November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

‘लुम्बिनी महोत्सव यस क्षेत्रको साझ पर्व हो’

Advertisement

भैरहवा– दशौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८३ को तयारी तिव्र पारिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यही मंसिर १७ देखि २८ गतेसम्म सिद्धार्थनगर–८ स्थित अंचलपुरमा महोत्सव हुँदैछ ।

Advertisement

महोत्सवको तयारीसँगै बुधबारदेखि मेलास्थलमा सचिवालय संचालनमा आएको छ । सचिवालय संचालनसँगै महोत्सव सम्बन्धि सम्पूर्ण कार्य यहीबाट संचालन हुने संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । महोत्सवलाई सबै क्षेत्रको साझा पर्व बनाउने गरी काम भइरहेको आयोजकले जनाएका छन् । ‘हामीले महोत्सवको तयारी द्रुत गतिमा अघि बढाइसकेका छौं’, उनले भने, ‘भौतिक संरचना निर्माण, प्रचारप्रसार र सहयोगी दाताहरुसँगको भेटघाटलाई एकसाथ अघि बढाएका छौं । महोत्सव हामी सबैको साझ उत्सव हो भन्ने सन्देश प्रवाह गरिरहेका छौं ।’

उनले महोत्सवमा एकैथलोमा धेरै स्वदेशी उत्पादनको प्रबद्र्धन हुने जनाए । नयाँ उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रम गरिने मेला मूल आयोजक समितिका संयोजक समेत रहेका आचार्यले बताए । सचिवालय संचालनपछि महोत्सवको रौनकता थप थपिएको उनको भनाई छ । महोत्सवलाई प्रभावकारी बनाउन दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती, भैरहवा आइडल, अन्तरक्रिया र उत्पादनको प्रदर्शनी हुने अध्यक्ष आचार्यले जनाए ।

उनका अनुसार २५० स्टल राख्ने लक्ष्य राखिएकोमा हालसम्म २ सय स्टल दर्ता भइसकेका छन् । बाँकी स्टलहरु पनि एकदुई दिनमा दर्ता भइसक्ने उनको भनाई छ । पर्यटन, कृषि, उद्योग–व्यापारको प्रबद्र्धन गर्ने कार्यक्रम भएकाले सबैले साझा दायित्व मानेर मेला सफल बनाउन उनको आग्रह छ ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले महोत्सवमा मर्चवारदेखि मुस्ताङसम्मका स्वदेशी उत्पादनको प्रबद्र्धन गरिने जनाए । उनले विगतका महोत्सव भन्दा यसपटक केही पृथक गर्ने प्रयास गरिएको जनाउँदै उद्यमशीलता विकास र आर्थिक क्षेत्रलाई चलायमान बनाउन मेला सार्थक हुने विश्वास व्यक्त गरे । व्यवसायिक विकास र प्रचारका लागि महोत्सव साझा थलो भएको उनको भनाई छ ।

संघका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपानेले विगतका महोत्सवको अनुभवलाई संगालेर यसपटक रणनीति परिवर्तन गरेर काम गरिरहेको जनाउँदै यसले राम्रो रुप लिने विश्वास व्यक्त गरे । उनले नयाँ उद्यम गर्न चाहनेहरुका लागि यो महोत्सव महत्वपूर्ण कडी हुने जनाउँदै सबैलाई साथ र सहयोगका लागि अनुरोध गरे ।

संघका बरिष्ठ उपाध्यक्ष दीलिपकुमार कान्दुले महोत्सव भैरहवासँगै रुपन्देहीबासीको साझा पर्व भएको जनाए । यसलाई सफल पार्दा समग्र क्षेत्र लाभान्वित हुने उनको विश्वास छ । संघका महासचिव कृष्णप्रसाद घिमिरेले थरिथरिका उत्पादन खरिद गर्न र स्वाद लिने संगम महोत्सव भएको जनाए । उनले रुपन्देहीको कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई महोत्सवले नयाँ उचाई प्रदान गर्ने जनाए ।