लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानलाई सक्रिय बनाउने तयारी



भैरहवा– लुम्बिनी विकास कोषले विगतमा आगन्तुक तथा अध्येताका लागि बन्द रहेको लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
यसलाई सञ्चालनमा ल्याएर सेवा र सुविधालाई प्रभावकारी बनाउने विषयमा कोषले पहल थालेको छ । कोषका सदस्य ई.सचिव सन्तोष पाण्डेयले बुधबार संस्थानको अवलोकन गर्दै यसको सञ्चालन, व्यवस्थापन तथा अनुसन्धान सम्बन्धि गतिविधिलाई व्यवस्थित बनाउन पहल अघि बढाउने बताएका हुन् ।
लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्थान बौद्ध अध्ययन, अनुसन्धान र प्राज्ञिक आदानप्रदानको महत्वपूर्ण केन्द्र हो । यहाँ बौद्ध धर्मसम्बन्धी ग्रन्थ, पाण्डुलिपि, अनुसन्धान प्रतिवेदन तथा शैक्षिक प्रकाशनको संग्रह रहेको छ । साथै, बौद्ध दर्शन, इतिहास, कला, संस्कृति तथा पुरातत्त्वसम्बन्धी अध्ययन र अनुसन्धानका लागि स्वदेशी तथा विदेशी अध्येतालाई सहयोग पु¥याउने उद्देश्यले यस संस्थान स्थापना गरिएको कोषले जनाएको छ ।
‘बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित यस संस्थानलाई पुनः सक्रिय बनाउँदा लुम्बिनीको अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धान पहिचान थप सुदृढ हुन्छ,’ सदस्य सचिव पाण्डेले भने, ‘अनुसन्धानकर्ता र अध्येताहरूको पहुँच विस्तार हुने तथा बौद्ध ज्ञान र साहित्यको अध्ययन, संरक्षण र प्रचारप्रसारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।’
लुम्बिनीलाई धार्मिक तीर्थस्थलका साथै विश्वस्तरीय अध्ययन, अनुसन्धान र ज्ञानको केन्द्रका रूपमा विकास गर्ने दिशामा संस्थानको प्रभावकारी सञ्चालन महत्वपूर्ण हुने उनले बताए ।








प्रतिकृया दिनुहोस्