्रशारण लाइनबाट संचालन हुने सवै उद्योगले उत्पादन बन्द गर्नु परेको छ । बिशेषगरि यसक्षेत्रका सिमेन्ट, छड, ब्लक लगायतका निर्माणजन्य र खाद्यान्नका ठूला उद्योगले समस्या झेल्नु परेको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले अघोषित लोडसेडिङले उद्योग संचालनमा झन् समस्या पारेको बताउँछन् । ‘बरु लोडसेडिङ नै कायम गरेर विद्युत उपलब्ध हुने समय तालिका बनाइदिएमा व्यवसायीले त्यही किसिमबाट उद्योग संचालनको व्यवस्थापन गर्ने थिए’, न्यौपानेले भने ।

जुनसुकै बेला पनि विद्युत अवरुद्ध हुने र विद्युत उपलब्ध भएका बेलामा पनि भोल्टेजको एक रुपता नहुँदा दोहोरो नोक्सानीमा पर्ने गरेको व्यवसायी बताउँछन् । रोहिणी एग्रो इण्डष्ट्रिजका संचालक दीपक पौडेलले लोडसेडिङको समय तालिका पाएमा त्यही किसिमबाट कामदारको व्यवस्थापन गर्न सकिने बताए ।

विद्युत आपूर्ति प्रकृयामा वारम्बार अवरुद्ध भई भोल्टेज तलमाथि (ट्रिपिङ) हुन थालेपछि उद्योग संचालन असहज र उत्पादन लागत महंगो पर्न थालेको व्यवसायी बताउँछन् । कोभिडका कारण लामो समयसम्मको लकडाउन, मजदुरको अभाव लगायतका कारण पीडित बनेका यस क्षेत्रका उद्योग पछिल्लो समयमा नियमित र व्यवस्थित विद्युत अभावले समस्यामा पर्न थालेका हुन् ।

नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाका बितरण प्रमुख अवधेशकुमार दुवेले केही दिनदेखि सुख्खा यामका कारण जलविद्युत आयोजनाको जलासय घट्नाले उत्पादनमा कमी आएको र भारतमैं पनि विद्युत कमी भएकाले आयात गर्न नसकिँदा अभाव हुन गएको बताए । शनिवारदेखि भने विद्युत आपूर्तिमा केही सुधार आएको दावी उनले गरे ।