उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न



भैरहवा–श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन रुपन्देहीका विभिन्न नदी, पोखरी, तलाउ तथा जलाशयमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
छठ पर्वको तेस्रो दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । त्यसपछि रातभर पूजाआराधना गरी सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै पर्व समापन भएको हो । भैरहवाका विभिन्न पोखरी तथा जलाशयमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो । व्रतालुहरू परिवारका सदस्यसहित पूजाका सामग्री लिएर जलाशयमा पुगेर सूर्यदेवको आराधना गरेका थिए ।
सूर्यदेव र छठी माताको पूजा गर्नाले चर्मरोग निको हुने, सन्तान प्राप्ति, धनधान्य वृद्धि, निर्धनता अन्त्य तथा परिवारमा सुख, शान्ति र आरोग्यता प्राप्त हुने धार्मिक एवं सामाजिक जनविश्वास रहिआएको छ । विशेषगरी परिवारको सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै महिला तथा पुरुषले कठोर व्रत बस्ने परम्परा छ ।
छठ पर्वमा पूजा सामग्री तयार गर्दा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइन्छ । ढिकी तथा जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पिठोबाट बनाइएका ठकुवा, भुसुवा, विभिन्न मिष्ठान्न परिकार, उखु, केरालगायत मौसमी फलफूल पूजा सामग्रीका रूपमा चढाइन्छ । माटोका भाँडामा जमाइएको दहीलगायत सामग्रीसमेत अर्घ्यमा समावेश गर्ने प्रचलन छ ।
यस वर्ष रुपन्देही जिल्लाभर छठ पर्व शान्तिपूर्ण, व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । छठ पर्वले सामाजिक सद्भाव, पारिवारिक एकता, धार्मिक सहिष्णुता र आपसी भाइचाराको सन्देशसमेत प्रवाह गरेको छ ।








लेखकको सम्वन्धमा