November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

भैरहवामा बाक्लो कुहिरो, हवाइ उडान अवरुद्ध

भैरहवा- भैरहवाको मौसममा एक्कासी परिवर्तन भएको छ । आइतवार बिहानैदेखि मर्निङवाकमा हिंड्नेदेखि कामकाजका लागि निस्किने सवै व्यक्तिले अन्य दिनको तुलनामा धेरै चिसोको महसुस गरेका छन् । सडकमा पनि मोटरसाइकल र साइकलमा गुड्ने यात्रुको यात्रा निकै कष्टकर बनेको छ ।

Advertisement

हुनत: केही दिनयता भैरहवा र आसपास क्षेत्रको मौसम दिनभरि तुवालोले धुम्मिने गथ्र्यो । तर बिहानै लाग्ने पारिलो घामले दिभरि न्यानो सुखद् अनुभूति गराउँथ्यो । सांझ र बिहानमा मात्रै सामान्य चिसो महशुस हुन्थ्यो । तर आइतवार भने १२-१ बजेसम्म पनि मौसम खुल्न सकेको छैन । नत पारिलो घाम नै । बिहानैदेखि लागेको बाक्लो कुहिरो १ बजेसम्म पनि राम्ररी खुलेको छैन ।

Advertisement

अन्य वेला (मौसम सफा हुँदा) भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा बिहानै साढे ८ बजे विमानले उडान र अवतरण गर्न सुरु गर्थे । आइतवार भने यो समाचार तयार पार्दासम्म (दिउँसो २ बजेसम्म) कुहिरोका कारण बिमानस्थल खुल्न सकेको छैन । ‘आज अहिलेसम्म कुनै पनि उडान हुन सकेको छैन’, विमानस्थलको टावर शाखामा कार्यरत पवन अग्रहरीले भने, ‘विमानस्थल खुल्नका लागि अझै एक घण्टा समय लाग्न सक्छ ।’

विमानस्थल खुल्ने आशामा विमानस्थल भरि यात्रु खचाखच भरिएका छन् । विमानबाट आउने आफन्तलाई लिन जानेको पनि विमानस्थल परिसरमा उस्तै भिड छ । सवैको भनाइ र हेराइ मौसम र कुहिरो खुल्ने आशमा आकाशतिर केन्द्रित छ । गौतम बुद्ध विमानस्थलबाट दैनिक २२-२३ वटा उडान हुने गरेको छ । जसमध्ये, भैरहवा–पोखरा २, भैरहवा–बिराटनगर १, भैरहवा–भरतपुर १ र अन्य भैरहवा–काठमाठौंबीच छन् ।

बिमानस्थल खुल्नका लागि १ हजार ६ सय मिटरको भिजीविलीटी (आँखाले देख्न सकिने दुरी) आवश्यक पर्छ । आइतवार दिउँसो १:५ मा ८ सय मिटरमात्रै थियो । बिहान ७: ५ देखि साढे १० बजेदेखि त १ सय मिटरमात्रै थियो । ‘विमानस्थल खुल्न त खुल्छ होला तर ढिलो हुन्छ’, विमानस्थलको मौसम शाखामा कार्यरत बाल गोबिन्द लोनियाले भने, ‘सवै फ्लाइट डिले भैरहेका छन् ।’ यति अवेलासम्म भिजीविलीटी नपुगेर विमानस्थल नखुलेको यो यस बर्षकै पहिलो पटक हो ।

चिसो पनि अन्य दिनको तुलनामा बढेको छ । मौसम शाखाका अनुसार, बिहान साढे ८ बजे भैरहवाको तापक्रम न्युनतम ७.४ डिग्री सेल्सियस थियो ।