November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

व्यग्रता अन्तर्राष्ट्रिय क्रिकेट मैदानको

भैरहवा– सिद्धार्थ क्रिकेट मैदानलाई स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरेको एक दशक गुज्रिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदानको व्यग्रतामा खेलाडी, अम्पायर, क्रिकेट संघ, खेलप्रेमी मात्रै होइन्, भैरहवाका हरेक नागरिक छन् ।

Advertisement

रुपन्देही राष्ट्रियस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्ने हवका रुपमा परिचित छ । त्यसैले पनि यहाँका हरेकजसो स्थानीयको मनमा क्रिकेट प्रेम छ । अन्तर्राष्ट्रिय मैदानको तीव्र अपेक्षा छ । अण्डर–१९ र राष्ट्रियस्तरमा यो क्षेत्रबाट धेरै खेलाडी टिममा छन् । विगतमा पनि राष्ट्रिय टीमबाट शक्तिप्रसाद गौचनजस्ता चर्चित खेलाडीले योगदान दिए ।

Advertisement

रुपन्देही क्रिकेट संघ र यससँग सम्बन्धित संघसंस्थाको आँकडा हेर्ने हो भने जिल्लामा अहिलेसम्म विभिन्न उमेर समूहका गरी ९० बढी अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन भइसकेका छन् । तर, विडम्बना स्तरीय क्रिकेट खेल मैदान नहुँदा खेलाडीहरु अभ्यास गर्न भने पाउँदैनन् । जिल्लामा आवश्यक पूर्वधारसहितको खेल मैदान तयार भए नेपालकै अझ उत्कृष्ट खेलाडीहरु उत्पादन हुनसक्ने पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचन बताउँछन् ।

‘सिद्धार्थ रंगशालालाई जतिसक्दो चाँडो डीपीआरअनुसार सक्नुपर्छ’, उनले भने, ‘ग्राउण्ड राम्रो भयो भने खेलाडी हरेक हिसाबले सिक्छ र प्रदर्शन गर्नसक्छ ।’ बजेट अभाव र अन्य कुनै बहाना यस मैदानप्रति गर्न नहुने उनी बताउँछन् । तर, पर्याप्त बजेट नहुँदा स्तरोन्नती भइरहेको मैदानको काम भने सुस्त गतिमा छ ।

प्रत्येक वर्षजसो राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बजेट छुट्याउने गरे पनि त्यो पर्याप्त छैन । थोरै बजेट छुट्याउँदा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्न कति वर्ष लाग्ने हो भन्ने टुंगो छैन । स्थानीयस्तरमै बनेको अन्तर्राष्ट्रिय मैदानमा क्रिकेट खेल्ने सपना बोकेका यहाँका कयौं खेलाडीहरु, खेल पर्यटनको विकास हुन्छ भन्ने आशामा बसेका पर्यटन व्यवसायी र स्थानीय भने निर्माणमा भएको ढिलाइले निरास छन् ।

प्रत्यके वर्ष आवश्यकताभन्दा निकै कम बजेट मैदान स्तरोन्नतीका लागि आउने गरेको छ । जसले गर्दा मैदान निर्माणको प्रगति खासै देखिएको छैन । ‘काठमाडौं बाहिर धेरै बजेट पाउने र राम्रो प्रगति हासिल गरेको सिद्धार्थ रंगशाला हो, तर रंगशालालाई छिटो सम्पन्न गर्न आवश्यक बजेट भने उपलब्ध छैन । यसैले अब एकैपल्ट टेन्डर गरी बहुवर्षीय योजनामा लगेर यसको निर्माण सक्नुपर्छ’, नेपाल क्रिकेट संघका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले भने ।

क्रिकेट मैदान क्षेत्रमा बनेका संरचना पनि व्यवस्थित हुन सकेका छैनन् । झ्यालहरु फुटेका छन् । फोहोर उस्तै छ । भवन वरिपरी झाडीले ढाकेको छ । व्यवस्थित ढोका छैनन् । भवन क्षेत्र प्रवेशद्वार खुल्ला हुँदा स्थानीयले फोहोर फ्याँक्ने गरेका छन् । सिसा फुटेका छन् । शौचालय व्यवस्थित छैन । सफाई नहुँदा गन्धले बसिसक्नु छैन । ‘यहाँ धेरै समस्या छन्’, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले भने, ‘यसअघिको कार्यसमितिले क्रिकेट खेललाई स्थापित गर्यो, अब हामीले व्यवस्थापकीय कामलाई चुस्त राख्छौं ।’ उनले संरचना संरक्षणसँगै प्रशासनिक कामलाई पनि व्यवस्थित गरेर लैजाने बताए ।

क्रिकेट मैदान स्तरोन्नतीमा अहिलेसम्म करिब १० रुपैयाँ खर्च भइसकेको छ । २०६८ सालदेखि सुरु गरिएको मैदान स्तरोन्नतीकोे काम भने कछुवा गतिमा हुँदा सर्वत्र आलोचना भइरहेको छ । मैदानमा ७ हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाइ काम गरिरहेको छ । डीपीआरअनुसार मैदान बनाउन ३८ करोड रुपैयाँ लाग्ने जनाइएको छ । तर बजेट भने निकै कम उपलबध छ ।

एक दशकसम्म बल्ल १५ प्रतिशत हाराहारीमा काम भएको छ । वर्सेनि आउने सीमित बजेटले कहिलेसम्म डीपीआरअनुसार अन्तर्राष्ट्रियस्तरको मैदान बन्ने हुने भन्ने अत्तोपत्तो छैन । यही गतिमा काम हुने हो भने अझै २५ वर्ष मैदान अन्तर्राष्ट्रियस्तरको नहुने खेल क्षेत्रका अगुवा बताउँछन् । थोरै बजेट आउँदा प्रत्येक वर्ष टेन्डर गरी फरकफरक ठेकेदारलाई ठेक्का दिइएको छ । बारम्बार ठेकेदार परिवर्तन हुँदा पनि कामले चाहेजति गति लिन सकेको छैन । ‘अब बहुवर्षीयमा गई एउटै ठेकेदारबाट काम गर्नुपर्छ’, कार्यबाहक सचिव मल्लले भने ।

मैदानको स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । तर, त्यो रकमबाट के काम गर्ने भन्ने अझैसम्म टुंगो लागेको छैन । अघिल्लो वर्ष आएको बजेटबाट पनि कोरोनाका कारण राम्रोसँग काम हुनसकेन । सात बिगाहा क्षेत्रफलभित्र बनाउन लागिएको क्रिकेट मैदानमा २०६८ मा एक करोड १९ लाख रकम खर्च गरेर प्याभेलियन भवन बनाइएको थियो । त्यसपछि मैदान सम्माउन तीन वर्ष लाग्यो ।

यहाँ अहिलेसम्म प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, १ करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर र भवन मर्मत गरिएको छ । आब ०७६–०७७ मा आएको ४ करोड रुपैयाँबाट काठमाडौंको कुमार गिरी कन्ट्रक्सनले ३ करोडमा ठेक्का सम्झौता गरी हल, खेलाडी बस्ने ठाउँ शौचालयसहितको तीन तल्ले भीआईपी प्याराफिट निर्माण सुरु गरेको थियो । तर अहिले अलपत्र छ । ठेकेदारले काम रोकेको छ । छुट्याइएको पूरै बजेट पनि खर्च हुन नसक्दा फ्रिज भएको मल्लले बताए ।

बर्सेनि कनिका छरेझै बजेट छर्दा र ठेकेदार फेरिरहँदा सुस्त गतिमा बनिरहेको क्रिकेट मैदानको काममा ०७५–०७६ मा उपलब्ध साढे ३ करोड र गत आर्थिक वर्षमा एक करोड रुपैयाँको त कामै नभई फिर्ता गएको थियो । राखेपले समयमै टेन्डर आह्वान नगर्दा बजेट फ्रिज भएको हो । मैदानको रुपन्देही क्रिकेट संघले संरक्षण र सम्बद्र्धन गर्दै आए पनि सरकारी तबर र जिल्ला खेलकुद विकास समितिबाट संरक्षणमा समेत खासै ध्यान दिइएको छैन ।

सोमबार क्रिकेट मैदान निरीक्षणमा पुगेका लुम्बिनी प्रदेशका खेलकुद मन्त्री वसिउद्दिन खाँनले पनि प्रगति विवरण सुनेर चिन्ता लागेको बताए । ‘यस्तो कछुवा गतिले काम हुनुहुँदैन’, उनले भने, ‘प्रदेश सरकारले अब संघ सरकारसँग समन्वय गरेर मैदान स्तरोन्नतीलाई पूर्णता दिन लाग्नेछ ।’ उनले प्रदेश सरकारसँग बजेट निकै कम हुने भएकाले संघसँग सहकार्य गरेर स्तरोन्नतीको काम चाँडो सक्न पहल गर्ने जनाए ।