June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

‘भक्तिभाव’ले टालिएका जनप्रतिनिधिका आँखा

Advertisement

स्थानीय तहका जनप्रतिनिधि आफ्नो कार्यकालको अन्तिम वर्षमा छन् । चार वर्ष बिताएर अन्तिम वर्षमा प्रवेश गरेका जनप्रतिनिधिलाई आगामी स्थानीय तह निर्वाचनको रन्कोले छोइसकेको पनि हुनसक्छ । पालिका प्रमुख–उपप्रमुखमा सिमित हुन नचाहनेहरु प्रदेश सदस्य नभए अरु नै कुनै निकाय ताक्ने सोचमा होलान् । कार्यकालको अन्तिम वर्षमा पनि स्थानीय तहका जनप्रतिनिधिले कर्म अनुसारको फल चाख्नबाट पक्कैं छुटकारा पाउने छैनन् ।

Advertisement

समयमा ब्रेक लागेन । त्यसैले चार वर्ष कटेको पत्तै भएन । चार वर्ष अघि स्थानीय तहको निर्वाचन ताका सबैं जनप्रतिनिधि नम्र र शालीन थिए । सबैंलाई एउटै भए पनि भोटको अपेक्षाले बाँधेको थियो । सबैलाई निर्वाचन जित्नु थियो । त्यसैले साम, दाम, दण्डवतबाट भए पनि मतदाता फकाउन र रिझाउन लागि परेका थिए । मतदाता माझ सबैं आशा र अपेक्षा पूरा गरिने दिने कसम खाइरहेका थिए । कोही साँच्चिकै गम्भीर भएर वाचा गरिरहेका थिए । कोही फकाइरहेका थिए । निर्वाचनमा उम्मेदवार जतिले विजय प्राप्त गर्ने कुरै भएन । त्यसैले सबैभन्दा धेरै मत हाँसिल गर्नेले विजयको माला पहिरिए ।

जनप्रतिनिधि चुनिएपछि बधाई दिनेको ओइरो लाग्यो । आसेपासेले घेराबन्दी सुरु गरे । केही दिन अघिसम्म जनतामाझ साझा प्रतिनिधि बनेर काम गर्ने कसम खाएकाहरु प्रिणाम सार्वजनिक भएको केही समयमै ‘आसेपासे र चाकडीबाज’को घेराबन्दीमा परे । निर्वाचन अघि असम्भव काम सम्भव तुल्याउने आश्वासन बाँडिरहेका जनप्रतिनिधि विजयी भएको केही समयमै आफ्ना माझ पुरिए । दलीय कार्यकर्ताले घेरा हाले । फेरि जनप्रतिनिधिको कुर्सी नै ‘अन्धो’ हुने रहेछ कि ? हैन भने त कुर्सीमा बस्ने जनताको प्रतिनिधि जस्तो सुकै घेराबन्दीमा पनि साँचो र सही छुट्याउन सक्ने हुनुपर्ने । त्यस विपरित स्वार्थका काम मात्र हेर्ने नहुनु पर्ने ।

पदमा नपुगुञ्जेल गाली सहन तयार हुने व्यक्ति निर्वाचित भएपछि आलोचना सुन्नै नसक्ने हुँदो रहेछ । आलोचनाका बीच पनि अरु भन्दा फरक ठानेर मताधिकार प्रयोग गरेर नागरिकले कुसीमा पुर्याएको भुल्ने रहेछन् । प्रचार अवधिसम्म धेरै दल–स्वतन्त्र व्यक्ति उम्मेदवार हुन्छन् । तर, जित्ने त एउटैले हो । अनि ती सबैं उम्मेदवारको भूमिका एक्लैले निभाउनु पर्छ भन्ने बिर्सेर आफूलाई ‘महामहिम’ सम्झिने रोग लाग्ने रहेछ । यतिसम्म कि निर्वाचित भएपछि जनप्रतिनिधिलाई राम्रो र सफल सुझाव दिँदा समेत शंका गर्दा रहेछन् । अनि आफ्नो घेरामा रहेको ‘स्वार्थी’ लाई के गर्ने भनेर सोध्दा हुन् । जनप्रतिनिधिको कोटरीमा पुगेका व्यक्तिले आफ्नो लाभ विपरित हुने सल्लाहा पालना गर्न दिँदैनन । अरु स्वतन्त्र रुपमा गरिएका राम्रा काम पनि आफूले गराएको भन्दैं भक्तिभाव व्यक्त गर्न पुग्छन् । त्यस्ता व्यक्तिका सुझाव र सल्लाहामा चल्ने जनप्रतिनिधिले आफ्नो कोटरी बाहिरका सबैलाई विरोधी ठानेर व्यवहार गर्न थाल्दा रहेछन् ।

जनप्रतिनिधिलाई सल्लाहाकार चाहिन्छन् । तर, त्यसरी छानिएका व्यक्तिले नागरिको लाभ हुने सल्लाहा दिन्छन् कि आफ्नो स्वार्थ पूर्ति हुने ? यो पनि छुट्याउन नसक्ने जनप्रतिनिधिलाई ‘उता भीर छ, हाम नफाल’ मात्र भन्न सकिन्छ । मैमत्त बनिसकेका जनप्रतिनिधिले भीर नै रोज्ने गरेको देखियो । चार वर्ष अवधिमा जनप्रतिनिधिमा देखिएको अर्को अवगुण भनेकै आलोचना सहन नसक्ने पनि हो । स्थानीय शासन सञ्चालन ऐन–नियम विपरित भए पनि आफूले गरेका सबैं काम राम्रा र सफल हुन भन्ने भ्रममा बाँचेको देखियो ।

नगर–गाउँ पिता–माताका रुपमा प्रचारित जनप्रतिनिधिले सेवा–सत्कार र जीउ हजुरी मात्र रुचाउने गरेको देखियो । यो काम गर्दा उचित परिणाम मिल्दैंन भन्यो कि बिरोधी भइहालियो । फोहोरले सहर दुर्गन्धित भो, सडक समयमा निर्माण भएनन, फजुल खर्च रोक्नु पर्यो, कति कार्यक्रम प्रमुख–उपप्रमुख केन्द्रित भए ? भनियो भने मन नपराउने समस्या देखियो । सामाजिक सञ्जालमा सही प्रमुख–उपप्रमुखप्रति भक्तिभाव प्रदर्शन गरेको खण्डमा चाहेको काम हुने परम्परा नै बन्यो ।

यतिबेला सिद्धार्थनगर नगरपालिकामा फोहोरको समस्या छ । घर–घरमा, पसल, व्यापारिक प्रतिष्ठानमा फोहोरको थुप्रो लागेको छ । कतिपय ठाउँमा सडकमै फोहोर छ । त्यतिमात्र होइन, वर्षातको समय नाली टालिएका छन् । झारपातले पानी बग्दैन । सडक पेटीमा कि त व्यापार छ । कि त घाँसपातले पुरिएका छन् । अधिकांश ठाउँमा नगरपालिकाको उपस्थिती शुन्य छ । नगरपालिका कसले चलाइरहेको छ ? खुट्याउन मुश्किल ।

नगर प्रमुख इश्तियाक अहमद खान कुनै कुरा पनि नाइ–हुन्न भन्दैनन् । उपप्रमुख उमा अधिकारी ठूला समस्या प्रमुख तिर तेस्र्याछिन् । उनको आफ्नै समूह छ । समूह साथ लिएर हिंड्छिन । कतिपय अवस्थामा वडाध्यक्ष हाबी हुने गरेका छन् । अन्तर्राष्ट्रिय स्थलमार्ग, लुम्बिनीको प्रवेशद्वार र अन्तर्राष्ट्रिय विमानस्थल रहेको नगरपालिकाको दुरावस्थाबारे सकारात्मक भन्दा नाकारात्मक टिकाटिप्पणी बढि भइरहेका छन् ।

आलोचना टाल्दा टाल्दैं भ्वाङ परेको अर्को पालिका बुटवल उपमहानगर पनि हो । बुटवलका नगर प्रमुख शालीन छन् । मृदभाषी छन् । वाकपटुता छ । विषयप्रति ज्ञान छ । सडकबाट उदाएर नगर प्रमुखको कुर्सीमा पुगेका व्यक्ति हुन् । नागरिकका हरेक समस्यासित परिचित व्यक्ति पनि हुन् । तर, चार वर्षे कार्यकाल भरि उनी आलोचना मुक्त रहन सकेनन् । कति चित्त बुझ्ने काम नगरेर होला ? कति गर्दा गर्दै पनि आलोचना भइरहेको होला । तर, नगर प्रमुख खेलराज पाण्डेयले आलोचना टाल्न गरेको प्रयास भने पार लागेन ।

बुटवलमा धेरै सञ्चारमाध्याम छन् । सबैं मिडियामा आफ्नो पक्षमा सामाचार लेखुन भन्ने धोको थियो सायद । त्यसैले सबैं मिडिया हाउसलाई वार्षिक रुपमा पैसा वितरण गरे । मिडियाका संस्थालाई पनि बजेट वितरण गरे । जसले गुनासो गर्यो, उसले बजेट पायो भन्ने उखान नै बन्यो । तर, अहिले बुटवलकै सञ्चारमाध्यामले उनको खेदो खनिरहेका छन् । उनले गरेका कामको प्रंशासा भन्दा आलोचना बढी भइरहेको छ ।

सञ्चारमाध्यामको काम नै आलोचना गर्ने हो । आलोचनाका नाममा दोष मात्र लगाउने होइन । रचनात्मक सुझाव दिने हो । त्यसैले जनप्रतिनिधिले संचारमाध्यामको चित्त बुझाएर आलोचनाबाट जोगिन्छु भन्ने भ्रम हटाउनु ठिक हुन्छ । केही सञ्चारकर्मी साथ लाउँदैंमा लेख्ने बोल्ने पत्रकार चुप लाग्छन् भन्ने भ्रम पनि तोडिनु पर्छ । बजारमा रहेका पत्र पत्रिका, रेडियो, टिभीले गुणगान गाए पनि अहिले व्यापक बनेका सामाजिक सञ्जाल र न्यू मिडियाको उपयोग गरेर आमनागरिकले पनि आलोचना गरिरहन्छन् । त्यसैले पत्रकारको मुखमा बुझो लाएर ढुक्कले शासन गर्छु भन्ने भ्रम अब हट्नु पर्छ । किन कि यो समय नागरिक पत्रकारिताको हो ।