रामपुर आयुर्वेद अस्पतालमा योगहल



पाल्पा–योग अभ्यासप्रति आकर्षण बढ्दै गएपछि पाल्पाको रामपुर आयुर्वेद अस्पतालमा ५० जना साधकले एकैपटक अभ्यास गर्न सक्ने सुविधासहित नयाँ योगहल निर्माण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त हल आइतवारदेखि सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले नवनिर्मित योगहलको उद्घाटन गर्दै स्वस्थ जीवनका लागि योगलाई दैनिक दिनचर्याको हिस्सा बनाउनुपर्ने बताए ।
योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको अभ्यास घरपरिवारदेखि नै सुरु गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।
।
रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलका अनुसार योगहल निर्माणका लागि प्रदेश सरकारले ३० लाख र नगरपालिकाले ६ लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।
कुल ३६ लाख रुपैयाँको लागतमा हल निर्माण गरिएको हो । यसअघि अस्पताल परिसरमा रहेको २५ जनाको क्षमता भएको हलमा योग अभ्यास हुँदै आएको थियो । नयाँ हल निर्माण भएपछि एकैपटक ५० जनाले अभ्यास गर्न सक्ने भएका छन् ।
पतञ्जली योग समिति रामपुर र महिला पतञ्जली योग समितिले अस्पतालमा नियमित रूपमा योग कक्षा सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय रामपुर क्षेत्रमा योग अभ्यास गर्नेहरूको संख्या पनि बढ्दै गएको छ ।








प्रतिकृया दिनुहोस्