November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र हाम्रो अपेक्षा

Advertisement

आफ्नो प्रधानमन्त्रीत्वकालको पहिलो बिदेश भ्रमणको रुपमा प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा निस्कँदै छन् । भारत भ्रमणका बिविध राष्ट्रिय एजेण्डाहरु मध्ये छुटाउनै नहुने एउटा एजेन्डा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) पनि हुने अपेक्षा गरिएको छ । सरकारी पथभ्रष्टता र जवाफदेहीबिहीन अकर्मण्यताको शिकार भई यथास्थितिवादको लाचार छायामा थलिंदै आएको यस विमानस्थलको दिगो व्यावसायिक वातावरण निर्माण गर्नु बालेन सरकारको अग्नि परीक्षा नै बनेको छ । पर्याप्त व्यावसायिक संभाव्यता हुँदाहुँदै पनि जनतामाथि ऋणको ठूलो भारी बोकाएर खण्डहर बनाइँदै आएका धेरै परियोजनाहरुको सूचीमा यो विमानस्थल पनि पर्नु भनेको केवल सरकारको अकर्मण्यताको कारणले मात्र हो । सरकारको इच्छाशक्ति भए गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेश नपाउने भन्ने हुनै सक्दैन ।

Advertisement

बिश्वभर छरिएर रहेका ३२४ मिलियन बौद्ध धर्मावलम्बीहरुको लागि यो विमानस्थल बिश्वशान्तिका अग्रदुत भगवान गौतमबुद्धको पवित्र जन्मस्थली लुम्बिनीमा आउने प्रमुख हवाई प्रवेशद्वार हो । मुस्लिम धर्मावलम्बीहरुको मक्का मदिना र इसाई धर्मावलम्बीहरुको जेरुसेलम, भ्याटिकन सिटी जस्तै बौद्ध धर्मावलम्बीहरुको लागि लुम्बिनी सबैभन्दा पवित्र तीर्थस्थल हो । साथै, पूर्व पश्चिम फैलिएको नेपालको झण्डै मध्य भूभाग, छिमेकी मित्रराष्ट्र भारतसँगको ब्रोडगेज रेलवे लाइन कनेक्टिभिटीको सम्भावना, रणनीतिक ठूला सडकमार्गको सन्जाल, बेल्हियामा निकट भविष्यमा संचालनमा आउँदै गरेको आईसिपी, स्थलमार्ग भई सबैभन्दा बढी तेस्रो देशका बिदेशी पर्यटक नेपाल भित्रने नेपालको प्रमुख आवागमनको नाका, बौद्ध सर्किट टुर (लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर) को सबैभन्दा समिपको गन्तब्यस्थल आदिले पनि यो विमानस्थलको संभावनालाई नकार्न सकिँदैन । समग्र नेपालको लागि महत्वपूर्ण रणनीतिक पर्यटन पूर्वाधार राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो विमानस्थलको निर्माणमा राष्ट्रिय ढुकुटीबाट अर्बौंको लगानी यत्तिकै गरिएको होइन ।

करिब ८०० मिटरको भिजिविलिटीमा समेत जुनसुकै अत्याधुनिक अन्तर्राष्ट्रिय विमानहरुले उडान/अवतरण गर्न सक्ने आरएनपी–एआर, आईएलएस प्रविधिहरुको जडान लगायत सबै प्रकारका आधारभूत तयारी पुरा भैसके तापनि यो विमानस्थलको उच्चतम सदुपयोगतर्फ सरकारको दृढ इच्छाशक्ति नहुनु आफैमा संदेहात्मक मान्न सकिन्छ । जेनतेन पूर्वाधार विकास हाम्रा लागि ठूलो उपलब्धि हो । अब यसको रणनीतिक/व्यावसायिक उपयोगबाट उचित प्रतिफल प्राप्त गर्ने वातावरण यथाशीघ्र बनाउनु नयाँ सरकारको राष्ट्रिय दायित्व हो । त्यसो भए यो विमानस्थल संचालनका लागि सरकारले तत्काल देहायका कदम चाल्नु अत्यावश्यक छ ।

पहिलो कुराः राष्ट्रिय हवाई नीतिमा समयसापेक्ष सुधार

सरकारले राष्ट्रिय हवाई नीतिमा समयसापेक्ष अबिलम्ब सुधार गर्नु अत्यावश्यक छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो अत्यधिक चाप रहेको, सो चापका कारण हवाई भाडामा बाध्यात्मक रुपमा अत्यधिक मूल्यबृद्धि हुने गरेको, हवाई भाडाकै कारणले नेपाल एशियाकै महङ्गो पर्यटकीय गन्तब्योन्मुख रहेको, बिदेशी पर्यटकहरु नेपाल नआई वैकल्पिक अन्य देशका गन्तब्यहरु रोज्न बाध्य भएको तीतो सत्यता छ । सामान्यतया काठमाण्डौंको आकाशमा एउटा जहाज १ मिनेट होल्ड हुँदा करिब रु. २०,०००/– सम्म खर्च हुन जाने अनुमान रहेको र दैनिक धेरै जहाजहरु लामो समयसम्म आकाशमा होल्ड हुँदा हवाई भाडामा अत्यधिक बृद्धि गर्नु परेको देखिन्छ । दिल्ली जानुभन्दा धनगढी जान महङ्गो हुनाको बिविध कारणहरु मध्ये प्रमुख कारण काठमाण्डौंको बढ्दो एयर समस्या पनि हो ।

त्यसैगरी बिदेशी पर्यटकहरुको नाममा बिश्वमा कतै प्रचलनमा नरहेको आन्तरिक हवाई भाडामा लामो समयदेखि नेपालमा मात्र चर्को शोषण हुँदै आइरहेको, सर्वसाधारणका लागि नेपालको हवाई भाडा समेत अन्य देशहरुको तुलनामा अचाक्ली रहेको र यसले गर्दा पर्यटकहरुको देशभर आवतजावतमा समस्या उत्पन्न भएको, फलस्वरुप पर्यटकको नेपाल बसाई पनि अपेक्षाकृत सन्तोषजनक नरहेको यर्थाथता छ । यस्तो अवस्थामा पर्यटन क्षेत्रको अपेक्षाकृत तुलनात्मक लाभबाट बन्चित हुनुपर्ने बाध्यता रहेकोले सरकारले हवाई नीतिमा केही बाध्यात्मक परिवर्तन गर्नु अत्यावश्यक छ ।

यसको लागि फुल सर्भिस (ठूला वाइड बडी)का सबै जहाजहरुले तुलनात्मक रुपमा सरकारलाई बढी सेवा, शुल्क तिर्ने, यस्ता जहाजहरुलाई राजधानीमा नै केन्द्रित गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकोले ती विमानहरु काठमाण्डौं केन्द्रीत गर्ने र अन्य न्यारो बडीका नेपाल आउने बजेट एयरलाइन्सहरुलाई मोफसलमा बेस गर्ने गराउने तवरबाट हवाई नीतिमा परिमार्जन गरिनु जरुरी छ । बिशेषत बौद्धमार्गी मुलुकहरु तथा श्रमिक गन्तब्य अरब मुलुकका साना जहाज र आन्तरिक हवाई कम्पनीहरुका विमानहरुलाई पनि राजधानी बाहिर नै ह्याङ्गर निर्माण गर्ने, पार्किङ्ग गर्ने र बेस गराउने बाध्यात्मक व्यवस्था गर्नु पर्दछ । यस नीतिले देहायका बिषयहरु सम्बोधन हुने देखिन्छ ।

-GBIA जाँदा “टायर पन्चर हुँदा कहाँबाट प्राविधिक ल्याउने?” भन्ने जस्ता सामान्य ग्राउण्ड ह्याण्डलिङ्गका आधारभूत प्रश्नहरुमा अन्तर्राष्ट्रिय विमान कम्पनीको चासो सम्बोधनमा सघाउ

-बिशेष कारणवश नेपालबाहिर डाईभर्ट भई जाने अन्तर्राष्ट्रिय विमानहरुले नेपालकै वैकल्पिक विमानस्थलमा ल्याण्डिङ्ग गर्न संभव हुन सक्ने,

-हवाई भाडाका कारण नेपाल महङ्गो गन्तब्योन्मुख हुंदै आएको गुनासो सम्बोधन हुने, आन्तरिक हवाई भाडा सस्तिने

-काठमाण्डौंको एयर ट्राफिक समस्या सम्बोधन हुन जाने

-भैरहवा तथा पोखरा जस्ता विमानस्थलहरुले समेत बिजनेश पाउने

-बिदेशी पर्यटकहरुलाई मोफसलका पर्यटकीय गन्तब्यहरुमा जान सहज हुने

-बिदेशी पर्यटकहरुको नाममा आन्तरिक हवाई भाडामा हुंदै आएको चरम शोषणको अन्त्य र  बिभेदीकरण न्युन हुने,

-नेपालका नयाँ संभावित पर्यटकीय गन्तब्यहरुको पहिचान, विकास र प्रवर्द्धनमा सहयोग पुग्ने,

-प्रदेश तथा स्थानीय सरकारको पर्यटकीय आय आर्जनमा समेत बृद्धि हुन जाने,

-पर्यटकहरुको नेपाल बसाई अवधि लम्बिने,

पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका बखत तत्कालिन क्यानका डिजीको ईच्छामा नै सीमित समयका लागि भैरहवामा ४/५ वटा अन्तर्राष्ट्रिय उडानहरु भए । डण्डा चलाएरै बिदेशी अन्तर्राष्ट्रिय विमानहरुलाई राजधानी बाहिर जान उद्देलित गर्ने विगतको त्यो अभ्यास हाम्रो लागि प्रभावकारी र दिगो हुन सकेन । त्यस्ता विमान कम्पनीहरुले भैरहवा उडान गर्नै मानेनन् । नियामक निकाय पनि दवाबहरुमा लाचार बन्नै पर्ने बाध्यता बन्यो । त्यसैले परिमार्जित नयाँ हवाई नीतिले मात्र नै नेपालको हवाई सेवा व्यवस्थापन चुस्तदुरुस्त बनाउन संभव छ । तब मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरुले पनि बिजनेश पाउने अवश्यम्भावी छ । त्यसैले राष्ट्रिय हवाई नीतिमा यथाशीघ्र समयसापेक्ष परिमार्जन गर्नु आजको पहिलो आवश्यकता हो ।

दोस्रो कुराः अन्तर्राष्ट्रिय एयर रुटको निर्क्याैल र गतिरोधको अन्त्य

हालसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व तर्फबाट आउने विमानहरुका लागि एयर रुटका बिषयमा कुनै अवरोध नरहेको देखिन्छ । बिशेषतः नेपालबाट बहिर्गमन हुने विमानको रुटमा भारतसँग समस्या नरहे तापनि आगमनका विषयमा समस्या रहेको पाइन्छ । साथै, नेपालको पश्चिमी भेकबाट आउने अन्तर्राष्ट्रिय विमानहरुले भैरहवादेखि २२ नटिकल माइल टाढा रहेको भारतस्थित “अपिपु” नामक हवाई बिन्दूबाट सिधै भैरहवा उडान/अवतरण गर्ने वातावरणको लागि भारतसँग दुई पक्षीय समझदारी गर्नु पर्ने आवश्यकता देखिन्छ । अन्यथा ९० नटिकल माइल टाढाको बाराको सिमरा गएर मात्र नेपाल प्रवेश गरेर भैरहवा अवतरण गर्नुपर्ने अवस्थाले यस विमानस्थलको प्रभावकारितामा प्रश्न उठ्ने देखिन्छ । त्यसैले विमानस्थलको सहज संचालनका लागि नेपाली पक्षले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर जस्ता बिन्दूहरुबाट पनि दोहोरो हवाई रुटको लागि अबिलम्ब भारतसँग दुई पक्षीय समझदारी गर्नु जरुरी देखिन्छ । साथै सुरक्षा संवेदनशीलताको बिषयहरु उठाई विमानस्थलमा जडित आईएलएस, आरएनपी–एआर प्रविधिहरुको संचालनमा भारतसँग भएका/हुन सक्ने अवरोध फुकाउनु जरुरी देखिन्छ ।

तेस्रो कुराः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा जोड

सहज र सुविधाजनक कनेक्टिभिटी पर्यटन उद्योगको प्रमुख आधार हो । यसको अभावमा पर्यटकीय गतिविधि शून्य हुन्छ । सहज र सुविधाजनक कनेक्टिभिटीको पहिलो माध्यम नेपालको लागि हवाई सेवा नै हो । तर नेपालको हवाई सेवा भरपर्दो र सुरक्षित देखिंदैन । त्यसैले नेपालकै हवाई कनेक्टिभिटीका लागि तपशिलका कार्यहरु गर्नु जरुरी देखिन्छ ।

-नेपाल एयरलाइन्सको संस्थागत पुनःसंरचनासँगसँगै निजीकरण प्रक्रिया र विमान संख्या थप गर्ने,

-युरोपेली आकाशमा नेपाल वायुसेवा निगमको प्रतिबन्ध फुकुवामा जोड दिने,

-बिदेशी विमानहरुलाई आफ्नो देशबाट तेस्रो देशमा उडान गर्दा बीचमा पर्ने विमानस्थलबाट पनि यात्रु तथा कार्गो चढाउने र ओराल्ने Fifth Freedom Rights (पाँचौं स्वतन्त्तता हवाई अधिकार) को अन्तर्राष्ट्रिय सुविधा उपयोग गर्न दिने र सो सुविधा उपयोगका लागि उनीहरुलाई प्रेरित गर्ने,

-अन्तर्राष्ट्रिय बौद्ध सर्किट टुर जोड्ने गरी थाइलैण्ड–भैरहवा–बोधगया–भैरहवा–थाइलैण्ड, भैरहवा–दिल्ली–भैरहवालाई बिशेष प्राथमिकता दिएर उडान संचालनका लागि अनुरोध गर्ने,

-ई–भिसाबाहक तेस्रो मुलुकका बिदेशी पर्यटकहरु बेलहिया नाका भई भारत तर्फ जान भारतीय पक्षले गरेको अवरोध (ती पर्यटकहरु अन्य नाकाहरु सिमरा, रुपैडिया, रानी भन्सार, काँकरभिट्टाहरुबाट मात्र जान पाएका) ले दुई देशीय बौद्ध सर्किट प्रमोसनमा बाधा पर्नुका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमैत्री दिगो व्यावसायिक वातावरण निर्माणमा कठिनाई उत्पन्न भएको छ । अत ती बिदेशी पर्यटकहरुको बेलहिया नाकाबाट पनि सहज आवागमन गर्न पाउने वातावरण बनाउन पहल गर्नुपर्ने ।

-भारत र नेपाल दुबै देशका नागरिकहरुले एकआपसका विमानस्थलहरु उपयोगमा अवरोध नगर्ने

चौथो कुराः वैकल्पिक मार्गको जानकारी र गन्तब्य  प्रवर्द्धनमा जोड

पछिल्लो पटक रसुवाको भोटेकोशी नदीमा आएको प्राकृतिक महाप्रलयले नेपालको पर्यटन नराम्ररी थलिएको छ । भौतिक तथा मानवीय क्षतिको अकल्पनीय विपत्तीले बर्षेनी हजारौं पर्यटकहरु नेपाल हुंदै कैलाश मानसरोवर जाने मार्गमा पूर्ण रुपमा अवरोध सृजना भएको छ । यस अवस्थामा प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणका बखतमा भारतको प्रमुख शहरहरुबाट यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गरी सिमिकोट–हिल्सा हुंदै कैलाश मानसरोबरको दर्शन गर्न सकिने वैकल्पिक मार्गबारे जानकारी दिन जरुरी देखिन्छ । प्रधानमन्त्री बालेनले यस रुटको बिषयमा उच्चारण गरेमात्र पनि भारतीय पर्यटन व्यवसायीहरु आश्वस्त हुन सक्ने र वैकल्पिक पर्यटन मार्गको प्रवद्र्धनमा सघाउ पुग्ने देखिन्छ ।

साथै, भारतीय पर्यटकहरुले नेपाल आउँदा साथमा ल्याउन पाउने नगदको प्रतिबन्धित सीमालाई अन्त्य गर्न जोड दिनुपर्ने देखिन्छ । तेस्रो मुलुकका बिदेशी पर्यटकहरुलाई एक देशको भिसा लिएपछि नेपाल र भारत दुबै देशमा सहज आवतजावत गर्न सकिने (जर्मनी र डेनमार्कमा जस्तै) बिषयमा जोड दिन पनि सकिन्छ । यसले देहायका फाईदा पुग्न सक्छ ।

-अन्तर्राष्ट्रिय बजारको माग अनुसार दुई देशबीच एकीकृत अनुकुलित भ्रमण प्याकेज Customized Tour Package निर्माण गर्न सहयोग पुग्ने

-डिजिटल मार्केटिङ्ग र अन्तर्राष्ट्रिय ट्राभल नेटवर्कसँग सहकार्य गर्न सहयोग मिल्ने

-दुई देशीय पर्यटन प्रवर्द्धनात्मक साझा अभियान र गतिविधिहरु संचालनमा सहयोग पुग्ने

-दुई देशीय एकीकृत बुद्धसर्किट टुर प्याकेजको निर्माणमा सहयोग

विगतमा केपी ओली जेतृत्व सरकारले यस विमानस्थल संचालनबारे गरेका केही महत्वपूर्ण निर्णयहरुमा परिमार्जन बाहेक अहिलेको समयसम्म यो सरकारले विमानस्थलबारे ठोस पहल गरेको देखिँदैन । यद्यपि चालु आ.ब.को बजेट वक्तब्य मार्फत विमानस्थल संचालनको लागि निजी क्षेत्रलाई आव्हान गर्ने, युरोपेली आकाशमा नेपाल एयरलाइन्सको बिद्यमान बन्देज हटाउने, निगमलाई संस्थागत पुनर्संरचना गर्ने र निगममा रणनीतिक साझेदार भित्र्याउने, क्यानलाई सेवाप्रदायक र नियामक निकायको रुपमा बिभाजन गर्ने, पर्यटन वर्ष, आरोग्य पर्यटन वर्ष मनाउने भन्ने जस्ता धेरै पर्यटन सम्बद्ध उद्घोषहरु गरिएका थिए ।

बर्षौदेखि बिदेशी पर्यटकहरुबाट बिश्वमै कतै प्रचलनमा नरहेको चर्को भाडा दरले नेपालको आन्तरिक पर्यटनमा असर परेको भन्दै सुदुर पश्चिम र कर्णाली प्रदेशबाट सो चर्को भाडाको प्रचलन सबैभन्दा पहिले हटाउने र क्रमशः नेपालका सबै सेक्टरहरुमा लागू गर्दै जाने भन्ने घोषणा पनि गरिए । “सुदुर अब दूर नाही, झिकै झिकै मया तम्लाई” भन्ने बालेनको चुनावी गीतले अबदेखि साकार पाउने भयो भनी ब्यग्र प्रतिक्षा गरिएको बखत बुद्ध एयरका मालिकले “सरकारको यो कदम आगोसँग खेल्नु सरह हो” भनेर गर्जेपछि सरकार निथरुक्क भयो ।

संभवत अहिले युरोप, लण्डनतिरका रमझममा शयर गर्दै गरेका मन्त्रीज्यूले बजेटका ती वक्तब्य भुल्नु भयो पनि होला? वक्तब्य अनुसारका मन्त्रालयगत काममा ठोस सुरसार कतै देखिंदैन । हालसम्मै युरोपेली आकाशमा देशको राष्ट्रिय ध्वजाबाहक विमानहरुको बन्देज कायमै रहेको, हवाई नीतिमा कुनै परिवर्तन आवश्यकता महसुस नगरिएको, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालन सम्बन्धमा निजी क्षेत्रसँगको ठोस सहकार्यको कार्ययोजनाको खाका प्रस्तुत गर्न नसेकको, यस सम्बन्धमा नियमावली, कार्यविधिको कामै नभएको र नेपाल एयरलाईन्सको विमान संख्या थपको बिषयहरु गर्भगृहमै शिथिल रहेका देखिन्छन् ।

बरु यस अवधिमा सबै प्रकारका बाह्य र आन्तरिक हवाई भाडामा चर्को बृद्धि भएको, नेपाल दिनप्रति दिन महङ्गो गन्तव्यमा रुपान्तरण हुँदै गएको, नेपाल एयरलाईन्सको अवस्था झनै खस्केको देखिन्छ । नेपाललाई किफायती गन्तब्य बनाउने उपायहरु खोजी गर्ने, देशको हवाई भाडालाई प्रतिस्पर्धी बनाई सन्तुलन कायम गर्ने, भैरहवा जस्ता विमानस्थलहरुको संचालनमा सहजता प्रदान गर्ने आधारभूत कार्यालयहरु खोल्ने जस्ता धेरै बिषयहरुमा मन्त्रालयको ध्यान गएको देखिंदैन । नेपाल वायुसेवा निगमको पुनर्संरचनाले मात्रै तत्कालै सरकारले अपेक्षा गरे अनुरुपका रणनीतिक साझेदार आउन नसक्ने र यथास्थितिमा निगमबाट विमानस्थलको संचालनमा योगदान गर्ने संभावना झनै क्षीर्ण बन्दै गएको छ । त्यसैले तत्काल केही वर्षभित्रै निगममा कम्तिमा १० वटा विमान संख्या पनि थप गर्ने, निगमको सांगठानिक पुर्नसंरचना पनि गर्दै जाने र आगामी ५ वर्षभित्रमा बलियो रणनीतिक साझेदार भित्रयाउने गरी बालेन सरकारले तत्कालै काम गर्नु जरुरी छ ।

अब भाषण होइन, परिणाम चाहिन्छ । पथभ्रष्टता, ढिलासुस्ती, यथास्थितिवाद र जवाफदेहीबिहीन अकर्मण्यता क्षम्य हुँदैन । “यो विमानस्थल नचले नेपालका कुनै पनि विमानस्थल नचल्ने र उपयुक्त समयमा चलेरै छोड्ने” नकचरो वाक्यांश उनकै भक्तिमा रमाउनेहरुका लागि मात्र कर्णप्रिय बन्न सक्लान् तर हामीलाई परिणाम चाहिएको छ ।

हामीले विमानस्थल बनायौं, अर्बौ लगानी गर्यौं । यो विमानस्थल संचालनका लागि ultimately निजी क्षेत्रलाई सहभागी गराएरै भए पनि अब प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो । सरकारले एयरलाइन्स आकर्षित गरोस्, सरकारले हवाई सम्पर्कको वातावरण बनाओस्, सरकारले पूर्वाधार र नीतिगत सहजीकरण गरोस्, हामी पर्यटन व्यवसायीहरुले पर्यटक आकर्षित गर्छौं । निजी क्षेत्रले भैरहवालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने काम गर्दछ । पर्यटन प्याकेज र सेवाको गुणस्तर विकास हामी साथै गर्नेछौं । त्यसैले यो विमानस्थल संचालनको बिषय कुनै एक राजनीतिक दल, सरकार, प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्रको बिषय मात्र होइन । यो राष्ट्रिय लगानी, राष्ट्रिय गौरव र यस क्षेत्रका जनताको अन्याश्रित भबिष्यसँग जोडिएको हाम्रो साझा बिषय हो । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका बिविध राष्ट्रिय एजेण्डाहरु मध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो व्यावसायिक संचालनको बिषय प्रमुख प्राथमिकतामा परोस्, हाम्रो यही साझा अपेक्षा छ ।

(थापा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा), लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुन्।)